November 22, 1983
Created by nepalarchives

निर्णय नं. १७२६ – उत्प्रेषण

निर्णय नं. १७२६     ने.का.प. २०४० अङ्क ८   डिभिजनबेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०३९ सालको रिट नं....

निर्णय नं. १७२६     ने.का.प. २०४० अङ्क ८

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०३९ सालको रिट नं. ११७४

आदेश भएको मिति : २०४०।८।६।३ मा

निवेदक      : जि.सिराहा कल्याणपुर गा.पं.वार्ड नं.८ बस्ने जनकप्रसाद साहु

विरूद्ध

विपक्षी : भूमिसुधार कार्यालय सिराहाका भूमिसुधार अधिकारीसमेत

विषय : उत्प्रेषण

(१)                निष्काशन नहुनेको कारण भन्न नसकिने, कारण दिँदा न्यायोचित तर्कसड्डत र कार्य कारण सम्बन्ध स्थापित हुनसक्ने कारण हुनुपर्ने ।

(प्रकरण नं. ८)

निवेदकतर्फबाट      : विद्वान अधिवक्ता श्री कमलनारायण दास

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     नेपालको संविधानको धारा ७१ बमोजिम उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ भनी ०२९।९।१५ मा रिट निवेदन पर्नआएको रहेछ ।

२.    संक्षिप्त तथ्य : विपक्षीले वादीलाई कूत बुझाएको प्रमाण राखी प्रतिवाद गर्नुपर्नेमा सो नगरी दावी स्वीकार गरी बसेकोले वादीलाई बाली बुझाएको भन्न नमिल्ने हुँदा गा.पं.कमचाछी वडा नं.१ को कि.नं.१३४ को ०१७५ जग्गाको ०३७ सालको कूत बाली बापत वादी दावी अनुसार रू.६९३। वादीलाई बुझाउनु पर्ने र विपक्षीलाई मोहीबाट निष्काशन गरी हाल्दा गल्ती महसूस गरी सुध्रने मौकाबाट वञ्चित (४५९) हुने भएकोले निष्काशन नहुने ठहर्छ भनी ०३९।६।१५ मा भू.सु.अ.ले निर्णय गरेको रहेछ ।

३.    निवेदन जिकिर : प्रतिरक्षीले म्याद बुझी प्रतिवाद नगरी बस्नुभएको अवस्थामा कूत सम्म भराउन पाउने तर मोहीबाट निष्काशन नहुने भनी भूमिसुधार अधिकारीज्यूले गर्नुभएको निर्णय सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त तथा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) २९क(ग) र नियमावलीको नियम ४६(क) समेतको प्रत्यक्षतः त्रुटि हुनगएको छ । ऐनको दफा २९(१) को अवस्थामा विद्यमानता देखाई त्यसको आधारमा कूत भराउनुभएको तर मोही निष्काशन नगरिएको निर्णय निष्पक्ष न्यायिक मनको प्रयोग नहुनुको साथै स्वेच्छिक तथा विषयगत समेत भएको हुनाले अ.बं.१८४(क) १८५।१८९ नं. तथा प्रमाण ऐन, २०३१ को दफा ५४ को प्रतिवन्धात्मक वाक्यांश समेतको त्रुटि हुनगएको हुँदा उक्त निर्णय बदर गरी मोहीबाट निष्काशन समेत गर्नु भनी परमादेश समेत जारी गरिपाउँ भन्ने रिट निवेदन जिकिर रहेछ ।

४.    यसमा के कसो भएको हो सम्बन्धित विपक्षहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने २०३९।९।२० को सिड्डलबेञ्चको आदेश रहेछ ।

५.    निवेदकको नाउँमा दर्ता रहेको कि.नं.१३४ ज.वि. ०१७५ जग्गाको २०३७ सालको कूत बाली नदिएको र धरौटी समेत नराखेकोले कूत दिलाई मोही निष्काशन गरिपाउँ भनी निवेदन पर्दा मोहियानी हक सुरक्षित राखी कूतसम्म भराई दिने निर्णय भएको हो । अशिक्षित मोहीलाई निष्काशन जस्तो ठूलो सजाय दिँदा जीविकोपार्जन नै बन्द गरी दिँदा परिवारको जीवन नै अस्तव्यस्त हुनजाने अप्रिय घटना घट्न जाने सम्भावना भएकोले ऐन नियमकै परिधि भित्र रही निर्णय गरिएको हो निवेदकको माग बमोजिम आदेश जारी हुने होइन रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको भू.सु.का.सिराहाको लिखितजवाफ ।

६.    म किसानी गर्ने अनपढ मानिस हुँ मैले जग्गाधनीलाई साल सालै कूत बुझाई आएकै छु । कूत बुझाई भरपाई दिँदै आएको प्रमाण यसै साथ दाखिल गरेको छु । निष्काशन सम्बन्धमा उजूर गर्दैमा निष्काशन हुने होइन । अधिकार प्राप्त अधिकारीले कानुनबमोजिम नै निर्णय गरेको हुँदा निवेदकको माग बमोजिमको आदेश जारी हुने होइन रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको विपक्षी किसना वातरको लिखतजवाफ ।

७.    निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कमलनारायण दासले प्रतिपादित सिद्धान्त विपरीत तथा आत्मनिष्ट तरीकाले गरेको निर्णय त्रुटिपूर्ण छ भन्ने र विपक्षी कार्यालयतर्फबाट उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री पन्नामान तुलाधरले अधिकार प्राप्त अधिकारीले गरेको निर्णय कानुन अनूरूपै छ भन्ने बहस प्रस्तुत गर्नुभएको छ । मुख्यतः निवेदकका माग बमोजिमको आदेश जारी गर्न मिल्ने नमिल्ने के रहेछ सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।

८.    यसमा बाली दिलाई जग्गाबाट निष्काशन गरिपाउँ भनी दिएको निवेदनमा बाली दिलाई दिने निर्णय गरेको तर उचित कारण नदिई निष्काशन नहुने गरी (४६०) गरेको निर्णय कानुन विपरीत हुँदा बदर गरी पुनः निर्णय गराई पाउँ भनी माग दावी भएकोमा ०३९।६।१५।६ को मितिको निर्णय हेर्दा बाली भरी पाउने निर्णय गरेको छ तर मोहीलाई निष्काशन नहुने सम्बन्धमा गल्ती महसूस गरी सुध्रने मौकाबाट वञ्चित हुने भएको भनी निष्काशन नहुने निर्णय गरेको देखिन्छ । उल्लेख भएको कुरालाई निष्काशन नहुनेको कारण भन्न नसकिने, कारण दिँदा न्यायोचित तर्कसड्डत र कार्यकारणको सम्बन्ध स्थापित हुनसक्ने कारण हुनुपर्छ । तसर्थ भू.सु.का.सिराहाको ०३९।६।१५।६ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । पुनः कानुन बमोजिम निर्णय गर्नु भनी भू.सु.का.सिराहाको नाउँमा परमादेशको आदेश समेत जारी हुने ठहर्छ । निर्णयको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयलाई पठाई दिनु फाइल नियमानुसार गरी बुझाई दिनु ।

म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४० साल मार्ग ६ गते रोज ३ शुभम् ।