August 10, 1953
Created by nepalarchives

निर्णय नं. १७२ – ज्यान

निर्णय नं. १७२                             ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री बाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह फौ.फु.नं.१७ निवेदक      : वीरबहादुर...

निर्णय नं. १७२                             ने.का.प. २०१९

फुल बेञ्च

प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान

न्यायाधीश श्री बाशुदेव शर्मा

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

फौ.फु.नं.१७

निवेदक      : वीरबहादुर समेत कृष्णबहादुर श्रेष्ठ

विरुद्ध

झगडीया, वादी : कृष्णमाया तमाङनी समेत

मुद्दा : ज्यान

(१)   सरजमिनको मुख्य उद्देश्यप्रारम्भिक जानकारी र वस्तुस्थिति पत्ता लगाउनुसरजमिनले मूल प्रमाणको स्थान लिन नसक्ने ।

            अ.बं. १५७ नम्बरमा सरकार वादी हुने ज्यानमारा, डाका रहजनी, राजकाज, गाथागादी जिउको नोक्सान हुने शंका देखिएको हुलदंगाका मुद्दामा र ज्यानसम्बन्धी २ नम्बरको ऐनमा पनि अवस्थाअनुसार तुरुन्त सरजमिन गर्नु पर्ने व्यवस्था भएको पाइन्छ । अ.बं. १७६ नं. मा सरजमिनबाट बुझ्नु पर्ने कुराको जो बुझ्नु पर्ने तालुकदार र सरजमिन समेत बुझी सकी फेला नपरेका प्रतिवादीका हकमा समेत वादी र फेला परेका प्रतिवादीका गवाह र सफाई बुझ्नु पर्ने कुरा बुझ्नु भन्ने र अ.बं. १७७ नं. मा उर्दि पुर्जि बमोजिम खटी जानेले वारदात भएको ठाउँमा गै सरजमिन बुझ्दा वारदात भएको रहेछ भनेवारदात भएका ठाउँको नाउँ र बेला, साल, मिति, समेत रिपोर्टमा लेखी सो कागजात समेत वारदात भएकै ठाउँमा पक्रिएकाहरूलाई समेत उर्दी पुर्जी दिई पठाउने अड्डामा चलान गरी ल्याउने पठाउने भन्ने उल्लेख भएको पाइन्छ । उपरोक्त नम्वरका ऐनहरूबाट फौजदारी मुद्दामा सरजमिन मौका तहकिकात गर्ने प्रमुख उद्देश्य खास वारदात भएको हो, होइन र भएको भए को को मूछिएका छन ? त्यो कुरा पत्ता लगाउनु हो । यस कुराको पुष्टि अ.बं. को १७८ नं. बाट पनि अरू ज्यादा मात्रामा भएको देखिन्छ । उक्त ऐनमा सरजमिनमा गै बुझेकोमा जाहेरवालाले नालेस परेको कुरा भएकै ठहरेन भने तुरुन्त सो उजुरवालालाई ऐन बमोजिम गर्नुभन्ने उल्लेख भएबाट वारदात भएको हो, होइन र त्यस विषयको प्रारम्भिक जानकारी सम्म पत्ता लगाउनु हो भन्ने सरजमिनको मुख्य उद्देश्य देखिन्छ ।

 (प्रकरण नं. १५)

(२)   यसै प्रकारको देवानी मुद्दामा पनि अ.बं. २१५ नं. को ऐनमा नक्सा सरजमिन गर्ने व्यवस्था भएको र उक्त ऐनमा लेखिएबमोजिम नक्साको रूप प्रष्ट देखिने गरी कैफियत खोली लेख्ने कुरा बाहेक अरू कुरा सो नक्सामा लेखे बात लाग्छ भन्ने कुरा उल्लेख भएको पाइन्छ । तसर्थ, सरजमिनसम्बन्धी ऐनहरूको विश्लेषणात्मक अध्ययन गर्दा यो स्पष्ट हुँन आउँछ कि सरजमिन गर्नाको तात्पर्य बस्तुस्थिति पत्ता लगाउन मात्र हो । सरजमिनबाट थाहा हुन आएको कुराले मूल प्रमाणको स्थान लिंदैन ।

 (प्रकरण नं. १६)

(३)   बकपत्रलाई इन्साफ गर्दा मूल आधार माग्नु पर्ने । झुट्टा बक्नेलाई सजाय हुने ।

            प्रचलित कानूनमा सरजमिनका व्यक्तिहरूलाई धर्म भकाउने तथा जिरह गर्ने व्यवस्था उल्लेख भएको पाइँदैन । अ.बं. को १८९ नं. बाट लिएर साक्षीसम्बन्धी अरू विभिन्न दफाहरूमा साक्षी गवाहलाई बकाउने कार्यविधि र कस्ता साक्षी कस्ता मुद्दामा बकाउन हुन्छ ? भन्ने उल्ेख भएको पाइन्छ । ती ऐनहरूमा व्यवस्था गरिएका अरू कुराहरूको अतिरिक्ततामा, तुलसी समाई धर्म भकाई बकपत्र गराउने र एका गवाहले बक्न लागेको अर्का गवाहाले सुन्न नपाउने र एका झगडीयाले अर्को झगडीयाको साक्षीहरूलाई जिरह गर्न पाउने व्यवस्था भएको देखिन्छ । अ.बं. १९४ नं. मा साक्षी गवाहाको बकपत्रको नमूना जोडिएको छ । त्यसमा खास गरी साक्षी सित तिमीले झुट्टा बकेमा सजाय पाएको छ, छैनभन्ने प्रश्न गरिन्छ । त्यसबाट साक्षी गवाहले जानी जानी झुट्टा बकेमा निजलाई सजाय हुन्छ भन्ने पहिले नै प्रष्ट गरिन्छ । यसरी विधि पुर्‍याएर जो बकपत्र लिइन्छ, त्यस बकपत्रलाई इन्साफ गर्दा मूल आधार मान्नु पर्ने भएकोले झुट्टा बकी इन्साफमा खलल पार्ने किसिमको बकपत्र गर्ने व्यक्तिलाई दण्डको भागी गर्नु पर्ने न्यायसँगत कुरा हुन आउँछ ।

 (प्रकरण नं. १७)

(४)   साक्षी गवाह र सरजमिनमा भिन्नता ।

            (हेर्नोस् प्रकरण नं. १५,१६,१७ र¬¬)

            साक्षी गवाह बकाउने र सरजमिन गराउने उद्देश्य भिन्न भिन्न देखिन्छ र विधीकर्ताले प्रचलित ऐनमा दुबैका कार्यविधिको पृथक पृथक व्यवस्था गराएको पाइन्छ । यी सब पृथक व्यवस्था र उद्देश्यबाट साक्षी गवाह र सरजमिन एकै नभई पृथक हुन् भन्ने कुरा प्रष्ट हुन आउँछ।

(प्रकरण नं. १८)

(५)   गवाहभन्ने शब्दले साक्षीलाई जनाउने–‘गवाहशब्दले सरजमिनलाई जनाउँदैन ।

(क)  सरजमिनमा झुट्टा बक्नेलाई दण्ड सजाय गर्न नमिल्ने ।

            सरजमिनमा झुट्टा बक्नेलाई सजाय दिन मिल्छ कि मिल्दैन ? भन्ने तर्फ बिचार गर्दा, अ.बं. २१३ मा साक्षी गवाहले पक्का प्रमाण पुग्ने गरी बकी दियो भने त्यस्ता साक्षी गबाहले नभएको झुट्टा कुरा बकी लेखिदिएको ठहरेमा त्यस्ता साक्षीलाई सजाय गर्ने व्यवस्था गरेको देखिन्छ । उक्त ऐनको आदीबाट अन्तसम्म कहिं पनि सरजमिन भन्ने शब्द उल्लेख भएको पाइँदैन । उक्त ऐनमा साक्षी गवाह भन्ने एकसाथ उल्लेख भएकोले गवाह शब्दले सरजमिनलाई जनाउँदछ कि भन्ने तर्क गरेमा पनि गवाह भन्ने शब्द साक्षीकै लागि प्रयोग भएको हो भन्ने कुरा अ.बं. १८८, १८९, १९०, १९१, १९२ आदिबाट स्पष्ट रूपमा झल्किन्छ ।

 (प्रकरण नं. १९)

(६)   सरजमिन र साक्षी गवाहसम्बन्धी ऐनका विभिन्न दफाहरूबाट विधिकर्ताले दुबैलाई पृथक श्रेणीमा राखी दुबैको लागि भिन्न भिन्न व्यवस्था गरेको प्रष्ट देखिन्छ र अ.बं. २१३ नं. मा सरजमिन शब्दको उल्लेख नहुनु पनि सुनी जानेको कुरा लेखाई दिने सरजमिनको कुनै अपराध मान्न नहुने भई तिनलाई दण्ड गर्ने न्यायोचित हुँदैन भन्ने सिद्धान्त अपनाएको देखिन्छ । अतः सरजमिनमा झुट्टा बक्नेलाई दण्ड सजाय गर्ने कानूनमा व्यवस्था नभएकोले दण्ड गर्न मिल्दैन ।

(प्रकरण नं. २०)

निबेदक तर्फबाट : प्लीडर मायानाथ, प्लीडर सुधानाथ

फैसला

            १.     मेरी बहिनी जमुनी ०१३।१०।२८ गते बिहान दाउरा लिन वन गएकी नआएकी र साथमा जाने मैना १ ठूली १, २ जनाले वनपाले प्रतिवादी ६ जनाले लगारेबाट हामी भागी आयौं । जमूना कता गै भनेबाट खोज्न जाँदा पाग्रेधारी भन्ने ठाउँमा लास फेला पर्‍यो । निज ६ जनाले कुटपीट गरी मारेका हुन् वा भिरबाट खसी मरेको हो ? नदेखिेकोले यसै भन्न सक्तिन ? चोटपटक देखिंदा कुटपीट गरी मारेको जस्तो देखिन्छ । सजाय गरी पाउँ भन्ने समेत कृष्णमायाको उजुरी बयान ।

            २.    माघ २८ गते म र ठूली जमुनी समेत दाउरा लिन गएको वनपाले प्याठा समेत ६ जनाले लगारेका । म भागी आएँ । ठूली पनि आई । जमुनी नआएकीले खोज्न जाँदा मरी रहेको लास फेला पर्‍यो । कुटपीट गरी मारेको जस्तो लाग्छ । यसै भन्न सक्तिन भनी महिना भन्ने कान्छीको पुलिसमा ठाडो कागज र प्याठा बाहेक अरू ५ जनाको नाम पुलिसमा भनेकी होईन । प्याठाले मात्र लगारेको भनेको हुँ भन्ने समेत निजैको अदालतमा बयान र सोहि मिलान समेत ठूली तमाङनीको कागज बयान ।

            ३.    जमुनी मरी राखेको चोट समेत देखिएबाट कुटेरै मारे जस्तो लाग्छ । मौकामा नदेखेबाट यसै भन्न सक्तिन । प्रतिवादी ६ जनाले लगारेको र समात समात भनी कराएको पिंडीबाट हेर्दा देखेको हुँ भन्ने माहिली तमाङनीको पुलिसमा ठाडो कागज र प्रतिवादी ६ जनाले कुटपीट गरी मारेका हुन् भन्ने निजैको अदालतमा किटानी बयान ।

            ४.    सोही मिलान मनकान्छी तमाङनीको र ठुली तमाङनीको बयान कागज ।

            ५.    प्रतिवादी ६ जनाले समात समात भनी लगारेका हामीले तलबाट देखे सुनेका थियौं । वनभित्र वनपालेले काठ काटेमा लगारेको होला भनी चुप लागेका थियौं । पछि जमुनी मरेको देखेको र घाचोट समेत देखिंदा निजलाई प्रतिवादीहरूले कुटपीट गरी खसाले वा लगार्दा भिरबाट खसी मरेको हामीले मौकामा नदेखेबाट यसै भन्न सक्दैनौ । लास प्रकृतिबाट कुटपीट गरी खसाले जस्तो शंका लग्छ भन्ने समेत कृष्णबहादुर श्रेष्ठको र सोहि सदर भन्ने नित्यबहादुर समेत ४ जवान ।

            ६.    वनपालेहरूले लगारेबाट खसी मरे भन्ने सुनें । सो लगार्ने प्याठा १ हरिप्रसाद १ रत्ने तमाङ १ भैरबबहादुर १ नरबहादुर १ पूर्वे भन्ने जितबहादुर १ समेत भन्ने सुनेको हुँ तापनि मैले नदेखेको र भैरबबहादुर भन्ने मेरो साखै भानिज हुन् । अर्जून समेत ४ जनाको बर्तबन्ध हुँदा भैरवबहादुरको पनि भानिज पर्ने भएबाट सो २८ गतेको बिहान ९ बजे सम्म त्यहीं सोली समाती बसेको थिएँ । कुटेर वा लडेर के भई मरी यसै भन्न सक्तीन भन्ने समेत कान्छा झाँक्रीको र सोही सदर भन्ने मानबहादुर थापा क्षेत्री, नरबहादुर आचार्य क्षेत्री, माहिला मगर समेत अरू १३ जनाको र ।

            ७.    अरू थिरबहादुरसमेत १८ जनाको विभिन्न व्यहोराको समेत १३।१०।२९ को लासजाँच मौका तहकिकात सरजमिन मुचुल्का ।

            ८.    वनमा रेखदेख गर्दै जाँदा जमुनी, महिना ठूली, रुख काट्न लागेको फेला परेका । जमुनी भागेकीले रिसले बन्चरोले मैले झटारो हान्दा टाउकोमा लागि मरेकी भन्ने समेत प्याठा ठकुरीको साबिती बयान । नरबहादुर, हरिप्रसाद, जितबहादुर, रत्नबहादुर भैरबबहादुरको इन्कारी बयान ।

            ९.    बुझिएका सरजमिन त्यतिका जवानले एउटै व्यहोरा लेखाई शंका देखाएका, ती सबै व्यक्तिले आफू बसेको ठाउँबाट बारदात भयो भनेको ठाउँ यती फरकमा भई यसरी देख्यौं भनी किटान गरी लेखाएको नदेखिएको । त्यतिका जवानले एकै समय वारदात भयो भनेका ठाउँमा दृष्टिले हेरिरह््यो भन्ने लेख बेप्रतित देखिने । जमुनीसँगै गएका मैना, ठूलीहरूले अदालतमा गरेको बयानमा प्याठा बाहेक अरूलाई सफाई दिएको । सावित हुने प्याठाले नै अरूलाई नपोलेको । भैरबबहादुर, रत्नबहादुर, नरबहादुर, जितबहादुर, हरिप्रसादलाई निजहरूका साक्षीले पनि सफाई दिई बकपत्र गरेको समेतबाट प्याठा बाहेक अरूले कुटपीट गरेको भन्न नहुँने हुँदा प्याठा १ जनाले बन्चरोले कुटी काटी मरेको ठहर्छ । माहिली तमाङनी १ मनकान्छी तमाङनी १ ठूली तमाङनी १ जना ३ के जमुनीलाई कर्तव्य गरी मारेमा प्याठा बाहेक अरू ५ जना समेतलाई शंका गरी किटानी साथ लेखेवापत अ.बं. २१३ नं. ले कैद महिना १० को दण्ड सजाएको २ नं.ले कैद महिना ५ का दरले र सरजमिन कृष्णबहादुर श्रेष्ठ समेत जना ५० के प्याठा बाहेक अरू ५ जना समेत उपर किटान गरी देखें भने वापत अ.बं. २१३ नं. ले कैद महिना १० का दरले गर्ने भन्ने समेत विशेष अदालतको ०१५।४।८।४ को फैसला ।

            १०.    चित्त बुझेन भन्ने वादी कृष्णमायाको र प्रतिवादी प्याठाको अपील परेकोमा विशेष अदालतले ठहराई जाहेर गरेको इन्साफ सजाय मुनासिव छ । प्रतिवादी प्याठा ठकुरीलाई दामल र सर्वश्व गर्नु पर्दैन । कैद वर्ष १२ गर्ने भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०१८।८।९।६ को फैसला ।

            ११.    सरजमिनका मानिसलाई झुट्टा बकेको भनी साक्षीसरह गरी नलाग्ने ऐन लगाई सजाय भयो । ज्यान मारेमा प्याठाले सजाय पाईसकेको । सो ज्यान मारेको भनी सुनी जानेको कुरा देखाई दिने सरजमिनको कुनै अपराध मान्न नुहँने हुँदा मुद्दा दोहर्‍याई दिनु भन्ने आदेश पाउँ भन्ने समेत वीरबहादुर समेत जना ४७ को हकमा र आफ्ना हकमा समेत कृष्णबहादुरको निवेदन।

            १२.   सुनी जानेको कुरा लेखाई दिने सरजमिनको कुनै अपराध मान्न नहुनेमा साक्षीसरह गरी लोग्ने मानिसलाई कैद महिना ।१० र स्वास्नी मानिसलाई कैद महिना ।५ गर्ने गरी फैसला भएको भन्ने निवेदकहरूको मुख्य जिकिर भएकाले व्यहोरा साँचो भए सरजमिनमा बक्ने मानिस गवाईसरह हुन्छ, हुँदैन ? र सरजमिनबाट शंका गरेका मानिसहरू मध्ये ६ जना मात्र दोषी ठहरी सजाय भएकोमा झुट्टा बयान गरे भनी सरजमिनका मानिसलाई सजाय गर्न मिल्छ, मिल्दैन ? भन्ने कानूनी प्रश्न भएकाले निवेदक सरजमिनहरूलाई भएको सजायको हकमा दोहोराई हेर्ने निस्सा दिएको छ । निवेदकहरू धेरै भएकाले त्यसमध्ये यो निवेदकलाई राखी एटर्नी जनरललाई पेशीको सूचना दिई फुल बेञ्चमा पेश गर्नु । दोहोरीने भएकाले पछि निर्णय हुँदा ठहरे बमोजिम गर्ने गरी हाल सरजमिनहरूलाई दण्ड कैदमा पक्राउ नगर्नु भनी तहसीललाई लेखी पठाई दिनु भन्ने समेत माननीय प्रधान न्यायधीशज्यूबाट १९।२।१०।४ मा आदेश भएको रहेछ ।

            १३.   यसमा तारेखमा रहेका पक्षहरू समेत राखी पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक तर्फबाट रहनु भएका विद्वान वकिल प्लीडर मायानाथ, सुधानाथको बहस समेत सुनी विचार गर्दा, सरजमिन मुचुल्कामा बक्ने व्यक्तिलाई साक्षी गवाहकै सरह एकै श्रेणीमा राखी साक्षी गवाहलाई झुट्टा बकपत्र गरेमा हुने सजायको ऐन लगाई सजाय गरेको देखिएबाट (१) साक्षी गवाह र सरजमिनमा बक्ने व्यक्ति एकै वा पृथक हुन् ? र (२) सरजमिनमा झुट्टा बक्ने व्यक्तिलहरूलाई सजाय दिन मिल्छ, मिल्दैन ? भन्ने दुई मुख्य प्रश्नको विचार गरी निर्णय दिनु पर्ने हुन आयो ।

            १४.   प्रत्येक मुद्दामा वादी प्रतिवादी २ पक्ष हुन्छन र अ.बं. १०२ र १६६ बमोजिम वादी प्रतिवादीले प्रमाण खण्डमा आफ्ना साक्षी गवाह भनी लेख्छ्न । यस प्रकार साक्षीहरू आफ्ना पक्ष तर्फबाट अदालतमा आउँछन । सरजमिनमा बुझिने व्यक्तिहरू पक्षरहित हुन्छन र तिनलाई कुनै पक्षको साक्षी भन्न मिल्दैन । तसर्थ, सरजमिन भन्ने कुरा र सरजमिनमा बक्ने व्यक्तिहरूको एउटा निश्चित स्थान भएको प्रष्ट देखिन्छ ।

            १५.   अ.बं. १७५ नम्बरमा सरकार वादी हुने ज्यानमारा, डाका, रहजनी, राजकाज, गाथगादी जिउको नोक्सान हुँने शंका देखिएको हुलदंगा मुद्दामा र ज्यानसम्बन्धी २ नम्बरको ऐनमा पनि अवस्थाअनुसार तुरुन्त सरजमिन गर्नु पर्ने व्यवस्था भएको पाइन्छ । अ.बं. १७६ नं. मा सरजमिनबाट बुझ्नु पर्ने कुराको जो बुझ्नु पर्ने कुरा बुझ्नु भन्ने अ.बं. १७७ नं. मा उर्दि पुर्जि बमोजिम खटी जानेले वारदात भएको ठाउँमा गै सरजमिन बुझ्दा वारदात भएको हो रहेछ भने वारदात भएका ठाउँको नाउँ र बेला, साल, मिति समेत रिपोर्टमा लेखी सो कागजात समेत वारदात भएकै ठाउँमा पक्रिएकाहरूलाई समेत उर्दि पुर्जि दिई पठाउने अड्डामा चलान गरी ल्याउने पठाउने भन्ने उल्लेख भएको पाइन्छ । उपरोक्त नम्बरको ऐनहरूबाट फौज्दारी मुद्दामा सरजमिन मौका तहकिकात गर्ने प्रमुख उद्देश्य खास वारदात भएको हो, होइन ? र भएको भए को को मुछिएका छन् ? त्यो कुरा पत्ता लगाउनु हो । यस कुराको पुष्टि अ.बं. १७८ नं. बाट पनि अरू ज्यादा मात्रामा भएको देखिन्छ । उक्त ऐनमा सरजमिनमा गै बुझेकोमा जाहेरवालाले नालेस परेको कुरा भएकै ठहरेन भने तुरुन्त सो उजुरवालालाई ऐन बमोजिम गर्नु भन्ने उल्लेख भएबाट वारदात भएको हो होईन ? र त्यस विषयको प्रारम्भिक जानकारी सम्म पत्ता लगउनु हो भन्ने सरजमिनको मुख्य उद्देश्य देखिन्छ ।

            १६.    यसै प्रकार देवानी मुद्दामा पनि अ.बं. १२५ नं. को ऐनमा नक्सा लेखिए बमोजिम नक्साको रूप प्रष्ट देखिने गरी कैफियत खोली लेख्ने कुरा बाहेक अरू कुरा सो नक्सामा लेखे बात लाग्छ भन्ने कुरा उल्लेख भएको पाइन्छ । तसर्थ, सरजमिनसम्बन्धी ऐनहरूको विश्लेषणत्मक अध्ययन गर्दा यो स्पष्ट हुन आउँछ कि सरजमिन गर्नाको तात्पर्य वस्तुस्थिति पत्ता लगाउनु मात्र हो । सरजमिनबाट थाहा हुँन आएको कुराले मूल प्रमाणको स्थान लिदैन ।

            १७.   प्रचलित कानूनमा सरजमिनका व्यक्तिहरूलाई धर्म भकाउने तथा जिरह गर्ने व्यवस्था उल्लेख भएको पाइँदैन । अ.बं. को १८९ नं. बाट लिएर साक्षीसम्बन्धी अरू विभिन्न दफाहरूमा साक्षी गवाहलाई बकाउने कार्यविधी र कस्ता साक्षी कस्ता मुद्दामा बकाउन हुन्छ ? भन्ने उल्लेख भएको पाइन्छ । ती ऐनहरूमा व्यवस्था गरिएका अरू कुराहरूको अतिरिक्त तामा, तुल्सी समाई धर्म भकाई बकपत्र गराउने र एका गवाहाले बक्न लागेको अर्का गवाहाले सुन्न नपाउने र एका झगडीयाले अर्का झगडीयाको साक्षीहरूलाई जिरह गर्ने गर्न पाउने व्यवस्था भएको दखिन्छ । अ.बं. १९४ नं. मा साक्षी गवाहको बकपत्रको नमूना जोडिएको छ । त्यसमा खास गरी साक्षी सित तिमीले झुट्टा बकेमा सजाय पाएको छ, छैन ? भन्ने प्रश्न गरिन्छ । त्यसबाट साक्षी गवाहले जानी जानी झुठ्ठा बकेमा निजलाई सजाय हुन्छ भन्ने पहिले नै प्रष्ट गरिन्छ । यसरी विधी पुर्‍याएर जो बकपत्र लिईन्छ, त्यस बकपत्रलाई इन्साफ गर्दा मूल आधार मान्नु पर्ने भएकोले झुट्टा बकी इन्साफमा खलल पार्ने किसिमको बकपत्र गर्ने व्यक्तिलाई दण्डको भागी गर्नु पर्ने न्यायसँगत कुरा हुँन आउँछ ।

            १८.   यस प्रकार, साक्षी गवाह बकाउने र सरजमिन गराउने उद्देश्य भिन्न भिन्न देखिन्छ र विधिकर्ताले प्रचलित ऐनमा दुबैको कार्यविधीको पृथक पृथक व्यवस्था गराएको पाइन्छ । यी सब पृथक व्यवस्था र उद्देश्यबाट साक्षी गवहा र सरजमिन एकै नभई पृथक हुन भन्ने कुरा प्रष्ट हुन आउँछ ।

            १९.    अब, सरजमिनमा झुट्टा बकाउनेलाई सजाय दिन मिल्छ कि मिल्दैन ? भन्ने तर्फ विचार गर्दा, अ.बं. २१३ मा साक्षी गवाहले पक्का प्रमाण पुग्ने गरी बकी दियो भने त्यस्ता साक्षी गवाहले नभएको झुट्टा कुरा बकी लेखी दिएको ठहरेमा त्यस्ता साक्षीलाई सजाय गर्ने व्यवस्था गरेको देखिन्छ । उक्त ऐनको आदिबाट अन्त्य सम्म कहीँ पनि सरजमिन भन्ने शब्द उल्लेख भएको पाइँदैन । उक्त ऐनमा साक्षी गवाह भन्ने एकसाथ उल्लेख भएकोले गवाह शब्दले सरजमिनलाई जनाउदछ कि भन्ने तर्क गरेमा पनि गवाह भन्ने शब्द साक्षीकै लागि प्रयोग भएको हो भन्ने कुरा अ.बं. १८८, १८९ नं. १९०, १९१, १९२ आदिबाट स्पष्ट रूपमा झल्किन्छ ।

            २०.   सरजमिन र साक्षी गवाहसम्बन्धी ऐनका विभिन्न दफाहरूबाट विधिकर्ताले दुवैलाई पृथक श्रेणीमा राखी दुबैको लागि भिन्न भिन्न व्यवस्था गरेको स्पष्ट देखिन्छ र अ.बं. २१३ नं. मा सरजमिन शब्दको उल्लेख नहुँनु पनि सुनी जानेको कुरा लेखाई दिने सरजमिनको कुनै अपराध मान्न नहुँने भई तिनलाई दण्ड गर्न न्यायोचित हुँदैन भन्ने सिद्धान्त अपनाएको देखिन्छ । अतः सरजमिनमा झठ्ठा बक्नेलाई दण्ड सजाय गर्न कानूनमा व्यवस्था नभएकोले दण्ड गर्न मिल्दैन ।

            २१.   तसर्थ, नेपाल विशेष अदालतबाट सरजमिनका कृष्णबहादुर समेतका ५० जनालाई सजाय गर्ने गरेको र सो सदर गरेको स.अ. डिभिजन बेञ्चको ०१८।८।९।६ को फैसला मुनासिव देखिएन । माहिली तमाङनी १ मनकान्छी १ ठूली तमाङनी १ समेत ३ जनाका हकमा माहिली तमाङनी १ मन कान्छी तमाङनी १ समेत जना २ ले सरजमिनमा मात्र कागज गरेको नभै अड्डैमा आई किटानसाथ बयान गरेको देखिएकाले निज २ जनालाई गर्ने गरेको सजाय मुनासिवै छ । ठूली तमाङनीका हकमा मर्ने जमुनी आमाजु भनी बयान गरेको देखिएको भई मर्नेको निज ठूली तमाङनी बुहारी नाताकी देखिन आएकाले ज्यानसम्बन्धीको ४१ नं. ले ज्यान मरेको खोजी गरेको ठहर्ने भई निजलाई सजाय लग्दैन । अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

देहायका मानिस के नेपाल विशेष अदालतका ०१५।४।८ का फैसला र ०१५।५।१०।३ का लगतले गर्ने गेरेको ०१८।८।९।६ का सर्वोच्च अदालत डिभिजन बेञ्चका फैसलाले समर्थन गरेको देहायको कैदको कलम हाल माथि लेखिए बमोजिम ठहरी नलाग्ने भएकोले लगत काटी दिनु भनी का. फौ.त. मा लतग दिनु ………………….१

क. इ. रानीबन बस्ने कृष्णबहादुर श्रेष्ठको कैद महिना दश ।१०, ऐ बस्नेकुमार तमाङ के ऐ ।१०, ऐ बस्ने होमबहादुर शाही के ऐ ।१०, ऐ बस्ने शेरबहादुर तमाङ के ऐ।१०, ऐ बस्ने राजबल तमाङ के ऐ ।१०, ऐ बस्ने पूर्णबहादुर तमाङ के ऐ ।१०, ऐ बस्ने काले बलामे के ऐ ।१०, ऐ बस्ने विवेक तमाङ के ऐ ।१०, ऐ बस्ने शम्शेरबहादुर तमाङ के ऐ ।१०, ऐ बस्ने ठूले तमाङ के     ऐ ।१०, ऐ बस्ने हाकु बलामे के ऐ ।१०, ऐ बस्ने धनबहादुर रायि के ऐ ।१०, ऐ बस्ने सन्ते बलामे के ऐ ।१०, ऐ बस्ने लेखनबादुर बलामे के ऐ।१०, ऐ बस्ने नर बहादूर तमाङ के ऐ ।१०, ऐ बस्ने चतुरे तमाङ के ऐ ।१०, ऐ बस्ने जितबहादुर तमाङ के ऐ।१०, ऐ बस्ने चतुरे तमाङ के ऐ ।१०, ऐ बस्ने जितबहादुर तमाङ के ऐ ।१०, ऐ बस्ने इन्द्रमान तमाङ के ऐ ।१०, ऐ बस्ने पोये तमाङ के ऐ ।१०, ऐ बस्ने होम्बु तमाङ के ऐ ।१०, ऐ बस्ने धने तमाङ के  ऐ ।१०, ऐ बस्ने गारे तमाङ के ऐ ।१०, ऐ बस्ने अन्तरबहादुर तमाङ के     ऐ ।१०, ऐ बस्ने बम्बे तमाङ के ऐ ।१० ऐ बस्ने बिलबहादुर तमाङ के ऐ ।१०, ऐ बस्ने पृथ्वीबहादुुर तमाङ के ऐ ।१०, ऐ बस्ने नित्यबहादुर शाहि के ऐ ।१०, ऐ बस्ने कर्णबहादुर तमाङ के ऐ ।१०, ऐ बस्ने बलबहादुर बलामे के ऐ ।१०, ऐ बस्ने थोेरे बलामे के ऐ ।१०, ऐ बस्ने वीरबहादुर बलामे के ऐ ।१०, ऐ बस्ने अतिमान तमाङ के ऐ ।१०, ऐ बस्ने रत्नेसिं तमाङ के ऐ ।१०, ऐ बस्ने मानबहादुर तमाङ के ऐ ।१०, ऐ रणबहादुर ऐ के ऐ ।१०, ऐ बस्ने भिमबहादुर लामा के ऐ ।१०, ऐ बस्ने सन्त राम तमाङ के ऐ ।१०, ऐ बस्ने भिमबहादुर खत्री के ऐ ।१० ऐ बस्ने तेजबहादुर तमाङ के ऐ ।१० ऐ बस्ने जगतबहादुर तमाङ क ऐ ।१० ऐ बस्ने चनकबहादुर तमाङ के ऐ ।१०, ऐ बस्ने दलबहादुर तमाङ के ऐ ।१०, ऐ बस्ने कृष्णबहादुर तमाङ के ऐ ।१०, ऐ बस्ने कामी तमाङ के ऐ ।१०, ऐ बस्ने दलबहादुर तमाङ के ऐ ।१०, ऐ बस्ने शुुकुमान तमाङ के ऐ ।१०, ऐ बस्ने भिमलाल तमाङ के ऐ ।१०, ऐ बस्ने कुइरे तमाङ के ऐ ।१०, ऐ बस्ने गोप्य तमाङ के ऐ ।१०, ऐ बस्ने इन्द्रबहादुर तमाङ के ऐ ।१०, ऐ बस्ने ठूली तमाङनी के ऐे ऐ ।५

महिली तामाङनी १ मनु कान्छी तमाङनी समेत जना २ के माथि लेखिए बमोजिम ठहरेकोले श्री माननीय प्रधान न्यायधीशज्यू का आदेश बमोजिम हाल पक्राउ नगर्नु भनी ०१९।२।११।६ मा लेखी गए बमोजिम गर्नु पर्दैन । ऐन बमोजिम गर्नु भनी लेखी पठाई दिनु …………………….२.

नियम बमोजिम मिसिल बुझाई दिनु ……………………..३

 

इति सम्वत् २०१९ साल श्रावण २६ गते रोज ६ शुभम् ।