निर्णय नं. १६९ – .
निर्णय नं. १६९ ने.का.प. २०१९ फुल बेञ्च (आदेश) प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री बाशुदेव शर्मा न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह (१) अदालती...
निर्णय नं. १६९ ने.का.प. २०१९
फुल बेञ्च
(आदेश)
प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
न्यायाधीश श्री बाशुदेव शर्मा
न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
(१) अदालती कारवाई (विविध व्यवस्था) ऐन, २०१७ को दफा २८ अन्तर्गतको सुविधा पक्षले कहिले पाउने ? दोश्रापटक ३० दिनभित्र नथामी तारेख गुज्रेकोमा यस दफा अन्तर्गत निवेदन दिई थाम्न सक्ने ।
तर ३० दिन नघाइ ३५ दिन भित्र यदि कुनै निबेदनपत्र पर्छ भने अदालती कारवाई (विविध व्यवस्था) ऐन, २०१७ को दफा २८ अन्तर्गत थाम्न मिल्छ, मिल्दैन भन्ने प्रश्नतर्फ विचार गर्दा, उक्त ऐनमा प्रचलित नेपाल कानूनले तोकेको म्याद भित्र फैसला हुननसकेको मुद्दाको कुनै पक्षको तारिख त्यस्तो छिनिने नेपाल कानूनले तोकेको म्याद नाघी सकेपछि गुज्रेमा प्रचलित नेपाल कानूनले थाम्ने अन्य म्याद बाँकी नभए गुज्रेको मितिले ३५ दिन सम्ममा मनासिव कारण देखाई थामी माग्न आएमा त्यस अघि जतिपटक गुज्रे थमाएको भए पनि सर्वोच्च अदालत वा उच्च अदालतले थामी दिन सक्ने छ भन्ने उल्लेख भएकोले म्याद भित्र फैसला हुन नसकेको मुद्दाहरूको पक्षलाई नेपाल कानूनले थाम्ने अन्य म्याद बाँकी नभएमा गुज्रेको मितिले ३५ दिन भित्र थमाउन पाउने विशेष सुविधा प्रदान गरेको देखिन्छ । अब दोस्रोपटक थामी गुजारेको अवस्थामा मात्र उक्त दफाले दिएको सुविधा पक्षले पाउने हो कि ? भन्ने तर्फ गरेमा पनि उक्त दफाको बोलीबाटै त्यस्तै अर्थ लगाउन नमिलने हुन आउँछ । उक्त दफामा “अघि जतिपटक गुज्रे थमाएको भए पनि थामी दिन सक्नेछ ” भन्ने उल्लेख भएकोले दोश्रापटक ३० दिन भित्र नथामी गुज्रेमा यस दफा अन्तर्गत निबेदन दिई थाम्न मिल्ने देखिन्छ ।
(प्रकरण नं. २)
(२) दोश्रापटकको ३० दिने म्याद गुजारकोमा अदालती कारवाई (विविध व्यवस्था) ऐन, २०१७ को दफा २८ अन्तर्गत म्याद थमाउने निवेदन दिँदा कुन मितिदेखि हिसाव गर्नु पर्ने ?
‘थमाउने म्याद गुज्रेको’ भन्ने शब्दहरू उक्त २८ दफामा नपरी “गुज्रेको मितिले ३५ दिनसम्म” भन्ने उल्लेख भएको पान्छ । २००६ साल चैत्र ३० गतेको खड्गनिशानामा “थाम्ने म्याद गुज्रेको मितिले पहिलापटककोमा ४५ दिन भित्र र दोश्रापटकको गुज्रेकोमा गुज्रेका मितिले ३० दिन भित्र थामी दिन हुन्छ” भन्ने उल्लेख भएकोले उक्त खड्गनिशानामा पहिलापटकको लागि थाम्ने म्याद गुज्रेको मिति र दोश्रापटकको लागि तारिख गुज्रेको मिति कायम गरेको देखिएको । उक्त दफा २८ मा “गुज्रेको मितिले ३५ दिन” भन्ने प्रष्ट उल्लेख भएबाट दोश्रापटक थमाउन सक्ने ३० दिन सम्मको कानूनले दिएको सुविधा उपभोग नगर्नेलाई सो सुविधा उपलब्ध हुन नसक्ने भएकोले थमाउन पाउने ३० दिनको म्याद गुज्रेको मितिलाई गुज्रेको मिति भन्न नभै पहिले गुजारेको मितिलाई नै कायम गर्नु पर्ने र दोश्रापटक गुजारी थमाईसकेकोमा त्यसपछि गुजारेको भए सोही थमाई गुजारेको मितिदेखि हिसाब गर्नु पर्ने हुन आउँछ ।
(प्रकरण नं. ३)
(३) हाम्रो देशको अवस्थालाई बिचार गर्दा, सरजमिनले बिमारी परेको भन्ने कुराको मुचुल्का गरी दिएमा त्यस्तो मुचुल्कालाई मान्यता दिन मिल्ने नै देखिन्छ ।
(प्रकरण नं. ४)
आदेश
१. लक्ष्मणराम महतोसँगको तिरो बुझी दिएन भन्ने मुद्दामा वीरगन्ज जिल्ला अदालतले मलाई ०१९।२।७ मा हाजिर हुने तारेख तोकिएको थियो । ज्वरो आई बिमारी भई हाजिर हुन नसकी तारेख गुज्रेको हुनाले दोश्रापटक ३५ दिन पुग्ने दिन शनिवार अड्डा बिदा परेको हुँदा अड्डा सामेल भएको दिन ऐ. आषाढ १० गते हुलाकद्वारा सर्वोच्च अदालतमा निवेदन पठाएको । सो निवेदनमा ऐन सवाल बमोजिम गर्नु भन्ने आषाढ २२ गते रजिष्ट्रारज्यूबाट आदेश भएछ । मुद्दा परेको ३।४ वर्ष भईसक्यो । कानूनको म्याद भित्र किनारा नलागेको हुँदा अदालती कारवाई (विविध व्यवस्था) ऐनको दफा २८ अनुसार तारेख थामिनु पर्ने, सो कुराको जिकीर समेत छँदाछँदै ऐन सवाल बमोजिम गर्नु भन्ने आदेश भएकाले क्रय बिक्रे नै परेकोले तारेख थामी पाउँ भन्ने फुहर महतोको तो.नं. २७४ को निवेदनमा दोश्रापटक निवेदकले ३० दिन भित्र थमाउन सक्ने नै हो । तर त्यसो नगरी ३५ दिनको दिन अदालती कारवाई विविध व्यवस्था ऐन अन्तर्गत तारेख थामी पाउँ भन्ने जिकीर लिएकोमा प्रचलित नेपाल कानूनले थाम्ने अन्य म्याद बाँकी नभए गुज्रेको मितिले ३५ दिनसम्म मनासिब कारण देखाए थाम्न सक्छ भन्ने भएकाले दोश्रापटक ऐनले थाम्ने व्यवस्था भएकै छ । तर त्यो दोश्रापटकको थमाउने म्याद गुज्रेपछि पहिले गुज्रेको मिति कायम गर्ने कि उसको ३० दिन भित्र थमाउने म्याद गुज्रेको ३५ दिन भित्र निवेदन पर्नु पर्ने हो ? त्यसको समाधान गर्नलाई कानूनी व्याख्या गर्न परेको र यसरी दोश्रापटक थमाउने कानूनी व्यवस्था भएकोमा सो बमोजिम नगरी सो दोश्रापटकको थमाउने म्याद नघाई निवेदन दिएमा गुज्रेको कुन मिति कायम गरी थमाउनु पर्ने हो ? र गाउँ घरमा डाक्टर वैद्य नभएको ठाउँमा बिरामी भएको निस्सा ल्याउन नसक्ने अवस्था पर्न जान्छ । त्यसमा सर्जिमिनको मुचुल्का भई आएमा मनासिब कारण भन्न मिल्छ, मिल्दैन ? इत्यादि कानूनी प्रश्न भएकोले फुल बेञ्चमा पेश गरी निर्णय भएपछि सोही बमोजिम गर्नुुृ भन्ने ०१९।६।३।४ को श्री माननीय प्रधान न्यायाधीशज्यूको आदेश ।
२. उक्त आदेश बमोजिम निर्णय निमित्त पेश हुन आएको यसमा, २०१६ साल चैत्र ३० गतेको खड्गनिशाना बमोजिम दोश्रापटक तारेख गुज्रेकोमा गुज्रेको मितिले ३० दिन भित्र थामी पाउँ भनी निवेदन परेमा थामी दिने व्यवस्था भएको पाइन्छ । तर ३० दिन नघाई ३५ दिन भित्र यदि कुनै निवेदनपत्र पर्छ भने अदालती कारबाई (विविध व्यवस्था) ऐन, २०१७ को दफा २८ अन्तर्गत थाम्न मिल्छ, मिल्दैन भन्ने प्रश्न तर्फ विचार गर्दा, उक्त ऐनमा “प्रचलित नेपाल कानूनले तोकेको म्याद भित्र फैसला हुन नसकेको मुद्दाको कुनै पक्षको तरिख त्यस्तो छिनिने नेपाल कानूनले तोकेको म्याद नाघी सकेपछि गुज्रेकोमा प्रचलित नेपाल कानूनले थाम्ने अन्य म्याद बाँकी नभए गुज्रेको मितिले ३५ दिन सम्ममा मनासिब कारण देखाई थामी माग्न आएमा त्यस अघि जतिपटक गुज्रे थमाएको भए पनि सर्वोच्च अदालत वा उच्च अदालतले थामी दिन सक्नेछ” भन्ने उल्लेख भएकाले म्याद भित्र फैसला हुन नसकेको मुद्दाहरूको पक्षलाई नेपाल कानूनले थाम्ने अन्य म्याद बाँकी नभएमा गुज्रेको मितिले ३५ दिन भित्र थमाउन पाउने विशेष सुविधा प्रदान गरेको देखिन्छ । अब दोश्रापटक थामी गुजारेको अवस्थामा मात्र उक्त दफाले दिएको सुविधा पक्षले पाउने हो कि भन्ने तर्क गरेमा पनि उक्त दफाको बोलीबाटै त्यस्तो अर्थ लगाउन नमिल्ने हुन आउँछ । उक्त दफामा “अघि जतिपटक गुज्रे थमाएको भए पनि थामी दिन सक्नेछ” भन्ने उल्लेख भएकोले दोश्रापटक ३० दिन भित्र नथामी गुज्रेकोमा यस दफा अन्तर्गत निवेदन दिई थाम्न सक्ने नै देखिन्छ ।
३. अब दोश्रापटकको थमाउने म्याद गुज्रेपछि पहिले गुज्रेको मिति कायम गर्ने कि उसको ३० दिनभित्र थमाउने म्याद गुज्रेको ३५ दिन भित्र निवेदन गर्नु पर्ने हो ? भन्ने विषयलाई थमाउने म्याद गुज्रेको भन्ने शब्दहरू उक्त २८ दफामा नपरी गुज्रेको मितिले ३५ दिनसम्ममा भन्ने उल्लेख भएको पाइन्छ । २००६ साल चैत्र ३० गतेको खड्गनिशानामा थाम्ने म्याद गुज्रेको मितिले पहिलापटककोमा ४५ दिन भित्र र दोश्रापटकको गुज्रेकोमा गुज्रेको मितिले ३० दिन भित्र थामी दिन हुन्छ भन्ने उल्लेख भएकोले उक्त खड्गनिशानाममा पहिलापटकको लागि थाम्ने म्याद गुज्रेको मिति र दोश्रापटकको लागि तारिख गुज्रेको मिति कायम गरेको देखिएको । उक्त दफा २८ मा गुज्रेको मितिले ३५ दिन भन्ने प्रष्ट उल्लेख भएबाट दोश्रापटक थमाउन सक्ने ३० दिनसम्मको कानूनले दिएको सुविधा उपभोग नगर्नेलाई सो सुविधा उपलब्ध हुन नसक्ने भएकोले थमाउन पाउने ३० दिनको म्याद गुज्रेको मितिलाई गुज्रेको मिति मान्न नभै पहिले गुजारेको मितिलाई नै कायम गर्नु पर्ने र दोश्रापटक गुजारी थमाईसकेकोमा त्यस पछि गुजारेको भए सोही थमाई गुजारेको मितिदेखि हिसाब गर्नु पर्ने हुन आउँछ ।
४. बिरामी भएको कुरा हो भनी लेखी दिए सरजमिनको मुचुल्कालाई बेरामिको सबुद भनी मनासिब कारण मान्न मिल्छ, मिल्दैन ? भन्ने हकमा अ.बं. ७९ नं. मा कुनै कारणले बाटो रोकिन गई म्याद गुज्रन गएकोमा सरकारी अड्डा पन्चायत अमाली तालुकदार इत्यादिबाट जँचाई निस्सा लिने झगडीयाको वा झगडीया आफैले कृया गर्नु पर्ने भएको वा उसका एकाघरका जहान मरेकोमा सरजमिन भलाद्मीहरूले गरी दिएको मुचुल्कालाई प्रमाणित मानी आएको । म्याद थाम्नेबारे भएका कानूनमा, कारण मनासिब देखिए म्याद तारेख थाम्ने व्यवस्था भएकोले सो कुरा न्यायकर्ताको तजबिजमा छाडेको देखिन्छ । निबेदक झगडीया बिरामी परेको हो, होइन ? त्यसको चित्तबुझ्दो प्रमाण भेटिन्छ भने त्यसलाई न्यायकर्ताले स्वीकार गर्न वा नगर्न पनि सक्तछ । हाम्रो देशको अवस्थालाई विचार गर्दा, सरजमिनले बिरामी परेको भन्ने कुराको मुचुल्का गरी दिएमा त्यस्तो मुचुल्कालाई मान्यता दिन मिल्ने नै देखिन्छ ।
इति सम्वत् २०१९ साल कार्तिक १७ गते रोज ६ शुभम् ।