निर्णय नं. १६७२ – उत्प्रेषण
निर्णय नं. १६७२ ने.का.प. २०४० अङ्क ६ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा २०३९ सालको रिट नं. ७१४...
निर्णय नं. १६७२ ने.का.प. २०४० अङ्क ६
डिभिजनबेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह
माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा
२०३९ सालको रिट नं. ७१४
आदेश भएको मिति : २०४०।५।१२।१ मा
निवेदक : ललितपुर जिल्ला ललितपुर नगरपञ्चायत वार्ड नं.१४ मङ्गल बजार भीमसेन स्थान बस्ने खड्गबहादुर लाखे समेत
विरूद्ध
विपक्षी : जग्गा (नाप जाँच) ऐन, २०१९ को दफा ६(५) अन्तर्गत जि.का.ल.पु.का प्र.जि.अ. श्री इन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा गठित ३ नं.नापी गोश्वारा ल.पु.समिति समेत
विषय : उत्प्रेषण
(१) हक बेहकको प्रश्न उपस्थित भएमा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा (७) बमोजिम हक बेहकमा अदालतमा जानु भनी सुनाउनु पर्नेमा सो बमोजिम नगरी प्रत्यर्थी जग्गा नाप जाँच ऐन अन्तर्गत गठित समितिले माथिल्लो तल्लामा बसुन्जेलसम्म बस्न दिने व्यहोरा जनाई उक्त कित्ता स्ववासीमा दर्ता गरिदिने भनी गरेको निर्णय अधिकारक्षेत्रात्मक त्रुटि देखिने ।
(प्रकरण नं. ११)
निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री कालीराज जोशी
विपक्षीतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डे र विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवाल (२६६)
आदेश
न्या.धनेन्द्रबहादुर सिंह
१. विपक्षी समितिको ०३९।१।१७ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउन नेपालको संविधानको धारा ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्नआएको छ ।
२. संक्षिप्त तथ्य एवं जिकिर यस प्रकार छ : हाम्रो अचल गुठीको ललितपुर शहरी क्षेत्रभित्रको घर जग्गा ३ नं.नापी गोश्वारा ६ नं.नापी टोलीबाट ल.पु.न.पं.वार्ड नं.११ कि.नं.१०१० को क्षेत्रफल ०–१–१–० कायम भई नापी भएकोमा उक्त सत्तलमा विपक्षी सानुमायाका ससुरा माथिल्लो तल्लामा डेरा गरी बसेकोमा तल्लो तल्ला बाबुलाल कपालीलाई त्यसै बस्न दिएको थियो । बाबुलालको छोरा पूर्णमान कपालीले सो घर स्ववासी भनी दर्ता गराएपछि लगत प्रकाशन हुँदा थाहा पाई नापी टोलीमा उजूर गरेका थियौं । त्यस उजूरीको कारवाहीमा टोल सरजमीन हुँदा अधिकांशले सत्तल भनेका थिए । यसै बीच निर्णयको लागि विपक्षी समितिमा पेश हुँदा खड्गबहादुर लाखे समेत गुठी घर भन्ने पूर्णमान कपालीले मेरो स्ववासी घर भन्ने दावा भएकोमा खड्गबहादुर समेतले गुठी हो भन्ने कुनै प्रमाण पेश गर्न नसकेको र सानुमाया कपाली उक्त घरको माथिल्लो तल्लामा बसेको भन्ने देखिएकोले उक्त घरको माथिल्लो तल्लामा सानुमाया कपाली बसुन्जेल बस्न दिने व्यहोरा जनाई उक्त कित्ता पूर्णमानको नाउँमा स्ववासी दर्ता गरी दिने भनी ०३९।१।१७ मा विपक्षी समितिबाट निर्णय भयो ।
३. उक्त सत्तलको पश्चिममा रहेको श्रीमणीकुमार मन्दिर जिर्णोद्वार गर्दा परिक्रमा गर्न हुने गर्नलाई सो सत्तलको पश्चिम तर्फको २ फिट भत्काउन गुठी संस्थानबाट मञ्जूरी माग्दा हामी गुठियारले मञ्जूरी दिएका थियौं । पूर्णमानको स्ववासी घर भए हामीले स्वीकृति दिनुपर्ने थिएन र निजले उजूर गर्न सक्नुपर्दथ्यो । निजले सो घर स्ववासी हो भनी कुनै प्रमाण पेश गर्नुभएको छैन। ल.पु.न.पं.मा भएको १९९६ सालको लगतमा पनि सो घर ब्लक नं.५।१३ सत्तल भनिएको छ। विपक्षी समितिले प्रमाणको मूल्याड्ढन गरी बलियो प्रमाण हुनेका नाममा अस्थायी दर्ता गरी अदालतबाट हक कायम गराई आउनु भनी सुनाउनु पर्नेमा पूर्णमानको नाममा दर्ता गर्ने गरेको निर्णय कानुन विपरीत छ । तेरो मेरोको प्रश्नमा निर्णय गर्ने अधिकार विपक्षी समितिलाई नभएकोले अ.बं.३५ नं.ले बदरभागी छ । यस विषयमा सिद्धान्त समेत प्रतिपादन भइसकेको छ । तसर्थ कार्यविधि अधिकारक्षेत्रको त्रुटि गरी विपक्षी समितिले गरेको ०३९।१।१७ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत निवेदन ।
४. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत सिड्डलबेञ्चको ०३९।४।११ को आदेश ।
५. उक्त घर पूर्णमान कपालीको नाममा नक्सा भए पछि स्ववासी दर्ता गरिपाउँ भनी पूर्णमानको निवेदन (२६७) परेको र सो घर गुठी भएकोले हामी गुठियारहरूका नाउँमा दर्ता गरिपाउँ भनी खड्गबहादुर समेतको उजूर परी २१ दिने सूचना प्रकाशित भएकोमा म्याद भित्र उजूर परेकाले समितिमा निर्णय गर्न पठाइएको हो । तेरो मेरोमा विवाद परेको नभई दर्ता तिरो केही नभएको स्ववासी घर भएकोले समितिले निर्णय गर्ने अधिकार छ तसर्थ रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(५) अन्तर्गत गठित समितिको लिखितजवाफ ।
६. उक्त घरमा मेरा ससुरा काशीनाथ बसी आएको कुरा स्वसिद्ध छ जुन कुरा निवेदकले पनि स्वीकार गरेको छ । ०१२।९।९ मा बहाल बढाई गरी दिएको भनेको कबुलीयत मलाई देखाइएको छैन । मन्दिर जिर्णोद्वार गर्न स्वीकृति दिएको भनेको कागज पनि मैले देख्न पाएको छैन । स्वीकृति दिएकै भए पनि एकजना बसी आएको घरमा कसैले स्वीकृति दिँदैमा कानुनले मान्यता प्रदान गर्न सक्दैन । १९९६ सालको लगत भनेको पनि निवेदकले पेश गर्नसकेको छैन र मैले देख्न सुन्न पाएको पनि छैन । तेरो मेरोको निर्णय गर्ने अधिकार समितिलाई छैन भन्ने जिकिर सम्बन्धमा सोही कुरा खोली सोही निर्णय बदर गरी पाउन मैले रिट निवेदन दिइसकेको छु । अचल गुठीको सत्तल भनेको छ तर कुनै प्रमाण पेश गर्नसकेको छैन । मेरा ससुराको पालादेखि बसी भोगी आएको मेरो स्ववासी घर हुँदा निवेदकको हकमा कुनै आघात नपरेको तर मेरो हकमा आघात परेको हुँदा उपरोक्त आधारमा रिट जारी गरिपाउँ भन्ने समेत विपक्षी सानुमाया कपालीको लिखितजवाफ ।
७. विवादित घर मेरो स्ववासी घर हो । निवेदकले काशीनाथलाई बहालमा राखेको भन्ने कुरा झुठ्ठा हो त्यस्तो कबुलीयतको मलाई कुनै जानकारी छैन । मेरो पितालाई त्यसै बस्न दिएको भन्ने अभिकथन झुठ्ठा हो । ३ फिट जग्गा काटिएको र मञ्जूरी दिएको भन्ने कुरा निर्णायक होइन कसैले मञ्जूरी दिँदैमा हाम्रो हक जाने होइन । १९९६ सालको लगतमा सत्तल जनिएको छ भनिएको पनि झुठ्ठा हो । शहरी क्षेत्रको स्ववासी घर जग्गा सम्बन्धमा विवाद उठेमा गठित समितिले निर्णय गर्न सक्दछ । अन्यथा समितिमा पेश गर्नुपर्ने प्रावधान नै हुने थिएन । निवेदकलाई निवेदन गर्ने हकदैया नै नभएकोले समेत निवेदन खारेज गरिपाउँ भन्ने समेत पूर्णमान कपालीको लिखितजवाफ ।
८. निवेदकतर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री कालीराज जोशीले विवादित घरमा तेरो मेरो भन्ने भई हक बेहकमा निर्णय गर्ने अधिकार विपक्षी जग्गा नाप जाँच ऐन अन्तर्गत गठित समितिलाई छैन । सो निर्णय बदरभागी छ भन्ने समेत र प्रत्यर्थी समितितर्फबाट बहस गर्न उपस्थित विद्वान सरकारी अधिवक्ता श्री ईन्द्रराज पाण्डेले समितिले गरेको निर्णयमा कुनै त्रुटि छैन रिट खारेज होस भन्ने समेत र प्रत्यर्थी सानुमायातर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री पिताम्बरप्रसाद सिलवालले उक्त समितिको निर्णय बदर गरिपाउँ भनी मेरो पक्षको (२६८) पनि रिट निवेदन परेको छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
९. प्रस्तुत विषयमा रिट निवेदनको माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।
१०. यसमा निर्णयतर्फ हेर्दा ल.पु.न.पं.वार्ड ११ कि.नं.१०१० घरको कित्ता गुठी घर भन्ने समेत रिट निवेदक खड्गबहादुर लाखे समेत र मेरो स्ववासी घर भन्ने पूर्णमानको दावी भएकोमा खड्गबहादुर लाखे समेतले गुठी हो भन्ने कुनै प्रमाण पेश गर्न नसकेको र सानुमाया कपाली उक्त घरको माथिल्लो तल्लामा बसेको भन्ने देखिएकोले उक्त कि.नं.१०१० को घरको माथिल्लो तल्लामा सानुमाया कपाली बसुन्जेलसम्म बस्न दिने व्यहोरा जनाई उक्त कित्ता पूर्णमान कपालीको नाउँमा स्ववासी दर्ता गरी दिने भनी मिति ०३९।१।१७ मा प्रत्यर्थी समितिबाट निर्णय गरेको देखिन्छ ।
११. विवादित घर स्ववासी भन्ने प्रत्यर्थी पूर्णमान र गुठी भन्ने रिट निवेदकहरू भई सो घरमा तेरो मेरो भन्ने भई हक बेहकको प्रश्न उपस्थित भएको पाइन्छ । त्यस्तो हक बेहक सम्बन्धी प्रश्न उपस्थित भएकोमा सबूत प्रमाण बुझी निर्णय गर्नु पर्ने हुन्छ । तर प्रस्तुत विषयमा सबूत प्रमाण बुझी हक बेहकको निर्णय गर्न पाउने अधिकार जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा (५) अन्तर्गत गठित समितिलाई प्रदान गरेको देखिँदैन । त्यस्तो हक बेहकको प्रश्न उपस्थित भएमा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ को उपदफा (७) बमोजिम हक बेहकमा अदालतमा जानु भनी सुनाउनु पर्नेमा सो बमोजिम नगरी प्रत्यर्थी जग्गा नाप जाँच ऐन अन्तर्गत गठित समितिले माथिल्लो तल्लामा सानुमाया कपाली बसुन्जेल सम्म बस्न दिने व्यहोरा जनाई उक्त पूर्णमान कपालीका नाउँमा स्ववासीमा दर्ता गरिदिने भनी गरेको ०३९।१।१७ को निर्णय अधिकारक्षेत्रात्मक त्रुटि देखिन आयो ।
१२. अतः उपर्युक्त उल्लेख भएबमोजिम प्रत्यर्थी जग्गा नाप जाँच ऐन अन्तर्गत गठित समितिबाट गरेको मिति ०३९।१।१७ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब कानुन बमोजिम गर्नु भनी विपक्षी समितिका नाउँमा परमादेशको आदेश जारी गरिएको छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.त्रिलोकप्रताप राणा
इतिसम्वत् २०४० साल भाद्र १२ गते रोज १ शुभम् ।