निर्णय नं. १६५ – जग्गा जालसाजी खिचोला
निर्णय नं. १६५ ने.का.प. २०१९ फुल बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री स.ईश्वरीराज मिश्र न्यायाधीश श्री वाशुदेव शर्मा दे.फु.नं. ११४ निवेदक, प्रतिवादी...
निर्णय नं. १६५ ने.का.प. २०१९
फुल बेञ्च
प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान
न्यायाधीश श्री स.ईश्वरीराज मिश्र
न्यायाधीश श्री वाशुदेव शर्मा
दे.फु.नं. ११४
निवेदक, प्रतिवादी : रुपबहादुर गुरुङ
विरुद्ध
विपक्षी, वादी : जि.मु.मनबहादुर गुरुङ समेत
मुद्दा : जग्गा जालसाजी खिचोला
(१) कागज जाँचको २० नम्वर–रीतपूर्वक सहिछाप नपरेको कागजबाट नालिस उजुर लाग्न नसक्ने । कस्तो लिखत ऐनले प्रमाणमा लिन नहुने ?
…दुनियाँ गैह्रले लेनदेन कारबार लगायत घरसारमा भएको कागजमा ल्याप्चे सहीछाप गर्दा गराउँदा दायाँ बायाँ दुवै हातको बुढी औंला शंख वा चक्र रेखा प्रष्ट देखिने गरी ल्याप्चे सहीछाप गराउनु । सो बमोजिम रीतपूर्वक सहीछाप नपरेको कागजबाट नालिस उजुर लाग्न सक्दैन भन्ने कागज जाँचको २० नं. मा उल्लेख भएको । लागेको १ ल्याप्चे पनि सो ऐन बमोजिम नभएको हुनाले लिखतका हकमा उक्त ऐनले प्रमाणमा लिन मुनासिव देखिएन ।
(प्रकरण नं. १९)
(२) लिखत साँचो सद्दे व्यवहारको नदेखिएमा प्रमाणमा लिन मुनासिव नपर्ने ।
…७ थान लिखतमा लागेको सहीछापमा राजीनामा गरी दिने भनेका मझिनाको सहीछाप मिल्छ भनी विशेषज्ञले दिएको रिपोर्टबाट देखिएको तर्फ विचार गर्दा, कारणीको सहीछाप गराउँदा दायाँ बायाँ दुवै हातको बुढी औंठाको शंख वा चक्रको रेखा प्रष्ट देखिने गरी लगाउनु पर्ने कागज जाँचको २० नं. मा उल्लेख भएको र दाखिल हुन आएको कागजहरू सवैमा १।१ ल्याप्चे मात्र लागेको देखिएकाले सो ऐन बमोजिम भएको नदेखिएको र लिखतको पुछारमा कुनै लिखतमा पनि सहीछाप परेको नदेखिएको । लिखत मुनी र परेको १।१ ल्याप्चे पनि कुनैमा अक्षरमा नछोई धेरै फरकमा लगाएको र कुनैमा अक्षरमा छोए पनि अक्षरको हरफ भन्दा सहीछापको भाग माथि गएको देखिएको र ९४ साल मार्ग १८।२५ पौष १८ गतेका मितिको ३ थान लिखतको कागजको रूप रंग मसी एकै देखिन आएको समेतबाट सो लिखतहरू साँचो सद्दे व्यवहारको रहेछ भनी प्रमाणमा लिन मुनासिव देखिएन ।
(प्रकरण नं. २०)
(३) कर्जीको व्यहोरा झुट्टा देखिन आएमा व्यवहार साँचो देखिने भन्न नमिल्ने ।
९४।८।२५ को लिखतमा सत्ब्यू छर्न जान भनी कर्जा लिएको भन्ने व्यहोरा परेको र सो सालको सत्व्यू छर्ने मेला मार्ग १६ गते परेको भन्ने उल्लेख भएको । सो कुरा हैन भन्ने कुराका जिकिर प्रतिवादी पक्षले लिन सकेको नदेखिएकाले सत्ब्यू छर्ने मेला सकिए पछि सत्ब्यू छर्न जान भनी लिएको भन्ने लेखेको व्यवहार साँचो देखिन आएन ।
(प्रकरण नं. २१)
(४) कस्तो कुरा प्रतित पर्न नआउने ?
सो लिखत झुक्याई गराएको भन्ने प्र. रूपबहादुरको जिकीर भए तर्फ तालुकदार जस्तो मानिसलाई झुक्यायो भन्ने प्रतित पर्न नआउने र उही जग्गा आफुले ९४।१२।२८ मा राजीनामा गरी लिई आफ्नो हक पक्का भईसकेको भए आफुसमेत ४ जनाको हक भनी धनराजलाई बन्धकी लेखि दिनु नपर्ने । त्यसबाट पनि राजीनामा गरी लिएको भन्ने जिकिर साँचो देखिन नआइ अपुतालीबाट ४ भाग गरी खाई आएको भन्ने वादी पक्षको जिकीर साँचो देखिन आयो ।
(प्रकरण नं. २२)
(५) यस्तो सम्भवै हुन सक्ने ।
आफू जि.मु. हुँदा आफु समेतले भाग लगाई खाई आएको जग्गाको रसीद नदिनाको पनि सम्भवै कुरा हुनाले त्यतिकै कारणले मात्र वादी पक्षको हक पुग्दैन भन्न भएन । (प्रकरण नं. २४)
(६) अघिल्लो, फलाना मितिमा राजीनामा गरी लिएको भनी दावा गरेको भए र, पछिको मितिमा उही व्यक्तिले तायदातीमा सो राजीनामा गरी लिएको भनेको बस्तु नदेखाएमा –राजिनामा गरी लिएको भन्ने कुरा साँचो नदेखिने ।
यिनै प्रतिवादी रूपबहादुरको भाइ भद्रवीरले रूपबहादुर उपर दायर गरेको अंश मुद्दामा ९४ साल फाल्गुण मसान्तसम्म सगोल ठहरी, सो मिति सम्मको अंशको फाँट भनी ०४ सालमा यिनै रूपबहादुरले दिएको तायदातीमा मझिनाबाट लिएको भनेको राजिनामाहरूको जग्गा कुनै पनि तायदातीमा चढेको नदेखिएको हुनाले ९३।९४ सालमा राजीनामा गरी लिएको भन्ने कुरा यसबाट पनि साँचो देखिन आएन ।
(प्रकरण नं. २६)
निवेदक तर्फबाट : एडभोकेट कृष्णप्रसाद उपाध्याय, प्लीडर दुर्गाप्रसाद उपाध्याय
फैसला
१. कान्छी आमा मझिना ९८ सालमा मरी अपुताली पर्दा निजको काजक्रिया सवैले गरेको । दान–दक्षिणालाई मोरु ६१।५० भद्रवीरबाट लिई काम चलाई सो अपुताली वादी र हामीसमेत चारैजनाले बराबरका दरले पाउने हुनाले मझिनाबाटै बन्धक दिए जति साहुहरूको भोग भईरहेको र पधेरा स्वारा भन्ने बिज मुठी ।।।३ को जग्गा साहु भद्रवीरलाई चलन गर्न दिने । बाँकी मझिनाको भोगमा रहेको खेत पाखा जग्गाहरू नरम करम मिलाई ४ बण्डा गरी आफ्ना आफ्ना बण्डामा परेको खेत पाखोमा लागेको तिरो चलाई भोग चलन गरी आएका अवस्था अर्घोका साहु भद्रवीर गुरुङले रूपैयाँ देउ भनेकाले अन्यायवाला समेत हामी चारैजनाले धनराजबाट मोरु ६१।५० कर्जा लिई पधेरा स्वारा भन्ने बारी धनराजलाई ०२।१।७ मा भोगबन्धकी तमसुक गरी दिएकाले निजैले चलन गरेको छ । म मानबहादुरका भागको सीम खेत भन्ने मुरी ।५।१।२ मोरु ५२० मा ०७।१।४ मा राजीनामा विक्री गरेको हुनाले साहुको भोग भईरहेको अरू आफ्ना आफ्ना भागको चलन गरेका छौं । वैदुं भन्ने जग्गा लक्ष्मणलाई विक्री गरेको थाहा पाएकाले बदर गरी पाउँ भनी उजुर गर्यो भन्ने रीसले रूपबहादुरले कस्तो प्रतिउत्तर दिएको रहेछ ? भन्ने मझिनाको जग्गा मध्ये झुप्रो भन्ने खेत ।१७।५।२ बाहेक अरु जम्मै ९३।९४ सालमा राजीनामा लेखाई लिएको । झुप्रो भन्ने खेत, क्रिया खर्चमा लगाएको । मोरु १०००। तिरी खानामा वादीहरूको मञ्जुर नभएकोले मैले खाएको छु भनी झुटमुट कुरा लेखेको रहेछ । ०१२।४।२३ गते नक्कल सारी लिंदा थाहा भएकाले अपुतालीबाट हाम्रो हक भएको जग्गा एकलौटी भनी दावी गरेकाले नालिस गर्न आएका छौं । मझिनाले जितमान समेतलाई बन्धकी दिईरहेको जग्गा समेत राजीनामा लिए भनेबाट र बैदुं खेत बिक्री गर्दा अपुतालीबाट हक भएको भन्ने लेखबाट समेत राजीनामा लिएको भन्ने र एकलौटी खाएको भन्ने कुरा झुठ्ठा देखिएको । सीम खेत म मानबहादुरले निजबाट मोरु १००। मा बन्धक लिएको नभई आधा बण्डामा परी खाएको हुँ । अपुताली हामी सबैको हक लाग्ने जग्गा एकलौटी भनी दावी गरेमा सजाय गरी हाम्रो सदर थामी पाउँ भन्ने समेत ०१२।५।२६ को जि.मु. मानबहादुर समेतको फिराद ।
२. कान्छी आमा मझिनाले ९३।९४ सालमा खेत पाखा जग्गाहरू मलाई राजीनामा गरी दिएको भई मेरो भोग तिरो भएको राजीनामा रसीद म सँगै खडै हुँदा सो राजीनामा मध्येको मेरो हकको बैदुं खेत ।६।५ लक्ष्मणलाई बन्धकीमा दिएको हुँ । वादीको हकको जग्गा बेचेको होइन । मझिनाको झुप्रो भन्ने खेत क्रिया गर्दा लागेको खर्च वादीहरूले तिर्न नसक्दा सो खेत र निज बसेको घर समेत मैले भोग चलन गरेकोमा झुप्रो खेत वीर सुब्बालाई राजीनामा गरी दिएको छु । मझिनाको खेत पाखो सबै अपुताली परी भाग ४ लगाई खाएको होइन । वादीमा बन्धक राजीनामा खाएको छ भनेको जग्गा मझिनाले मलाई राजीनामा गरी दिएको भई सो मध्ये सीम खेत ।१०।२।४ बाहेक अरू पाखा कसैको खिचोला नपरी मेरो हक भोग छ । सीम खेत मध्ये ।५।१।२ मानबहादुरले रास गुरुङलाई मोरु ५२०। मा ७।१।४ मा बिक्री गरेमा म्याद भित्र छुट्टै उजुर गर्ने भएको र जोगी पाखा मझिनाले मलाई राजीनामा गरी दिएपछि तिमीलाई पायक पर्दैन भनेकाले रु. २५। मा ९५ सालमा मैले राजीनामा गरी दिएको भई निजले जितमानलाई के कतिमा बिक्री गरे ? मलाई थाहा छैन । माथि लेखिएका जग्गाको वादी मध्येको मानबहादुरले मलाई तिरो बुझी रसीद गरी दिएको छ । झुट्टा दावी लिई जग्गा पक्राउ गरेमा सजाय गरी राजीनामा रसीद बमोजिमको जग्गा मेरै हक भोग सदर थामी पाउँ भन्ने समेत रूपबहादुरको ०१२।८।२८ को प्रतिवादी ।
३. प्रतिवादीबाट पेश भएका राजीनामा रसीद वादीलाई सुनाउँदा किर्ते जालसाजी हुन् भन्ने वादी तर्फको र सद्दे हुन् भन्ने रूपबहादुर र साक्षीहरू समेतको बयान ।
४. वादीबाट पेश भएका कागज प्रतिवादीलाई सुनाउँदा ९४।१।८ को कागज ९७।१।१९ को र ०८।१२।२८ को कागज जालसाजी हो । ९५।११।२० को सद्दे हो । ०२।१।७ को तमसुक झुक्यानबाट भएको भन्ने वा. देवीप्रसादको र सद्दे हुन् भन्ने वादी पक्षको र सक्षी समेतको बयान।
५. मझिनाको अपुतालीमा वादीहरूले दाबी छोडेको लिखतमा नदेखिएको । लिखत बेगर हक छोडेको भन्ने कुरा कायम गर्न नमिली प्रतिवादी सरहकै भैयाद वादीहरूको पनि अपुतालीमा हक पुग्ने देखिएको । मझिना ९७ सालमा मरेकी । अहिले मात्र अपुतालीमा दावी गरेको भन्ने प्रतिवादीको जिकीरलाई मरे देखि भोगी आएको भन्ने वादी लेख र रसीद पनि पेश गरेकाले अपुतालीमा वादीहरूको हक छैन भन्न नमिल्ने । मझिनाले राजीनामा गरी दिएको भन्ने प्रतिवादीको जिकीर तर्फ ११ थान राजीनामा १५ महिनामा १५ दिन, महिना, दिनको फरक गरी राजीनामा गरी लिने अवस्था नदेखिने । ९४।८।२५ को राजिनामामा सदब्यू छर्न जाँदा लिएको भन्ने वापत लिएको । सो साल, बालाचतुरदशी मार्ग १६ गते परेबाट कसरी, कर्जा लिनु ? मार्ग १६ गते सद्व्यु छर्ने मेला, १८ गते निज मझिना घर गाउँमै भई अर्को राजीनामा गरी दिएको देखिएको र ०१८ सालको राजिनामामा त्यही वापत नपुग खर्च लिएको भनी लेखिएबाट मार्ग २५ गतेको राजिनामाको वापत बेमनासिवै भन्नु पर्ने । ९४।१२।२८ मा मोरु १००। मा राजीनामा लिएको भन्ने लेखाई भएको । सोही जग्गा ९५ साल फागुनमा जितमानलाई बिक्री भएको देखिएको । मैले लिए मध्ये पूर्वपट्टीको जग्गा रु. २५। मा मझिनालाई दिएको हुनाले जितमानलाई दिएको भन्ने प्रतिवादी लेखाई छ तापनि पास भएको राजीनामा सम्झी सो कुराको जिकीर लिएको देखिने । राजिनामाहरू कुनैमा पनि पुछारमा सहीछाप नभई लिखितमनिर कारणीको ल्याप्चे पनि अक्षरलाई नछोई लिफामा लिएको हो कि जस्तो देखिने । बादीपट्टीबाट दाखिल भएको कागज मौका मौकाकै भन्ने देखिएको र २।१।७ को भोगबन्धकीमा वादीको सहीछाप परेको झुक्याई गराई लिए भन्ने जिकीर छ तापनि यस किसिमबाट झुक्याई गराएको भन्न नसकेको । प्रतिवादीले देखाएका ४ सालको रसीद मध्ये २ सालको सहीछाप नबुझ्निे, २ सालको हकमा आजै छिनिएको खगेसँगको थैली बुझाई पाउँ भन्ने मुद्दाका फैसलामा लेखिएको बुँदा प्रमाणले सो रसीदहरू प्रमाण लायक ठहर्न नसक्ने समेतबाट प्रतिवादी रूपबहादुरले दाखिल गरेका सबै मझिनाको लिफा कुनै किसिमले हातपारी लिफामा लेखी पछि खडा गरेको जालसाजी ठहर्छ । मझिनाको अपुताली फिराद दावीका जग्गाहरू वादीहरू र प्रतिवादी रूपबहादुर समेतको ४ बण्डा हक भोग ठहर्छ भन्ने पोखरा अदालतको फैसला।
६. चित्त बुझेन भन्ने प्रतिवादी रूपबहादुरको र लिखत साक्षी बहादुर समेतको अपील।
७. प्रतिवादीबाट पेश भएका राजीनामा विशेषज्ञलाई जचाउँदा ७ थान मिल्दछ । ५ थान बुझिदैन भन्ने रेखा विशेषज्ञ शिवबहादुरको र ४ थान राजिनामाको जातसम्म एउटै देखिने । डिटेल नबुझिने हुँदा राय दिन नसकिने । ८ थान मिल्दछ भन्ने रेखाविशेषज्ञ विष्णुनिधिसमेतको रिपोर्ट ।
८. प्रतिवादीबाट पेश भएका कागज वादीलाई सुनाउँदा किर्ते भनी बयान गरेको । सो कागज विशेषज्ञलाई जचाउँदा मझिनाको सहीछाप परेको । रजिष्ट्रेशन पास भएको कागजमा भिडाई हेर्दा ४ थानको जात एउटै हो । डिटेल नबुझीने हुँदा राय प्रकट गर्न सक्तिन । अरू सबैको सहीछाप मिल्दछ भनी लेख दिएको हुनाले राजीनामा सद्दे रहेछ भन्नु पर्ने । किर्ते जालसाजी भन्ने वादीको बयान उचित नदेखिएको । मानबहादुरले दिएका रसीदहरू जचाउँदा पनि १ थानको सहीछाप मिल्छ भनी लेखी दिएको । त्यस्तो रसीद दिने मानबहादुर समेतको वादीहरूले ४ बण्डा लगाई खाएको भन्ने अनप्रतित मान्नु पर्ने । जितमानलाई मझिनाले गोगिन भन्ने जग्गा राजीनामा गरी दिएको किरुँचे भन्ने जग्गा २४०। मा वीरसिंह गुरुङलाई विजमाना १ बासु गुरुङ्गलाई रु. ८० मा भोगबन्धकी दिएको र कुचके भन्ने खेत सर्व गुरुङलाई राजीनामा गरी दिईसकेको जग्गा समेत रुपबहादुरले राजीनामा लिएको भन्ने वादी जिकिर भएको । जितमानलाई विक्री गरेको जग्गाको नाम नखुलेको पास नभएको हुँदा प्रमाणित मान्न नहुने । बाशु गुरुङलाई बन्धकी दिएको भनेको कागज हेर्दा किप्रोगे भन्ने जग्गा बन्धकी दिएको देखिएकाले नामै फरक भएको । पधेरा स्वारा भन्ने जग्गा ६१।५० मा रूपबहादुर समेत भई भद्रवीरलाई बन्धकी दिएको छ भन्ने लेखाई भएको । झुक्याई गराएको हो भन्ने प्रतिवादी जिकीरमा विचार गर्दा, ९८ सालमा मरेकी मझिनाको २ सालमा तमसुक खडा हुन आएको देखिएको । बन्धकीवालाले रूपबहादुर तालुकदार छँदा तिरो तिरी रसीद लिई पेश गर्न सक्नु पर्ने नसकेबाट म्यादमा भोग गर्न नसकेकोबाट लिखत बन्धकी कायम मान्न नहुने समेतबाट र मुख्य यिनै मानबहादुर तालुकदार भई रूपबहादुरबाट तिरो बुझी रसीद गरी दिएको प्रमाणबाट भोग प्रतिवादीकै भएको । म्याद भित्र अपुताली खोज नगरेको र भोगबाट प्रतिवादीको हक भईसकेको कुरामा राजीनामा बनायो होला भन्न नहुने हुनाले मौकैमा मझिनाले गरी दिएको भन्नु पर्नेबाट समेत वादीले अपुतालीबाट खाएको भन्ने दावा पुग्न सक्तैन । मझिनाको राजिनामाबाट र हकदार भोगवाला समेतका कारणबाट जग्गा प्रतिवादीकै ठहर्छ भन्ने समेत अपील दोश्राको ०१४।९।२० को फैसला ।
९. चित्त बुझेन भन्ने वादीहरूको अपील ।
१०. रूपबहादुर र निजको भाइ भद्रवीरको अंश मुद्दामा रूपबहादुरले दिएको ०४।१२।६ को तायदाती मुचुल्का पेश गरेको छु । प्रमाण लगाई पाउँ भन्ने वादी र नन्दजंग गुरुङको दर्खास्त ।
११. उक्त अंश मुद्दाको सक्कलै मिसिल झिकाई पेश गर्नु भन्ने ०१६।३।७ को आदेश ।
१२. यसमा मझिना गुरुङसिनी ९८ सालमा मरेको भन्ने दुवै थरबाट देखिन्छ । प्र. रूपबहादुरले ९३।९४ सालमा राजीनामा लिएको भए भद्रवीरसँगको अंश मुद्दामा तायदाती दिंदा पर्नु पर्ने नपरी अरू अरू जग्गामात्र परेको र वादी प्रतिवादी खास अपुताली खान पाउने मानिस हुँदा जालसाजीबाट एकलौटी गराउनसम्म तमसुक खडा गरेको प्रष्टै देखिएकोले इन्साफ पोखरा अदालतको मुनासिव देखिन्छ । अपीलसँग सहमत नमिलेकाले डिभिजन बेञ्चमा पेश गर्नु भन्ने ०१६।६।११ को सिंगलबेञ्चको आदेश ।
१३. ९४।८।२५ को राजीनामा सत्ब्यु छर्न जान चाहिदा लिएको भन्ने, सो २५ गते भन्दा अघि मार्ग १८ गतेको लिखतमा त्यही सत्ब्यू छर्न जान नपुग खर्च लिएको भन्ने लेखिएकोले पछिको लिखतमा लेखिने कुरा अघिको लिखतमा लेखिएको र सत्ब्युु छर्ने मेला मार्ग १६ गते भएको । अघि नै गईसकेको मेलालाई लिएको भनी मेला पछिको लिखतमा वापत जनिएको राजीनामा साँचो व्यवहारबाट भएको रहेछ भन्न नहुने । मझिनाको अपुताली एकलौटी खाने सबुद रूपबहादुरले दिन नसकेको । राजीनामा गरी लिई भोगेको भन्ने जिकीर तर्फ पनि राजीनामा गरी लिएको भए भद्रवीरसँगको अंश मुद्दामा दिएको तायदातीमा लेखिनु पर्ने लेख्न नसकेको समेतबाट शुरु पोखरा अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत सिंगलबेञ्चको राय मुनासिव भन्ने ०१७।३।२७ को डिभिजन बेञ्चको फैसला ।
१४. रिभ्यू गरी पाउँ भन्ने रूपबहादुरको निबेदन । रिभ्यू निस्सा हुन सक्दैन भन्ने ०१७।५।११।६ को आदेश ।
१५. यो मुद्दा समेत दोहराई पाउँ भन्ने प्रतिवादी रूपबहादुरले श्री ५ महाराजाधिराजका हजुरमा दिएको निवेदनपत्रमा १पटक दोहराई ऐन सवाल बमोजिम गर्नु भन्ने ०१८।६।८।१ को हुकूम प्रमांगी । यसै सम्बन्धको दे.फु.नं. ११३ को मिसिल साथ रहेको ।
१६. श्री माननीय प्रधान न्यायाधीशज्यूका आदेश बमोजिम जारी भएको १५ दिने म्याद ०१८।११।२८ मा तामेल भएकोमा वादीहरूले हाजिर नभई गुजारेको रहेछ ।
१७. तारिखमा रहेका निबेदक रूपबहादुर गुरुङ समेत राखी पेश हुन आएको प्रस्तुत मुद्दामा निबेदक तर्फबाट रहनु भएको विद्वान वकिल एडभोकेट कृष्णप्रसाद उपाध्याय प्लीडर दुर्गाप्रसाद उपाध्याय समेतको बहस सनुी बिचार गर्दा, मझिना मरी निजको सम्पत्तिमा झगडा परेको र निज मझिना वादी र प्रतिवादीको नातेदार मानिस भन्ने दुवै थरको लेखाईबाट देखिन आयो ।
१८. निज मझिना मरी अपुताली परेकोले हामी वादी ३ जना र प्र. रूपबहादुर समेत ४ जनाले ४ भाग गरी बराबर बाँडी खाईआएको भन्ने वादी दावी र मझिनाबाट राजीनामा लिखत गराई लिई भोग गरी आएको भन्ने प्रतिवादी पक्षको जिकीर भएकाले अपुतालीबाट खाईआएको वा राजिनामाबाट खाई आएको के हो ? त्यसको निर्णय गर्नु पर्ने देखियो ।
१९. प्रतिवादी पक्षबाट राजीनामा भनी दाखिल हुन आएको ९४।१।४।६ को रु. १०० को १, साल ९४।११।२।३ को रु. ९५ को १, साल ९४।१२।१०।४ को रु. १०० को र साल ९४।१२।२८ को रु. १०० को १ समेत ४ थान लिखतमा लागेको सहीछाप बुझिंदैन भनी एकजनाले र जात एउटै देखिने, डिटेल नबुझिने हुँदा राय दिन नसकिने भनी अर्को विशेषज्ञले राय व्यक्त गरेको र दुनियाँ गै¥हले लेनदेन कारवार लगायत घरायसमा भएको कागजमा ल्याप्चे सहीछाप गर्दा गराउँदा दायाँ बायाँ दुवै हातको बुढिऔंला शंख वा चक्रको रेखा प्रष्ट देखिने गरी ल्याप्चे सहीछाप गराउनु । सो बमेजिम रीतपूर्वक सहीछाप नपरेको कागजबाट नालिस उजुर लाग्न सक्दैन भन्ने कागज जाँचको २० नं. मा उल्लेख भएको । लागेको १ ल्याचे पनि सो ऐन बमोजिम नभएको हुनाले लिखतका हकमा उक्त एनले प्रमाणमा लिन मुनासिव देखिएन ।
२०. प्रतिवादी पक्षबाट दाखिल भएको ९३।११।१० को रु. १००। को १, साल ९३।१२।२ को रु. ९०। को १, साल ९४।२।२।७ को रु. ९२। को १, साल ९४।८।१८।६ को रु. ९५। को १, साल ९४।८।२५।६ को रु. १०० को १, साल ९४।९।१८।७ को रु. ६० को १, साल ९४।१०।३।१ को रु. ९८ को १, समेत ७ थान लिखतमा लागेको सहीछापमा राजीनामा गरी दिने भनेकी मझिनाको सहीछाप मिल्छ भनी विशेषज्ञले दिएको रिपोर्टबाट देखिएको तर्फ विचार गर्दा, कारणीको सहीछाप गराउँदा दायाँ वायाँ दुवै हातको बुढी औठाको शंख वा चक्रको रेखा प्रष्ट देखिने गरी लगाउनु पर्ने कागज जाँचको २० नं. मा उल्लेख भएको र दाखिल हुन आएको कागजहरू सवैमा १।१ ल्याप्चे मात्र लागेको देखिएकाले सो ऐन बमोजिम भएको नदेखिएको र लिखतको पुछारमा कुनै लिखतमा पनि सहीछाप परेको नदेखिएको । लिखत मुनी परेको १।१ ल्याप्चे पनि कुनैमा अक्षरमा नछोई धेरै फरकमा लगाएको र कुनैमा अक्षरमा छोए पनि अक्षरको हरफभन्दा सहीछापको भाग माथि गएको देखिएको र ९४ साल मार्ग १८।२५ पौष १८ गतेका मितिको ३ थान लिखतको कागजको रूपरंग मसी एकै देखिन आएको समेतबाट सो लिखतहरू साँचो सद्दे व्यवहारको रहेछ भनी प्रमाणमा लिन मुनासिव देखिएन ।
२१. ९४।८।२५ को लिखतमा सत्व्यू छर्न जान भनी कर्जा लिएको भन्ने व्यहोरा परेको र सो सालको सतव्यु छर्ने मेला मार्ग १६ गते परेको भन्ने उल्लेख भएको । सो कुरा हैन भन्ने कुराको जिकीर प्रतिवादी पक्षले लिन सकेको नदेखिएकाले सत्ब्यु छर्ने मेला सकिए पछि सत्व्यु छर्न जान भनी लिएको भन्ने लेखेको व्यवहार साँचो देखिन आएन ।
२२. प्रतिवादी रूपबहादुर र वादी पक्षका मानबहादुर समेत ४ जना भई २००२ साल बैशाख ७ गते ५ मा रु. ।२ तिराको पधरो बारी कान्छी आमा मझिना मरी हामीहरूको हक भएको भनी धनराज गुरुङलाई भोग बन्धीको लिखत गरी दिएको सो लिखत झुक्याई गराएको भन्ने प्र. रूपबहादुरको जिकीर भएतर्फ तालुकदार जस्तो मानिसलाई झुक्यायो भन्ने प्रतित पर्न नआउने र उही जग्गा आफूले ९४।१२।२८ मा राजिनाम गरी लिई आफ्नो हक पक्का भईसकेको भए आफू समेत ४ जनाको हक भनी धनराजलाई बन्धकी लेखी दिन नपर्ने । त्यसबाट पनि राजीनामा गरी दिएको भन्ने जिकीर साँचो दखिन नआई अपुतालीबाट ४ भाग गरी खाईआएको भन्ने वादी पक्षको जिकीर साँचो देखिन आयो ।
२३. मझिनाको अपुतालीबाट ४ जनाले ४ भाग लगाई खाई नआएको भए बैदुं खेत ।६।५ को कित्ता ९३।१०।१५ गते राजीनामा गरी लिएको भनी मि.नं. ११३ को मुद्दामा प्रतिवादी पक्षले पेश गरेको सो बैदुं खेत ।६।५ समेतको जग्गा लक्ष्मणलाइ प्र. रूपबहादुरले ११।११।१४ गते रजिष्ट्रेशन पास गरी दिएको । लिखतमा सो बैदुं खेत मुरी ।६।५ को जग्गा अपुतालीबाट हक भएको भनी लेखी दिएमा प्र. रूपबहादुर सावित भई प्रतिवादीमा लेखेको हुनाले राजीनामा गरी लिएको भन्ने प्र. रूपबहादुरको जिकीरलाई निजकै लिखतले खण्डन गरेको देखियो ।
२४. अपुताली तर्फबाट खाई आएको जग्गाको ०५ साल सम्मको तिरो भरो गरेको रसीदहरू वादी पक्षबाट पेश हुन नआएको भन्ने शंकालाई ०५ सालसम्म गाउँको जि.मु. को काम प्रतिवादी रूपबहादुर आफैले गरी आएमा सावितै भएकोले आफू जि.मु. हुँदा आफू समेतले भाग लगाई खाई आएको जग्गाको रसीद नदिनाको पनि सम्भवै कुरा हुनाले त्यतिकै कारणले मात्र वादी पक्षको हक पुग्दैन भन्न भएन ।
२५. ९३।११।१० को रु. १०० मा मझिनाबाट राजीनामा गरी लिएको भनी प्रतिवादी रूपबहादुरले दाखिल गरेको लिखतको सीम खेत वादी पक्षले मनबहादुरलाई बन्धकी दिईएको भन्ने प्रतिवादी रूपबहादुरको जिकीर देखियो । बन्धकी दिएको सबुद केही नआएको र सो सीम खेत अपुतालीबाट मेरो हक भई ०७ सालमा रास गुरुङलाई रजिष्ट्रेशन पास गरी राजीनामा गरी दिएको भन्ने मनबहादुरको जिकीर भएको । आफूले राजीनामा गरी लिई बन्धकी दिएको साँचो भए त्यस्तो बन्धकी दिएको जग्गा अपुतालीबाट हक भएको भन्ने व्यहोरा जनाई रास गुरुङलाई राजीनामा दिएको मितिले ऐनका म्याद भित्र उजुर गरी बदर गराउन सक्नु पर्ने, नसकेको हुनाले राजीनामा गरी लिएको हुँ भन्ने प्रतिवादी पक्षको जिकीर मुनासिव देखिएन ।
२६. यिनै प्रतिवादी रूपबहादुरको भाइ भद्रवीरले रूपबहादुर उपर दायर गरेको अंश मुद्दामा ९४ साल फाल्गुण मसान्तसम्म सगोल ठहरी, सो मितिसम्मको अंशको फाँट भनी ०४ सालमा यिनै रूपबहादुरले दिएको तायदातीमा मझिनाबाट लिएको भनेको राजिनामाहरूको जग्गा कुनै पनि तायदातीमा चढेको नदेखिएको हुनाले ९३।९४ सालमा राजीनामा गरी लिएको भन्ने कुरा यसबाट पनि साँचो देखिन आएन ।
२७. उपरोक्त लेखिएका कारण परिवन्दबाट राजीनामा गरी लिएको भन्ने कुरा प्रतिवादीको साँचो देखिन नआएकोले मर्ने मझिना वादी प्रतिवादीको बराबरको नातेदार देखिएको भई मझिनाको अपुताली सबैको बराबर हक लाग्ने देखिएकाले प्रतिवादी पक्षले मझिनाबाट गराई लिए भनेको लिखत जालसाजी ठहराई मझिनाको अपुताली वादी ३ जना र प्रतिवादी रूपबहादुर समेत ४ जनाले ४ भाग गरी बराबर खान पाउने ठहराई डिभिजन बेञ्चबाट १७।३।२७।१ मा भएको फैसला मुनासिव छ । अरू तपसील बमोजिम गर्नु ।
तपसील
निवेदक प्रतिवादी रुप बहादुर के मुनासिव इन्साफ उपर दोहर्याएमा शुरु दण्ड ने.रु. ३२०। १९ को हा.का. ११ नं. ले दसौंद ने.रु. ३२।२ दण्ड लाग्छ । रुजु हुँदा असूल गर्नु भनी का.दे.त.मा लगत दिनु …………….१
नियम बमोजिम मिसिल बुझाई दिनु …………….. २
इति सम्वत् २०१९ साल जेष्ठ २६ गते रोज ६ शुभम् ।