April 25, 1983
Created by nepalarchives

निर्णय नं. १६१५ – ज्यान जातक

निर्णय नं. १६१५     ने.का.प. २०४० अङ्क १   डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०२९ सालको फौ.पु.नं. ३१० फैसला...

निर्णय नं. १६१५     ने.का.प. २०४० अङ्क १

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र्रबहादुर सिंह

माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा

सम्वत् २०२९ सालको फौ.पु.नं. ३१०

फैसला भएको मिति  :     २०४०।१।१२।२ मा

पुनरावेदक/वादी : विष्णुप्रसादको जाहेरीले श्री ५ को सरकार

विरूद्ध

विपक्षी/प्रतिवादी : का.प.जि.महेन्द्र ज्योति गा.पं.वडा नं.६ बस्ने रत्नकुमारी खड्का समेत

मुद्दा : ज्यान जातक

(१)                बच्चाले स्याहार सुसार पाई सकी दुई दिन पछि मरेको देखिँदा प्रहरी प्रतिवेदन दावी बमोजिम ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय हुने अवस्था रहेन ।

(प्रकरण नं. १४)

पुनरावेदकतर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता श्री कामानन्दप्रसाद देव (साविक पेज नं. १२)

फैसला

न्या.धनेन्द्रबहादुर सिंह

१.     मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको तथ्य निम्नअनुसार छ ।

२.    २०३५।८।१० गते बिहान कामी गाउँको पुछार पिपलको रुख मुनी जिउँदो सालनाल सहितको बालक मिल्काएको सानुनानी कमेनीले रोएको सुनी हेर्न जाँदा सालनाल समेत रहेछ मेरो घरमा लगी सालनाल समेत बेडाई पालताल गरी राख्दा भोलिपल्ट मृत्यु भयो बच्चा कसले मिल्काएको हो सुराक पत्ता लगाई लास जाँच समेत गरिपाउँ भन्ने समेत विष्णुप्रसादको जाहेरी दरखास्त ।

३.    शंकर भुजेलको वीर्यबाट बच्चा जन्मिएको हो, मेरो र शंकर भुजेलको मञ्जूरीबाट बालक शंकर भुजेलले लगी फालेको हो भन्ने समेत प्र.रत्नकुमारी खड्काले प्रहरीमा गरेको बयान कागज ।

४.    शंकर भुजेल र रत्नकुमारी दुवैले जन्मिएको जिउँदो बालकलाई फाली मारेकोले ज्यानसम्बन्धी महलको सजाय माग दावी गरेको प्रहरी प्रतिवेदन । बालक शंकर भुजेलसँग सहबास भई जन्मिएको हो, बालक जन्मिए पछि मैले शंकर भुजेललाई के गर्ने भनी सोद्धा जे गरे पनि म गरुँला भनी बालक हातमा उठाई लगेका थिए उक्त बालक लगे देखि आजसम्म भेटघाट भएको छैन भन्ने समेत प्र.रत्नकुमारी खड्काले अदालतमा गरेको बयान ।

५.    प्र.रत्नकुमारीलाई चिन्दछु, निजको माइती र मेरो घर नजिकै छ । म सिकर्मी काम गर्ने भएकोले पु.२ नं. चरीकोटमा ०३४।१२।२४ गते गई ०३५।२।२५ गते घर फर्की आएको हुँ । जातक फाल्ने काम गरेको भन्ने समयमा समेत म घरमा छैन । प्र.रत्नकुमारीलाई मैले करणी गरेको समेत होइन भन्ने समेत शंकर भन्ने पदमबहादुर भुजेलले अदालतमा गरेको बयान ।

६.    पिपलको बोट मुनी सालनालको बच्चा फेला पारेको हो । सो जातक हाल थाहा पाएसम्म रत्नकुमारीले जन्माएको हो । कोको भई फाले थाहा छैन भन्ने समेत जाहेरवाला विष्णुप्रसादको बयान ।

७.    शंकर भुजेल सिकर्मी काम गर्न चरिकोट गई ०३५ साल आषाढमा मात्र घर फर्केका हुन् भन्ने समेत ध्रुब थापा र बाबुकाजी खत्रीको बकपत्र ।

८.    बच्चा फालेको ठाउँमा मरेको नभई अरूको संरक्षण पाई मरेको देखिनाले ज्यानमारा सरह सजाय गर्न नमिली ज्यानसम्बन्धीको १८ नं.बमोजिम प्र.रत्नकुमारी खड्कालाई कैद बर्ष ४ चार हुने ठहर्छ । शंकर भुजेलको हकमा रत्नकुमारीका पोल अनुसार सबूत वादीबाट गुजार्न नसेको पोलिएकै भरबाट सजाय दिन न्यायसंगत नहुने हुँदा प्र.शंकर भन्ने पदमबहादुर भुजेलले सफाई पाउने ठहर्छ भन्ने शुरू का.प.जि.अ.को फैसला । सो फैसलामा चित्त बुझेन भन्नेसमेत वादी श्री ५ को सरकारको र प्रतिवादी रत्नकुमारीको बेग्लाबेग्लै पुनरावेदनपत्र ।

९.    शुरूको इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजनबेञ्चको ०३८।२।२१ को फैसला ।

१०.    सो इन्साफमा चित्त बुझेन नवजात शिशुलाई फाली राखेको देख्ने सानीनानी कमेनीलाई समेत अदालतबाट (साविक पेज नं. १३) बुझ्नुपर्नेमा नबुझी गरिएको इन्साफ मिलेको छैन भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन ।

११.    पुनरावेदकतर्फबाट बहस गर्न उपस्थित अतिरिक्त सरकारी अधिवक्ता श्री कामानन्दप्रसाद देवले बच्चा फाली राखेको देख्ने सानुनानीलाई बुझेको छैन । प्रतिवादी रत्नकुमारीको शंकर भुजेल उपर पोल छ । जातक जिउँदो जन्मेको छ । बच्चा फल्नमा रत्नकुमारीको सहमत देखिनाले शुरू प्रहरी प्रतिवेदन दावी अनुसार सजाय हुनुपर्छ भन्नेसमेत बहस प्रस्तुत गर्नुभयो ।

१२.   प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुनआएको छ ।

१३.   मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर प्र.रत्नकुमारीको पुनरावेदन नपरी श्री ५ को सरकार वादी पक्षको पुनरावेदन परेको सम्बन्धमा मिसिल अध्ययन गरी निर्णयतर्फ हेर्दा जाहेरवाला र बच्चा फाली राखेको देख्ने सानुनानी कमेनीलाई उपस्थित गराउन शुरू काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट आदेश भएकोमा वादी पक्षबाट सानुनानी कमेनीलाई उपस्थित गराएको पाइन्न। यस स्थितिमा सानुनानी कमेनीलाई फेरी बुझिरहन आवश्यक देखिएन ।

१४.   ०३५।८।१० गते जिउँदो सालनाल सहित फाली राखेको जातक फेला परेको भन्ने विष्णुप्रसाद वाग्लेको ०३५।८।१२ को जाहेरी दरखास्तबाट देखिन्छ । उक्त जातक फालेको ठाउँमा मरेको भन्ने नदेखिई घरमा ल्याई सालनाल फाली स्याहार सुसार गरेको भोलिपल्ट बच्चा मरेको भन्ने पाइन्छ । त्यसरी बच्चाले स्याहार सुसार पाई सकी दुई दिन पछि मरेको देखिँदा प्रहरी प्रतिवेदन दावी बमोजिम प्रतिवादी रत्नकुमारीलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजाय हुने अवस्था रहेन । प्रतिवादी शंकर भुजेल उपर सहअभियुक्त रत्नकुमारीको पोल स्वतन्त्र प्रमाणबाट समर्थित देखिँदैन । यस अवस्थामा प्रहरी प्रतिवेदन दावी बमोजिम सजाय होस् भन्ने श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । तसर्थ प्रतिवादी शंकर भुजेललाई सफाई दिई प्रतिवादी रत्नकुमारीलाई ज्यानसम्बन्धीको १८ नं.बमोजिम ४ बर्ष कैद गर्ने गरेको शुरू काभ्रेपलान्चोक जिल्ला अदालतको इन्साफ सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले ठहराई छिनेको इन्साफ मनासिव ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन परेको हुँदा केही गर्न परेन । फैसलाको १ प्रति नक्कल महान्यायाधिवक्ताको कार्यालयमा पठाई फैसला बमोजिमको लगत कस्न समेत मिसिल नियमबमोजिम बुझाई दिनु ।

उक्त रायमा म सहमत छु ।

 

न्या.त्रिलोकप्रताप राणा

 

इतिसम्वत् २०४० साल बैशाख १२ गते रोज २ शुभम् ।

 

