February 1, 1983
Created by nepalarchives

निर्णय नं. १५९५ – उत्प्रेषणको आदेश जारी गरि पाऊँ ।

निर्णय नं. १५९५    ने.का.प. २०३९ अङ्क १०   डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३८ सालको रिट नं. १४६७...

निर्णय नं. १५९५    ने.का.प. २०३९ अङ्क १०

 

डिभिजनबेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३८ सालको रिट नं. १४६७

आदेश भएको मिति  : २०३९।१०।१८।३ मा

निवेदक : ना.अं.जि.म.हे.न.पं.वडा नं.१बस्ने जंगलचा नेवार भन्ने जनकलाल तजु श्रेष्ठ

विरुद्ध

विपक्षी : जि.म.हे.न.पं.वडा नं.१ हेटौडाबजार बस्ने सोममाया पिठाकोटी मगरसमेत

विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१)                भूमिसुधार शाखाले सरजमिनको आधारमा भू.सं.ऐन, २०२१ को दफा २५ (२) अन्तर्गत मोही कायम गर्ने गरेको निर्णय त्रुटिपूर्ण देखिने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री अर्जुनप्रसाद लम्साल

विपक्षी तर्फबाट      : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल

आदेश

न्या.सुरेन्द्रप्रसाद सिंह

१.     प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत परी पेश हुन आएको छ । २.     तथ्य यस प्रकार छ : विपक्षीका नाममा दर्ता रहेको ३१ नं.मौजे हे.न.पं.वडा नं.१ को क्षेत्रफल १० जग्गा ०३५ सालदेखि कमाई आएकोले सो जग्गामा बनेको फुस्को छाना भएको घर समेत बनाई बसेको अधिया बाली बुझाउँदै आएको हुँदा भू.सं.ऐन, ०२१ दफा २५ को उपदफा (२) बमोजिम मोही हक कायम गरीपाउँ भन्ने सोममायाको वादी । सो जग्गा विपक्षीलाई कमाउन दिएको छैन मेरा पूँजीबाट तयार भएको घरमा महिनाको रु.१००।भाडा लिने गरी भाडामा दिएको हो भन्ने रिटनिवेदकको प्रतिवाद भएकोमा सरजमिनमुचुल्काको आधारमा हे.न. पं.वार्ड नं.१ कित्ता नं.६९ को १२ मध्ये दक्षिण तर्फबाट १० जग्गा भू.सं.ऐन, ०२१ को दफा २५ को उपदफा (२) बमोजिम वादी सोममायाँ पिठाकोटी मोही कायम हुने ठर्हछ भनी विपक्षी जि.का.भूमिसुधार शाखा मकवानपुर भिमफेदीबाट ०३८।९।३।६ मा निर्णय भएको छ ।

३.    रिट निवेदन जिकिर यस प्रकार छ : जग्गा कमाउन लिँदा दिँदा दोहरी कबुलियत र कूत बुझेको रसिद हुनु पर्ने, लिखित कबुलियतको अभावमा मोही कायम गरेको निर्णयले भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ को उपदफा (२) तथा ऐनको दफा ३४ को उल्लंघन हुन गएको छ । सरजमिनको आधारमा मोही कायम गरेको त्रुटि छ । सो निर्णय बदर गरी पाउँ भन्ने रिट निवेदन जिकिर ।

४.    विपक्षीसँग लिखितजवाफ लिने भन्नेसमेत सर्वोच्चअदालत सिं.बेञ्चको ०३८।१०।८ को आदेश ।

५.    जग्गा जोती आएको भन्ने र सो जग्गामा घर छाप्रो समेत बनाई बसेको भन्ने सरजमिन समेतको आधारमा भएको निर्णयमा कानूनी त्रुटि छैन भन्ने समेत भूमिसुधार शाखा मकवानपुर भिमफेदीको लिखितजवाफ ।

६.    निवेदकको जग्गा ०३५ सालदेखि जोती बाली बाँडी आएको छु । मैले घर गोठ बनाई बसी आएको हुँ, मोहीबाट हट्नु पर्ने होइन, रिट खारेज हुनुपर्छ भन्ने सोममायाँको लिखितजवाफ ।

७.    निवेदकको वारेस खिलनाथ उपाध्याय प्रत्यर्थीको वारेस प्रकाशविनोद शर्मा रोहवरमा रही पेश हुन आएकोमा निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री अर्जुनप्रसाद लम्सालले कबुलियत र भरपाईको अभावमा मोही कायम गरेको त्रुटि छ, निर्णय बदर हुनुपर्छ भन्ने समेत र प्रत्यर्थी कार्यालय तर्फबाट बहस गर्न खटिनु भएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले सरजमिन समेतका आधारमा मोही कायम गरेकोमा कानूनले त्रुटि भएको छैन रिट खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।

८.    प्रस्तुत विषयमा निवेदकका माग अनुसारको आदेश जारी हुनु पर्ने हो, होइन सो कुराको निर्णय दिनु परेको छ ।

९.    यसमा निर्णय तर्फ हेर्दा २०३५ सालदेखि कमाई आएको हुँदा मोही कायम गरी पाउँ भन्ने दावी भएकोमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २५ को उपदफा (२) बमोजिम प्रत्यर्थी सोममायाँ मोही कायम हुने भनी प्रत्यर्थी भूमिसुधार शाखा मकवानपुरले निर्णय गरेको देखिन्छ ।

१०.    सो भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा (२) अन्तर्गत मोही कायम गर्न सोही ऐनको दफा ३४ अन्तर्गत कूत कबुलियत हुनु अनिवार्य छ । तर, सो अनुसार कूत कबुलियत छ भन्न र प्रत्यर्थी भूमिसुधार अधिकारीले आफ्नो निर्णयमा त्यस्को आधार लिन सकेको देखिँदैन। यस अवस्थामा कानूनले निर्धारित गरेको पूर्वावस्थाको अमावमा प्रत्यर्थी भूमिसुधार अधिकारी, भूमिसुधार शाखा मकवानपुरले प्रत्यर्थी सोममायाँलाई सरजमिनको आधारमा भू.सं.ऐन, ०२१ को दफा २५ (२) अन्तर्गत मोही कायम गर्ने गरेको निर्णय त्रुटिपूर्ण देखिन आयो ।

११.    अतः उपरोक्त उल्लेख भए अनुसार प्रत्यर्थी भू.सु.अ.भूमिसुधार शाखा मकवानपुरले गरेको मिति ०३८।९।३ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठर्हछ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

उक्त रायमा म सहमत छु ।

 

न्या.धनेन्द्रबहादुर सिंह

 

इतिसम्वत् २०३९ साल माघ १८ गते रोज ३ शुभम् ।