March 3, 1982
Created by nepalarchives

निर्णय नं. १५१६ – उत्प्रेषण

निर्णय नं. १५१६   ने.का.प. २०३८           अङ्क ११ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३६ सालको रिट नं. १११० फैसला...

निर्णय नं. १५१६   ने.का.प. २०३८           अङ्क ११

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३६ सालको रिट नं. १११०

फैसला भएको मिति :   २०३८।११।१२ मा

निवेदिका : दमकडा नि.मा.वि.मदनपोखरा पाल्पाकी शिक्षीका श्रीमती सीतादेवी अधिकारी

विरुद्ध

विपक्षी   : श्री ५ को सरकार शिक्षा मन्त्रालय, केशरमहल काठमाडौंसमेत

विषय : उत्प्रेषण

(१) रिट निवेदकले नियमावलीमा तोकिए बमोजिमको विषयको परीक्षा नदिई नियमावलीमा उल्लेख नभएको व्यवसायिक विषयको परीक्षा दिनु भएकोले नियमावलीले तोकेबमोजिमको परीक्षा नदिई आफ्नो स्वेच्छाले परीक्षा दिई उक्त परीक्षाको परीक्षाफल पाउँ भनी गरेको जिकिर कानून अनुरूप नदेखिँदा अधिकार प्राप्त निकाय परीक्षा नियन्त्रण कार्यालयले निजको उपरोक्त नियमावली अनुरूप नदिएकोमा परीक्षालाई मान्यता नदिने गरेको कानून अनुरूप देखिने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल

विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल

आदेश

          न्या. हेरम्बराज : नेपालको संविधानको धारा १६,७१ अन्तर्गत पर्न आएको रिट निवेदनको तथ्य तथा जिकिर संक्षेपमा यस प्रकार रहेछ :

          २.  प्रवेशीका परीक्षा अर्थात माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (स्कूल लिभिङ सर्टिफिकेट इक्जामिनेशन) उत्तीर्ण नभएका विद्यालयका शिक्षक शिक्षिकाहरूले २ खण्ड गरी सो परीक्षामा सम्मिलित भई परीक्षा दिन पाउने व्यवस्था अन्तर्गत सम्वत् ०३१ सालको परीक्षामा सम्मिलित हुन चाहेका विषयहरू अंग्रेजी प्रथम र द्वितीयपत्र प्रारम्भिक संस्कृत प्रा.नेपाली र व्यवसायिक गृह विज्ञान प्रथम र द्वितीयपत्र तोकिएको ढाचाको फाराम भरी सो विषयहरूमा विपक्षीहरू बाट नै प्रमाणित गरी परीक्षा नियन्त्रण कार्यालयमा पठाई परीक्षा केन्द्र पाल्पाबाट क्रमांक १३१ तोकी मिति ०३१।१०।१३ मा दिइएको प्रवेशपत्रमा परीक्षार्थीले आफूले भरेको विषयहरूमा मात्र जाँच दिनु पर्ने र अन्य विषयमा जाँच दिएमा परीक्षा फल स्वतः रद्द गरिने छ भन्ने समेत उल्लेख गरी अधिकार प्राप्त अधिकारी जि.शि.अ.र उपसचिव १ परीक्षा उपशाखाले (प्रमाणित प्रमाणितको गरेको प्रवेशपत्रको प्रतिलिपि यसै साथ पेश गरेको छु) गरे बमोजिको प्रवेशपत्रमा उल्लेख गरेको विषयहरूमा परीक्षा दिएँ । मिति ०३२।३।१० को गोरखापत्रमा खण्डे एस.एल.सी.परीक्षाको नतिजा प्रकाशित हुँदा त्यसमा प्रा.उ.प्रयोगात्मक परीक्षाको अंक नआएकोले परीक्षाफल रोक्का गरिएको थियो । अतः उक्त प्रयोगात्मक परीक्षाको अंक प.नि.का.मा चाँडो पठाउन बार बार निवेदन गर्दा केही दिनमा तपाईं एस.एल.सी.परीक्षाको प्रथमखण्डमा पास भइसक्नु भएको छ, लब्धांक आएको छैन । दोस्रोखण्डको लागि तयार गर्नुस् भनी सल्लाह समेत दिएकोले उक्त परीक्षा दिन फाराम भर्ने समयमा परीक्षा दिन पर्ने अनिवार्य विषयहरू गणित, साधारण विज्ञान, जीवन विज्ञान (इच्क्षाधिन) हाइजिन र फिजियोलोजी (थप इच्क्षाधिन) र पञ्चायत समेत भरी विपक्षी जि.शि.अ.ले नै प्रमाणित गरी प.नी.का.मा पठाएकोमा परीक्षाकेन्द्र पाल्पाबाट एस.एल.सी.दोस्रोखण्डको परीक्षामा सम्मिलित हुन पाउने गरी मिति ०३२।१०।२१ मा क्रमांक ४१२ को प्रवेशपत्र प्राप्त भई परीक्षा दिएँ । मिति ०३३।४।३ मा परीक्षाफल प्रकाशित भयो । जाँच दिएका विषयहरू समेत उल्लेख गरी मेरो क्रमांक ४१२ पनि उत्तिर्ण घोषित गरियो । लब्धांक पत्र जि.शि.अ.कार्यालयमा माग गर्दा आएको छैन प्रथम र द्वितीय दुवै मार्कसिट एकैपटक स्कूल लि.स.दिने बेला सम्ममा लिए पनि हुन्छ भनी मार्कसिट दिइएन बारम्बार माग गर्दा ०३६।९।१९ मा मात्र जि.शि.अ.ले आफ्नै हस्ताक्षरले प्रमाणित गरी एस.एल.सी. प्रथम र द्वितीयखण्डको पृथकपृथक मार्कसिट दिनुभयो । जस्को प्रतिलिपि साथै पेश गरेको छु । दिइएको उक्त प्रमाणपत्रमा गृहविज्ञान प्रथम ऐ.र द्वितीयपत्रको अंक समावेश नभएको देखियो ।

          ३.  यी दुवै पत्रमा फाराम भरिएको र प्रवेश पत्रमा समेत यो विषयमा जाँच दिन स्वीकृत दिई परीक्षा दिएको हुँदा उक्त विषयमा अंक भरी पाउन जि.शि.अ.समक्ष अनुरोध गर्दा सैद्धान्तिक (थ्योरी) तर्फको अंक प.नि.का. बाट नै नआएकोले भर्न मिलेन प.नि.का.मा नै सम्पर्क राख्न जानु भनी मिति ०३६।९।१९ मा मौखिक सुनाए पछि प.नि.का.मा उक्त अंक समेत भएको लब्धांकपत्र पाउँ भनी निवेदन दिएकोमा ०३६।९।२६ मा प्रथमखण्डको गृहविज्ञानको सैद्धान्तिक एवं प्रयोगात्मक परीक्षाको समेत अंक नचढाई अंग्रेजी, नेपाली, प्रा.प्रा.संस्कृतको अंक मात्र चढाई द्वितीयखण्डको मार्कसिट र स्कूल लिभिङ सर्टिफिकेट समेत नदिइने भनी सुनाएकाले सो को कारण सोध्दा प्रथमखण्डमा गृहविज्ञान लिई परीक्षा दिन नपाइने हुँदा प्रथमखण्ड पास गरेको भन्न नमिल्ने हुँदा द्वितीयखण्डको परीक्षाफल र प्र.ख.को ग.वि.परीक्षाफल समेत रद्ध गर्ने निर्णय भएको हुँदा रद्द गरिएको छ भनी सुनाइयो, निर्णयको नक्कल माग गर्दा दिइएन ।

          ४.  गृ.वि.लिई परीक्षा दिन नपाउने भन्ने कुनै प्रकाशित नियम कानून छैन । त्यसमा पनि जि.शि.अ.ले त्यस विषय लिई जाँच दिनु हुन्छ भनी प्रमाणित गरी विपक्षी प.नि.का.पठाइएको र उक्त कार्यालयका उपसचिवले श्री ५ को सरकार शि.मं.को तर्फबाट सहिछाप गरी प्रवेशपत्र दिई उक्त विषयमा श्री ५ को सरकार तर्फबाटै स्वीकृति दिइएको हो यदि उक्त विषयमा जाँच दिन नपाउने भए उही बखत जानकारी दिन पर्ने सो नदिएको र परीक्षाफल प्रकाशित हुँदा पनि लिन नहुने विषय लिएको भनी परीक्षाफल रद्ध गरिएको छैन । प्रथमखण्डमा उत्तीर्ण नभएको भए द्वितीयखण्डको जाँच दिने स्वीकृति विपक्षीहरू बाट दिने प्रश्न उठ्दैन द्वितीयखण्डको परीक्षाफल प्रकाशित गरी मलाई उत्तीर्ण घोषित गरिसकेपछि (उक्त परीक्षा विपक्षीहरू लाई झुक्याई दिएको पनि होइन) एस.एल.सी.प्रथमखण्डमा सबै विषयमा पास गरेको छैन भन्न पाउने अधिकार विपक्षीलाई कुनै कानूनले प्रदान गरेको छैन । अतः त्यस्तो गैरकानूनी निर्णयले मेरो संवैधानिक हक हनन भएकोले त्यस्तो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिपाउँ भन्ने समेत रिट निवेदन जिकिर रहेछ ।

          ५.  विपक्षीहरू बाट लिखिलजवाफ मगाई पेश गर्नु भन्ने समेत सिंगल बेञ्चको आदेशानुसार प्राप्त लिखितजवाफको जिकिर संक्षेपमा यस प्रकार रहेछ ।

          ६.  खण्डे एस.एल.सी.परीक्षाको नियमावली, २०३१ को नियम ६ मा प्रथमखण्डको सबै विषय निर्णय नगरी दोस्रोखण्ड परीक्षा दिन पाइने छैन र एकै वर्षमा दुवै खण्डको परीक्षा पनि दिन पाइने छैन भन्ने कानूनी व्यवस्था भएको देखिन्छ तर निजले प्रथमखण्डको परीक्षा दिँदा अंग्रेजी प्रथम र दोस्रो प्रा.नेपाली प्रा.उपचार वा प्रा.संस्कृत, इतिहास, भूगोल र पूर्वीय भाषाको परीक्षा नदिई विधिवत उक्त परीक्षामा उत्तीर्ण भएको मानिदैन । कुनै परीक्षार्थीले आफ्नो स्वेच्छाले अन्य विषयमा परीक्षा दिई सो विषयमा उत्तीर्ण भई दिनु र दिनु पर्ने विषयमा जाँच नदिई अनुत्तिर्ण हेरीरहे विधिवत निजले आफ्नो दायित्व बहन गरी सम्पूर्ण परीक्षामा उत्तीर्ण भएको कदापि मानिन सक्ने स्थिति देखिँदैन । यसर्थ प्रस्तुत रिट निवेदिकाले पनि सो बमोजिम आफूले अनिवार्य रूपबाट परीक्षा उत्तीर्ण हुनुपर्ने कुरा नगरी आफ्नो स्वेच्छाबाट अर्थात अनधिकृत रूपले अन्य विषयमा परीक्षा दिई पास गरेको आधारबाट निजले सम्पूर्ण एस.एल.सी.को परीक्षा पास गरेको विधिवत मानिँदैन । निजले पास नगरेको विषयमा पास गरेको सरह मानी खण्डे एस.एल.सी. पास भएको लब्धांकपत्र पाउँ भन्ने समेत कुरा अनधिकृत तथा निराधार देखिँदा गैरकानूनी कारवाहीबाट कानूनी हकको सिर्जना हुन नसक्ने हुँदा उक्त निर्णयबाट निवेदिकाको कानूनी तथा संवैधानिक हक हनन् भएको नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत का.मु.नियन्त्रक परीक्षा नियन्त्रण कार्यालयका उपसचिव शिक्षा मन्त्रालयको एकै व्यहोराको लिखितजवाफ रहेछ ।

          ७.  सीतादेवीको उल्लेख अनुसार शिक्षा मन्त्रालय परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त भएका यस शाखामा परीक्षा सम्बन्धी विभिन्न नियम र परिपत्रका अध्ययनबाट विद्यालयमा अध्यापन गरी रहेका शिक्षिकाले गृह विज्ञान विषयमा खण्डे परीक्षा दिन नपाउने भन्ने उल्लेख भएको नपाइएको खण्डे एस.एल.सी. परीक्षामा सम्मिलित प्रथमखण्ड र द्वितीयखण्ड गरी दुई वर्षमा परीक्षा दिन पाइने तर प्रथमखण्डमा कुन कुन विषय र द्वितीयखण्डमा कुन कुन विषयमा परीक्षा दिन पाइन्छ भन्ने यकिन साथ यस शाखामा तत्कालिन रेकर्ड नहुँदा थाहा नलागेकोले प.नि.का.बुझे पुग्ने र एस.एल.सी.को परीक्षाफल प्रकाशित गर्ने रद्द गर्ने तथा मार्कसिट र प्रमाणपत्र दिने सम्बन्धी सम्पूर्ण अधिकार प.नि.का.लाई मात्र भएको हुँदा वादीको दावी सम्बन्धमा के कसो निर्णय भएको छ सोको जानकारी उक्त कार्यालयबाट बुझे पुग्ने भन्ने समेत जि.शि.अ.जि.का.शि. शाखाको लिखितजवाफ रहेछ ।

          ८.  तारेखमा नि.का.वा.झलकबहादुरलाई रोहवरमा राखी निवेदक तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण अर्याल र विपक्षी कार्यालय तर्फबाट खटिई उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालको बहस समेत सुनियो, निवेदकको मागबमोजिम आदेश जारी गर्न मिल्ने नमिल्ने के हो सो निर्णय दिनु परेको छ ।

          ९.  निर्णयतर्फ विचार गर्दा दिइएको परीक्षाको परीक्षाफल प्रकाशित गरी उत्तीर्ण घोषणा गरी सकेपछि सबै विषय पास गरी सकेको छैन भन्ने अधिकार विपक्षीलाई छैन भन्ने समेत रिट निवेदन जिकिर रहेछ ।

          १०.  श्री ५ को सरकार शिक्षा मन्त्रालय परीक्षा नियन्त्रण कार्यालयबाट प्रकाशित खण्डे एस.एल.सी.परीक्षा सम्बन्धी नियमावली, २०३१ को नियम ७ (ख) मा एस.एल.सी.मा प्रचलित पाठ्यक्रमलाई प्रथम र द्वितीयखण्ड गरी दिन पर्ने अनिवार्य विषयहरू तोकिएकोमा खण्डे एस.एल.सी.परीक्षार्थीले प्रचलित एस.एल.सी.परीक्षार्थीले झैं व्यवासायिक विषयको परीक्षा दिन पाउने गरेको देखिन आएन । नियमावलीको नियम ७ (ख) मा तोकिएको प्रथमखण्डमा अनिवार्य रूपमा दिन पर्ने विषयहरूमा इतिहास वा भूगोल, प्रा.नेपाली पनि भएकोले रिट निवेदक सीतादेवी अधिकारीले उक्त नियमावलीमा तोकिएबमोजिम इतिहास वा भूगोल विषयको परीक्षा नदिई नियमावलीमा उल्लेख नभएको व्यवसायिक विषय (गृह विज्ञान) को परीक्षा दिनु भएको देखिएकोले नियमावलीले तोकेबमोजिमको परीक्षा नदिई आफ्नो स्वेच्छाले परीक्षा दिई उक्त परीक्षाको परीक्षाफल पाउँ भनी गरेको जिकिर कानून अनुरूप नदेखिँदा अधिकार प्राप्त निकाय परीक्षा नियन्त्रण कार्यालयले निजको उपरोक्त नियमावली अनुरूप नदिएको परिक्षालाई मान्यता नदिने गरेको कानून अनुरूपै देखिँदा निवेदन जिकिर अनुसारको आदेश जारी गर्न नमिल्ने हुँदा रिट निवेदन खारेज हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह

 

इति सम्वत् २०३८ साल फाल्गुण १२ गते रोज ३ शुभम् ।