November 26, 1981
Created by nepalarchives

निर्णय नं. १४९७ – जग्गा खिचोला

निर्णय नं. १४९७  ने.का.प. २०३८               अङ्क ९ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् ०३७ सालको दे.पु.नं. २७५ फैसला...

निर्णय नं. १४९७  ने.का.प. २०३८               अङ्क ९

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् ०३७ सालको दे.पु.नं. २७५

फैसला भएको मिति : ०३८।८।११ मा

पुनरावेदक : का.न.पं.वा.नं. २६ बस्ने विष्णुदेवी गुरुंसेनी

विरुद्ध

विपक्षी  : ऐ.ऐ. बस्ने श्रीमती फुलकुमारी राणा

मुद्दा : जग्गा खिचोला

(१) जग्गासमेत मिचिने गरी पर्खाल भत्काई ग्यारेज घर बनाउन लागे भन्ने कुरा वादीलाई थाहा भएपछि सो मितिले तत्कालिन जग्गा मिच्नेको १८ नं. का म्याद २ वर्ष नाघी प्रस्तुत मुद्दाको फिराद दायरभएको देखिन आएको छ । यस स्थितिमा म्यादभित्र फिराद परेको भनी इन्साफ गर्नुपर्नेमा शुरूले खारेज गरेकोलाई सदर गरेको बा.अं.अ.को फैसला बदर हुन्छ कानूनबमोजिम इन्साफ गर्न शुरूमा पठाउने गरेको म.क्षे.अ.को फैसला मिलेको नदेखिने ।

(प्रकरण नं. ११)

फैसला

        न्या. धनेन्द्रबहादुर सिंह : प्रस्तुत मुद्दामा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३७।११।२३ को आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएकोमा मुद्दाको तथ्य निम्न अनुसार छ ।

        २.  पूर्व मेरै घर पश्चिम आफ्नै जग्गा उत्तर आफ्नै जग्गा र बाटो दक्षिण सडक यति ४ किल्ला भित्रको दश आना जग्गामा हाल घर बनाउँदा कायम हुने पूर्व आफ्नै घर पश्चिम उत्तर आफ्नै जग्गा दक्षिण मूल सडक यति ४ किल्ला भित्रको का.न.पं.२६ वडाको ज्ञानेश्वरको जग्गा मध्येमा घर बनाउन पाउँ भनी दरखास्त गरेको रहिछन सो कुरा ०२८ साल मार्ग ७ गते सरजमीन हुन आउँदा थाहा पाई मेरो मूल ढोका र बाटो बिगार्न नपाओस भनी तमसुकमा लम्बा चौडा नाप खुलाई लेखी दिएको भएपछि त्यसदेखि बढी जग्गा निजको नभएकोमा मेरो मूल ढोकाको दक्षिणतर्फको लठ्ठाको दक्षिणतर्फ छेड्नुबाट २ फिट उत्तर घुमाई दक्षिण पर्खालसम्मको जग्गा दिएकोमा निजको घरबाट सोझै मेरो ढोकाको लठ्ठा समेत बनाउन नक्सा दरखास्त दिएकोले बनाउन दिन मञ्जूर छैन सरजमिनमा उजूर दिएपछि मिचिने भए का.जि.अ.मा नालेस गर्न जानु भनी नक्सा मुद्दा फाँटबाट पर्चा भएकोले नालेस गर्न आएको छु मेरो एकलौटी बाटो र जग्गासमेत उत्तर दक्षिण २१ फिट पूर्व पश्चिम १०० फिट र पश्चिममा जग्गाको घुमाउरो जग्गासमेत खिचोला गरी नक्सा दरखास्त गरेमा सजाय गरी राजीनामा बमोजिमको जग्गासम्म निजको कायम गरी खिचोला मेटाई पाउँ भन्ने समेत २०३०।७।३० को फुलकुमारी राणाको फिराद ।

        ३.  मैले ४ किल्ला हाली घर बनाउन पाउँ भनी नक्सा दरखास्त ०३८।५।२८ मा दिँदा १५ दिने म्याद टाँस भई वादीले ०३०।६।२२ मा साँधसीमाना नछुट्याएसम्म मोटर ग्यारेज घर बनाउन नपाउने आदेश पाउँ भन्ने उजूरी दिएको र ०२८।६।३१ मा श्री ५ का जुनाफमा म्याद थामी तारेखमा रही कारवाही गर्न पाउँ भनी बिन्तिपत्र चढाउनु भएको मैले नक्सा दरखास्त गरेको कुरा म्याद टाँसिदा थाहा भई ०२८।६।२२ मा उजूरी र ०२८।६।३१ मा निवेदन दिएको हुँदा जग्गा खिचोला सीमाना चापेको कुरामा जग्गा मिच्नेका १८ नं. को म्याद २ वर्षभित्र फिराद गर्न नसकेको सो म्याद नघाई जग्गा तेरो मेरो सम्बन्धी मुद्दा दायर गरेको हुँदा फिराद खारेज गरिपाउँ भन्ने समेत विष्णुदेवी गुरूंसेनीको प्रतिउत्तर ।

        ४.  जग्गा मिच्नेको १८ नं. को म्याद २ वर्ष नाघी परेको फिराद देखिएकोले अ.बं.१८० नं. ले खारेज हुन्छ भन्ने समेत का.जि.अ.को फैसला । सो फैसलामा चित्त बुझेन भन्ने समेत वादी फुलकुमारीको बा.अं.अ.मा परेको पुनरावेदन शुरूको इन्साफ मनासिव ठहर्छ भन्नेसमेत बागमती अञ्चल अदालतको ०३४।९।५।३ को फैसला ।

        ५.  सो फैसलमा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परेकोमा मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगल बेञ्चबाट ०३५।११।२४ मा पुनरावेदनको अनुमति भई वादी फुलकुमारीको परेकोमा पुनरावेदन ।

        ६.  नक्सा दरखास्त दिँदा वादीलाई सँधियार बनाएको देखिएन सँधियार नबनाएको व्यक्तिलाई थाहा हुने कुरा भएन ०२८।८।७ मा का.न.पं.बाट सरजमीन हुँदा खिचोला गरेको कुरा थाहा हुन आएको देखिनाले सो मितिबाट फिराद दुई वर्षभित्र दायर रहेको प्रस्तुत मुद्दामा इन्साफ गर्नु पर्नेमा शुरूले खारेज गरेकोलाई सदर गरेको फैसला कानूनी त्रुटि हुँदा सो फैसला बदर हुन्छ । इन्साफ गर्न मिसिल शुरूमा पठाउने समेत ठहर्छ भन्ने समेत । ०३७।९।१७ को मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

        ७.  सो फैसला कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादीको निवेदन परेकोमा वादी फुलकुमारीले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको ०२८।६।३१ को निवेदन लेखाइबाट जग्गा मिचेर नक्सा दरखास्त दिई खिचोला गरेको भन्ने ०२८।६।२२ मा उजूर दिँदाकै बखत थाहा भइसकेको सो मितिबाट प्रस्तुत फिराद २ वर्ष नघाई परेको देखिएकोमा म्यादभित्र परेको भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको निर्णयमा तत्कालीन ज.मी.को.१८ नं. को त्रुटि देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३७।११।२३ को आदेश ।

        ८.  पुनरावेदक प्रतिवादीको वारेस धनबहादुर विपक्षी वादीको वारेस माधवप्रसाद रोहवरमा रही मिति ०३८।८।८ मा पेश हुन आएकोमा बहसको लागि उपस्थित पुनरावेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनु परेको छ ।

        ९.  यसमा निर्णयतर्फ हेर्दा प्रस्तुत फिराद २ वर्ष नघाई परेको देखिएकोमा म्यादभित्र परेको भनी म.क्षे.अ.बाट भएको निर्णयमा तत्कालिन ज.मी.को १८ नं. को त्रुटि भएको भन्ने आधारमा पुनरावेदनको अनुमति भएको देखिन्छ ।

        १०. तत्कालित जग्गा मिच्नेको १८ नं. मा रोक्का भएको जग्गा लिएदिएको कुरा बाहेक अरू जग्गाका कुरामा दुई वर्षभित्र नालिश नदिए लाग्न सक्दैन भन्ने व्यवस्था भएको पाइन्छ ।

        ११.  प्रस्तुत मुद्दामा प्रमाण निमित्त आएको विष्णुदेवी गुरुंसेनीको नक्सा पास गरिपाउँ भन्ने दरखास्त परेकोमा मेरो जग्गासमेत मिचिने गरी पर्खाल भत्काई ग्यारेज घर बनाउनलाई नक्सा दर्ता गरी मलाई थाहा नहुने गरी सूचना टाँसे भन्ने समेत वदी फुलकुमारी राणाको काठमाडौं नगरपञ्चायतमा ०२८।६।२२ मा उजूरी दरखास्त परेको देखिन्छ । नक्सा पास गरिपाउँ भनी दिएको दरखास्तमा वादीलाई सँधियार नदेखाए पनि त्यस्तो दरखास्त परेपछि नगरपञ्चायत ऐन, २०१९ को दफा ४८ ले सबैले देख्ने गरी सूचना टाँस गर्नुपर्ने र उजूर गर्न पाउने व्यवस्था भएको छ । सोही व्यवस्था अनुसार वादीले आफ्नो उजूरी ०२८।६।२२ मा दिएकोबाट जग्गामा खिचोला परेको कुरा वादी फुलकुमारीलाई सोही मितिमा थाहा भएको मिसिलबाट देखिन आउँछ । जग्गासमेत मिचिने गरी पर्खाल भत्काई ग्यारेज घर बनाउन लागे भन्ने कुरा वादीलाई सो २०२८।६।२२ मा थाहा भएपछि सो मितिले तत्कालिन जग्गा मिच्नेको १८ नं. को म्याद २ वर्ष नाघी प्रस्तुत मुद्दाको फिराद मिति ०३०।७।३० मा दायर भएको देखिन आएको छ । यस स्थितिमा म्यादभित्र फिराद परेको भनी इन्साफ गर्नु पर्नेमा शुरूले खारेज गरेकोलाई सदर गरेको बा.अं.अ.को फैसला बदर हुन्छ कानूनबमोजिम इन्साफ गर्न शुरूमा पठाउने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको देखिएन । अरू काठमाडौं जिल्ला अदालतले खारेज गर्ने गरेको सदर गरी बागमती अञ्चल अदालतले ठहराई छिनेको इन्साफ मनासिव ठहर्छ । कोर्टफी लागि दायर भएको मुद्दा हुँदा केही गर्नु परेन । वादी फुलकुमारी राणाके निजले पुनरावेदन गर्दा राखेको कोर्टफी रू.६९ मध्यमाञ्चल क्षेत्रीय अदालतका ०३७।९।१७ को फैसला र ०३७।१०।१० का लगतले फिर्ता दिने गरेकोमा सो बमोजिम फिर्ता दिइरहन परेन सो लगत व्यहोरा जनाई कट्टा गरी दिनु भनी का.जि.अ.मा लगत दिई मिसिल नियमबमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. गजेन्द्रकेशरी बास्तोला

 

इति सम्वत् २०३८ साल मार्ग ११ गते रोज ५ शुभम् ।