August 5, 1980
Created by nepalarchives

निर्णय नं. १३६८ – उत्प्रेषणको आदेश जारी गरिपाउं

निर्णय नं. १३६८  ने.का.प. २०३७ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३५ सालको रिट नम्बर ७८६ आदेश भएको...

निर्णय नं. १३६८  ने.का.प. २०३७

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री हेरम्बराज

सम्वत् २०३५ सालको रिट नम्बर ७८६

आदेश भएको मिति :  २०३७।४।२१।३ मा

निवेदक : का.न.पं.वडा साविक ७ हाल वडा नं. २३ ग्वाछे मुगल बस्ने रत्नभक्त मानन्धर

विरूद्ध

विपक्षी : का.जि.धर्मस्थली गा.पं.वडा नं. ८ धर्मस्थली बस्ने हरिप्रसाद घिमिरे समेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं

(१) साधारण अधिकारक्षेत्रमा पर्न आई अदालतबाट दर्ता बदर मुद्दामा फैसला गर्दा पनि निवेदकको हक रहने नरहने भन्ने किनारा हुने नै हुनाले नेपालको संविधानको धारा १०,११ को समानताको हक देखाई भू.प्र.का. काठमाडौंबाट गरेको पर्चा बदर गराउन निमित्त परेको निवेदनपत्रमा अदालतमा उजूर गरी अन्य उपचार अवलम्बन गरेको छँदाछँदैमा पर्नआएको यस्तो निवेदनपत्र धारा ७१ अनुसार सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्रभित्र पर्न नआउने हुँदा रिट निवेदन खारेज हुने ।

(प्रकरण नं. १०)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुधानाथ पन्त

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा

आदेश

        न्या. हेरम्बराज : प्रस्तुत रिट निवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुनआएको रहेछ ।

        २.  तथ्य यस प्रकार छ : मेरो पिता दिनानाथ कालगतिले परलोक भएको निजको नाउँमा रहेको मौजे धर्मस्थलीको रै.नं. ६४६ र १२५ बाट भिड्ने हाल हुनआएको धर्मस्थली गा.पं.वडा नं. ३(क) कि.नं. ६८ को ७१४२ निजको नाम खारेज गरी मेरा नाउँमा नामसारी गरिपाउँ भन्ने विपक्षी हरिप्रसादको निवेदन परेकोमा फिल्डबुक उतार हेर्दा जग्गाधनीमा देवराज मानन्धर लेखिएकोमा निजलाई २ चोटि पत्र पठाई टाँस हुँदा पनि देवराज उपस्थित नभई म्याद गुज्री सकेर मोहीले पनि जग्गाधनी हरिप्रसाद नै हो भनी लेखी दिएको हुँदा मर्नेको नाम खारेज गरी हरिप्रसादको नाममा नामसारी लालपूर्जा दिन मोठ शाखामा बुझाई दिने ठहराई ०२८।९।८ मा विपक्षी भूमिप्रशासन कार्यालय काठमाडौंबाट निर्णय भएको रहेछ ।

        ३.  उक्त निर्णय बदर गरिपाउँ भनी निवेदकले दिएको प्रस्तुत रिट निवेदनपत्रमा बाजे देवराजका नाममा साविक मालमा पोता लगतमा का.मा.रु.४८३ नं. लगतमा दर्ता भएको जग्गा बाजे परलोक भएपछि पिताजीका भागमा परी पिताजीले मलाई छोडपत्र पास गरी दिएकोमा मेरा नाउँमा ९७१ मा दर्ता भएको विर्ता उन्मूलन ऐन बमोजिम रैकरमा परिणत गर्दा मेरा नाउँमा हा.नं. ६२० मा दर्ता भई भोगी आएको थिएँ । नापीमा धर्मस्थली गा.पं.वडा नं. ३(क) को कि.नं. ६८ क्षेत्रफल ७१४२ भई नापी हुँदा विपक्षी हरिप्रसादले नै यो जग्गा देवराजको हो भनी नापी गराई पठाएको फिल्डबुकबाट प्रष्टै छ देवराजबाट मेरा नाउँमा दर्ता गरी जग्गाधनी प्रमाण पूर्जा पाउँ भनी भू.प्र.का.काठमाडौंमा दिएको मेरा निवेदनमा कारवाई चलिरहेको छ बालीमा फिराद गर्दा यो जग्गा यसको होइन हरिप्रसादको भन्ने प्रतिवादी दिएको त्यस विषयमा आमा छोरा मिली जालसाजी गरे भनी फिराद दिएको थिएँ सो फिरादमा निर्णय बमोजिम मेरा नाउँमा दावी भएको भनी हरिप्रसादले प्रतिवादी दिएकोमा सो विवाद जग्गाको निर्णय पठाउनु भनी लेख्दा ०२८।९।८ को पर्चा भनी मिसिल पठाएको मिसिलको नक्कल लिँदा हरिप्रसादले मेरा बाबुको जग्गा पिता मरेकोले जग्गाधनी प्रमाणपूर्जा पाउँ भनी दरखास्त पर्ने आमा चाँहि जग्गाधनी छोरा हरिप्रसाद हो भनी सनाखत गर्ने मरी सकेको देवराजको नाउँमा वडा फरक गरी म्याद पठाई वेपत्ता गरी म्याद तामेल गरी सो आधार लिई ०२८।९।८ मा पर्चा गरेको सो पर्चा अनधिकृत छ फिल्डबुकमा देवराज भनी यो विपक्षी हरिप्रसादले नै मोहीमा सहिछाप गरेको देखेपछि अब विपक्षीले बाबु दिनानाथको भनेकोमा सो जग्गा दिनानाथको वा देवराजको हो भन्ने कुरामा निर्णय गर्ने अधिकार भू.प्र.लाई छैन २ जवानको बीचमा कसको हो भन्ने प्रश्न उठेपछि अदालतको अधिकारक्षेत्रभित्र पर्दछ यसरी गुपचुप गरी आफूलाई भएको अधिकार भन्दा बाहिर गई जो निर्णय भयो सो ०२८।९।८ को अनधिकृत पर्चा उत्प्रेषणको आदेश जारी गरी बदर गरी मेरो सम्पत्ति सम्बन्धी हकभोग गर्न पाउने हकको प्रचलन गराई पाउँ भन्ने समेत मुख्य निवेदन जिकिर लिएको रहेछ ।

        ४.  भूमिप्रशासन कार्यालयमा बाबु दिनानाथ मरी मेरा नाउँमा नामसारी गरिपाउँ भन्ने मेरो निवेदन उपर कारवाई भई सबूत प्रमाणको मूल्यांकन गरी गरिएको कार्यलाई अनधिकृत वा गैरकानुनी भयो भन्न मिल्दैन मैले दिएको निवेदन उपर कारवाई गरिँदा त्यहाँ जग्गाको स्वामित्वलाई लिएर तेरो मेरोको विवाद उपस्थित थिएन तेरो मेरो विवाद नपरेपछि मेरो नाउँमा नामसारी दर्ता गरी दिएको हो । जग्गाको सँधियार समेत बुझी नामसारी गरेको कृयालाई अनधिकृत भन्न मिल्दैन कानुन बमोजिम अधिकार प्राप्त निकायबाट सबूत प्रमाणको मूल्यांकन गरी ठहर गरिएको पर्चालाई बदर गर्ने मिल्ने पनि होइन विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी हरिप्रसाद घिमिरेको लिखितजवाफ ।

        ५.  विपक्षी भूमिप्रशासन कार्यालयको सूचना भूमिसुधार मन्त्रालयबाट बुझी म्यादभित्र जवाफ पठाउनु भनी भूमिसुधार कार्यालय काठमाडौलाई ०३५।७।७ मा लेखी पठाई सर्वोच्च अदालतलाई बोधार्थ दिएको उक्त भू.सु.मन्त्रालयको पत्र भू.सु.कार्यालय ०३५।७।८ मा बुझी लिएको भन्ने भू.सु.मन्त्रालयबाट ०३५।११।१८ मा लेखी आएको सो सूचनाको म्यादभित्र लिखितजवाफ प्राप्त नभएको ।

        ६.  यसमा निर्णयतर्फ विचार गर्दा दिनानाथ घिमिरेको नाउँको मौजे धर्मस्थलीको रै.नं. ६४६ र १२५ बाट भिड्ने हाल हुनआएको धर्मस्थली गा.पं.वडा नं. ३(क) को कि.नं. ६८ को क्षेत्रफल ७१४२ मेरो नाउँमा नामसारी गरिपाउँ भनी हरिप्रसाद घिमिरेले निवेदन गरेकोबाट निजका नाउँमा उक्त जग्गा नामसारी गरी लालपूर्जा दिनको निमित्त मोठ शाखामा बुझाइदिने ठहराई श्री भू.प्र.का.काठमाडौं ०२८।९।८।१ मा पर्चा गरेको देखिन्छ । त्यही पर्चालाई अधिकार बाहिर निर्णय गरेको भन्ने समेत कुरा देखाई रिट निवेदक देवराजका नाति रनबहादुरका छोरा रत्नभक्त मानन्धरले रिट निवेदन दर्ता गरेकोमा तल लेखिएबमोजिम निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले र विपक्षी हरिप्रसादका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अनुपराज शर्मा समेतले गरेको बहस सुनी निवेदन र लिखितजवाफमा गरेको जिकिरको निर्णय गरेको छ ।

        ७.  फिल्डबुकमा देवराजको नाम भनी हरिप्रसादले सहिछाप गरेपछि हकबेहकमा दिनानाथको हो वा देवराजको हो भनी प्रश्न उठेपछि निर्णय गर्ने अधिकार भूमिप्रशासनलाई छैन अदालतको अधिकार भनी निवेदक तर्फबाट देखाइएकोमा भू.प्र.का.काठमाडौंबाट देवराजलाई म्याद पठाउँदा अनुपस्थित भएको कारणले हक बेहकको प्रश्न उठेको छैन भनी विपक्षी तर्फबाट बहस भएको र फिल्डबुकमा जोताहाको नाम पद्मकुमारी भनी लेखेको किसानको व्यहोरामा देवराजको जग्गा भनी विपक्षी हरिप्रसाद घिमिरेले लेखाएको भए पनि अब जग्गाधनी देखाएको व्यक्ति नै उपस्थित नभएपछि त्यसै मौकामा तेरो मेरो भई अदालतको क्षेत्रभित्र पर्न आउँछ भन्ने देखिँदैन जब भू.प्र.का.बाट ०२८।९।८ गते पर्चा खडा गरेपछि पद्मकुमारीलाई बालीमा निवेदकले फिराद गर्दा हरिप्रसादको जग्गा भनी ०३२ साल आषाढमा प्रतिवादी दिएपछि आमा छोरा मिली जालसाजी गरेछ भनी काठमाडौ जिल्ला अदालतमा ०३२ सालमा फिराद दर्ता गरेको छ भन्ने निवेदनपत्रबाट देखिन आएकोले यो जग्गा कुन दर्तामा भिड् हो भनी उसै मुद्दाबाट निर्णय हुने हुनाले अदालतको अधिकारक्षेत्रभित्र पछि मात्र पर्न आएकोले दिनानाथको नाउँबाट नाउँसारी गरिपाउँ भनी हरिप्रसादले निवेदन दिई दर्ता गराउने भू.प्र.का.काठमाडौंको निर्णय अधिकारक्षेत्र बाहिरको भन्ने जिकिर पुग्न आउँदैन ।

        ८.  प्रस्तुत रिट निवेदक रत्नभक्तको उजूर गर्ने हकै छैन भन्ने बारेमा त्यो पर्चा हुँदा रिटको निवेदक रत्नभक्त देखिन आएको छैन नाम देखिएको देवराजले म्यादै गुजारेपछि रत्नभक्तलाई आफ्नो हकको बारेमा व्यहोरा प्रमाण देखाई उजूर गर्न आएको देवराजको नाति निवेदक रत्नभक्तको उजूर गर्ने हक छैन भन्न पनि मिल्ने देखिएन ।

        ९.  ०३२ साल आश्विन १ गते रत्नभक्तले हरिप्रसाद उपर दर्ता बदरमा नालेश गरेको हो भन्ने लेखाई हुँदा हरिप्रसादले आफ्ना नाउँमा दर्ता गराएको भू.प्र.का.को कारवाईको पर्चाको आधार मानेपछि सोही पर्चालाई बदर नगराई दर्ता बदर हुन सत्तैmन कि भन्ने तर्क उठाएकोमा भू.प्र.का.काठमाडौंबाट हक बेहकमा निर्णय गर्नुपर्ने नदेखी पर्चा खडा गरेको र त्यसैको आधारमा हरिप्रसादको नाममा नामसारी भएको हुँदा हरिप्रसादको नाउँमा यो जग्गा दर्ता गर्न हुन्छ वा हुँदैन भन्ने प्रश्न अदालतमा उपस्थित भएपछि दर्ताको आधार देखिएको पर्चा प्रमाण रूपमा रहन गई हरिप्रसादको निवेदनलाई समर्थन गरेको प्रयोजन सम्म पूरा हुने भई हरिप्रसादले नै झुठ्ठा व्यहोराबाट दर्ता गरायो भन्ने कुरा अदालतबाट निर्णय गर्नसक्ने नै हुनाले त्यस्तो पर्चाको महत्त्व दर्ता बदर मुद्दामा रहन सत्तैmन अदालतबाट दुवै पक्षको व्यहोरा बुझी प्रमाण अनुसार फैसला गर्न त्यो पर्चाले बाधा गर्दैन ।

        १०. साधारण अधिकारक्षेत्रमा पर्न आई अदालतबाट दर्ता बदर मुद्दामा फैसला गर्दा निवेदकको हक रहने नरहने भन्ने किनारा हुने नै हुनाले नेपालको संविधानको धारा १०,११ को समानताको हक देखाई भू.प्र.का. काठमाडौंबाट गरेको पर्चा बदर गराउन निमित्त परेको यस निवेदनपत्र ०३२।६।१ मा अदालतमा उजूर गरी अन्य उपचार अवलम्बन गरेको छँदाछँदै ०३५।६।९ मा पर्नआएको यस्तो निवेदनपत्र धारा ७१ अनुसार यस अदालतको असाधारण अधिकारक्षेत्रभित्र पर्न आउँदैन प्रस्तुत रिटको निवेदनपत्र खारेज हुने ठहर्छ मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

प्र.न्या. नयनबहादुर खत्री

 

इति सम्वत् २०३७ साल श्रावण २१ गते रोज ३ शुभम् ।