January 19, 1967
Created by nepalarchives

निर्णय नं. १३५२ – उत्प्रेषणको आदेश जारी गरिपाउं भन्ने

निर्णय नं. १३५२   ने.का.प. २०३७ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री कालीप्रसाद उपाध्याय ०२३ सालको रिट नम्बर २०३ आदेश भएको मिति...

निर्णय नं. १३५२   ने.का.प. २०३७

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री कालीप्रसाद उपाध्याय

०२३ सालको रिट नम्बर २०३

आदेश भएको मिति :   २०२३।१०।६।५ मा

निवेदक : द्वारीकाप्रसाद अग्रवाल जि.बारा प्र.खे.मौजे कलैया

विरूद्ध

विपक्षी : जि.भू.सु. अफिस बारा कलैयाका भू.सु.अधिकारी विश्वमान श्रेष्ठ

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउं भन्ने

(१) निवेदकले ०२१।९।२२।३ मा फाँटवारी दाखिल गर्दा निजको उमेर वर्ष १७ लेखिएको देखिने त्यसको आधार के रहेछ भनी हेर्दा निजका बाबु दाजुहरू समेत रही ०१६।८।३० मा भएको बण्डापत्रमा निजको उमेर वर्ष ११ लेखिएको देखियो उक्त बण्डापत्रलाई उमेरको निमित्त एउटा गहकिलो प्रमाण मान्न मिल्ने र निवेदकले ०२१।३।२७।६ मा गरी दिएको सुक्रीबिक्रीको राजीनामाको कागजमा वर्ष १६ लेखिएको देखिएकोले फाँटवारी दाखिल गर्दा निज निवेदकले आफ्नो उमेर १७ वर्षको लेख्न पर्याप्त कारण भई लेखेको सम्झनुपर्ने हुनआउँछ, उसमा पनि डाक्टरको रीर्पोटमा कुनै आधार नलेखी अन्जामको भरले उमेर ठेगान गरेको देखिएकोले निवेदकले जानीजानी झुठ्ठा फाँटवारी दिएको भनी जि.भू.सु.अ. कलैयाले ठहर गरी निवेदकको जग्गा जफत गरेको न्यायोचित नहुने ।

(प्रकरण नं. ६)

निवेदक तर्फबाट : विद्वान वकील सिनियर एकभोकेट कृष्णप्रसाद भण्डारी

विपक्षी तर्फबाट : विद्वान गभर्मेण्ट एडभोकेट रतनलाल कनौडीया

आदेश

          १.   जमदार राउतले अरूका नाउँका जग्गा राखी खायो भन्ने ७ जवान माथि भूमिसुधार विशेष अदालतमा उजूरी निवेदन चढाएको अदालतबाट नाबालकका नाउँमा जग्गा राख्यो भन्नेतर्फ जि.भू.सु.अ.मा कारवाई गर्न पठाई अ.बं.११५ नं. अनुसार सनाखत समेत नगराई मेरो बयान गराउँदा ०१६।८।३ मा पास भएको बण्डापत्रबाट मेरो हक हुनआएको जग्गा केही बिक्री समेत गरी दिएको मेरो जन्म ०५।१।२८।३ मा भई १७ वर्ष देखि ७ नं. फाराम भरी जग्गाको फाँटवारी दाखिल गरेको छु भन्ने बयान । मेरो बयान समेतको आधारले दाजु श्यामप्रसादलाई बालिग र मलाई नाबालक ठहर गरी ०२३।३।२०।२ मा फैसला गरियो । नाबालक हो भन्ने कुराको उजूरी ठहर गर्न पाउने कानुनी अधिकार भूमिसम्बन्धी ऐन नियमले भू.सु.अधिकारीज्यूलाई नदिएको आफूलाई नसौंपेको अधिकार प्रयोग गरी गरेको फैसला ०२० साल माघ ७ गतेको शाही घोषणा र अ.बं.३५ नं. समेतले स्वतः अमान्य र गैरकानुनी छ । एक साल समाप्त नभएसम्म महीना गते लेख्ने चलन नहुँदा पास भएको बण्डापत्र लेख्दा ०१६।८।३ मा ११ वर्ष ६ महीनाको भए पनि ०११ वर्ष देखि बण्डा तयार गरेको हो सो बण्डापत्रबाट ०२१ साल मार्ग महीनामा १६ वर्ष नाघिसकेको छु १६ वर्ष नाघेको व्यक्ति परिवारमा गणना हुनसक्ने हुँदा आफ्नो उमेर १७ वर्ष लेखी ७ नं. फराम भरेको छु सो फाराम भरेको अवस्था म बालिग छु स्कूलमा पढ्दा उमेर कम्ती लेखाउन वा अघिपछि भए गरेको केवल एउटा लेखनदासको लेखाईको भूलबाट कम्ती उमेर लेखिदिए तापनि अरू सबै व्यवहारको लिखतबाट बालिग देखिने उमेरको यकीन गर्दा जन्मपत्रिका बण्डा हुँदा बण्डापत्रको उमेर नै यकीन उमेर सम्झनुपर्ने डाक्टरी जाँच उमेर यकीन गर्ने माध्यम नभई उमेर अन्जान गर्ने मात्र माध्यम हो प्रस्तुत मुद्दामा पनि डा.महमद करुल हक आजामले अन्दाजकै भरबाट लेखिएको हो भन्ने कुरा लेखेकै छ तर डाक्टरी सैद्धान्तिकको विपरीत १६ वर्ष ६ महीना भनी लेख्नु कुन आधारले राय व्यक्त गर्नुभएको हो सो लेखाई सरासर गल्ती छ तथ्यको विपरीत एउटा आधार बनाई मैले आफ्नो सम्पत्ति भोग चलन गर्न पाउने र कानुन बमोजिम बाहेक अन्य तवरबाट मेरो सम्पत्ति अपहरण हुन नसक्ने कुरा हुँदाहुँदै सो डाक्टरी जाँचको गलत आधार लिई मलाई नाबालक ठहर गर्नु प्राकृतिक न्यायको विपरीत समेत हो भूमिसम्बन्धी ऐन, ०२१ को दफा १८(१) अनुसार जानीजानी झुठ्ठा फाँटवारी दाखिल गरेमा सम्बन्धित जग्गा जफत गर्नसकिने कानुनी व्यवस्था हो सो अनुसार मैले जानीजानी झुठ्ठा फाँटवारी दाखिल गर्‍यो भन्ने उजूरी पनि छैन र ठहरमा समेत छैन लेखाईमा केही भूल वा त्रुटि हुनगएमा ऐ. ऐनको दफा १४ अनुसार भूल सुधार गर्न पाउने कानुनी व्यवस्था छँदैछ सो व्यवस्थाको प्रतिकूल जानीजानी भन्ने कुरा नलेखी वा प्रमाणबाट सो ठहर नगरी झुठ्ठा फाँटवारी दाखिल गरेको ठहर्छ भन्ने आधारबाट मात्र जग्गा जफत गर्न नपाउने कानुन बमोजिम बाहेक मेरो सम्पत्ति अपहरण गर्न नसकिने हुँदा संवैधानिक हक समेतको प्रचलन गरी मेरो जग्गा मलाई नै थामी दिन नेपालको संविधानको धारा ७१ अनुसार उत्प्रेषण वा अन्य उपयुक्त आदेश प्रदान गरी गैरकानुनी र अन्यायपूर्ण फैसला बदर गरी मेरो सम्पत्ति भोग चलन गर्न पाउने गरिपाउँ भन्ने ०२३।४।२७।५ को द्वारिकाप्रसाद अग्रवालको निवेदन ।

          २.  यसमा के कसो भएको हो निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र सम्बन्धित मिसिल साथै राखी एटर्नी जनरल अफिस मार्फत जवाफ दिनु भनी रिटको निवेदनपत्रको १ प्रति नक्कल साथै राखी विपक्षी जि.भू.सु.अफिसका अधिकारी विश्वमान श्रेष्ठलाई सूचना पठाई जवाफ आएपछि वा म्याद नाघेपछि पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०२३।५।२६।१ को आदेश ।

          ३.  निवेदकको दाजु श्यामप्रसाद सबूत प्रमाणबाट बालिग र निवेदक द्वारिकाप्रसाद नाबालिग देखिएको हुँदा नाबालकले बालिग हुँ भनी ऐनको दफा १३ बमोजिम फाँटवारी पेश गरेकोले सो फाँटवारी झुठ्ठा ठहरी निजको भू.सु.ऐनको दफा १८ बमोजिम जग्गाजफत गरिएको हो । सोही ऐनको दफा १३ को उपदफा २ मा उल्लिखित व्यक्तिले मात्र कारवाई पेश गर्नुपर्छ परिवारको परिभाषा बमोजिम १६ वर्ष भन्दा माथिको व्यक्तिले मात्र हदबन्दीभित्र सम्म जग्गा राख्न सक्ने र फाँटवारी पेश गर्न सक्छ, र नाबालक परिवार भित्रको व्यक्ति मात्र हुने हुँदा निजले जग्गा राख्न नपाउने तथा फाँटवारी पेश गर्न नपाउने व्यवस्था हुँदा सो को कारवाई गर्नसक्ने अख्तियार भूमिसुधार अधिकारीलाई भएकोले अमुक व्यक्ति नाबालक हो भन्ने ठहर गर्नसक्ने अधिकार भूमिसुधार अधिकारीलाई छ भन्ने प्रष्ट नै छ निजको भनाई मुताविक नै बण्डापत्र ०१६।८।३ मा हुँदा ११ वर्ष ६ महीना भएको र २१ साल मार्गमा ७ नं. फाँटवारी पेश गर्दा १७ वर्ष लेखिएको सो समय १७ वर्ष नपुगेको प्रष्ट छ कम उमेरलाई बढी देखाएकोले झुठ्ठा देखिन्छ । उमेर यकीन गर्दा जन्म पत्रिकालाई कुनै समयमा कुनै मिति राखी बनाउन सकिन्छ । डाक्टरी जाँचको सम्बन्धमा डाक्टरको रायको रूपमा विचार गर्नको लागि अवश्य नै सो कुरा निर्णय गर्ने व्यक्तिले अरू प्रमाण आकृतिलाई ध्यानमा राखी निर्णय गरिएको छ । ऐनको दफा १४ अनुसार भूल सुधार गर्न पाउने व्यवस्था यस मुद्दामा लागू नहुने स्पष्ट नै छ भन्ने समेत जि.भू.सु.अ.कलैया बाराका भूमिसुधार अधिकारी विश्वमान श्रेष्ठले ०२३।६।२४ मा दिएको लिखितजवाफपत्र ।

          ४.  यसमा निवेदक द्वारिकाप्रसाद अग्रवालको वारेस चन्द्र राउत कुर्मी रोहवरमा राखी पेश हुन अएकोमा निवेदक तर्फबाट रहेका विद्वान वकील सिनियर एडभोकेट कृष्णप्रसाद भण्डारी र विपक्षी तर्फबाट रहेको विद्वान गभर्मेण्ट एडभोकेट रतनलाल कनौडीयाले गर्नुभएको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा नाबालक हो भन्ने कुराको ठहर गर्न पाउने कानुनी अधिकार भूमिसम्बन्धी ऐन नियमले भू.सु.अधिकारीलाई नसौंपेको अधिकार प्रयोग गरी गरेको फैसला गैरकानुनी छ भूमिसम्बन्धी ऐन, २०२१ को दफा १८(१) अनुसार जानीजानी झुठ्ठा फाँटवारी दाखिल गरेमा सम्बन्धित जग्गा जफत गर्नसकिने कानुनी व्यवस्था हो सो अनुसार मैले जानीजानी झुठ्ठा फाँटवारी दाखिल गर्‍यो भन्ने उजूरी पनि छैन प्राकृतिक न्यायको विपरीत अन्यायपूर्ण तरिकाबाट ठहर गरी जग्गा जफत गर्नु संवैधानिक अधिकारको अपहरण गर्नु हो उत्पे्रषणको आदेश जारी गरी बदर गरिपाउँ भन्ने नै निवेदकको मुख्य निवेदन माग भएकोले उत्प्रेषणको आदेश जारी गरी विपक्षी भूमिसुधार अधिकारीको निर्णय बदर गर्नुपर्ने हो होइन भन्ने तर्फ नै निर्णय दिनुपर्ने हुनआएको छ ।

          ५.  भूमिसम्बन्धी ऐन, २०२१ को दफा १८(१) मा कसैले दफा १३ वा दफा १६ बमोजिम दाखिल गर्नुपर्ने फाँटवारी दाखिल नगरेमा वा अधुरो फाँटवारी दाखिल गरेमा वा जानीजानी झुठ्ठा फाँटवारी दाखिल गरेमा तोकिएको अधिकारीको आदेशले सम्बन्धित जग्गा जफत हुनेछ भन्ने उल्लेख भएकोले जानीजानी झुठ्ठा फाँटवारी दाखिल गरेकोमा मात्र जग्गा जफत गर्न गर्ने अधिकार उक्त ऐनले विपक्षीलाई प्रदान भएको देखिन्छ ।

          ६.  निवेदक द्वारिकाप्रसाद अग्रवालले ०२१।९।२२।३ मा फाँटवारी दाखिल गर्दा निजको उमेर वर्ष १७ लेखिएको देखिने त्यसको आधार के रहेछ भनी हेर्दा निज द्वारिकाप्रसादको बाबु दाजुहरू समेत रही ०१६।८।३० मा भएको बण्डापत्रमा निजको उमेर वर्ष ११ लेखिएको देखियो उक्त बण्डापत्रलाई उमेरको निमित्त एउटा गहकिलो प्रमाण मान्न मिल्ने र निवेदकले तखिनीदेवी अग्रवाललाई ०२१।३।२७।६ मा गरी दिएको सुक्रीबिक्रीको राजीनामाको कागजमा वर्ष १६ लेखिएको देखिएकोले फाँटवारी दाखिल गर्दा निज निवेदकले आफ्नो उमेर १७ वर्षको लेख्न पर्याप्त कारण भई लेखेको सम्झनुपर्ने हुनआउँछ, उसमा पनि डाक्टरको ०२३।३।१९ को रीपोर्टमा कुनै आधार नलेखी अन्जामको भरले उमेर ठेगान गरेको देखिएकोले समेत निवेदकले जानीजानी झुठ्ठा फाँटवारी दिएको भनी ०२०।३।२० मा जि.भू.सु.अ.कलैयाले ठहर गरी निवेदकको जग्गा जफत गरेको न्यायोचित नहुँदा यो रिटको आदेशद्वारा उक्त मितिको निर्णय बदर गरिएको छ । यो आदेश विपक्षीकहाँ पठाउन प्रतिलिपि एटर्नी जनरल अफिसमा पठाई फाइल नियम बमोजिम बुझाई दिनु ।

 

न्यायाधीश    न्यायाधीश

 

इति सम्वत् २०२३ साल माघ ६ गते रोज ५ शुभम् ।