निर्णय नं. १३०१ – उत्प्रेषण, परमादेश लगायत आवश्यक आदेश जारी गरिपाउँ
निर्णय नं. १३०१ ने.का.प.२०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् ०३६ सालको रिट नम्बर १३८३ आदेश भएको मिति...
निर्णय नं. १३०१ ने.का.प.२०३६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् ०३६ सालको रिट नम्बर १३८३
आदेश भएको मिति : ०३६।८।२७।५ मा
निवेदक : जि. सप्तरी रूपनगर गा.पं.वा.नं. ९ वस्ने गणेशप्रसाद खरेल
विरूद्ध
विपक्षी : जि. सप्तरी रूपनगर गा.पं.वा.नं. ९ बस्ने कृपा साहुतेली समेत
विषय : उत्प्रेषण, परमादेश लगायत आवश्यक आदेश जारी गरिपाउँ
(१) एक सालको कूत प्रतिवादीले नदिएकोमा मोहीबाट निष्काशन गर्न मनासिव नपर्ने भएकोले मोही हक प्रतिवादीको कायम रहन्छ भनी विपक्षी भूमिसुधार अधिकारीले निर्णय गरेकोमा निष्काशन नगर्ने भनी जो कारण उल्लेख छ त्यसलाई उचित कारण भन्न मिल्ने देखिँदैन । अर्धन्यायिक मनको प्रयोग गरी स्वेच्छाचारी किसिमबाट गर्न नमिल्ने ।
(प्रकरण नं. १०)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद
विपक्षी तर्फबाट : विद्वान व.स.अधिवक्ता श्री केदारनाथ उपाध्याय, वि.व.अ.श्री कुञ्जविहारी
आदेश
न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जि जारी गरी विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति ०३६।३।१०।१ मा दर्ता भएको रहेछ ।
२. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : मेरा नाउँको रूपनगर गा.पं.वार्ड नं. ५(क) को कि.नं. १४३ को ज.वि.०–१५–१ को ०३३ सालको कूत धान मन ६–१५–१२ मलाई नदिई म्यादभित्र धरौटी समेत नराखी दिएको हुनाले सो कूतको प्रति मन रू.५५। का दरले हुने मूल्य रू.३५१।७० प्रतिवादीबाट दिलाई भराई उक्त जग्गाको मोहीबाट निष्काशन समेत गरिपाउँ भन्ने वादीको फिरादपत्र । वादीले दावी गरेको कूत मैले तिर्नु बुझाउनु पर्ने र मोहीबाट समेत निष्काशन हुनुपर्ने होइन र वादीको नालिस म्यादभित्र नभएकोले खारेज गरिपाउँ भन्ने समेत प्रतिवादी । वादीले दावी गरेको रूपनारायण गा.पं.वा.नं. ५(क) कि.नं. १४३ को ज.वि.०–१५–१ सिमको हुने कूत धान मन ६–१५–१३ को तत्कालीन प्रचलित मूल्य मन १ के रू.५५। का दरले हुने रू.३५१।७० प्रतिवादीले वादीलाई तिर्नु बुझाउनु पर्ने ठहर्छ । एक सालको कूत प्रतिवादीले नदिएकैमा मोहीबाट निष्काशन गर्न मनासिव नपर्ने भएकोले मोही हक भने प्रतिवादीकै कायम रहन्छ भन्ने समेत विपक्षी कार्यालयबाट निर्णय गरेको रहेछ ।
३. भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९ मा उक्त ऐनको उक्त दफा अनुसार प्राप्त गरेको मोहियानी हक समाप्ति विधि वर्णित छ । उक्त दफा २९ को (१) मा दैवी परी बाली नास भएमा वा उब्जा हुन नसकेमा बाहेक मोहीले कूत बुझाएन भन्ने कुराको जग्गावालाले उजूरी दिएमा त्यस्ता मोहीलाई निष्काशन गर्ने आदेश दिन सक्ने भन्ने व्यवस्था भएकोले ज.ध.ले तिरो कर आदिसमेत हकबाट हटाउन पाउने जग्गावालाको हक हो । बाली नबुझाएको देखिए पछि विपक्षीलाई मेरो फिराद दावा अनुसार निष्काशन गर्न पर्नेमा नगरेको कानूनी त्रुटि हो ।
४. मोहियानी हक निरपेक्ष शर्त रहित होइन भन्ने कुरा उक्त दफा २९ को १ ले प्रष्ट गरेको र अधिकारको उपभोग गर्ने हरेक व्यक्तिमा केही न केही कर्तव्य अन्तरनिहित हुने कुरा कर्तव्य विनाको अधिकार हुँदैन भन्ने संवैधानिक अङ्गीकरणले पनि प्रष्ट छ । विपक्ष कृपा साहुले जग्गावालालाई समयमा कानून बमोजिमको कूत बुझाउने कर्तव्य पालन नगर्नुभएकोले निजको मोही हक कायम रहन नसक्ने कुरा प्रष्ट छँदाछँदै कानूनी कर्तव्य पालन नगर्ने मोही हक पनि कायम हुन्छ भन्ने ठहर गर्नु सर्वथा कानून विपरीत हो ।
५. भूमिसम्बन्धी ऐन, ०२१ को दफा २९ को उपदफा (३) मा दफा १ र २ बमोजिम निष्काशन हुने भएमा जग्गावालालाई बाली समेत भराई दिन सक्ने व्यवस्था भएको छ । बाली मात्र भराउने गर्ने १ दिना २ को पालो आए झैं हुन गएको छ । निष्काशन गर्ने गरे पछि मात्र उक्त दफा ३ अनुसार बाली भराउने हो, निष्काशन नगरी बाली मात्र भराउन उक्त उपदफाले मिल्दैन । तसर्थ भू.प्र.का.को बाली चाहीँ भराउने निष्काशन गर्ने नगर्ने निर्णय कानूनी त्रुटिपूर्ण छ।
६. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको मिति ०३६।३।२१।५ को आदेशानुसार प्राप्त हुन आएको लिखितजवाफ निम्न प्रकार छन् :
७. मोहीले आफ्नु आचरण ठीक नराखेकोले नै कूत तिर्नु बुझाउनु पर्ने ठहरी निर्णय भएको छ, भूमिसुधार कार्यालय सप्तरीबाट मिति ०३६।१।१४ मा भएका निर्णयले रिट निवेदकको कुनै पनि हकमा आघात नपरेबाट रिट निवेदन खारेज गरी पाउन सादर अनुरोध गर्दछु भन्ने समेत भूमिसुधार कार्यालय सप्तरी ।
८. भू.सु.अ.ले आफ्नो अधिकारक्षेत्र भित्र रही कानूनको प्रकृया पूरा गरी कानून बमोजिम निर्णय गरेको छ । मोहीबाट निष्काशन गर्ने वा नगर्ने सो विवेक उपर नै विधि कर्ताले छोडी दिएको छ । सो विवेकको प्रयोग आधार देखाई गरेको छ । एकपटक बाली नबुझाउँदैमा निष्काशन मनासिव नहुने भनी आफ्नो निर्णयमा आधार लेख्नु भएको छ । अतः रिट निवेदकको रिट निवेदन खारेज गरिपाउँ भनी सादर अनुरोध छ भन्ने समेत कृपा साहुतेली ।
९. तारेखमा रहेका निवेदक गणेशप्रसाद पोखरेलको वारेस कुमारप्रसाद पोखरेललाई रोहवरमा राखी निवेदकतर्फका विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद र विपक्षी भूमिसुधार कार्यालय सप्तरी तर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय तथा विपक्ष कृपा साहुतेली तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहको बहस समेत सुनी निर्णय तर्फ विचार गर्दा निवेदकका माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनु परेको छ ।
१०. यसमा एकसालको कूत प्रतिवादीले नदिएकोमा मोहीबाट निष्काशन गर्न मनासिव नपर्ने भएकोले मोही हक भने प्रतिवादी कृपा साहुतेलीको कायम रहन्छ भनी विपक्षी भूमिसुधार अधिकारीले ०३६।१।१४।६ मा निर्णय गरेको देखिन्छ । निष्काशन नगर्ने भनी जो कारण उल्लेख छ त्यसलाई उचित कारण भन्न मिल्ने देखिँदैन । अर्धन्यायिक निर्णय गर्ने अधिकारीले आफ्नो न्यायिक मनको प्रयोग गर्दा स्वेच्छाचारी किसिमबाट गर्न नमिल्ने भनी निवेदक काशीराम राजवंशी विपक्षी भूमिसुधार अधिकारी मोरङको केशमा फुल बेञ्चबाट सिद्धान्त प्रतिपादित भएको समेत देखिन्छ । तसर्थ मोही हक प्रतिवादीको कायम रहन्छ भनी निर्णयमा उल्लेखभएको वाक्यांश सम्म उत्प्रेषणको आदेश जारी गरी बदर गरी दिएको छ । त्यस तर्फ कानून बमोजिम पुनः निर्णय गर्नु भनी परमादेशको आदेश समेत दिने ठहर्छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि विपक्षी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई नियम बमोजिम फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् ०३६ साल मार्ग २७ गते रोज ५ शुभम् ।