December 21, 1979
Created by nepalarchives

निर्णय नं. १३०० – अपुताली

निर्णय नं. १३००    ने.का.प.२०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् ०३५ सालको दे.पु.नं. १०९ फैसला भएको मिति...

निर्णय नं. १३००    ने.का.प.२०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री घनानाथ पन्त

सम्वत् ०३५ सालको दे.पु.नं. १०९

फैसला भएको मिति : २०३६।९।६।६ मा

पुनरावेदक : का.जि. भूलाखेल बस्ने लक्ष्मी खड्गीनी

विरूद्ध

प्रतिवादी :  ऐ.ऐ.बस्ने नानी भन्ने गणेशकुमारी खड्गीनी

मुद्दा : अपुताली

(१) मुलुकी ऐन अपुतालीका ३ नम्बरले गरेको व्यवस्थाले स्याहार सम्भार गरेकोले पाउन सक्ने सम्पूर्ण अपुताली हक प्रतिवादीले पाउन सक्ने देखिँदैन । वादी र प्रतिवादी सहोदर दिदी बहिनी भएको र अपुतालीको अरू हकदार नभएको हुनाले तत्कालीन मुलुकीऐन अपुतालीका २ नं. का व्यवस्थाले अपुताली वादीप्रतिवादी दुवैले आधाआधा पाउने ।

(प्रकरण नं. १४)

फैसला

          न्या. बासुदेव शर्मा  : मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चले मिति ०३४।२।३०।१ मा गरेको फैसलामा चित्त बुझेन भन्ने पुनरावेदन परी अनुमति प्राप्त गरी आएको प्रस्तुत मद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : विपक्षी र म एकै बाबु आमाबाट जन्मेको दिदी बहिनी हौं, पिता मंगलदास परलोक भएपछि पति त्यागी पोइल गइसकेको विपक्षीले आमा लक्ष्मीमायाको वृद्ध अवस्थामा व्यक्तिगत फाइदा उठाउन २०१४ साल तिर माइतीघरमा गई आमाको आर्जनले पालिएको र आमाको जीवनकाल भरी म पनि बराबर माइतीघरमा आई हेरविचार गरी आएकोमा आमा कालगतिले ०२०।११।१८ मा परलोक हुनु भएको ३ पुस्ताको हकवाला कोही नभएकोले काजकृया हामीले गरेका हौं । अपुतालीको २ नं. ले बाबु आमाको सम्पत्ति तपाइँको र मेरो आधा आधा भाग लाग्छ, चल अचल आधा आधा गरी दिनुहोस भन्दा नदिने नियत गरेकोले अपुतालीको २० नं. को आधारमा यो नालिस गरेको छु । अपुताली पर्न आएको सम्पत्तिको फाँटवारी लिई मेरो भाग समेत बण्डा गरिपाउँ भन्ने समेत व्यहोराको लक्ष्मी खड्गीको फिरादपत्र ।

          २.  पिताजी परलोक भएपछि आमालाई हेरविचार गरी बसेको विपक्ष वादीले हेरचाह पालनपोषण गरेको होइन, आमा तदीमाया २०१९ साल चैत्र कृष्णतृतीयाको दिन परलोक भएपछि विपक्षीले दागबत्ति गरेको होइन दागबत्ति र काजकृया समेत मैले गरेको हो, आमाको हेरचाह गरी म बसेको अपुतालीको ३ नं. ले मैले खान पाउने सम्पत्ति हो, २०१९ सालमा परलोक भएकी आमालाई २०२० सालमा परलोक भएको भनी हदम्याद नाघी सकेको फिरादलाई म्यादभित्रको पारी झुठ्ठा फिराद गरेको हो भन्ने समेत गणेशकुमारी खड्गीको प्रतिवादी ।

          ३.  प्र.गणेशकुमारी २००४ सालदेखि आमासँग बसेको भन्ने वादीमा उल्लेख भएकोले अपुताली पाउँ भन्ने वादी दावी झुठ्ठाठहर्छ भन्ने शुरू ल.पु. जि. अ.को फैसला ।

          ४.  उक्त इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको बागमती अञ्चल अदालतमा परेको पुनरावेदन ।

          ५.  मोल बिगो खुलाई फिराद नगरेको हुँदा चिज बस्तुको मोल बिगो नखुलाई गरेको अधुरो फिरादपत्र खारेज हुने ठर्हछ, भन्ने समेत बागमती अञ्चल अदालतको फैसला ।

          ६.  सो फैसलामा चित्त बुझेन भन्ने वादीको सर्वोच्च अदालतमा पुनरावेदन परेकोमा मोल बिगो नखुलाएकोमा अ.बं.१३३ नं. अनुसार अड्डाले कागज गराउने व्यवस्था गरेकोले वादी दावी खारेज गरेको बा.अं.अ को इन्साफ गल्ती ठहर्‍याई वादीबाट जो खुलाउनु पर्छ खुलाई कागज गराई कोर्टफी समेत लिई कारवाई किनारा गर्नु भनी मिसिल बागमती अञ्चल अदालतमा पठाई दिनु भन्ने स.अ.को फैसला ।

          ७.  २०२३ सालमा फिराद दर्ता भएको देखिन आएको ०२० सालमा मरेकोले अपुताली पाउँ भन्ने वादी र २०१९ सालमा परलोक भएको भन्ने प्रतिवादी भई २०२० सालमा परलोक भएको भन्ने वादीका साक्षी छिमेकी टोलका नभई भूरूङखेलको परलोक भएको थाहा पाउन नसक्ने, वादीले भनेको कारणले थाहापाएको भनेको हुँदा बकाई साँचोमान्न मिलेन । प्र.का.साक्षीले २०१९ सालमा परलोक भएको र मलामी समेत गएको भनी बकेको र टोल छिमेकी समेतको देखिँदा र प्र.का साक्षीको बकाई साँचो देखिन आएबाट तदीमाया २०१९ सालमा परलोक भएको ठहर्छ ३ वर्ष नाघी फिराद दर्ता हुन आएकोले अपुतालीको २० नम्बरले म्याद नाघेको फिराद हुँदा इन्साफ गर्न मिलेन खारेज हुने ठहर्र्छ भन्ने बागमती अञ्चल अदालतको फैसला ।

          ८.  त्यस उपर सर्वोच्च अदालतमा पुनरावेदन परी मिसिल न्या. प्र.सु.ऐन अनुसार सरी पेश हुँदा वादी मिलान गरी वादीका साक्षीले ०२०।११।१८ मा तदीमाया परलोक भएको भनी बकपत्र गरेकोमा झुठ्ठा बकेको भनी प्र.ले उजूर गरी बदर गराउन सकेको देखिँदैन । यस्तोमा साक्षीको भनाई साँचो मान्नु पर्नेमा तदीमाया ०२० सालमा परलोक हुन आएको ठहराउनु पर्नेमा २०१९ सालमा परलोक भएको ठहराई खारेज गरेको इन्साफ नमिलेकोले बदर हुने ठहर्छ कानून बमोजिम निर्णय गरी दिनु भनी पक्ष विपक्षलाई तारिख तोकी मिसिल बा.अं.अ.मा पठाई दिनु भन्ने म.क्षे.अ.को फैसला ।

          ९.  स्याहारसम्भार गर्ने बाहेककाले अपुताली खान नपाउने हुँदा पुनरावेदन जिकिर मनासिव भन्न नमिल्ने भई शुरूको इन्साफ मनासिव ठहर्छ भन्ने समेत बागमती अञ्चल अदालतको फैसला ।

          १०.  सो फैसलामा कानूनीत्रुटि भएकोले पुनरावेदनको अनुमतिपाउँ भन्ने निवेदन म. क्ष.अ.मा परी पुनरावेदनको अनुमति दिएको छ भन्नेसमेत सिङ्गलबेञ्चको आदेश ।

          ११.  अपुतालीको २ नं. मा जुन व्यक्ति मरी अपुताली पर्ने हो त्यस्तोलाई स्याहारसम्भारको दरकार नपरी स्याहारसम्भार नगरेको अवस्थालाई ध्यानमा राखी लोग्ने स्वास्नी छोरा नाति वा तीन पुस्ताको हकवाला नभएको अवस्थामा छोरीले अपुताली पाउने व्यवस्था भएको जुन व्यक्ति मरी अपुताली पर्ने हो त्यसलाई स्याहारसम्भारको दरकार परी भिन्न भएको ३ पुस्ताको हकवाला भए पनि छोरीले हेरचाह गरी स्याहार सम्भार गरी पालेको रहेछ भन्ने अपुताली सबै छोरीले पाउने व्यवस्था अपुतालीको ३ नं. मा भएको अतः हेरचाह गरी स्याहार सम्भार गरी पालेको नाताले अपुताली पाउने हुँदा प्रस्तुत मुद्दामा अपुतालीको ३ नं. प्रासङ्गिक देखिन आई आमाको अपुताली प्रतिवादीले नै पाउने हुँदा वादीको दावा नपुग्ने ठहराई बागमती अञ्चल अदालतले गरेको इन्साफ उल्टिने, कानूनी त्रुटि देखिन नआएको हुँदा अञ्चल अदालतको फैसलामा परिवर्तन गर्नु परेन भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३४।२।३०।१ को फैसला ।

          १२.  प्रस्तुत मुद्दा दायर हुँदाका अवस्था प्रचलनमा रहेको मुलुकी ऐन अपुतालीको २ नं. ले कन्या छोरी र तीन पुस्ता सम्मका अरू हकवाला नभए विवाह भएको वा पोइल गएको छोरीले मात्र अपुताली पाउँछन भन्ने व्यवस्था भएबाट मर्ने आमा तदीमायाको अपुताली वादी प्रतिवादीहरूले बराबरका दरले पाउने प्रष्ट छ । उक्त ऐनको ३ नं. मा संग बसेको ३ पुस्ता सम्मका हकवाला कोही छैनन् र भिन्न भई बसेका लोग्ने स्वास्नी छोरा वा छोराको छोराले हेरचाह नगरी छोरी वा छोरीज्वाइँले स्याहार सम्भार गरी पालेको रहेछ भने त्यस्तो बाबु आमा र सासू ससुराको अपुताली पर्न आएमा चल जति सबै र अचलमा आधा त्यस्ता छोरी वा छोरीज्वाइँले पाउँछन् अचलको आधा मात्र यसै महलको २ नम्बर बमोजिम हक पुग्ने लोग्ने स्वास्नी छोरा वा छोराका छोराले पाउँछन् त्यस्तो हकवाला नभए सो मर्नेको अपुताली सबै छोरीज्वाइँले खान पाउँछन अरू भिन्न भएका हकवालाले पाउँदैनन्भन्ने लेखिएको र त्यसैलाई आधार बनाई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट वादीले अपुताली नपाउने निर्णय गरेको देखिन्छ । तर उक्त अपुतालीको ३ नं. ले भिन्न भइसकेका लोग्ने स्वास्नी छोरा वा छोराको छोराले हेरचाह नगरेमा निजहरूले अपुताली खान नपाउने गरेको र त्यस्तो अवस्थामा स्याहार सम्भार गर्ने छोरीज्वाइँले सो ऐन बमोजिम अपुताली खान पाउने व्यवस्था गरेको देखिन्छ । तर प्रस्तुत मुद्दामा सो बमोजिमको अवस्था विद्यमान नभई दुईटी विवाह भएकी छोरीमात्र भएकाले उक्त अपुतालीको ३ नं. लाग्नसक्ने अवस्थै देखिँदैन । यस्तोमा सो अपुतालीको ३ नं. लगाई मर्ने तदीमायाको दुईटी छोरी मध्ये एउटी छोरी निवेदिका वादीले अपुताली नपाउने भनी मध्यमाञ्चल क्षेत्रीय अदालतले निर्णय गरेकोबाट उक्त अपुतालीको २ र ३ नं. को त्रुटि हुन गएको छ । यस्तै अरू मुद्दाहरूमा यसको निर्णयबाट नजीर कायम हुन सक्ने भएकोले पुनरावेदनको अनुमित दिएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३५।५।२२।५ को आदेश ।

          १३.  तारेखमा रहेकी पुनरावेदीका वादी लक्ष्मी खड्गीनीलाई रोहवरमा राखी पुनरावेदीका वादी तर्फका विद्वान अधिवक्ता श्री विष्णुप्रसाद नेपालीको र विपक्षी प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव छ छैन सो कुराको निरोपण गर्नु परेको छ ।

          १४. यसमा प्रतिवादी गणेशकुमारी खड्गीनीले प्रतिउत्तरपत्रको प्रकरण ३ मा २००१ साल बैशाखमा लोग्ने परलोक हुनुभयो र मलाई घरका अरू परिवारहरूले साह्रै अपहेलना गर्नु भएबाट २००१ साल देखि नाबालख छोरा समेत लिई आमा तदीमाया पनि एक्लो हुनु भएबाट खान बेगरै साह्रै दुःख पाउनु भएको हुँदा म माइत गई आमाका साथ सगोलमा बसी ज्याला बनी गरी आमालाई स्याहार सम्भार पालन तालन गरी बसीरहेकोभन्ने उल्लेख भएको पाइन्छ । त्यस प्रकारको लेख भनाईले प्रतिवादी गणेशकुमारी घरका परिवारहरूले साह्रै अपहेलना गरेको कारणबाट निजको आमा तदीमाया घरमा गई आश्रम लिई बसेको भन्ने प्रष्ट हुन्छ । तदीमाया रोगी बृद्धा निर्वल भई स्याहार सुसारको आवश्यक पर्न आई मात्रीस्नेहले बसिभूत भई प्रतिवादी गणेशकुमारी तदीमायाको स्याहार र सम्भार पालन तालन गर्न गएको र गरेको भन्ने प्रमाणबाट र प्रतिउत्तर लेखबाट समेत देखिन नआएको हुनाले मुलुकी ऐन अपुतालीका ३ नम्बरले गरेको व्यवस्थाले स्याहार सम्भार गरेकोले पाउन सक्ने सम्पूर्ण अपुताली हक प्रतिवादी गणेशकुमारीले पाउने सक्ने देखिँदैन । वादी र प्रतिवादी सहोदर दिदी बहिनी भएको र अपुतालीको अरू हकदार नभएका हुनाले तत्कालिन मुलुकी ऐन अपुतालीका २ नं. का व्यवस्थाले तदीमायाको अपुताली वादी प्रतिवादी दुवैले आधाआधा पाउने ठहर्छ । मध्यमाञ्चल क्षेत्रीय अदालतबाट प्रतिवादी तदीमायाको अपुताली प्रतिवादी गणेशकुमारीले मात्र पाउने ठहराएको इन्साफ नमिलेको हुँदा सो इन्साफ बदर हुन्छ । तपसील बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम बागमती अञ्चल अदालतका मिति ०३२।२।२१।४ का फैसलाले वादी पुनरावेदक लक्ष्मी खड्गीनीलाई लागेको कोर्टफी रू.११२।५० एकसय बाह् रूपैयाँ पचास पैसा भराउने गरेको सो भराउन परेन कानून बमोजिम वादी लक्ष्मी खड्गीनीलाई फिर्ता दिनु भनी का.जि. अ.त.मा लगत दिनु …………… १

मध्यमाञ्चल क्षेत्रीय अदालतमा वादीले पुनरावेदन गर्दा राखेको कोर्टफी रू.३।५० तिन रूपैयाँ पचास पैसा र यस अदालतमा वादीले राखेको कोर्टफी रू.३।५० तिन रूपैयाँ पचास पैसा भराई पाउँ भनी प्रतिवादी गणेशकुमारी खड्गीनीको जेथा देखाई कोर्टफी ऐनका म्यादभित्र वादीको दरखास्त पर्न आएमा दस्तूर केही नलिई प्रतिवादीबाट पुनरावेदीका वादी लक्ष्मी खड्गीनीलाई भराई दिनु भनी का.जि. अ.त.मा लगत दिनु……………….. २

 

उक्त रायमा म सहमत छु ।  

 

न्या. घनानाथ पन्त

 

इति सम्वत् २०३६ साल पौष ६ गते रोज ६ शुभम् ।