निर्णय नं. १२९३ – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. १२९३ ने.का.प.२०३६ फुल बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको रि.फु.नं. ३१...
निर्णय नं. १२९३ ने.का.प.२०३६
फुल बेञ्च
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
सम्वत् २०३५ सालको रि.फु.नं. ३१
आदेश भएको मिति : २०३६।९।३।३ मा
निवेदक : जि. सप्तरी हनुमाननगर गा.पं.अन्तर्गत बरसाईन बस्ने मिथिलेशकुमारी
विरूद्ध
विपक्षी : श्री भूमिप्रशासन कार्यालय सप्तरी समेत
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ
(१) अ.बं.७२ नं. र अ.बं.१८५ नं. मा भएको कानूनी व्यवस्था बमोजिम छुट्टाछुट्टै परेको निवेदन उजूरीमा छुट्टाछुट्टै निर्णय गर्नुपर्नेमा सो नगरी ३ वटै उजूरी निवेदनहरूमा एउटै निर्णय गरेको कानूनको प्रतिकूल देखिने ।
(प्रकरण नं. ११)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय, विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर
फैसला
न्या. हेरम्बराज : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहोर्याई पाउँ भनी निवेदकले दिएको निवेदनमा भएको न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्याई दिनु भन्ने बक्स भई आएका हुकुम प्रमाङ्गी बमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. तथ्य र निवेदन जिकिर यस प्रकार छ : जि. सप्तरी कुसहा पञ्चायत वडा नं. ८(क) मा कि.नं. ५६–७३–१०८–११० समेत जग्गा पिता धनराज आफ्नो कालगतिले मरेको निजको नाउँ दर्ताको जग्गा हाम्रा नाउँमा नामसारी गरिपाउँ भनी निवेदिका तारिखमै रहेको अवस्था ०२६।११।११ मा विपक्षी भैरोदान र टिकमचन्द्रको बेग्ला बेग्लै विपक्षी कार्यालयमा निवेदनपत्रहरू पर्न आएको रहेछ, मेरो कारवाई मिसिल र टिकमचन्द्र समेतको कारवाईको मिसिल दुवै सामेल गरी कारवाई चलाई इन्साफ गरिपाउँ भनी मैले ०३० साल आषाढमा निवेदन चढाएकोमा सूचना प्रकाशित मिति ३५ दिनभित्र कसैको पनि हक दावी उजूर पर्न नआएको पञ्चायतले पनि धनराजको हक खाने दुई छोरा टिकमचन्द्र र भैरोदान बाहेक अरू कोही छैन भन्ने लेखी पठाएको र फिल्डवुक उतारमा यो जग्गा धनराजको हो भनी लेखिएको र दाखेल खारेज फाँटले पनि कि.नं. ७५।७१।१०८।११०।७२।७३।७४ समेत ०२४ सालको अंशबण्डा बमोजिम दाखिल खारेज निज टिकमचन्द्र र भैरोदानको नाउँमा भएको हो निर्णय मिति ०३१।८।३ हो भनी प्रमाणित गरिदिएकोले अंशबण्डा बमोजिम उक्त धनराजको फाँटमा हाल नं. ५५ को ०–१६–० कि.नं. ५६ को २–१३–११ जग्गा निजको शेषपछि हक खाने टिकमचन्द्र र भैरोदान माडवारी भएकोले निजहरूको नाउँमा मर्ता धनराजको नाउँबाट खारेज गरी निवेदक टिकमचन्द्र र भैरोदानका नाउँमा जग्गा पजनीको नं. २ कं.बमोजिम रू.१०। दस्तूर लिई संयुक्त नामसारी दर्ता गरी दिने र विपक्षी मिथिलेशकुमारीलाई यो निर्णयबाट चित्त नबुझे अदालतबाट आफ्नो कारवाई चलाउन जानु भनी सुनाउने गरी निर्णय गरी दियौं भन्ने समेत गरी ०३२।१।२५ मा विपक्षी कार्यालयबाट निर्णय भएको रहेछ ।
३. उपरोक्त मुद्दा हेर्ने अधिकार भूमिप्रशासकलाई भएकोमा शाखा अधिकृतले निमित्त भूमिप्रशासक भई हेरी निर्णय गरेको अनधिकृत भई बदर हुनुपर्ने प्रष्ट छ । निवेदिकाले कि.नं. ५५ तथा कि.नं. ५६ को उपरोक्त जग्गाको दर्ता सम्बन्धमा २०२७ सालमा नै विपक्षी कार्यालयमा कारवाही चलाई सकेपछि विपक्षी टिकमचन्द्र र भैरोदानले सोही कि.नं. को सम्बन्धमा ०२९ सालमा नाउँसारी दर्ता सम्बन्धी कारवाई चलाएको दुवै मिसिल एकै सामेल भएपछि जग्गामा प्रष्टरूपले हक बेहक प्रश्न उपस्थित हुन आएकोमा हक बेहकको साक्षी प्रमाण समेत बुझी निजहरूको पक्षमा हक बेहक गरी निर्णय गर्ने विपक्षी कार्यालयको अधिकारक्षेत्र नहुँदा अधिकारक्षेत्र नाघी निर्णय गरेकोले अ.बं.३५ नं. ले बदर हुनु पर्ने ।
४. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने समेत डिभिजन बेञ्चका मिति ०३३।४।१२।३ का आदेशानुसार प्राप्त हुन आएका लिखितजवाफमा विपक्षीहरूले लिएका जिकिर यस प्रकार रहेछन् :
५. गा.प.हरिनगरको सिफारिश र फिल्डबुक प्रमाण कागज समेतबाट उक्त जमीन धनराज माडवारीको देखिन आई निज धनराज परलोक भइसकेपछि हक खाने छोरा टिकमचन्द्र र भौरोदान मात्र रहेछन भन्ने देखिन आयो, हकदारको लागि ३५ दिने सूचना प्रकाशित हुँदा निज मिथिलेशदेवीले सबूद प्रमाण समेत ३५ दिनभित्र पेश गर्न सक्नु भएको मिसिलबाट नदेखिए पछि फिल्डबुक उतार गा.पं.को सिफारिश प्रमाण समेतलाई आधार लिई टिकमचन्द्र र भैरोदान माडवारीका नाउँमा नामसारी दर्ता गर्ने गरी ०३२।१।२५ मा निर्णय भएको उक्त निर्णय उपर स्थानीय प्रशासन ऐन अन्तर्गत सम्बन्धित जिल्ला कार्यालयमा अपिल गर्न पाउने कानूनमा व्यवस्था छँदै तह नाघी रिट निवेदन गरेको हुँदा यो रिट निवेदन खारेज हुन अनुरोध छ । यसरी ऐन नियमको परिधि भित्र रही गरेको निर्णय हुँदा निवेदिकाको कुनै हक अधिकारको हक समेत हनन् हुन नगएकोले तत्सम्बन्धी व्यहोरा सनम्र अनुरोध गरिन्छ भन्ने समेत भूमिप्रशासन कार्यालय सप्तरी ।
६. पिताजी धनराज आफ्नो कालगतीले परलोक भएकोले वहाँको नाउँका जग्गा हाम्रा नाउँमा नाउँसारी गरिपाउँ भनी निवेदन परेकोमा हाम्रो बयान भएबाट भूमिप्रशासन कार्यालयबाट ३५ दिने सूचना टाँस भएको छ । हक खाने छोरा हामी भएको भनी पञ्चायतले प्रमाणित गरी लेखी पठाए बमोजिम नै अधिकारक्षेत्र भित्र नै रही सबूद प्रमाण बुझी निर्णय भएको हुँदा हक बेहक छुट्याई निर्णय गरेको भन्न मिल्ने अवस्थै छैन हक बेहक सम्बन्धमा विपक्षीलाई अदालतमा कारवाई चलाउन जानु भनी सुनाएकै छ, पुनरावेदन लाग्नेमा अ.बं.१९३।१९७– नं. अनुसार त्यसतर्फ कानूनको अवलम्बन नगरी रिट निवेदन दिन आउनु भएको छ, आफ्नो अधिकारक्षेत्रमा रही निर्णय गरेको हुनाले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भैरोदान र टिकमचन्द्र मारवाडीको संयुक्त लिखितजवाफ ।
७. भूमिप्रशासन कार्यालयका (सेक्सन अफिसर) शाखा अधिकृतलाई दर्ता पूर्जा सम्बन्धी कारवाही गर्ने छानविन गर्ने पूर्जा दिने र सच्चाई अर्को दर्ता पूर्जा दिने अधिकार २०२५ साल चैत्र १८ गतेको नेपाल राजपत्रद्वारा श्री ५ को सरकार भूमीसुधार मन्त्रालयको सूचनाद्वारा प्रकाशित जग्गा नाप जाँच (दोश्रो संशोधन) नियमहरू, २०२५ को नियम ७ को उप–नियम (५) ले दिएको अधिकार प्रयोग गरी तोकी दिई राखेको देखिएकोले प्रस्तुत मुद्दामा विपक्षी शाखा अधिकृतले अनाधिकार निर्णय दिएको भन्ने मिलेन निवेदिकालाई अदालतबाट आफ्नो हक गराई दिने व्यहोरा पनि विपक्षी कार्यालयको उपरोक्त ०३२।१।२५ को निर्णयमा उल्लेख गरिएको हुँदा निवेदिकाको हकमा आघात परेको भन्न पनि नमिल्ने हुँदा निवेदिकाको माग बमोजिमको आदेश जारी गर्न मिलेन, तसर्थ प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ भन्ने समेत डिभिजन बेञ्चको ०३४।९।१० को निर्णय रहेछ ।
८. प्रस्तुत मुद्दा दोहर्याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमाङ्गी साथ संलग्न न्यायिक समितिको सिफारिश पर्चामा विवादास्पद जग्गामा हक बेहक छुट्याउनु पर्ने प्रश्न उपस्थित भएकोमा सबूद प्रमाणको मूल्याङ्कन गरी हक कायम गरी एउटाको नाउँमा जग्गाधनी दर्ता प्रमाणपूर्जा दिने अर्को पक्षलाई अदालतमा जानु भनी सुनाउने अधिकार भूमिप्रशासकलाई तत्काल प्रचलित जग्गा नाप जाँच ऐन र नियमहरूले दिएको देखिँदैन यसरी कानून विरूद्ध गरेको निर्णयबाट निवेदिकाको हकमा आघात परेन भन्न मिल्ने होइन भन्ने समेत उल्लेख भएको रहेछ।
९. निवेदिकाको मिथिलेशकुमारी देवीतर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहले हक बेहकको प्रश्न भएकोमा विपक्षी भूमिप्रशासकले निर्णय गर्न पाउने अधिकार छैन अधिकार नभएको हक बेहकमा निर्णय गरेको गैरकानूनी छ बदर हुनुपर्छ भन्ने समेत र विपक्षी भु.प्र.का.सप्तरीको तर्फबाट खटी आउनु भएको विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्यायले जग्गा नाप जाँच ऐन बमोजिम नापीको सम्बन्धमा परेको उजूरमा निर्णय गरेको नभई जग्गा पजनीको २ नं. बमोजिम जरिवाना गरी मर्नेको नामबाट नामसारी दाखिल खारेज गर्ने गरेको निर्णय कानून बमोजिम छ भन्ने समेत र विपक्षी भैरोदान, टिकमचन्द्र मारवाडीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले नामसारी गर्ने निर्णय उपर पुनरावेदन लाग्नेमा पुनरावेदनको म्याद दिएन भन्ने समेत रिट निवेदनमा उल्लेख गरेको हुँदा पुनरावेदन लाग्ने अन्य उपचार भएको र नामसारी गरी दिने सम्म निर्णय भएकोमा हक बेहक प्रश्न नउठेको हुनाले रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।
१०. यसमा निर्णयतर्फ विचार गर्दा बाबु धनराज आफ्ना कालगतिले स्वर्गीय हुनु भएको हुँदा आधी अपुताली खाने म भएकोले नामसारी गरिपाउँ र धनी प्रमाणपूर्जा पाउँ भन्ने समेत विपक्षी भैरोदान बोहराको र सोही व्यहोराको विपक्षी टिकमचन्द्र वोहराको छुट्टाछुट्टै निवेदन र दर्ता प्रमाणपूर्जा पाउँ भन्ने समेत निवेदक मिथिलेसकुमारी देवीको पनि छुट्टै निवेदन परी छुट्टाछुट्टै मिसिल नम्बर रही कारवाही भएको उक्त तिनै थान निवेदनहरू एकै साथ राखी एउटै मिसिल गरी निवेदकमा टिकमचन्द्र, भैरोदान माडवारी र विपक्षीमा मिथिलेशकुमारी देवी समेत बनाई कि.नं. ५५, ५६ को जग्गा मर्ता धनराजका नाउँमा खारेज गरी टिकमचन्द्र र भौरोदानको नाउँमा नामसारी दर्ता गरी दिने निवेदक मिथिलेशकुमारी देवीलाई यो निर्णयबाट चित्त नबुझे अदालतबाट आफ्नो कार्यवाही चलाउन जानु भनी सुनाउने गरी ०३२ साल बैशाख २५ गते विपक्षी भू्.प्र.का.सप्तरीबाट निर्णय भएको देखियो ।
११. उपरोक्त लेखिए बमोजिम निवेदक मिथिलेशकुमारी देवी र विपक्षी टिकमचन्द्र मारवाडी, भैरोदान मारवाडी समेत ३ जनाको छुट्टाछुट्टै ३ वटा उजूरी निवेदन परेकोमा ३ वटा छुट्टाछुट्टै भैरोदानको मि.नं. ३५३ टिकमचन्द्रको मि.नं. ३५४ मिथिलेशकुमारी देवीको मि.नं. ३५२ को मिसिल कायम रही कारवाई भएको भएपछि अ.बं.७२ नं. र १८५ नं. मा भएको कानूनी व्यवस्था बमोजिम निजहरूको छुट्टाछुट्टै परेको निवेदन उजूरीमा छुट्टाछुट्टै निर्णय गर्नु पर्नेमा सो बमोजिम नगरी उपरोक्त तिनै जनाको ३ वटै उजूरी निवेदनहरू एक मिसिल साथ राखी एउटै मिसिल साथ राखी एउटै बनाई एउटै निर्णय गरेको उक्त अ.बं.को ७२ नं. तथा १८५ नं. कानूनको प्रतिकूल समेत गरी विपक्षी भू.प्र.का.सप्तरीबाट ०३२।१।२५ मा भएको निर्णय प्रत्यक्ष कानूनी त्रुटि देखिएकैले सो निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरिएको छ । अब कानून बमोजिम किनारा गर्नु भनी परमादेश समेत जारी हुने ठहर्छ । रिट निवेदन खारेज गर्ने गरेको डिभिजन बेञ्चको ०३४।९।१० को निर्णय मिलेको देखिएन, यो आदेश विपक्षी भू.प्र.का.सप्तरीमा पठाउन प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालयमा पठाई मिसिल नियम बमोजिम बुझाई दिनु ।
हामीहरू सहमत छौ ।
न्या. ईश्वरीराज मिश्र
न्या. त्रैलोक्यराज अर्याल
इति सम्वत् २०३६ साल पौष ३ गते रोज ३ शुभम् ।