December 16, 1979
Created by nepalarchives

निर्णय नं. १२८९ – लेनदेन

निर्णय नं. १२८९ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् ०३४ सालको दे.फु.नं. १६० फैसला भएको मिति...

निर्णय नं. १२८९ ने.का.प. २०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् ०३४ सालको दे.फु.नं. १६०

फैसला भएको मिति : ०३६।८।९।१ मा

पुनरावेदक : अं. नारायणी जि. पर्सा वीरगञ्ज वडा नं. ७ बस्ने मदनलाल माडवारी

विरूद्ध

विपक्षी : ऐ. जि. पर्सा गा.पं.देउखान वडा नं. ४ कल्याणपुर बस्ने मोहनदास थारू

मुद्दा : लेनदेन

(१)  ऐन बमोजिम धनी ऋणी खडा भई ऋण कर्जा लिए दिए भन्ने बोली परी कानून अनुरूप तमसुक खडा भई लेनदेन भएको भन्ने रीतपूर्वकको तमसुक नभएमा १० वर्षको हदम्यादको सुविधा नपाउने ।

(प्रकरण नं. १५)

निवेदक तर्फबाट :  विद्वान अधिवक्ता श्री होराप्रसाद जोशी

विपक्षी तर्फबाट :  विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

फैसला

          न्या. बब्बरप्रसाद सिंह :  मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्र.मदनलालको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३४।१२।४।६ को आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएकोमा तथ्य यस प्रकार छ :

          २.   मदनलाल बनवारीलाल फारामबाट वीरगञ्ज बजारमा रहेको कपडा दोकानको प्रोपाइटर मनदलालले ०२१ साल कार्तिक बदी १५ अर्थात् ०२१।७।१९, गते मबाट रू.८,१६०। लिई आफ्नो हस्ताबाट चिट बनाई सही गरी दिनुभएको सो मध्ये रू.८०। सोही चिटमा जनाई दिई बाँकी रू.८,०८०। नदिएकोले विपक्षीबाट भराई पाउँ, लेनदेन व्यवहारको २ नं. को म्यादभित्र छ भन्ने समेत मोहनदास थारूको ०३०।१।२७।४ को फिरादपत्र ।

          ३.   वादी लेखाई अनुसार लिए दिएको कुनै कुरा होइन हामी दाजु भाइ भिन्न हुनु अगावै ०२० साल आषाढ अघी निजसँग मैले र भाइ ठाकुरप्रसाद समेतले कारोबार गरी आएको थियो, यो रूपैयाँ यो यसले बुझाउने भनी ०२२।१।१५ गतेमा खाता बनाएको कायम राखी ०२८ साल माघ महीनामा हामीहरूको लिखत भएको थियो उक्त रूपैयाँ तिर्नु पर्ने भएमा पनि भाइ ठाकुरप्रसादले तिर्नुपर्ने मैले तिर्न पर्ने होइन भन्ने समेत मदनलालको प्रतिउत्तरपत्र ।

          ४.   देखाइएको कागज मोहनदाससँग रूपैयाँ सापट लिई गरी दिएको होइन । मोहनदाससँग मदनलालको लिन बाँकी रू.८१६०। बुझी कागज लेखी दिएको हो भन्ने समेत वनवारीलालको बयान ।

          ५.   वादीको लिनुपर्ने रूपैयाँमा प्र.ले कागज गरी दिएको हो भन्नेसमेत वा.रामप्रसादको बयान ।

          ६.   यो ऋण मदनलालले नै तिर्नु पर्ने हो भन्ने समेत ठाकुरप्रसादको बयान ।

          ७.   प्रतिवादीले नै टिपन गरी दिएको देखिँदा प्रतिवादीबाट वादीले भरी पाउने ठहर्छ भन्ने समेत पर्सा जिल्ला अदालतको ०३०।१०।२९ को फैसला ।

          ८.   सो फैसलामा चित्त बुझेन भन्ने समेत प्र.मदनलालको पुनरावेदन पत्र ।

          ९.   लेनदेन व्यवहारको १ नं. बमोजिमको लिखत नदेखिएको चिट प्रमाण लिन नमिल्ने हुँदा वादीको फिराद खारेज हुने ठहर्छ भन्ने समेत ना.अंअदालतको ०३१।५।२३ को फैसला ।

          १०.  पुनरावेदनको अनुमतिपाउँ भन्ने समेत वादी मोहनदासको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्नेसमेत मध्यमाञ्चल क्षेत्रीय अदालत सिङ्गलबेञ्चको ०३२।८।१७ को आदेश ।

          ११.   वादीले प्रतिवादीबाट रू.८,०८०। भरी पाउने गरी शुरू पर्सा जि. अ.ले गरेको ईन्साफ मनासिव र नारायणी अञ्चल अदालतले खारेज गर्ने गरेको फैसला गल्ती ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३४।१।१९ को फैसला ।

          १२.  सो फैसलामा सार्वजनिक महत्वको विषयमा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत प्रतिवादी मदनलाल माडवारीको निवेदनमा लेनदेन व्यवहारको २ नं. बमोजिम १० वर्षको हदम्याद कायम गरी तहकिकात फैसला गरेको कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्नेसमेत स.अदालत डिभिजन बेञ्चको ०३४।१२।४ को आदेश ।

          १३.  निवेदकतर्फका विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीले लेनदेन व्यवहारको २ नं. अनुसार १० वर्षको हदम्याद कायम गर्न ऐन बमोजिमको कर्जा लिए दिएको तमसुक हुनुपर्ने सो नभएकोमा चिटको आधारमा लेनदेन व्यवहारको १० नं. हदम्याद कायम गरेको मिलेको छैन खारेज हुनुपर्ने भन्ने समेत र विपक्षीतर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले रूपैयाँ लिए दिएको सो टिपनबाट प्रष्ट देखिन्छ । कारणीको स्वहस्त हो लेनदेन व्यवहारको २ नं. अनुसार हदम्याद कायम गरी थैली भराउने गरेको मिलेको छ भन्ने समेत बहस गर्नुभएको प्रस्तुत मुद्दा मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन सो कुराको निर्णय दिनु परेको छ ।

          १४.  यसमा निर्णयतर्फ हेर्दा लेनदेन व्यवहारको २ नम्बरमा तमसुक भएका मितिले दश वर्ष भित्र केही ब्याज असूल पनि नभएको भाखापत्र पनि नगराएकोमा सो म्याद पछि नालिस लाग्न सक्दैन भन्ने समेत उल्लेख भएको पाइन्छ ।

          १५.  प्रस्तुत मुद्दामा पेश भइराखेको कागज हेर्दा चिटसम्म देखिन आएको ऐन बमोजिमका धनी ऋणी खडा भई यातायात ऋण कर्जा लिएँ भन्ने बोली परी कानून अनुरूप तमसुक खडा भई लेनदेन भएको भन्ने सो कागजबाट देखिन आउँदैन । त्यस्तोमा लेनदेन व्यवहारको २ नं. अनुसार १० वर्षको हदम्याद लाग्छ भन्न मिल्ने देखिएन ।

          १६.  वादी दावीमा प्रतिवादीले मबाट रू.८,१६०। लिई आफ्नो हस्ताबाट चिट बनाई सही गरी दिनुभएको भन्ने समेत उल्लेख भएको त्यस्तो व्यवहारलाई लेनदेन व्यवहारको ४० नं. अनुसार २ वर्षको हदम्याद लाग्ने देखिन्छ । यस अवस्थामा वादीले प्रतिवादीबाट रू.८०८०। भरी पाउने गरी शुरू पर्सा जि. अ.ले गरेका इन्साफ मनासिव, नारायणी अञ्चलले खारेज गर्ने गरेको फैसला गल्ती ठहर्छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको मिति ०३४।१।१९।१ को फैसला उपरोक्त कारणबाट मिलेको देखिन आएन ।

          १७.  अतः नारायणी अञ्चल अदालतले वादीको फिराद खारेज हुने ठहर्छ भनी ०३०।१०।२३ मा गरेको फैसला मनासिव ठहर्छ । तपसील बमोजिम गर्नु ।


 

तपसील

कोर्टफी लागेको मुद्दा हुँदा कसैलाई केही गरिरहन परेन …………………१

मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति ०३४।१।१९।१ को फैसलाले देहाय बमोजिम गर्ने गरी ०३४।६।१७ मा का.जि. अ.मा लगत दिएकोमा सो बमोजिम गर्नु परेन सो लगत व्यहोरा जनाई कट्टा गरी दिनु भनी का.जि. अ.मा लगत दिनु………………..२

प्र.मदनलाल माडवारी के निजले नारायणी अञ्चल अदालतमा पुनरावेदन गर्दा धरौट राखेको रू.३४३।२० सो प्र.लाई फिर्ता दिने भनेको ना.अ.को ०३१।१०।२३।४ का फैसला बमोजिमको लगत काटी दिनु भनी पर्सा जि. अ.को पूर्जि गर्ने भन्ने कलम…१

प्र.मदनलाल के शुरूको इन्साफ सदर भएकोले नारायणी अं.अ.का उक्त मितिका फै.ले.शुरू पर्सा जि. अ.को फैसला बमोजिमको लगत काट्ने गरेको बिगो रू.८,०८०। र दस्तूर रू.२०२। कोर्टफी रू.३४३।२० समेतको लगत काट्ने गरेको ना.अं.अ.का फैसला बमोजिमको लगत काटी शुरू फैसला बमोजिमको लगत कायम राख्नु भनी लगत दिनु भन्ने कलम.१

वादी मोहनदास थारू के प्र.मदनललाले पुनरावेदन गर्दा पर्सा जि. अ.मा धरौट राखेको रू.३४३।२० वादीलाई फिर्ता दिनु भन्ने कलम..१

वादी मोहनदास थारू के पुनरावेदन गर्दा राखेको कोर्टफी रू.५१।४८ प्रतिवादीबाट भराई दिने गरेको कलम………………१

माथि इन्साफ खण्डमा लेखिए बमोजिम नारायणी अञ्चल अदालतको फैसला मनासिव ठहरेकोले सो फैसलामा उल्लेख भएको देहाय बमोजिमको लगत कायम राख्नु भनी पर्सा जि. अ.मा लेखी पठाउन का.जि. अ.मा लगत दिनु …३

प्रतिवादीले पुनरावेदन दिँदा धरौट राखेको कोर्टफी रू.३४३।२० प्र.लाई फिर्ता दिने कलम…………………१

प्र.बाट रू.८,०८० । र दस्तूर रू.२०२ र कोर्टफी रू.३४३।२० भराउने समेतको लगत कट्टा गरिदिने कलम……………१

प्र.मदनलाल माडवारीले पुनरावेदनको अनुमति प्राप्त भए अनुसार पुनरावेदन गर्दा राखेको कोर्टफी रू.५१।४३ वादी मोहनदास थारूबाट भराईपाउँ भनी ३ वर्ष भित्र दरखास्त गरे दस्तूर केही नलिई प्रतिवादीलाई भराई दिनु भनी का.जि. अ.मा लगत दिनु…………….४

प्र.मदनलाल माडवारीले पुनरावेदन गर्दा यस अदालत मार्फत का.जि. अ.मा ०३५।१।४ को पत्र साथ धरौट रहेको कोर्टफी रू.५१।४३ एकाउन रूपैयाँ त्रिचालीस पैसा फिर्ता पाउँ भनी प्र.मदनलालको ऐनका म्यादभित्र दरखास्त परे दस्तूर केही नलिई फिर्ता दिनु भनी का.जि. अ.मा लगत दिनु ………………… ५

इन्साफ उल्टीमा अं.न्या. श्री अभयकान्त झाको रेकर्डराख्ने गरेको सो राख्न पर्दैन भनी म.क्षे.अ.रजिष्ट्रार कार्यालयमा लेखी पठाई दिनु……६

मिसिल नियम बमोजिम गरी बुझाई दिनु……………. ७

 

म सहमत छु ।

 

न्या. धनेन्द्रबहादुर सिंह

 

इति सम्वत् २०३६ साल मार्ग ९ गते रोज १ शुभम् ।