November 13, 1979
Created by nepalarchives

निर्णय नं. १२७९ – उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १२७९   ने.का.प. २०३६ फुल बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् ०३४ सालको रिट...

निर्णय नं. १२७९   ने.का.प. २०३६

फुल बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् ०३४ सालको रिट फुल नम्बर ५०

आदेश भएको मिति : ०३६।७।२७।३ मा

निवेदिका : का.न.पं. वडा नं. ११ बस्ने बिन्दुदेवी राणा

विरूद्ध

विपक्षी : काठमाडौं नगरपञ्चायत संस्था का.जि. धर्मपथ, काठमाडौं नगरपञ्चायत संस्थाको सभा मुकाम समेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) घर भत्काउने आदेश नगरपञ्चायतले गरेकोमा नगरपञ्चायत ऐन, २०१९ को दफा ५३ को उपदफा (३) ले अञ्चल अदालतमा पुनरावेदन लाग्ने व्यवस्था कानूनमा निर्दिष्ट गरेकोमा नगरपञ्चायतबाट दफा ५३(३) अन्तर्गत निर्णय नभई दफा २८(३) अन्तर्गत नगरपञ्चायत सभाबाट पुनरावेदनको निर्णय गरेको हुनाले अधिकारक्षेत्रको अतिक्रमण नदेखिने ।

(प्रकरण नं. १६ )

निवेदक तर्फबाट :  विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना

विपक्षी तर्फबाट :  विद्वान अधिवक्ताहरु श्री झुलेन्द्रप्रसाद छत्कुली र श्री अनुपराज शर्मा

आदेश

          न्या. हेरम्बराज : प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहोर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट बक्स भई आएका हुकुम प्रमाङ्गी अनुसार यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

          २.  तथ्य तथा जिकिर यस प्रकार छ : गुणकेशरी श्रेष्ठले का.जि. थापाथली प्रसुतिगृह अगाडि थापाथलीमा घर बनाउने नक्सा पास गर्दा मेरो घरको मूल छाना देखि हटाई बीचमा जग्गा खाली राखी मेरो घरसँग नजोडी बनाउने गरेको कारणबाट नक्सा पासको अवस्थामा कानून बमोजिमको सँधियारले पाउने म्याद मलाई समेत आएन र हाम्रो घरमा नजोडी हाम्रो घरदेखि धेरै हटाई बनाउनु भएकोले हामीले अर्थात मैले उसै बखत उजूर गर्नुपर्ने अवस्था परेन । नक्सा पास नभएको ठाउँमा नक्सा भन्दा बढी मेरो मूल छाना भित्रको जग्गामा मेरो झ्याल टाली बनाएको सो घर बनाउँदै रहेकोले अब बाँकी बनाउन नपाउने गरी रोक्का गरी नक्सा पास नभएको ठाउँमा नक्सा भन्दा बढी मेरो झ्याल टाली बनाएको जति कानून बमोजिम भत्काई झ्याल र मूल छाना कायम गरिपाउँ भन्ने समेतको वादी विन्दुदेवी राणाको उजूरी ।

          ३.  उक्त उजूरी झुठ्ठा हो नियमपूर्वक यसै का.न.प.नक्सा र मुद्दा फाँटबाट ०३०।४।२।३ मा नक्सापास गरी बनाएको हुनाले यो उजूरीबाट फुर्सद पाउँ भन्ने प्रतिवादी गुणकेशरी श्रेष्ठ ।

          ४.  विवादग्रस्त जग्गामा बनेको नक्सा विपरीतको उक्त भाग कायम गर्न नमिल्ने देखिएकोले त्यस तर्फ वादी विन्दुदेवीको घरसँग जोडी नक्सा विपरीत बनेको लम्बाई फिट ९५।। को ३ तले घर आजका मितिले ३५ दिनभित्र भत्काई दिने र उक्त म्यादभित्र प्रतिवादीले भत्काई नदिनुभएका का.न.प.स्यानिटेशन फाँटबाट भत्काउन लगाउने भन्ने मिति ०३२।५।१८ को का.न.प.को फैसला ।

          ५.  उक्त निर्णय न्यायसंगत नहुनाको साथै गैरकानूनी हुँदा बदर गरिपाउँ भन्ने प्रतिवादी गुणकेशरी श्रेष्ठको पुनरावेदन जिकिर ।

          ६.  काठमाडौं नगरपञ्चायतबाट नक्सा पास गरिदिएको बदर गराउन सर्वोच्च अदालतमा मुद्दा परी रहेको भन्ने लेखिएकोले अदालतमा मुद्दा परिसकेको कुरामा नगरपञ्चायतबाट कुनै निर्णय गर्न नमिल्ने हुँदा तत्कालीन नक्सा मुद्दा फाँटबाट गरेको फैसला कार्यान्वित समेत नगर्ने गरी अदालतैबाट ठहरे बमोजिम हुनेमा यस का.न.प.बाट निर्णय गर्न नमिल्ने भन्ने समेतको का.न.प.सभाको मिति ०३३।३।१७।४ मा फैसला रहेछ ।

          ७.  उपर्युक्त निर्णय बदर गरिपाउँ भनी प्रस्तुत रिट निवेदनमा लिइएको जिकिर यस प्रकार छ ।

          विपक्षी गुणकेशरीको वकिल हुनु भएको कृष्णप्रसाद घिमिरे निजै गुणकेशरीसँगको नक्सा बेगर घर बनायो भन्ने मुद्दामा नगरपञ्चायतको सदस्यको हैसियतबाट सभामा उपस्थित भई निवेदिकालाई हराई आफ्नो पक्ष गुणकेशरीलाई जिताई ०३३।३।१७।४ मा फैसला गर्नुभएको गैरकानूनी छ । नगरपञ्चायत ऐनको दफा ४८ र अ.बं.१३९ नं. ले मलाई सूचना म्याद दिई झिकाई मात्र फैसला नक्सा पास गर्नुपर्नेमा मलाई नझिकाई नबुझी फैसला नक्सा पास गरेबाट मेरो कानूनी अधिकार हनन् गरी फैसला र नक्सा पास गरेको छ । यसरी प्रत्यक्ष कानूनी त्रुटि गरी काठमाडौं नगरपञ्चायत सभाले गरेको मिति ०३३।३।१७।४ को फैसला बदर गरिपाउँ भन्ने समेत उल्लेख छ ।

          ८.  विपक्षीहरूबाट लिखतजवाफ लिई पेशगर्नु भन्ने मिति ०३३।८।२१।२ को डि.बे.को आदेश ।

          ९.  जुन कुरामा तेरो मेरो परी हक बेहक गर्नुपर्ने हुन्छ सो कुराको निर्णय नगरपञ्चायत ऐन, २०१९ ले नगरपञ्चायतबाट गर्न मिल्दैन अदालतमा जानु पर्छ र उहीँबाट जे जो ठहरिन्छ सोही बमोजिम हुने हो । रिट निवेदनबाट नै तेरो मेरो परेको देखिएकै छ । अदालतबाट ठहरे बमोजिम गर्ने गरेको नगरपञ्चायतको निर्णय कानूनसंगत छ वकिल श्री कृष्णप्रसाद यो मुद्दाको फैसला गर्दा हुनुहुन्नथियो सक्कल फैसला हेरिएमा उहाँका सहिछाप परेको देखिने छैन । झुठ्ठा कुरा लेखी ल्याएको रिट निवेदन खारेज होस् भन्ने समेत गुणकेशरी श्रेष्ठको लिखितजवाफ ।

          १०.  प्रस्तुत मुद्दामा हक बेहकको प्रश्न उपस्थित भएको र नक्सा भन्दा बढी बनाएको भाग जती भत्काई दिने गरी फैसला भए उपर पुनरावेदकको का.न.प.मा पुनरावेदन पर्दा नगरपञ्चायत ऐन, २०१९ को दफा ५३ अनुसार निवेदक वादीको माग अनुसार घरको भाग भत्काउने नभत्काउने भन्ने निर्णय दिनुपर्ने प्रस्तुत मुद्दामा निहित थियो । भत्काई दिनुपर्ने भन्ने विपक्षीको जिकिर भएको हुनाले नगरपञ्चायतले मुद्दाको औचित्यलाई ध्यानमा राखी प्रयोग गर्ने तजबिजी अधिकार हुनाले सो भत्काई दिने निवेदक तर्फबाट प्रस्तुत भएको बहस नोटमा नै अदालतमा मुद्दा परी रहेको भन्ने उल्लेख भएको हुनाले अदालतमा मुद्दा पर्दापर्दै अन्तिम निर्णयनभई ०३०।४।२ मा कारवाई भई नक्सा पास पूर्जि गरी दिएको घरभत्काउन मिलेन । पक्ष विपक्षको हक अदालतबाटै निरोपण हुने कानूनी प्रक्रिया महसुस गरी फैसला कार्यान्वित नगर्ने भनी फैसला गरिएको फैसला का.न.पं.ले गरेको हो र अधिवक्ता कृष्णप्रसादले निर्णयमा सही गर्नुभएको छैन, विपक्षको रिट निवेदन खारेज होस् भन्ने समेत काठमाडौं नगरपञ्चायतको लिखितजवाफ ।

          ११.  यसमा नक्सा भन्दा बढी बनाएकोमा उजूरी परी जाँचबुझ भई नक्सा मुद्दा फाँटबाट विपक्षी गुणकेशरीको ९ फुट ५ इञ्च घर ३ तल्ला सम्मै भत्काउने फैसला भई रिट निवेदिकाको उजूरी कायम भएकोमा गुणकेशरीको पुनरावेदन परी नगरपञ्चायत सभाले अदालतमा उजूरी परी रहेको हुँदा नक्सा मुद्दा फाँटको फैसला कार्यान्वित नगर्ने र मिसिल तामेलीमा राख्ने भनी निर्णय सुनाएकोमा कानूनी त्रुटि भयो भनी यो रिट पर्न आएको छ, घर भत्काउने सम्बन्धी मुद्दामा नगरपञ्चायत ऐन, २०१९ को दफा ५३ को उपदफा (३) ले नगरपञ्चायत उपर अञ्चल अदालतमा पुनरावेदन लाग्ने व्यवस्था भइरहेको र पुनरावेदन हेर्ने अधिकारीले सो कानूनी त्रुटि छ छैन भन्ने समेत हेरी सबै वा आंशिक रूपमा सदर वा बदर गर्न सक्ने पनि हुनाले नगर सभाको निर्णयमा चित्त नबुझे निवेदिकाले उक्त ऐन बमोजिम अञ्चल अदालतमा पुनरावेदन गर्न पाउने कानूनी उपचार भएकोले रिट क्षेत्रबाट हेर्न मिलेन रिट निवेदनपत्र खारेज हुने ठहर्छ भन्ने डिभिजन बेञ्चको आदेश ।

          १२.  निवेदकतर्फका विद्वान अधिवक्ता श्री दमन ढुङ्गानाले नगरपञ्चायत नक्सा र मुद्दा फाँटले घर भत्काउने निर्णय गरे उपर विपक्षी तर्फबाट नगरपञ्चायत सभामा पुनरावेदन परेकोमा सो पुनरावेदन किनारा गर्दा शुरूको सदर या बदर नभनी केवल तामेलीमा राख्ने निर्णय भयो सो निर्णय कानूनको दृष्टिमा त्रुटिपूर्ण हुँदा बदर गरिनु पर्दछ भन्ने समेत र विपक्षी का.न.प.को तर्फबाट विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छतकुलीले घर बनाउने नक्सा पास पूर्जी गुणकेशरीले पाएको छ । नगरपञ्चायत ऐन, २०१९ को दफा ४६, ४७ र ५३ ले मात्र घर भत्काई पाउँ भन्ने उजूरी न.पं.मा डायर रहन सक्ने हो सो भन्दा बाहिरको निवेदकको उजूरी लाग्न नसक्ने भएबाट नगरपञ्चायत सभाबाट गरिएको निर्णय कानूनसंगत नै छ भन्ने समेत र विपक्षी गुणकेशरीका तर्फबाट विद्वान अधिवक्ता श्री अनुपराज शर्माले न्यायिक समितिको सिफारिशमा नगरपञ्चायत सभाको निर्णयलाई त्रुटिपूर्ण भन्न सकेको छैन । प्रस्तुत विषय अदालतको क्षेत्राधिकार भित्रको हुँदा न.पं सभाले नक्सा र मुद्दा फाँटको निर्णयलाई कार्यान्वित नगरी तामेलीमा राख्ने निर्णय गरेको कानूनसंगत नै छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

          १३.  यसमा विपक्षी वादी विन्ददेवी राणासँगको नक्सा पास बेगर घर बनाउने भन्ने मुद्दामा पुनरावेदक प्रतिवादी गुणकेशरीको पुनरावेदन परेको नक्सा पास बेगर घर बनायो भन्ने मुद्दामा का.न.प.सभाबाट ०३३।३।१७।४ मा फैसला हुँदा अदालतमा मुद्दा परी सकेको कुरामा नगरपञ्चायतबाट कुनै निर्णय गर्न नमिल्ने हुँदा तत्कालिन नक्सा र मुद्दा फाँटबाट गरेको फैसला कार्यान्वित नगर्ने गरी अदालतबाटै ठहरे बमोजिम हुनेमा यस का.न.पं.बाट निर्णय गर्न नमिल्ने भन्ने ठहर भएको रहेछ । सो फैसलाले मेरो मौलिक हक हनन् भएको भन्ने दावा गर्दै फैसला बदर गरिपाउँ भनी प्रस्तुत रिटको निवेदनपत्र परेको छ ।

          १४. उक्त फैसलामा विपक्षीतर्फका अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले फैसला गर्न नहुने पनि उल्लेख भएको रहेछ सो विषयमा सक्कल फैसलामा हेर्दा कृष्णप्रसाद घिमिरेको सहिछाप परेको देखिएन तसर्थ प्रस्तुत रिटको निवेदनपत्र झुठ्ठा देखियो ।

          १५. उस माथि नगर सभाले कुनै ठहर गर्दा आफ्नो राय व्यक्त गरेको कुरामा त्यस्तो फैसला गर्न नहुने भनी रिट क्षेत्रको असाधारण अधिकारक्षेत्र भित्र पर्न पनि आउँदैन । नगरपञ्चायत ऐन, २०१९ को संशोधित सहित दफा ५३ को उपदफा (३) मा नगरपञ्चायतले कुनै घर भत्काउन आदेश दिएकोमा सो आदेश उपर ३५ दिनभित्र अञ्चल अदालतमा पुनरावेदन लाग्न सक्ने भन्ने उल्लेख भएको । प्रस्तुत मुद्दामा नक्सा र मुद्दा फाँटबाट नक्सा विपरीत बनेको लम्बाई फिट ९।५ को ३ तले घर भत्काउने गरी ०३२।५।१८ मा निर्णय गरेको उपर उक्त ऐनको दफा ५३(३) ले सोझै अञ्चल अदालतमा पुनरावेदन लाग्ने हो कि भन्ने हुनलाई न.पं.ऐन, २०१९ को दफा २८(१) अन्तर्गतको अधिकारीले गरेको निर्णय उपर दफा २८ को उपदफा (३) अनुसार पुनरावेदनको व्यवस्था भएकोमा सो उपर पुनरावेदनको तह समाप्त नभई नक्सा र मुद्दा फाँटको निर्णय अन्तिम भयो भन्ने अवस्था देखिँदैन भनी रि.फु.नं. १५ मा ०२८।७।१६।३ मा फुल बेञ्चबाट निर्णय भएको रहेछ । उपदफा (३) अन्तर्गत परेको पुनरावेदनमा अदालतमा मुद्दा परी रहेको कुरामा नगरपञ्चायतबाट कुनै निर्णय गर्न नमिल्ने हुँदा तत्कालिन नक्सा र मुद्दा फाँटले गरेको निर्णय कार्यान्वित नगर्ने गरी मिसिल तामेलीमा राखी दिने समेत ठहर गरी ०३३।३।१७।४ मा निर्णय गरेको देखिन्छ ।

          १६.  घरभत्काउने आदेश नगरपञ्चायतले गरेकोमा नगरपञ्चायत ऐन,२०१९ को दफा ५३ को उप दफा (३) ले अञ्चल अदालतमा पुनरावेदन लाग्ने व्यवस्था कानूनमा निर्दिष्ट गरेको पाइन्छ । तर प्रस्तुतमुद्दा नगरपञ्चायतबाट दफा ५३(३) अन्तर्गत निर्णय नभई दफा२८(३) अन्तर्गत नगर पञ्चायतसभाबाट पुनरावेदनको निर्णय गरेको हुनाले अधिकारक्षेत्रको अतिक्रमण देखिन आएन ।

          १७. मेरो जग्गा च्यापी घर बनायो भत्काई पाउँ भनी निवेदिकाले नगरपञ्चायतमा निवेदन दिएकोमा सोही विषयमा अदालतमा मुद्दा परेको भनी यसमा कुनै कारवाही नगर्ने गरी तामेलीमा राखी दिने समेत नगरपञ्चायतले दिएको आदेश कानूनसंगत हुँदा नगरपञ्चायतले आफ्नो अधिकारक्षेत्रभित्र रही गरेको निर्णयमा कुनै कानूनी त्रुटि नदेखिएबाट प्रस्तुत रिटको निवेदनपत्र खारेज गर्ने गरेको ०३४।४।१६ को डिभिजन बेञ्चको ईन्साफ मनासिव ठहर्छ । मिसिल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा हाम्रो सहमति छ ।

 

न्या. सुरेन्द्रप्रसाद सिंह,

न्या. त्रैलोक्यराज अर्याल

 

इति सम्वत् २०३६ साल कार्तिक २७ गते रोज ३ शुभम् ।