निर्णय नं. १२७५ – उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आदेश पूर्जी जारी गरिपाउँ
निर्णय नं. १२७५ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३५ सालको रिट नम्बर १०७० आदेश...
निर्णय नं. १२७५ ने.का.प. २०३६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०३५ सालको रिट नम्बर १०७०
आदेश भएको मिति : २०३६।६।२८।१ मा
निवेदक : गोरखा जिल्ला वुंकोट गा.पं.वा.नं. ८ कुवाणनी बस्ने उदयनन्द अंगाई जैसी
विरूद्ध
विपक्षी : प्रमुख जिल्ला अधिकारी, गोरखा समेत
विषय : उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आदेश पूर्जी जारी गरिपाउँ
(१) लनेदेन व्यहोराको सम्बन्धमा निवेदनपत्र दिने र कागज गराउने अधिकार–प्रमुख जिल्ला अधिकारीलाई कानूनले प्रदान गरेको नदेखिने ।
(प्रकरण नं. ७)
आदेश
न्या. बासुदेव शर्मा : विपक्षी प्रमुख जिल्ला अधिकारीले गराएको बदरभागी कागजलाई बदर गराउने अन्य उपचार नहुँदा रिट निवेदन गर्न आएको छु । नेपालको संविधानको धारा ७१ अनुसार उपयुक्त आदेश वा पूर्जी जारी गरिपाउँ । यस प्रकारको पूर्जी जारी हुनु अघि तत्काललाई अन्तरीम आदेश जारी गरिपाउँ भन्ने समेतका कुराको माग गर्दै मिति २०३६।१०।१७ मा दर्ता हुन आएको प्रस्तुत रिट निवेदन सम्बन्धी संक्षिप्त तथ्य तथा जिकिर यस प्रकारको रहेछ : निवेदकले पुछार बिरौटे खेत तालुकदार वीरबहादुर थापा जिम्माको गोरखा मालमा रू.६।९२।२ तिरो तिर्न पर्ने माटो मुरी १५।७।७ दाता मिठु राणा, प्रेमकुमारी पाण्डे, उपेन्द्रजङ्ग सिजापती समेतबाट ०३५।३।११।१ मा राजीनामा रजिष्ट्रेशन पास गरी निवेदकले खरीद गरेको यस जग्गाको बाली ०३५ साल देखि नै लगाई आएको बाली निवेदकले लुटी लगे भनी विपक्षी जिल्ला अधिकारीको कार्यालयमा विपक्षी कृष्णबहादुरले निवेदन दिएका रहेछन् विपक्षी गा.पं.का.को ०३५।८।९ को पत्रद्वारा निवेदकलाई ०३५।८।१३ मा जिल्ला कार्यालय गोरखामा उपस्थित हुन सूचना पठाइयो सूचना बमोजिम ०३५।८।१२ मा उपस्थित हुन जाँदा कृष्णबहादुरको निवेदनको कुरा केही मात्र सुनाई लौ कागज गर भनी निवेदकले लुटेको भन्दै विपक्षी कृष्णबहादुरले भने बमोजिम बिगो रू.१३५०। तीन दिनभित्रमा बुझाउने छु, भन्ने व्यहोरा गरी जग्गामा हक छैन भन्ने बोलीको कागज बलजफ्ती ०३५।८।१२ मा विपक्षी प्र.जि. अ.बाट निवेदकलाई गराइयो र छोडियो, मेरो सम्पत्ति अपहरण भई निम्नलिखित कानूनी त्रुटि भएको बदर गराई माग्न रिट निवेदन चढाएको छु ।
२. विपक्षी प्रमुख जिल्लाअधिकारीबाट गराइएको ०३५।८।१२ को कागज कानूनी मनसाय विपरीत छ । कुनै पनि जग्गाको हक बेहकमा बाली लुटपिट विषयमा कुनै प्रकारको उजूरी सुनी त्यस सम्बन्धमा कारवाही गर्ने अधिकार कुनै पनि कानूनले विपक्षी प्रमुख जिल्ला अधिकारीलाई प्रदान गरेको छैन । आफूले हेर्न नहुने मुद्दा हेरेको छिनेको भए बदर हुन्छ भन्ने व्यवस्था अ.बं.को ३५ नं. ले गरेको छ । विपक्षी प्रमुख जिल्ला अधिकारीले निवेदकलाई गराएको कागज यसै आधारमा बदरभागी छ । कानूनको ठाडै उल्लंघन भई बेइलाकामा दिन गएको विपक्षी कृष्णबहादुरको निवेदनलाई विपक्षी प्रमुख जिल्ला अधिकारीले फलाना अड्डामा जानु भनी पठाउनु पर्नेमा त्यसो नगरी कारवाही गरिएको अ.बं.२९ नं. को मनसाय विपरीत भएको छ । अनधिकृत निकायबाट कारवाही भएकोमा सम्पूर्ण कारवाही मान्य नभई बदरभागी छ भन्ने मनसायको सिद्धान्त ने.का.प.०३० पृष्ठ ३०२ निर्णय नं. ७७७ को मुद्दामा फुल बेञ्चबाट प्रतिपादित भएको छ ।
३. विपक्षीहरूद्वारा लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने समेत डिभिजन बेञ्चको मिति ०३५।१०।२४।४ को आदेश बमोजिम प्राप्त लिखितजवाफ जिकिर यस प्रकारका रहेछन् ।
४. मिठु राणा समेतबाट लिएको खेत रोप्ने कार्य गर्न जाँदा कृष्णबहादुरले मलाई काम गर्न नदिई कुट्छु मार्छु भनी अशान्ति गरे ज्यानको दावा लिएका हुँदा कार्यवाही गरिपाउँ भनी उदयनन्दले ०३५।३।१८ मा निवेदन दिनुभएको निवेदन गा.पं.मा पठाएको । मिठु राणा समेतसँग उदयनन्दले लिएको खेत तिखे भन्ने कृष्णबहादुरको मोहियानी हक हो, उजूरी झुठ्ठा हो भन्ने समेत गा.पं.बाट यस कार्यालयमा फिर्ता आएको उदयनन्दले कृष्णबहादुरको खेतको धान लुटी लगे भन्ने समेत उप प्र.पं.को निवेदनद्वारा प्राप्त भएको र धान लुटी मलाई त्रासमा पारेकोले लुटी लगेको धान पराल समेत दिलाई पाउँ भन्ने समेत कृष्णबहादुरको निवेदन पर्न आएको यस कार्यालयको पत्रबाट प्र.पं.ले निजहरूलाई यस कार्यालयमा लिई आउँदा, कृष्णबहादुरको दशकर्मको मैले ल्याएको धान मुरी १२। पराल भारी ३६ को धान मुरी १ को रू.१०० का दरले जम्मा रू.१२००। पराल भारी १ को रू.५। दरले हुने रू.१८०। मा भारी ६ सडी आएकोले भारी ३ को रू.१५०। समेत रू.१३५०। आजको ३ दिनभित्र दिनेछु भनी खुसीराजीले उदयनन्दले कागज गरी जानु भएको हो, यस कार्यालयबाट डर धाक देखाई जवरजस्ती कागज गराएको होइन रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय गोरखा ।
५. विपक्षी निवेदकले भने बमोजिम कागज भएको हामीलाई थाहा छैन निवेदकले बाली लुटी लगेकोले आयन्दा त्यसरी लुटी लान नपाउन् भनी प्र.जि. अ.को का.मा शान्ति सुरक्षाको लागि निवेदन दिएको थिएँ, अरू किसिमको निवेदन दिएको छैन । निवेदकले मैले मेरो बाबु बाजेका पालादेखि कमाई सुरक्षित मोही भई आएको जग्गाबाट निष्काशन गर्न बेला बेलामा दखल गरी राखेको हुनाले निवेदन दिएका हुन, पिता धनमानसिंह खड्का वादी अमृतबहादुर भण्डारी प्रतिवादी भएको मुद्दामा २००३।१०।१७।५ मा पं.२ नं. अदालतबाट भएको फैसलाबाट पनि मोही कायम भएको छ जोताहा अस्थायी निस्सा पनि मैले पाएको छु । बाली लुटपिटमा मेरो गोरखा जि. अ.मा फिराद परी रहेकोले विपक्षीले यो निवेदन दिएका हुन् । विपक्षीको झुठ्ठा निवेदन खारेज गरिपाउँ भनी समेत प्र.पं.दिलबहादुर केसी गा.पं.सचिव ईश्वरबहादुर थापा तथा कृष्णबहादुर खड्का समेतको संयुक्त लिखितजवाफ रहेछ । तारिखमा रहेका निवेदक उदयनन्द अंगाई जैशीको वारेस दिनेश लम्साललाई रोहवरमा राखी निजतर्फका विद्वान अधिवक्ता श्री विश्वराज पाण्डेको र विपक्षी जिल्ला कार्यालय गोरखातर्फबाट बहसनिमित्त खटिनुभएका वि.स.अ.श्री ईन्द्रराजको बहससमेत सुनी बुझ्दा प्रस्तुत रिटनिवेदनमा निवेदकका मागबमोजिमको आदेश जारी हुने नहुने के हो ? निर्णय दिनु परेको छ ।
६. यसमा, विपक्षी कृष्णबहादुरको निवेदन उजूरीबाट निजको दशकर्मको धान मुरी १२ पराल भारी ३६ मैले ल्याएको हुँ धान मुरी १। को रू.१००। का दरले जम्मा रू.१२००। पराल भारी १ को रू.५। का दरले हुने रू.१८०। मा भारी ६ सडी गएकोले भारी ३० को १५०। समेत रू.१३५०। आजको तिन दिनभित्र दिनेछु भनी निवेदक उदयनन्दलाई विपक्षी प्रमुख जिल्ला अधिकारी समक्ष मिति २०३५।८।१२ मा कागज गराएको भन्ने कुरा विपक्षी जिल्ला कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारीको लिखितजवाफबाट देखिन आउँदछ :
७. लेखिएअनुसार त्यस्तो निवेदनपत्र लिने र कागजगराउने अधिकार प्रत्यर्थी प्रमुख जिल्ला अधिकारी लाई कानूनले प्रदान गरेको देखिन आउँदैन । तर, उपरोक्त विवादग्रस्त कागजले निवेदक उदयनन्द अंगाई जैशीलाई त्यसमा उल्लेख भए बमोजिम रूपैयाँ तिर्न बाध्य गराउन नसक्ने र उक्त कागजको कुनै प्रमाणिक महत्व पनि नहुने भएकोले समेत निवेदकको मागबमोजिमको आदेश जारी गरी रहनु परेन । तसर्थ प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । नियम बमोजिम गरी फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् २०३६ साल आश्विन २८ गते रोज १ शुभम् ।