निर्णय नं. १२७० – चोरी
निर्णय नं. १२७० ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय प्रधान न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको डि.फौ.पु.नं. १७६।१७७ फैसला भएको मिति...
निर्णय नं. १२७० ने.का.प. २०३६
डिभिजन बेञ्च
माननीय प्रधान न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३६ सालको डि.फौ.पु.नं. १७६।१७७
फैसला भएको मिति : २०३६।४।३०।४ मा
पुनरावेदक : भारत विहार जिल्ला धनबाद थाना झरिया घर भई हाल डिल्लीबजार सदरखोरमा कैदमा बसिरहेको भाईलखी अग्रवाल समेत
विरूद्ध
विपक्षी : श्री ५ को सरकार, जाहेरवाला भीमसेन अग्रवाल
मुद्दा : चोरी
(१) प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा (२) को (क) अनुसार अदालत बाहेक अन्यत्र व्यक्त गरेको कुरालाई प्रमाणमा लिने बारेमा ठहराउनु पर्ने कुराहरू मध्ये कुन–कुन कुरा ठहर गरेको रहेछ सो कुरा उपर शङ्काको भर लिई गडाउ गरेको र प्रमाण ऐनको उक्त दफा बमोजिम सिद्ध नगरी ठहर गरेको उक्त कानूनले प्रमाण लिन नहुनेमा प्रमाण लिइएको कानूनी त्रुटि देखिने।
(प्रकरण नं. १९)
पुनरावेदक तर्फबाट : विद्वान व.अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री हरिहर दाहाल
विपक्षी तर्फबाट : विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद बिजयी
फैसला
न्या. हेरम्बराज : म.क्षेत्रीय अदालतको ०३६।२।२ को फैसलामा चित्त नबुझेकोले पुनरावेदनको अनुमति पाउँ भनी चढाएको निवेदन पुनरावेदनको अनुमति पाई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको तथ्य यस प्रकार छ : ०३४ साल आषाढ १९ गते नयाँ सडकको पसल बन्द गरी घर गएको थिएँ भोलिपल्ट बिहान तपाईंंको पसल फोरिएको छ तुरून्त जानु भनी फोन आएबाट पसलमा जाँदा सडकतर्फको ताला उपकाई भित्र पसी ताला फोरी ऐना फुटाई बिगो रू.४२,९५५। पर्ने घडी क्यामरा समेतका सामान चोरी भएछ चोरीको र मालसामानको तलासी गरिपाउँ भन्ने भीमसेन अग्रवालको जाहेरी ।
३. प्रहरी कार्यालयको आदेश बमोजिम त्रिभुवन राजपथको बाटो गरी वि.आर.वाई नं. ४४५ को भारतीय गाडी गइरहेको उक्त गाडी दाखिल गर्नु भन्ने आदेशानुसार सो गाडी र चालकसमेत दाखिल गरेको छु भन्ने प्र.ह.अशोककुमार समेतको प्रतिवेदन ।
४. उक्त ४४५ नं. को मोटर खानतलासी गर्दा अटोमेटिक जेम्स घडी थान ३७ लेडिज सानो घडीथान १३ समेतका विभिन्न सामान पेट्रोल टेंकीबाट निस्केको भन्ने खानतलासी मुचुल्का । ०३४ साल बैशाख महीनाको भाईलखीले म भाडा कार लिन्छु । तिमी चलाउ काठमाडौं घुम्न जाउँ भनेको हुन्छ भनेँ भाईलखीले एकातिर माल राख्ने एकातिर पेट्रोल राख्ने बनाए । हामी जेष्ठ २ या ३ गते आयौं कोजी होटेलमा बसेर र वि.आर.डब्लु २३६ को मोटरमा म सुतेको भोलिपल्ट ३।३०।४ को समयमा भाइलखीले फलामे गल झिकी भेराइटीतर्फ गए केही छिनपछि भाइलखीले झोला ल्याएर ट्याङ्कीमा राखे त्यहाँबाट भारत धनवादमा पुगी भाइलखीको घरमा राखे । भाइलखीले बिक्री गरी रू.३०० दिएँ त्यसपछि भाइलखीले माल ल्याउनु पर्छ भाडाकार खोज भने विमलसिंको वि.आर.बाबू ४४५ को कार ल्याए पहिलाको ट्याङ्कीको सो कारमा राखी भाइलखी बैकुण्ठ विमलसिं म समेत ४ जना ०३४।३।१४ गते काठमाडौं आई होटेलमा बसे । भोलिपल्ट नयाँ सडक युनिभर्सल ट्रे.कं.को पसल अगाडि मोटर रोकी भाइलखी बैकुण्ठले कारबाट फलामे गल हयीक्टो समेत झिकी पसलमा ताला फोरी भित्र पसी धेरैबेर पछि गम्छामा पोका र क्यामरा झुण्याई ल्याई कारमा राखे त्यहाँबाट फर्की विमलसिंह कहाँ गई निजलाई बोलाई पशुपतिनाथको दर्शन गरी भाइलखीले कार लिई गए हामी पछि आउँछौं भनी बसे म उक्त कार लिई हेटौंडा पुग्दा उक्त सामान समेत बरामद गरेको हो भन्ने विदेशीरामको प्रहरीमा भएको कागज ।
५. काठमाडौं चोरी गर्न जानुपर्छ कार खोज भनी विदेशीरामलाई भने विमलसिंले वि.आर.वाई.४४५ नं. को कार ल्याए सो कारमा पहिलाको ट्याङ्की फिट गरी बैकुण्ठ ठाकुर विदेशीराम म समेत सो कारमा बसी विमलसिंले उक्त कार चलाई ०३४।३।१५ गते काठमाडौंमा आई होटेलमा बसी ०३४।३।१९ गते विमलसिं होटलमै बसे हामी ३ जना भोलिपल्ट ३, ४ बजे कार नयाँ सडकमा ल्याई हतेउडी गल झिकी म र बैकुण्ठ पसलको ताल्चा ढोका खोली भित्रको ढोकाहरू फोरी पसलमा रहेका घडी क्यामरा लाईटर रूपैयाँ समेत चोरी उक्त कारमा राखी विमलसिंलाई बोलाई पशुपति दर्शन गरी विदेशीरामलाई कार लिई तिमी जाउ नेपाल पार गर हामी आउँछौं भनेर जाँदा प्रहरीले पक्राउ गरेको हो उक्त चोरी गर्ने सल्लाह विमलसिंलाई थाहा थिएन भन्ने समेत व्यहोराको भाइलखी अग्रवालको प्रहरीमा भएको कागज ।
६. वि.आर.वाई.४४५ को कारमा भाइलखी विदेशीराम बैकुण्ठ बसी विमलसिंले गाडी चलाई ०३४।३।१५ गते धनवादबाट काठमाडौं आई होटेलमा बस्यौं विमलसिं होटेलमा सुते हामी ३ जना बिहान ३, ४ बजे कार लिई नयाँ सडक युनिर्भसल पसल अगाडि गाडी रोकी फलामे गल हतेउडी लिई पसलको ढोकाको ताल्चा भाइलखीले तोडी मलाई बाहिर मानिस हेर्न राखी निज भित्र पसी पसलको क्यामरा समेतका माल लिई कारमा राखी उक्त कार विदेशीरामलाई लैजाउ भनी हामी काठमाडौं बसेका हौं र प्रहरीले पक्राउ गरेको हो भन्ने समेत व्यहोराको बैकुण्ठ ठाकुरको प्रहरीमा भएको कागज ।
७. मंगला सिंको ४४५ नं. को गाडी मागी उक्त गाडीमा भाइलखी नाउँ रहेछ निजले ट्याङ्की फिट गरी सो कार लिई ०३४।३।१५ गते मैले हामी काठमाडौं होटेलमा बस्यौं राति कार लिई उनीहरू घुम्न जान्थे १९ गते १० बजे निजहरू आई पशुपतिदर्शन गरी विदेशीरामलाई कार लिई जाउ भनी विदेशीरामले पठाई दिए, हामी ३ जना काठमाडौं बसेकोमा प्रहरीले पक्राउ गरेको हो भन्नेसमेत व्यहोराको विमलसिंको प्रहरीमा भएको कागज ।
८. भाइलखी समेत ४ जनाको सल्लाहबाट जाहेरवाला भीमसेन अग्रवालको बिगो रू.४३१२५। को माल सामान चोरी गरेको सिद्ध हुन आएकोले विदेशीराम र भाइलखीले प्रस्तुत केश दोश्रो पटक र विमलसिं र बैकुण्ठले पहिलो पटक पारी चोरी गरेको हुँदा चोरीका १,१२, १४(१) बमोजिम कारवाही गरी चोरीमा प्रयोग गरेको मोटर सहितको माल सामान जफत गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
९. आजभन्दा लगभग १।।२ महीना अगाडि भाडाको कार लिई काठमाडौंमा ४, ५ दिन बसी केही माल नलिई भारत तर्फ फर्केको पछि फेरि घुम्न आउने विचार भई वीरगञ्जसम्म म र बैकुण्ठ ठाकुर आई वीरगञ्जमा टिकट लिन लाग्दा मोहनसिं रामसिं विदेशीराम वि.आर.वाई नं. ४४५ को मोटरमा आउँदै रहेछन् हामी पनि सोही गाडीमा आई काठमाडौं होटेलमा बसी रामसिं मोहनसिं राती गाडी लिई बाहिर जाने आउने गर्दथे पाँचौ दिनमा मोहनसिं रामसिंले हामी रक्सौल भेट गर्छौं भनी कता गए म विदेशीराम बैकुण्ठ विमलसिं सोही गाडीमा बसी भारत जान लाग्दा हेटौंडामा प्रहरीले गाडी खानतलासी गरी विदेशीरामलाई हेटौंडामा राखी अरू हामीलाई काठमाडौं पठाए गाडीबाट निस्केको सामान कसरी कसले राखे थाहा छैन प्रहरीमा मलाई स्वेच्छा विरूद्ध बयान गराएको हो भन्ने लेखिएको बयान ।
१०. आजभन्दा १७, १८ दिन अघि काठमाडौं घुम्न जाने भनी भाइलखी बैकुण्ठ समेत पेसेन्जर लिई काठमाडौं आउन वि.आर.वाई नं. ४४५ नं. को कार लिई आउँदा वीरगञ्जमा रामसिं मोहनसिं पनि सोही कारमा बसी काठमाडौं आई होटेलमा बसेको ०३४।३।१९ गते विदेशीरामले गाडी हाँकी साथमा आएको पेसेन्जरलाई लिई बाहिर गई ५ बजेतिर आए । आज भारततर्फ फर्कने भनेर रामसिं मोहनसिं प्लेनबाट जाने भनी गए अरू बाँकी पेसेन्जरलाई लिई भारत जान त्रिभुवन राजपथको बाटो गरी गएको हेटौंडामा रोकी चोरीको माल छ भनी हामीलाई काठमाडौं ल्याए म चोरी गर्न गएको र ट्याङ्कीबाट निस्केको माल चोरी गरेको मलाई थाहा छैन भन्ने समेत व्यहोराको विमलसिंको बयान ।
११. काम विशेषले भाइलखीका साथ ४४५ नं. को गाडी विदेशीरामले हामी सो गाडीमा विमलसिं र मैले नचिनेको थिए त्यसैमा भाइलखी पनि साथै आयो ३, ४ दिन काठमाडौं बस्यो कहाँ गए थाहा भएन चोरी दिनमा भारत जान भनी सोही गाडीमा त्रिभुवन राजपथको बाटो गरी जाँदा हेटौंडा पुगेपछि पक्राउ गरेको गाडीमा मालसामान क–कसले राखे थाहा छैन मैले चोरी गरेको छैन प्रहरीको विश्वास गरी सही गराएको हो भन्ने समेत व्यहोराको बैकुण्ठ ठाकुरको बयान ।
१२. १ महीना अगाडि काठमाडौं हेर्न इच्छा भई भाइलखी र मैले विहार ८२३६ नं. को कार भाडामा लिई आई होटेलमा बसी ४, ५ दिन काठमाडौं रहँदा भाइलखी बाहिर जान्थे थाहा भएन त्यसको १ महीना पछि पुनः काठमाडौं आउन इच्छा भई म १ मोहनसिं रामसिंह विमल सि.मु.नं. ४४५ को भाडा कार लिई वीरगञ्ज आएपछि भाइलखी बैकुण्ठराम पनि भेट भई गाडीमा आई होटेलमा बस्यौं म गाडीको रेखदेख गरी बस्ने गरेँ रामसिं मोहनसिं गाडी बाहिर लान्थे ०३४।३।१९ गते बिहान गाडी लिई आई हामी प्लेनबाट आउँछौं तिमीहरू गाडी लिई जाउ भने हामी भारत जान लाग्दा हेटौंडामा पक्रेको हो गाडी तलासी गर्दा गाडीको टैङ्कीबाट लाइटर घडी समेत निस्केको हो र गाडी सहित काठमाडौं चलान गरेको कसले चोरी गरी ल्याए राखे थाहा छैन मैले चोरी गरेको होइन भन्ने समेत व्यहोराको विदेशीराम कुर्मीको बयान । सङ्कलित सबूद प्रमाण समेतबाट प्रहरी प्रतिवेदनमा दावी लिए अनुसार प्र.विदेशीराम भाइलखीले दोश्रो पटक र बैकुण्ठ ठाकुरले पहिला पटक पारी चोरी गरेको ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको फैसला ।
१३. प्रहरीको रेकर्डको आधारमा मुद्दा दायर भएको छ भाइलखी बैकुण्ठ ठाकुर विमलसिंह २३ गते धरहरामा पक्राउ परेको भन्ने रिपोर्ट छ मोटर विदेशीराम कुर्मीलाई २० गते हेटौंडामा समातेको भन्ने अर्को रिपोर्ट छ । २२ गते सनाखत हुँदा भाइलखी अथवा बैकुण्ठ ठाकुरको उपस्थित छैन । ४४५ को कारमा भाइलखी बैकुण्ठ ठाकुरले लिई गएको भन्ने कुरा स्थापित भएको छैन सह–अभियुक्तको पोललाई एकमात्र आधार लिन मिल्दैन दरिलो पार्ने थप प्रमाण हो भनी बहस गर्नुभएको छ । मिसिल अध्ययन गरी हेर्दा नगर प्रहरी कार्यालयको फोनको आदेशानुसार त्रिभुवन राजपथको बाटो गरी आउने वि.आर.वाई ४४५ भारतीय कार आइरहेको उक्त कार र कारमा रहेको मानिस समेत दाखिल गर्नु भनी हेटौंडा प्र.नि.कार्यालयले खटाई पठाए अनुसार चालक विदेशीराम समेतलाई दाखिल गरेको भन्ने प्र.ह.अशोककुमार प्रहरी कर्णबहादुरको प्रतिवेदन ०३४।३।२० गतेको देखियो ०३४।३।२९ गतेका राति युनिभर्सल ट्रेडिङ नयाँ सडक पसलबाट पसल फोरी मालसामान चोरी भएको भन्ने देखिन्छ । ०३४।३।२० बिहान प्रहरीको फोनबाट थाहा पाएको भन्ने देखिन्छ । ०३४।३।२० म.नं. ४४५ को कार विदेशीराम पक्राउ परेको छ । ०३४।३।२१ मा प्र.नि.विश्वलाल श्रेष्ठलाई काठमाडौंबाट हेटौंडामा खटाइएको देखिन्छ । प्र.नि.विश्वलाल श्रेष्ठ र विदेशीराम कुर्मीको उपस्थितिमा ०३४।२।२२ मा बरामदी मुचुल्का भएको छ । ०३४।३।२२ को समय २०३०, मा प्र.ना.उ.का काठमाडौंमा प्र.नि.विश्वलाल श्रेष्ठले कार चालक विदेशीराम माल सामानलाई दाखिल गरेको देखिन्छ । ०३४।२।२३ मा भाइलखी अग्रवाल बैकुण्ठ ठाकुर विमलसिंहलाई सुन्धारा बसस्टपमा पक्राउ गरेको भन्ने कं.कमलबहादुर समेतको प्रतिवेदन देखिन्छ । यसै प्रतिवेदनलाई मुख्य आधार मानी विद्वान अधिवक्ताहरूले भाइलखी बैकुण्ठ ठकुरलाई शङ्काको सुविधा दिइनु पर्ने भन्ने तर्क पेश गर्नुभएको छ यसै प्रसंगमा भाइलखीले अदालतमा गर्नुभएको बयान हेर्दा स.३ को जवाफको अन्तिम प्रकरणमा म विमल वैकुण्ठ विदेशीराम सोही गाडीमा भारत फक्र्यौं र हेटौंडा पुगेपछि प्रहरीले छेक्यो गाडी खानतलासी लियो गाडी र विदेशीलाई हेटौंडामा राखी अरूलाई काठमाडौंमा पठायौं गाडीबाट निस्केको विभिन्न सामानहरू के कसले कसरी कहिले राखेको रहेछ, बरामद भयो । यस गाडीद्वारा म भारततर्फ जाँदै थिएँ भनी लेखाई दिएको पाइन्छ । बैकुण्ठ ठाकुरले अदालतमा ३ मा हामी ४ जना बिहान ५ बजे सोही गाडीमा हामी पशुपतिनाथको दर्शन गर्न गयौं र पुशपतिनाथबाट फर्की सिधा त्रिभुवन राजपथको बाटो गरी हेटौंडामा पुगेपछि प्रहरीले गाडी रोक्यो र डा. विदेशीलाई र गाडीलाई हेटौंडामा राखी हामीलाई काठमाडौं ल्याएर गाडी पछि पठाएर हामीलाई चोरीमा कारवाई चल्यो भन्ने लेखाई लिएको देखिन्छ । भारत जानका लागि त्रिभुवन राजपथको बाटो गरी हेटौंडा पुगेपछि गाडी रोकी चेक गरियो गाडीमा चोरीका सामान लान पाउँदैन भनी हामीलाई काठमाडौं फर्काई प्रहरीमा बुझाई दियो भनी विमलसिं राजपुतले अदालतमा बयान गरेको छ । रामसिं मोहनसिं प्लेनबाट गएका अरू मोटरमा गएको भन्ने निजको भनाईबाट देखियो त्यस्तै विदेशीरामले गरेको अदालतको बयान हेर्दा भाइलखी बैकुण्ठ ठाकुर विमलसिं उक्त ४४५ नं. को कारमा यात्रा गरेको र हेटौंडामा कार पक्राउमा परेको भन्ने देखिन्छ । यस अवस्थामा भाइलखी बैकुण्ठ ठाकुर उक्त कारमा काठमाडौंमा आए । कार काठमाडौंबाट फर्केको भन्ने स्थापित भएको छ ।
१४. अब पुनरावेदक भाइलखी र बैकुण्ठ ठाकुरले चोरी गरेको स्थापित भएको छ छैन भनी विचार गर्दा धनवादबाट भाडामा कार ल्याएको छ । सोही कारमा पुनरावेदकहरूले यात्रा गर्नुभएको छ चोरीको माल सामान लुकाई लैजान अतिरिक्त पेट्रोलको टंकी फीट गराइएको छ । उक्त मोटर टंङ्कीमा चोरीको मालसामान राखी भारत लगिरहेको अवस्थामा हेटौंडामा पक्राउ परेको छ चालक विदेशीरामले भाइलखी र बैकुण्ठ ठाकुरलाई पोल गरेको छ । उपरोक्त परिबन्दबाट सह–अभियुक्तको पोल र सरजमीनको शङ्का समर्थित भएको देखियो । सफाई हुनुपर्ने भन्ने वि.कानून व्यवसायीहरूको बहससँग यो बेञ्च सहमत भएन । काठमाडौं जि. अदालतको इन्साफ मनासिव छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३६।२।४ मा फैसला भएको रहेछ ।
१५. उक्त फैसला बुझी चित्त नबुझेकोले म.क्षे.अ.ले गरेको निर्णय सार्वजनिक महत्वको विषयमा गम्भीर कानूनी त्रुटि गरेको हुनाले पुनरावेदनको अनुमति दिई पुनरावेदनको लगतमा दर्ता गरी दोषमुक्त गरिपाउँ भन्ने भाइलखी अग्रवाल र बैकुण्ठ ठाकुरको निवेदन रहेछ ।
१६. प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम सरजमीनमा बस्ने मानिसलाई अदालतमा उपस्थित गराई बकपत्र गराएको नदेखिएको र सह–अभियुक्त विदेशीराम थारूको पोलाईलाई अन्य प्रमाणबाट समर्थित नभएकोमा निवेदकहरूलाई चोरीमा सजाय गर्ने गरेकोले ०२२ ने.का.प.पृष्ठ १८६ र ने.का.प.२०२१ पृष्ठ ५३ मा प्रतिपादित सिद्धान्तको प्रतिकूल भएको र चोरी गरेमा प्रतिवादीको मुख नमिलेको हुँदा अ.बं.१८४(क) बमोजिम सबूद प्रमाण बुझी गर्नुपर्ने निरूपण नगरी प्रतिवादीको बयानलाई नै अर्थ गरी निर्णय गरेको उपर्युक्त ऐन तथा सिद्धान्तको त्रुटि र सार्वजनिक महत्वको विषय समेत भएकोले न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) को आधारमा पुनरावेदनको अनुमति दिएको छ भन्ने २०३६ आषाढ ३ गतेको स.अ.डिभिजन बेञ्चको आदेश रहेछ ।
१७. म.क्षे.अदालतको फैसला मिले नमिलेको के रहेछ भन्ने प्रश्न उपस्थित हुन आएको छ ।
१८. यसमा पेश भएको मिसिल अध्ययन गरी पुनरावेदकहरूको तर्फबाट रहनु भएका वरिष्ठ अधिवक्ताहरु र विपक्षी श्री ५ को सरकारतर्फबाट खटिई उपस्थित हुनुभएका अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद बिजयीको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएकोमा निर्णयतर्फ विचार गर्दा ।
१९. मध्यमाञ्चल क्षेत्रीय अदालत उपर पुनरावेदनको अनुमति पाई दर्ता हुन आएको बैकुण्ठ ठाकुर र भाइलखी अग्रवालको प्रस्तुत पुनरावेदनमा दुबैतर्फको अधिवक्ताको बहस समेत सनी निर्णयतर्फ विचार गर्दा वि.पुनरावेदकहरूलाई चोरीको अभियोग प्रमाणित गर्दा कुनै कानूनको जटिल त्रुटि भएको छ छैन भनी विचार गर्न परेको छ सरजमीनहरूले मुचुल्का गरेकोलाई प्रमाणमा लिएकोमा ती सरजमीनहरूले वारदात गरेको देखेको बुझेको भन्ने कुरा नभनी हामीहरूको रोहवरमा अभियुक्तहरू सावित भएको भनी गरेका मुचुल्कालाई प्रमाणको कतिसम्म महत्व हुने हो त्यस्तै सरकारी अभियोक्ता र प्रहरी समक्ष निजहरूले गरेको साविती बयानको पनि कति महत्व हुने हो यस बारेमा प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा (२) को (क) अनुसार अदालत बाहेक अन्यत्र व्यक्त गरेको कुरालाई प्रमाण लिने बारेमा ठहराउनु पर्ने कुराहरू मध्ये कुन–कुन कुरा ठहर गरेको रहेछ सो कुरा फैसलामा लेखेको देखिएन, चोरीको माल राखेको ट्याङ्की भएको कार नम्बर ४४५ मा चढी भारततर्फ जान लागेको भनी भाइलखी र बैकुण्ठ ठाकुरले अदालतमा बयान गरेको देखिन्छ निजहरूलाई हेटौंडामा पुगेपछि काठमाडौं ल्याएर विदेशीलाई र गाडीलाई हेटौंडामा राखे भनी बयान गरेको र प्रहरीले ०३४।३।२० मा गरेको रिपोर्ट उक्त कारमा अन्य कुनै मानिस फेला नपरेको व्यहोराको अनुरोध गरेको देखिन्छ यसरी दुई तर्फबाट परस्पर विरोधी कुरा व्यक्त गरेको छ यदि त्यही गाडीमा गएको नै चोरीको अपराध गरेको ठर्हन गई त्यस्तै मोटरमा चढी जाने विमलसिंलाई सफाई गरेको देखिन्छ । भाइलखीको हातमा ओमेगा घडी बाँधेको भनी दसिसाथ बरामत भएकोमा ओमेगा सहित जेन्ट्स घडी ३७ भनी माल धनीले दरखास्त दिएकोमा थान ३७।४५५ नं. को कारबाट बरामत भएकोले भाइलखीको हातको घडी चोरीको दरखास्त भित्र परेको भन्नु भएन यसरी पुनरावेदकहरू उपर शङ्काको भर लिई गडाउ गरेको र प्रमाण ऐनको उक्त दफा बमोजिम सिद्ध नगरी ठहर गरेको उक्त कानूनले प्रमाण लिन नहुनेमा प्रमाण लिइएको कानूनी त्रुटि देखिन्छ । तसर्थ जिल्ला अदालतको सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले ठहर गरेको उक्त कानूनले प्रमाण लिन नहुनेमा प्रमाण दिइएको कानूनी त्रुटि देखिन्छ । तसर्थ जिल्ला अदालतको सदरगरी मध्यमाञ्चल क्षेत्रीयअदालतले ठहरगरेको मनासिव देखिएन । पुनरावेदकहरू लाई चोरीको अभियोग र सजाय लाग्दैन लगत काटी दिनु र तपसील बमोजिम गर्नु ।
तपसील
देहायका पुनरावेदक प्रतिवादीहरू के माथि इन्साफ खण्डमा लेखिए बमोजिम इन्साफ उल्टी भएकोले यस मुद्दा बाहेक अरू मुद्दामा थुनामा परेको नभए तुरून्त थुनाबाट छाडी दिनु भनी केन्द्रीय कारागार कार्यालय काठमाडौंलाई लेखी पठाई दिनु ।
भारत विहार जिल्ला धनवाद थाना झरिया घर भई के.कारागारमा थुनामा रहेको भाइलखी अग्रवाल १, ऐ.ऐ.बस्ने वैकुण्ठ ठाकुर १,
देहायका प्रतिवादीहरूको माथि इन्साफ खण्डमा लेखिए बमोजिम इन्साफ उल्टी भएकोले का.जि. अ.र म.क्षे.अ.बाट ०३६।२।२।४ मा गर्ने गरेको कैद र जरिवाना हाल नलाग्ने हुँदा व्यहोरा जनाई लगत काटी दिनु भनी का.जि. अ.त.मा लगत दिनु भनी का.जि. अ.त.मा लगत दिनु ……………..१
उक्त रायमा सहमत छु ।
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०३६ साल श्रावण ३० गते रोज ४ शुभम् ।