June 18, 1979
Created by nepalarchives

निर्णय नं. १२६७ – लिखत बदर

निर्णय नं. १२६७ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको दे.पु.नं. १२४ आदेश भएको मिति...

निर्णय नं. १२६७ ने.का.प. २०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् २०३५ सालको दे.पु.नं. १२४

आदेश भएको मिति : २०३६।३।४।२ मा

पुनरावेदक : नु.जि. राप्ती गा.पं. वडा नं. ५ समुद्रटार भई हाल ऐ.वडा नं. २ नौबिसे बस्ने वर्ष ३४ को पदमप्रसाद उपाध्याय आचार्य

विरूद्ध

विपक्षी : नु.जि. तामे गा.पं. वडा नं. ५ बाह्रबिसेको हाल रामती गा.पं. वडा नं. ६ बाह्रबिसे बस्ने अन्दाजी वर्ष ५२ को चुडाबहादुर पाण्डे क्षेत्री

मुद्दा : लिखत बदर

(१)  केवल थैलीमा सम्म हकदैया पुग्न आए नालिस गर्न पाउने हक भएकाले अचल सम्पत्तिको हक प्राप्त गरेको लिखतबदर गरिपाउँ भनी दावी गर्न अ.बं. ८२ नं. ले हकदैया नपुग्ने।

(प्रकरण नं. १०)

पुनरावेदक तर्फबाट :  विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी

विपक्षी तर्फबाट :  विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल

फैसला

          न्या. त्रैलोक्यराज अर्याल : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त नुबझी न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३(५)(ख) अन्तर्गत पुनरावेदनको अनुमति पाउँ भनी निवेदन गरी अनुमति पाई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

          २.   मुद्दाको तथ्य यसप्रकार छ : पूर्व चोभे खोलसी पश्चिम पिडगलबहादुरको बारीको खेत बनाएको गरो र मेरो खेत भीमबहादुरको रैकर खेत उत्तर जोगी लट्ने भिरको मूल बाटो भई घर घडेरीको गरोको गरी माथिको रैकर बारी दक्षिण जति खोली यति ४ किल्लाभित्रको ल.नं. ८ को सागुरमले १६१९७ मध्ये खेत ।८।९७।४ को खला १ र ल.नं. ३८ को सोती बगर खेत ।४। मध्ये खेती ।२ को खला १ र ०९ सालको नम्बरी नौबिसे खोला ।४१ मध्ये खेत ।११।११।२।५ को खला १ समेतको खेत कित्ता ३ र साल १ को भूमिकर रू.।९४ लागेको घरबारी रोपनी १ को कित्ता १ र सोही बारीमा बनेको १८।१३ को २ तले कची पराले छाना भएको घर १ समेतको जग्गा विपक्ष मध्ये फूलकुमारीसँग ०३०।१०।१३ गते रू.२३,०००। मा घरसारमा राजीनामा गराई लिई भोगचलन गरी आएको जग्गामा विपक्षहरू मिली मलाई राजीनामा गरी दिइसकेपछि गैरकानूनी तरिकाबाट दोहरा पारी विपक्ष मध्ये फूलकुमारी ऋणी पदमप्रसाद धनी बनी ०३१।२।२ मा रू.३७,००० मा राजीनामा खडा गरी मकवानपुर मालमा पारित गराई लिएछन् सो कुरा मैले पारित गराई पाउँ भनी दिएको मुद्दाको फूलकुमारीको प्रतिउत्तर लेखबाट थाहा भएबाट मलाई गरिदिएका राजीनामा बमोजिमको जग्गा विपक्ष पदम प्रसादलाई पुनः राजीनामा पारित समेत गरी दिएका ०३१।२।२ को राजीनामा लिखत बदर सजाय समेत गरिपाउँ भन्ने फिराद ।

          ३.   वादी दावाको जग्गा फूलकुमारीसँग रू.३७,०००। मा ०३१।२।२ मा पास गराई लिएको छु वादी दावाको राजीनामा लिखत पारित नभएको हुँदा कानूनले मान्यता दिन मिल्दैन । त्यस्तो लिखतलाई मूल आधार मानी दायर गरेको वादी दावा अ.बं.८२ नं. र १८ नम्बरले समेत खारेज हुने मैले राजीनामा गराई लिएको जग्गामा विपक्षीले खिचोला गरेमा मेरो नालिस परी मुद्दा चलेकै छ वादी दावा बमोजिम दोहरा पारित गराई लिएको होइन भन्ने समेत पदमप्रसादको प्रतिउत्तर ।

          ४.   वादी दावी बमोजिम सत्य कुरामा गाउँ पञ्चायतको हैसियतले सिफारिशसम्म गरी दिएको अरू कुनै कुरा गरेको छैन वा दिएको लिखित पारित नभएको हुँदा वादी दावी झुठ्ठा हो भन्ने समेत केदारनाथको प्रतिउत्तर ।

          ५.  वादी दावाको जग्गा वादीलाई रू.२३,०००। मा घरसारमा गरी दिएको रू.६,५००। दिए र बाँकी रू.१६,५००। को भरपाई गरी दिएकोमा पछि भाका पुगेपछि रूपैयाँ दिनु हवस भन्दा नदिएबाट मैले पदमप्रसाद लाई रू.३७,०००। मा ०३१।२।२ मा पारित गरी दिएको हुँ वादी दावाबमोजिम कौनै कुरा गरेको छैन वादी दावा झुठ्ठा हो भन्ने समेत फूलकुमारीको प्रतिउत्तर ।

          ६.   वादीले गराई लिएको राजीनामामा पारित नभएको र प्र.पद्मप्रसादले गराई लिएको राजीनामामा ०३१।२।२ मा पारित भइसकेको वादीले लेखाईबाट देखिएको घरसारको लिखतको नाताले पारित भइसकेको लिखित बदर गराई पाउँ भन्ने वादीको दावा अ.बं.८२ नं. ले हकदैया पुग्ने नमिल्ने बेरीतको फिराद अ.बं.१८० नं. बमोजिम खारेज हुने ठहर्छ भन्ने समेत शुरू रसुवा तथा नुवाकोट जि. अ.को ०३२।११।५ को फैसला ।

          ७.  वादीलाई २०३०।१०।१३ गते रू.२३,०००। को राजीनामा गरी दिएकोमा प्र.फूलकुमारीले पारित गरी नदिएकोले पारित गराई पाउँ भन्ने यिनै वादी चुडाबहादुर पाण्डेको प्र.फूलकुमारीका नाउँमा ऐनका म्यादभित्रै नालिस परी शुरूले पारित नहुने ठहराए उपर यस अदालतमा पुनरावेदन परी यस अदालतमा दायर रहेको प्रमाण मिसिल समेतबाट देखिएको यस स्थितिमा चूडाबहादुरलाई घरसारमा ०३०।१०।१३ मा लेखिदिएको राजीनामा बमोजिमको घर जग्गा फेरि पद्मप्रसादलाई ०३१।२।२ मा पारित गरी दिएकोले दोहरा लेखिदिएमा लेनदेन व्यवहारको २५/२८ नं. बमोजिमको माग गरी लिखत बदरमा परेको नालिस अ.बं.८२ नं. ले नालिस गर्ने हकदैया नभएको भनि शुरूले वादी दावा खारेज गर्ने गरेको शुरूको रायमा सहमत हुन सकिएन शुरूले खारेज गर्ने गरेको नमिलेको शुरूको फैसला बदर गरिदिएको छ । अब कानून बमोजिम तहकिकात किनारा गर्नु भनी तारिखमा रहेका पक्ष विपक्ष समेत दुबै थरलाई तारिखमा तोकी मिसिल शुरू रसुवा तथा नुवाकोट जिल्ला अदालतमा पठाई दिनु भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३४ मार्ग २२ गते रोज ४ को फैसला रहेछ ।

          ८.   चुडाबहादुरलाई घरसारमा ०३०।१०।१३ मा लेखिदिएको राजीनामा बमोजिमको घरजग्गा फेरी पद्मप्रसादलाई ०३१।२।२५ मा पारित गरी दिएकोले दोहोरा लेखी दिएकोमा लेनदेन व्यवहारको २५,२८ नम्बर बमोजिमको माग गरी लिखत बदरमा परेको नालिस अ.बं.२ नं. ले नालिस गर्ने हकदैया नभएको भनी शुरूले वादी दावा खारेज गर्ने गरेको नमिलेकोले शुरूको फैसला बदर गरिदिएको छ कानूनी किनारा गर्नु भनी शुरूमा पठाउन मात्र मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३४।८।२२ मा फैसला गरेको देखियो । रजिष्ट्रेशनको ३४ नं. मा दोहरोलिखत भएकोमा पहिले रजिष्ट्रेशन भएकै लिखत जेठो ठहर्छ भनी लेखिएको छ । प्रस्तुत मुद्दामा निवेदकको विपक्षी चुडाबहादुरले आफ्नो राजीनामा पास गरिपाउँ भनी अदालतमा प्रवेश हुनु अगावै निवेदकको लिखत रजिष्ट्रेशन पास भइसकेकोमा रजिष्ट्रेशनको ३४ नं. अन्तर्गत नै निर्णय गर्नुपर्नेमा दुबै लिखत घरसारमा भएकोमा लाग्ने लेनदेन व्यवहारको २५ नं. लगाई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३४।८।२२ मा भएको निर्णय सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष गम्भीर कानूनी त्रुटि गरेको देखिँदा न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (५) को देहाय खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने ०३५ आश्विन ११ गतेको डिभिजन बेञ्चको आदेश रहेछ ।

          ९.   यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला ठीक बेठिक के रहेछ भन्नेतर्फ निर्णय दिनुपर्ने भएको छ ।

          १०.  यसमा पेश भएका मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी र विपक्षी तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा रजिष्ट्रेशनको ३४ नं. मा दोहरो लिखत भएकोमा पहिले रजिष्ट्रेशन भएको लिखत जेठो ठहर्छ भन्ने उल्लेख भएको देखिन्छ । प्र.पद्मप्रसादको लिखत ०३१।२।२५ मा पारित भएको छ । वादी चुडाबहादुरको लिखत मिति ०३०।१०।१३ लेखिएको छ तर, सो लिखत पारित भएको छैन रजिष्ट्रेशन पारित गरिपाउँ भनी चुडाबहादुरको ०३१।४।१८ मा नालिस परेको मुद्दा कारवाई हुँदैछ सो लिखत पारित गरिपाउँ भनी नालिस पर्नु भन्दा अगावै पद्मप्रसादको लिखत पारित भइसकेको हुनाले चुडाबहादुरको लिखत निजको परेको नालिसबाटै पारित हुने ठहर्न आए पनि रजिष्ट्रेशन पास हुन जाँदा प्र.पद्मप्रसादको लिखत पारित भएको भन्दा पछि नै रजिष्ट्रेशन पारित हुन जाने हुन्छ उक्त रजिष्ट्रेशनको ३४ नं. ले प्र.पद्मप्रसादको लिखत जेठो ठहर्न आउँछ लेनदेन व्यवहारको २५ नं. ले जानीजानी दोहरा पारी लिनेको थैली भुस हुन्छ, नजानी लिएको भए कपाली हुन्छ उक्त ऐनको व्यवस्था अनुसार वादीको लिखत रजिष्ट्रेशन हुने भएमा पनि प्र.को भन्दा पछिको मितिमा पास हुन जाने हुँदा वादीको लिखत दोहरो हुन जाने हुनाले जानीजानी दोहरा पारेको भए भुस हुने र नजानेको भए कपालीमा दावा गर्न पाउनेसम्म वादीको हकदैया पुग्ने देखिन आउँछ थैलीको अतिरिक्त अचल जग्गामा दावी गर्ने वादीको हकदैया प्राप्त हुन आउने कतैबाट देखिन आउँदैन अचलमा हकदैया पुग्न आउने स्थिति कतैबाट पनि नभएको केवल थैलीमा सम्म हकदैया पुग्न आए नालिस गर्न पाउने हक भएका वादीले अचल सम्पत्तिको हक प्राप्त गरेको प्र.पद्मप्रसादको लिखत बदर गरिपाउँ भनी दावी गर्न अ.बं.८२ नं. ले हकदैया नपुग्ने हुँदा वादी दावीमा इन्साफ गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको देखिँदैन उक्त फैसला बदर हुने ठहर्छ । नियमबमोजिम मिसिल बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. विश्वनाथ उपाध्याय

 

इति सम्वत् २०३६ साल भाद्र ४ गते रोज २ शुभम् ।