August 27, 1979
Created by nepalarchives

निर्णय नं. १२६६ – उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. १२६६   ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३५ सालको रिट नम्बर ११०९ आदेश...

निर्णय नं. १२६६   ने.का.प. २०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री घनानाथ पन्त

सम्वत् २०३५ सालको रिट नम्बर ११०९

आदेश भएको मिति : २०३६।५।११।२ मा

निवेदक : ध.जि. हसपुर कापुल्ला गा.पं. वडा नं. ७ बस्ने रामचरित्र साहू व्यहुत सुडी

विरूद्ध

विपक्षी : भू.सु.का.धनुषाका का.मु.भू.सुधार अधिकारीसमेत

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) जग्गा बाली मेरो भोगाधिकारमा छ भन्ने समेत बयान भएकोमा वादी पक्षले १ नं. लगत भरी ४ नं. जो.अ.नि. लिएको (संपादकको टिप्पणींप्रकरण नं. १३ मा नलिएकोभन्ने उल्लेख भएको छ, “लिएकोभन्दा नलिएकोभन्ने नै मिल्दो देखिन्छ) भनी स्वयम् बयान गरेको र सम्बन्धित जग्गाधनी सित कबुलियत र भरपाई नभई पञ्चायतले दिएको भरपाईको आधारमा मोही कायम गर्न नमिल्ने ।

(प्रकरण नं. १३)

निवेदक तर्फबाट : विद्वान अ.श्री दमन ढुङ्गाना तथा विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी

विपक्षी तर्फबाट : विद्वान का.मु.सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय

आदेश

          न्या. बासुदेव शर्मा :  नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य आज्ञा, आदेश पूर्जी जारी गरी विपक्षी भूमिसुधार अधिकारीको २०३५।६।११ को निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति २०३५।११।१६।४ मा दर्ता भएको रहेछ ।

          २.  संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : चानचुन ३४३ तीनसय त्रियालीस बिगाहा जग्गा भएको प्रत्यर्थी धर्म संस्था उपर भूमिसम्बन्धी ऐन, २०२१ लागू भएपछि हदबन्दी सम्बन्धी कारवाही प्रत्यर्थी भूमिसुधार कार्यालय समक्ष चलिरहेको यावतले गर्दा कबुलियत हुन नसकेको बाबजूद प्रत्यर्थी धर्म संस्थाको नाउँमा दर्ता रहेको धनुषा जिल्ला हंसपुर कठपुला गा.पं. वडा नं. ६ कि.नं. ७५ को ११९११ जग्गा पूर्ववत रूपमा मोही भई जोततोड आवाद गर्दै आएको जग्गा समेतका जग्गाहरूको बाली भूमिप्रशासन कार्यालय धनुषाको मिति ०३०।१२।६ को पत्रानुसार गाउँ पञ्चायतको जिम्मा रोक्का हुन आएपछि २०३० साल देखि हाल सम्म जग्गा भएको हंसपुर कठपुला गाउँ पञ्चायतमा जग्गाधनी फाँट बाली बुझाउँदै आएको छ र गाउँ पञ्चायतका प्रधानपञ्चले बाली बुझी भरपाई दिँदै आउनु भएको उक्त जग्गाको मोहियानी हकको प्रमाणपत्र पाउँ भनी निवेदन प्रत्यर्थी कार्यालय समक्ष गरेको थिएँ प्रत्यर्थी फलडेथ साहुले प्रत्यर्थी धर्म संस्था उपर तत्काल चलिरहेको हदबन्दी सम्बन्धी मुद्दामा बयान गर्दा ४० चालिस बिगाहा जग्गा मात्र संस्थाको तर्फबाट आवाद हुन्छ अरू बाँकी जग्गा मोही छ भनी प्रत्यर्थी कार्यालय समक्ष बयान गरेको र भू.प्र.बाट मिति ०३०।१२।६ मा रोक्का रहेको तथ्यको विपरीत प्रस्तुत मुद्दामा प्रत्यर्थी कार्यालय समक्ष बयान गर्दा मैले आफैं जोती कमाई भोगी आएको छु, मोहियानी जोत्न दिएको छैन, जोतेको भए कबुलियत हुनुपर्ने र कबुलियतको अभावमा मोही भन्न नहुने भनि यावत कुरामा बयान दिनुभएको थियो । कानूनी व्यक्तित्व भएको प्रत्यर्थी धर्म संस्थाले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २(६) अन्तर्गत किसानको परिभाषा भित्र आउन नसक्ने र सञ्चालकको रूपमा हदबन्दीको मुद्दामा प्रत्यर्थी फुलगेनले गर्नुभएको बयानबाट पनि धर्म संस्थाको जग्गा मोही लागेको र म निवेदक बाहेकमा अन्य व्यक्ति मोही रहेको भनी प्रस्तुत मुद्दामा दिनुभएको बयानमा उल्लेख गर्न नसक्नुको साथै निवेदक नै मोही रहेको कुरा ०३० साल देखि प्रत्यर्थी धर्म संस्थाको जग्गाको बाली रोक्का राख्ने पञ्चायतले निवेदकलाई बाली बुझी गरिदिएको भरपाई समेतबाट निवेदक बाहेक अन्य कोही व्यक्ति मोही नरहेको निर्विवादको विपरीत मोही कायम हुने नठहराई प्रत्यर्थी भूमिसुधार अधिकारीले मिति ०३५।६।११ मा निर्णय गर्नुभएको छ । बाली पनि निवेदकले नै लगाएको र बाली गा.पं.मा जम्मा नगरेको र खेतीको याम पनि नभएको तथा प्रत्यर्थी धर्म संस्थाको जग्गा प्रत्यर्थी कार्यालयको ०२६।४।१७।६ को निर्णयबाट हदबन्दीमा गई प्रत्यर्थी धर्म संस्था हकदैया बिहिन व्यक्तित्व भएको समेतबाट विलम्बको प्रश्न प्रस्तुत सन्दर्भमा ग्राहृय हुन आउँदैन ।

          ३.  भूमिसम्बन्धी ऐन, ०२१ लागू भएपछि प्रत्यर्थी धर्म संस्थाको जग्गामा चलिरहेको हदबन्दी मुद्दा र पञ्चायतहरू जिम्मा रोक्का रहन गएको अवस्थामा म निवेदक मोही भई जग्गा आवाद गर्दै आएको र बाली बुझाउँदै आएकोले म निवेदक ऐनको दफा २५ अनुसार मोही रहेको कुरा विवादीय हुन सक्दैन ।

          ४.  धर्म संस्थाको जग्गामा मोही रहेको कुरालाई स्वीकार गरी हदबन्दी मुद्दामा प्रत्यर्थी फुलगेनले बयान गरेको छ । प्रस्तुत मुद्दामा आफैं कमाउँदै आएको भनी गरेको बयान हदबन्दी मुद्दामा गरेको बयानको साथै विपक्षी फुलगेनको निजी जग्गा नहुँदा आफैं कमाउने प्रश्न सृजित हुन नसक्नेको विपरीत छ ।

          ५.  प्रत्यर्थी फुलगेन तथा प्रत्यर्थी धर्म संस्था आफैंले कमाएको भए ०३० सालदेखि गा.पं.जिम्मा रोक्का रहेको अवस्थामा सम्बन्धित जग्गाको बाली प्रत्यर्थीहरूले गा.पं.मा दाखिल गर्न पर्ने थियो नगरेकोबाट पनि प्रत्यर्थी फुलगेनको दावी नकरा रहेको प्रष्ट छ ।

          ६.  भू.सं.ऐनको दफा ५३ अनुसार निर्णय गर्दा अपनाउनु पर्ने विशेष अदालत कार्य प्रणाली अन्तर्गत गा.पं.को प्रधानपञ्च र जग्गाको सँधियारको नाताले सीताराम सिंहसँग बयान गराउँदा निवेदक मोही रहेको छ भन्ने कुरा स्वीकार गरी प्रत्यर्थी कार्यालय समक्ष बयान गरेको थियो ।

          ७.  जग्गाधनी नै खाली रहेको अवस्थामा कबुलियत हुन नसक्नेको अवस्थामा कबुलियतको अभावले मोहीमा असर पार्ने छैन ।

          ८.  विपक्षीहरूद्वारा लिखितजवाफ मगाई पेश गर्नु भन्ने डिभिजन बेञ्चको मिति ०३५।११।२१।२ को आदेशानुसार प्राप्त हुन आएको लिखितजवाफ निम्न प्रकार छन् :

          ९.  भूमिसुधार कार्यालय धनुषाबाट मिति ०३५।६।११ को निर्णयले निवेदकको कुनै संवैधानिक तथा कानूनी हकमा कुनै आघात पुर्‍याइएको नभई कानूनको परिधिमा रही स्थानीय गा.पं.को भरपाईको आधारमा मात्र मोही कायम गरी दिन नमिल्ने भनी गरिएको निर्णय पूर्णतया कानून अनुकूल छ । निजको रिट निवेदन खारेज हुनुपर्ने व्यहोरा सम्मानित अदातल समक्ष अनुरोध गर्दछु भन्ने समेत भूमिसुधार कार्यालय धनुषा ।

          १०.  गैरकानूनी दावी लिई हक प्रचलन गराई पाउँ भनी दावी लिन आएको र हकदैयाको अभावमा प्रस्तुत रिट निवेदनमा अ.बं.८२ अन्तर्गत कुनै कारवाही नै गर्न नसकिने अवस्था विद्यमान भएकोले भू.सु.का.धनुषाबाट भएको निर्णय सर्वप्रथम कानूनी तथा न्यायसङ्गत हुनाले बदर हुनु पर्ने होइन रिट निवेदन नै खारेज गरिपाउँ भन्ने समेत फुलगेन साहू व्याहुत सुडी ।

          ११.  तारेखमा रहेका निवेदक रामचरित्र साहु व्याहुन सुडीको वारेस मकरमान र विपक्षी फुलगेन साहु व्याहुन सुडीको वारेस दिनेश्वरप्रसाद सिंहलाई रोहवरमा राखी निवेदकतर्फका विद्वान अधिवक्ता श्री दमन ढुङ्गाना तथा विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीको विपक्षी भूमिसुधार कार्यालय धनुषा तर्फबाट खटिई उपस्थित हुनु भएका विद्वान का.मु.वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय तथा विपक्षी फुलगेन साहु सुडी तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा निवेदकका माग बमोजिमको आदेश जारी हुने नहुने के रहेछ निर्णय दिनु परेको छ ।

          १२.  यसमा मेरो नाउँमा मोहियानी हकको प्रमाणपत्र बनाउन लगाई उपलब्ध समेत गरिपाउँ भन्ने निवेदन ।

          १३.  उक्त जग्गा बाली मेरा भोगाधिकारमा छ भन्ने समेत फुलगेन साहु ब्याहुन सुडीको बयान भएकोमा वादी पक्षले १ नं. लगत भरी ४ नं. जो.अ.नि.नलिएको भनी स्वयं बयान गरेको र सम्बन्धित जग्गाधनीसित कबुलियत र भरपाई नभई पञ्चायतले दिएको भरपाईको आधारमा मोही कायम गर्न नमिल्ने हुँदा मोही कायम नहुने ठहर्छ भन्ने समेत विपक्षी भूमिसुधार अधिकारीले निर्णय गरेको देखिन्छ । उक्त निर्णय अधिकार प्राप्त विपक्षी भूमिसुधार अधिकारीले कानूनबमोजिम गरेको देखिँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठहर्छ । नियम बमोजिम फाइल बुझाई दिनू ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. घननाथ पन्त

 

इति सम्वत् २०३६ साल भाद्र ११ गते रोज २ शुभम् ।