निर्णय नं. १२६१ – परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
निर्णय नं. १२६१ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३५ सालको रिट नम्बर ९१६ आदेश भएको मिति...
निर्णय नं. १२६१ ने.का.प. २०३६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३५ सालको रिट नम्बर ९१६
आदेश भएको मिति : २०३६।५।१८।२ मा
निवेदक : का.जि. का.न.पं. वडा नं. ३२ बस्ने वर्ष ४६ को गुहेश्वरीप्रसाद लोहनी
विरूद्ध
विपक्षी : विराटनगर जूटमिल्स लि.को सञ्चालक स.का अध्यक्ष श्री जुद्धबहादुर श्रेष्ठ
विषय : परमादेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
(१) कम्पनी ऐनको दफा ५०(१)(क) र नियमावलीको नियम ५९ मा शेयरहोल्डरले प्रतिनिधि मुकरर गर्न पाउने व्यवस्था भएको तर प्रतिनिधि मुकरर गर्ने फाराम साधारण सभा हुने २४ घण्टा अगाबै कम्पनीको अफिसमा पेश गर्नुपर्ने र प्रतिनिधि बदर गरेको खबर कम्पनीको अफिसमा लेखिआएको हुनुपर्ने देखिने ।
(प्रकरण नं. २२)
आदेश
न्या. हेरम्बराज : विराटनगर जूट मिल्स लिमिटेडको ३६ औं साधारण सभामा रिक्त सञ्चालक पद चारको निर्वाचन कानूनी त्रुटिपूर्ण भनी बदर गरियोस् भन्ने तर्फ उद्योग विभागले बदर गर्न नमिल्ने भनी ०३५।७।५ मा दिएको पत्र समेतको विरूद्ध नेपालको संविधानको धारा १६/७१ अन्तर्गत बदर गराई माग्न प्रस्तुत रिट निवेदन पर्न आएको रहेछ ।
२. मुद्दाको तथ्य र निवेदन जिकिर यस प्रकार छ : विराटनगर जूट मिल्स लिमिटेडको ३६ औं साधारण सभा मिति ०३५ साल आषाढ २८ गते हुने भएको र सो सभामा रिक्त सञ्चालक पदचारको पनि निर्वाचन हुने कार्यक्रम रहेको । निवेदक पनि उक्तपदमा उम्मेद्वारभएको ।
३. सभामा उपस्थित हुन नसक्नेहरूले ऐनको दफा ५०(क) र नियमावलीको नियम ५९ ले प्रोक्सीको फाराम भरी प्रतिनिधि पठाउन पाउने र त्यस्ता प्रतिनिधिले मत दिन पाउने नियमावलीको नियम ५७ ले व्यवस्था गरे अनुरूप निवेदक पनि प्रोक्सीद्वारा शेयरहोल्डरको प्रतिनिधि नियुक्त भएको ।
४. निवेदकको उम्मेद्वारी तत्कालको सञ्चालक समितिले रीतपूर्वकको ठहर्याई मतदान समेत भएको । यसै अनुरूप निर्वाचन भई नतीजा प्रकाशित गर्दा निवेदकले पाएको केही मतहरू मान्यता नदिई अध्यक्ष र पोलिङ अधिकृतले विपक्षीहरू ४,५,६ र ७ लाई निर्वाचित भएको घोषणा भएको ।
५. निवेदकले पाएका मतहरू मध्ये श्री उमाचरणनन्द हजुर श्री साम्राज्यशमशेर, श्री नानीसाम्राज्य राणा श्री नारायणशमशेर, अरूणशमशेर मुकुन्दशमशेर समेतको प्रोक्सी काटर दिइएको मत बदर गराएको उपरोक्त शेयरहोल्डरहरूले निवेदकलाई प्रोक्सी फाराम भरी प्रतिनिधित्व गरे यस्तो कानून सदर मतलाई गन्ती गरेको भए निवेदक बहुमत पाई निर्वाचित हुन सक्ने अवस्था भएको ।
६. उपर्युक्त शेयरहोल्डरहरूले निवेदकलाई प्रतिनिधि नियुक्ति गर्दा ऐन नियम अनुरूप प्रोक्सी फाराममा निवेदकलाई प्रतिनिधि बनाउन अघि कसैलाई पनि दिएको प्रतिनिधि पत्र यसैद्वारा बदर गरिएको छ भनी लेखिएको छ । जुन शेयरहोल्डरलाई अधिकार छ । यस्तोमा एकैसाथ दुईजनालाई प्रतिनिधि बनाएको अवस्थामा लागू हुने नियम लगाई निवेदकले पाएको मतलाई बदर गरेको त्रुटिपूर्ण भएको ।
७. पोलिङ अधिकृत समेतले माथि उल्लिखित ऐनको दफा ५०(१)(क) र नियमावलीको नियम ५९ को विपरीत निवेदकले पाएको मत बदर गरेकोले ऐनको दफा ५२(३) ६५ एवं नियमावलीले समेत दिएको निर्वाचित हुने अधिकारमा आघात पारेकोले संविधानको धारा ७१ अन्तर्गत निवेदन गर्न आएको छु भन्ने समेतको निवेदन जिकिर ।
८. विपक्षीहरूबाट लिखितजवाफ मगाई आएपछि पेश गर्नु भन्ने स.अ.डिभिजन बेञ्चको ०३५ मार्ग १५ को आदेश ।
९. चुनाव बदर गरिपाउँ भनी श्री लोहनी यस विभागमासमेत निवेदन दिएको र उक्त निर्वाचनलाई जाँचबुझ नगरी निर्देशन दिन विभागले हस्तक्षेप गरी बदर गर्नसक्ने कम्पनीऐनमा व्यवस्था नदेखिएकोले बदर गर्न सम्भव छैन भनी निजलाई सूचना दिइएको हो भन्नेसमेत उ.वि.को लिखितजवाफ ।
१०. पोलिङ अधिकृतको हैसियतले मैले कम्पनी ऐन, ०२१ को दफा ५० को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांश कम्पनी नियमावलीको नियम ५९ र कम्पनीको २६ औं वार्षिक साधारण सभाको निर्णयको प्रतिकूल देखिएको प्रनिनिधिपत्र मात्र बदर गरेको हो । शेयरवालाहरूले एकभन्दा बढी मानिसको नाममा प्रतिनिधिपत्र सही गरी दिनुका अतिरिक्त प्रतिनिधिपत्र नै सदर बदर समेतको व्यहोरा कापी लेखी दिनुभएको अमान्य भएका हुन् । यसका अतिरिक्त निवेदकले कानूनले नमिल्ने कुरा भए शुरूमै विरोध गर्नुपर्ने थियो तर आफू समेत भई सर्वसम्मतिले निर्णय गरेको आधारमा साधारण सभाबाटै छानिएका पोलिङ अधिकृतले गरेको गणनाको नतिजा थाहा पाई आफू हारेपछि मात्र बिरोध गर्नुभएको रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत निवेदक रविदेव शर्मा निवेदक श्रम विभागको लिखितजवाफ ।
११. निवेदक समेत उपस्थित रहनु भएका साधारण सभाको बैठकले बैठकको अरू कार्य र भोटिङ्ग हुनु भन्दा अगावै निर्णय गरेको कुराको अधिनमा रही सोही अनुसार मतहरू सदर बदर गरिएको हो । अध्यक्ष र पोलिङ अधिकृतले मात्र निर्णय गरेको होइन । निवेदक समेत भई गरेको निर्णयानुसारको कार्यलाई पछि विरोध गर्ने र बदर गराई पाउँ भन्ने भनाई युक्तिसंगत नहुँदा रिटनिवेदन खारेज हुनुपर्छ भन्ने समेत जुद्धबहादुर श्रेष्ठको लिखितजवाफ ।
१२. कम्पनी ऐन, ०२१ को दफा ५०(१) को प्रतिबन्धात्मक वाक्यांश कम्पनी नियमावलीको नियम ५९ र कम्पनीको यही ३६ औं वार्षिक साधारणसभा यी निवेदक समेत भई प्रोक्सी मतकासम्बन्धमा शुरू भई लिइएको निर्णयसमेतका आधारमा बदर गरिएकाछन् भन्ने समेत चन्द्रबहादुर पाण्डे,गङ्गाबहादुर के.सी.,कुमारदास श्रेष्ठ समेतको छुट्टाछुट्टै लिखितजवाफ ।
१३. कम्पनी ऐनको दफा ५०(१) को प्रतिबन्धात्मक वाक्यांश कम्पनी नियमावलीको नियम ५९ र ३६ औं वार्षिक साधारण सभा निज निवेदक समेत भई प्रोक्सी मतका सम्बन्धमा शुरू भई लिइएको निर्णय समेतको आधारमा बदर गरिएका हुन् ।
१४. शेयरहोल्डरहरूले प्रतिनिधि पत्रमा एकभन्दा बढी व्यक्तिहरूका नाउँमा प्रतिनिधि पत्र लेखी कुनै प्रतिनिधिमा सदर बदरको कुरा समेत लेखेकोबाट उपर्युक्त कानूनी व्यवस्थामा तोकिएको ढाँचा फाराम बमोजिम नहुँदा ती प्रतिनिधि पत्रको मान्यता नहुने प्रष्ट छ । यसैले रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत शरबिन्द मल्लको लिखितजवाफ ।
१५. जगलकिशोर र केवटीयाका नाउँको सूचना रीतपूर्वक तामेल भएको देखिएको र लिखितजवाफ म्यादभित्र पर्न आएको नदेखिएको ।
१६. निवेदकको मागबमोजिमको आदेश जारी हुनपर्ने हो होइन भन्ने प्रश्न उपस्थित हुनआएकोछ ।
१७. पेश हुन आएका मिसिल अध्ययन गरी निवेदक तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना र विपक्षी तर्फबाट खटी उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता श्री ईन्द्रराज पाण्डेको र शरबिन्द मल्ल समेत तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीको बहस सुनी निर्णयतर्फ विचार गर्दा ।
१८. उमा राणा लगायतका ७ जना शेयरहोल्डरहरूले मलाई प्रोक्सी फाराम प्रतिनिधि नियुक्त गर्दा अघि कसलाई दिएको प्रतिनिधि पत्र यसद्वारा बदर गरिएको छ भनी प्रतिनिधि नियुक्त गरेकोमा ऐनमा ऐनको दफा ५०(१) क र नियमावलीको नियम ५९ ले प्रोक्सी फाराम भरी प्रतिनिधि पठाउन पाउने र त्यस्ताले नियम ५७ बमोजिम मत दिन पाउनेमा त्यसरी दिइएको मत गैरकानूनी रूपले बदर गरिएकोले ती मत सदर भएको खण्डमा सञ्चालक पदमा निर्वाचित हुने थिएँ भन्ने समेत निवेदकको जिकिर भएको र कम्पनी ऐन, ०२१ को दफा ५०(१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (क) र विराटनगर जूट मिल्सको नियमावलीको नियम ५९ र कम्पनीको ३६ औं वार्षिक साधारण सभामा निज निवेदक समेत भई प्रोक्सी मतका सम्बन्धमा शुरू भई लिइएको निर्णय समेतको आधारमा निवेदकले पाएको प्रतिनिधिपत्र बदर गरिएका हुन् भन्ने विपक्षीहरूको जिकिर देखिन्छ ।
१९. कम्पनी ऐन, ०२१ को दफा ५०(१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (क) अनुसार मतदानको अधिकार पाएका शेयरवाला सभामा स्वयं उपस्थित हुन नसक्ने भएमा निजले आफ्नो प्रतिनिधिद्वारा मतदान दिन अनुसूची १ को फाराम नं. ११ बमोजिमको ढाँचामा दरखास्त लेखी सहीछाप गरी आफ्नो प्रतिनिधि मनोनित गर्न सक्नेछ र त्यसरी मनोनित भएको प्रतिनिधिले सभामा भाग लिन र मतदान गर्न पाउनेछ भन्ने उल्लेख छ मतदान अधिकार भएको शेयरवालाहरूले प्रतिनिधि नियुक्त गर्नपाउने अधिकार प्रष्ट नै छ । तर प्रतिनिधि नियुक्ति गर्दा उक्त ऐनको दफा ५०(१) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (क) ले उल्लेख गरे बमोजिम अनुसूची १ को फाराम नं. ११ बमोजिमको ढाँचाबमोजिमको हुनुपर्ने प्रष्ट उल्लेखछ । उक्त फाराम नं. ११ अनुसार बस्ने म हामीले कम्पनीको शेयरवालाको हैसियतले मितिमा हुने साधारण सभा र त्यसको सिलसिलामा हुने बैठकहरूमा मेरो हाम्रो प्रतिनिधित्व गरी मतदान दिन श्री लाई नियुक्ति गरेको छु छौं भन्ने उल्लेख भएको देखिन्छ ।
२०. निवेदकलाई उमा राणा र नन्दहजुर, अरूणाशमशेर नारायणशमशेर ज.ब.रा., साम्राज्यशमशेर ज.ब.रा., मुकुन्दशमशेर ज.ब.रा.नानीसाम्राज्य राणा समेतले उपयुक्त ढाँचा बमोजिम प्रतिनिधि नियुक्ति गर्नुको अतिरिक्त यस बाहेक जुनसुकै प्रोक्सी कसैलाई लेखिदिएको भए तापनि सो सबै बदर गरियो मात्र प्रोक्सी सदर गरी लेखिदिएको छ भन्ने समेत उल्लेख भएको पाइन्छ ।
२१. माथि उल्लेख भए बमोजिम कम्पनी ऐन, ०२१ को दफा ५१ को उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशले तोकेको सो प्रतिनिधिपत्रको ढाँचामा उल्लेख भए बमोजिम सोही प्रतिनिधि मुकरर गर्नुको साथै कुनै प्रतिनिधिलाई सदर गर्नु वा बदर गर्नु भनी बढी कुरा लेख्न पाइने व्यवस्था गरेको देखिन्छ । माथि उल्लेख भए बमोजिम होल्डरबाट प्रोक्सीद्वारा सदर बदर समेत उल्लेख गरी आफ्नो प्रतिनिधि नियुक्त गरेकोमा वार्षिक साधारण सभाले प्रतिनिधिपत्रमा प्रतिनिधि मुकरर गरेको अलावा अरू कुनै कुरा उल्लेख भएमा सो प्रतिनिधि पत्रलाई बदर गर्ने गरी निर्णय समेत गरेको देखिन्छ ।
२२. यसको अतिरिक्त उक्त कम्पनीको नियम ५८ मा प्रतिनिधि पत्र सभा हुने कम से कम २४ घण्टा अगावै कम्पनीको अफिसमा पेश गर्नुपर्ने र नियम ५९ ले प्रतिनिधि पत्र बदर गरेको खबर सभा हुन अघि कम्पनीको अफिसमा लेखी आएको हुनुपर्ने देखिन्छ, यसरी नियुक्ति प्रतिनिधि बदर गर्न सभामा हुनुभन्दा अगाडिसम्म अफिसमा पेश गर्नुपर्ने तर प्रतिनिधिको नियुक्ति पत्र २४ घण्टा अगावै अफिसमा पेश भएको हुनुपर्ने नियमावलीको व्यवस्थाले प्रतिनिधि नियुक्त गर्ने बदर गर्ने कुरा छुट्टाछुट्टै समयमा हुन सक्ने कारवाई हुन् र छुट्टाछुट्टै पत्रबाट हुनुपर्ने प्रष्ट छ ।
२३. यदि २४ घण्टा अगावै प्रतिनिधि बदर गर्न पत्र पठाउँछ भने चुनाव हुने समयमा फेरि त्यस्तो पत्र पठाउने अवस्था पर्यो भने प्रतिनिधि बदर भएको कुन पत्रलाई मान्यता दिने भनी अलमल पर्न जान्छ माथि उल्लेख भएको आधारमा विचार गर्दा मिति ०३५।३।२८ मा भएको सञ्चालक समितिको चुनाव कानून विरूद्ध भएको देखिँदा रिट निवेदनपत्र खारेज हुने ठर्हछ, नियमानुसार गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् ०३६ साल भाद्र १८ गते रोज ३ शुभम् ।