August 3, 1979
Created by nepalarchives

निर्णय नं. १२५६ – खुन

निर्णय नं. १२५६ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री घनानाथ पन्त सम्वत् २०३५ सालको फौ.सा.नं. ४६ फैसला भएको मिति...

निर्णय नं. १२५६ ने.का.प. २०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री घनानाथ पन्त

सम्वत् २०३५ सालको फौ.सा.नं. ४६

फैसला भएको मिति : २०३६।४।१८।६ मा

वादी :  (सोनेलाल ठाकुर हजामको जाहेरी) ले श्री ५ को सरकार

विरूद्ध

प्रतिवादी : महोत्तरी कारागारको बन्दी सितला मण्डल केवट

मुद्दा : खुन

(१)  अधिकारप्राप्त अधिकारीसमक्ष अभियुक्तले गरेको सावितीकागजलाई मेडिकल अधिकृतको पोष्टमार्टम रायबाट समेत समर्थित भएकोले अदालत समक्ष दिएको बयानको समर्थन अन्य कुनै ठोस सबूद प्रमाण दिएको देखिन आए सबूदको अभावमा ज्यान जस्तो उपरोक्त अभियोगबाट सफाई दिन मनासिव नदेखिने ।

(प्रकरण नं. १०)

फैसला

          न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतले मिति २०३४।३।१६।५ मा सितला मण्डल केवटलाई सर्वस्व सहित जन्म कैद गर्ने गरेकोमा साधक सदरको निमित्त पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छन् :

          २.   २०२७।२।३ गतेका बिहान अन्दाजी ६।। बजेका बखत गुइँठा खोज्न खेत तर्फ गएको वर्ष १२ को मेरी छोरी रामसती हजामनीलाई फरिया बटारी गर्धनमा बाँधी घाँटी समेतमा धार भएको हतियारले काटकुट गरी गाउँ देखि उत्तर खेतमा फ्याँकी दिएछन् । सितला मण्डल माथि शंका लाग्छ भन्ने समेत सोनेलाल ठाकुर हजामको जाहेरी दरखास्त ।

          ३.   प्रहरीमा कागज हुँदा बन्चराले मर्ने रामसतीलाई हिर्काएकोमा साविती बयान दिएको मेरो विचारले निज कर्तव्य गरी मरेको लाग्छ । कसले मारे मलाई थाहा छैन । उजूर दावी बमोजिम मैले कर्तव्य गरी मारेको होइन म निर्दोष छु । मर्ने रामसतीसँग चिनजान थियो झगडा इवी केही थिएन । उजूरवालासँग पनि मेरो झगडा इवी छैन । म उपर कसरी यो उजूर पर्न गयो थाहा छैन भन्ने समेत प्र.सितला मण्डलले अदालतमा गरेको इन्कारी बयान ।

          ४.   जाहेरवालाले सितला माथि शंका देखाएको र निज अभियुक्त रामसतीलाई बञ्चरोले हानी कर्तव्य गरी मारेमा आफू साविती भएको र सरजमीनका मानिसहरूले पनि निज सितलाले कर्तव्य गरी मारेको हो भनी स्पष्ट लेखी दिएकोले प्राप्त सबूद प्रमाणको आधारबाट निज सितला मण्डल केवट उपर ज्यान सम्बन्धी महलका १३(१) सजाय र कारवाहीको लागि माग दावी गर्दछौं भन्ने समेत प्रहरी प्रतिवेदन ।

          ५.   फरियाको छेउ बटारी घाँटी कसेको गर्धनमा घाउ भएकोबाट कर्तव्य भन्ने कुरा सिद्ध छ, को बाट कर्तव्य भएको भन्ने कुरामा मौकामा बन्चरो प्रहार गरी मारेमा सितला साविती भएको देखिन्छ । अदालतमा इन्कार छ तापनि मौका सावित हुनु र अदालतमा इन्कार रहेको कारण सबूद प्राप्त नभएको अब मौकामा बन्चरोले हानेको भन्ने प्र.सितालाको साविती बयान लास जाँच हेर्दा फरियाको छेउ बटारी घाँटी कसेको भन्ने पनि देखिन्छ सो कुरालाई पनि लिई सोधिएको भए कैयन कैयौं जवाफ दिने थियौं । मौका साविती समयमा सो कुरै सोधिएन । अदालतमा इन्कारी भएबाट सोधिए पनि जवाफ पाइने अवस्थै आएन । अपराध गर्ने अपराधीको विचारबाट विभिन्न तरिकाबाट अपराध हुने नै भई सावितीका समयमा जति प्रकट गर्छ त्यसैलाई मान्यता दिई अरू विचारणीय अवस्थामा रहने र फरियामा ठाउँ ठाउँमा रगतको छिटा भन्ने पनि देखिन आएको र गर्दनमा घाउ चोट देखिएको बन्चराले हानेमा मौकामा साविती देखिएको इन्कारीको सबूद नभएको मौकामा सावित गराउनु पर्ने कारण सबूद नभएको बुझिएका सरजमीनबाट सो अघि पनि इवी परी रहेको भन्ने पनि देखिएकोबाट समेत वर्ष १२ को रामसतिलाई सितलाले बन्चरो समेत प्रहार गरी मारेको ठहर्छ । ज्यान सम्बन्धीको १३ नं. को देहाय १ दफा बमोजिम सर्वस्व सहित जन्म कैद हुन्छ भन्ने समेत धनुषा जिल्ला अदालतको मिति २०२९।१।९।६ को फैसला ।

          ६.   उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिवादीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदनपत्र ।

          ७.   लास जाँचबाट कर्तव्यबाट मारिएको देखियो अभियुक्तले बञ्चरोले मृतकको गर्दनमा २ पटक हानी मारेमा प्रहरी समक्ष सावित र लासको जाँच मुचुल्काबाट गर्दनमा ठाउँ ठाउँमा फोको उठी गला खुइली रहेको र फलामको धार भएको कुनै हतियारले चोट पटक पारी मारी छाडेको देखिन्छ भन्ने उल्लेख भएको डाक्टरको प्रतिवेदनमा दायाँकानको पछाडि गर्दनमा १ इन्च गहिराई चोट परेको र जोखमी चीजबाट गर्दनमा धेरै ठाउँमा घाउ भएको भन्ने राय व्यक्त भएको देखिनाले प्रहरीमा अभियुक्तले गर्दनमा बञ्चरोले हानी मारेको कुरालाई उक्त कुराले समर्थन हुन आउनुको साथै शुरू अदालतको फैसलामा लेखिएका बुँदा प्रमाण समेतबाट प्र.सितलालाई ज्यान सम्बन्धीको नं. १३(१) अन्तर्गत सजायको इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०३४।३।१६।५ को फैसला ।

          ८.   साधक निकासाको निमित्त पेश हुनआएको प्रस्तुतमुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतले सितलालाई ज्यान सम्बन्धीको १३(१) बमोजिम सर्वस्व सहित जन्म कैद गर्ने गरेको इन्साफ मनासिव या बेमनासिब के रहेछ सो कुराको निर्णय दिनु परेको छ ।

          ९.   यसमा शुरू मिसिल संलग्न प्रतिवादी सितला मण्डल केवटले प्रहरी समक्ष गरेको कागज बयान हेर्दा २०२७।२।३ गते बिहान ७।८ बजे मर्ने रामसतिलाई तिम्रो बाख्रा घर फर्काउँदा मेरो बाख्राहरू पनि घरमा ल्याई दिनु भनी भन्दा म तेरो बाबुको नोकर होइन म कसैको काम गर्दिन भनी गाली गरेकिले रीस उठी रीस थाम्न नसकी मेरो हातमा भएको बञ्चरोले रामसती माथि लगातार दुई पटक प्रहार गर्दा तत्कालै निज रामसतीको मृत्यु भएको भन्ने समेत उल्लेख गरी रामसतीको मृत्युको कारण निजको कर्तव्यबाट देखाएको छ सो मौका तहकिकातबाट साविती कागजको समर्थनमा मुचुल्का कागज भएको पनि देखिन्छ । लास जाँच पोष्र्टमार्टमबाट मर्ने रामसतीको घाँटी गर्दन समेत शरीर ठाउँठाउँमा जोखिमी हतियार प्रयोग भई घा खत भएको र सो घाउ खतको कारणबाट सक भई मुटुको गती बन्द हुनाले मृत्यु भएको भन्ने मेडिकल अधिकृतले राय व्यक्त गरेको देखिन आएको हुनाले अधिकार प्राप्त अधिकारी समक्ष अभियुक्त प्र. सितला मण्डलले गरेको सविती कागजलाई उक्त मेडिकल अधिकृतको पोष्र्टमार्टम रायबाट समेत समर्थित भएको हुँदा निजले अदालत समक्ष दिएको ईन्कार बयानको समर्थनमा अन्य कुनै ठोस सबूद प्रमाण दिएको देखिन आएन । सबूदको अभावमा ज्यान जस्तो उपरोक्त अभियोगबाट सफाई दिन मनासिव नदेखिँदा संयुक्त प्रहरी प्रतिवेदन दावी बमोजिम निज अभियुक्त प्र.सितला मण्डल केवटलाई शुरू धनुषा जिल्ला अदालतबाट मुलुकी ऐन ज्यान सम्बन्धीका १३(१) बमोजिम सर्वस्व सहित जन्म कैद गर्ने ठहराएको इन्साफ उपर परेको पुनरावेदन हेरी सुनी मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चबाट इन्साफ शुरूको सदर ठहराएको उपरोक्त इन्साफ मनासिव छ।

          १०.  तर कसूरको अवस्था हेर्दा निज मर्ने रामसतिलाई प्र.सितलामण्डल केवटले अघि देखिको मार्नु पर्ने इवी अदावत तथा मनसाय नभई मामूली बाख्रा घर लाने कुरामा तत्काल उठेको रिसबाट निज अभियुक्त सितला मण्डल केवटले मर्ने रामसतीलाई बञ्चरोले प्रहार गर्दा मृत्यु भएको भन्ने मिसिल कागजबाट देखिन आएको हुँदा निजलाई शुरू तथा क्षेत्रीय अदालतको फैसला बमोजिम सर्वस्व सहित जन्म कैद गर्न ज्यादै कडा सजाय हुन जाने चित्तमा लागी मुलुकी ऐन अदालती बन्दोबस्तको १८८ नं. प्रयोग गरी निज प्रतिवादी सितला मण्डल केवटलाई वर्ष १० दश कैदको सजाय गर्ने ठहर्छ । तपसील बमोजिम गरी नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

तपसील

प्रतिवादी सितला मण्डल केवट के माथि इन्साफ खण्ड लेखिए बमोजिम १० वर्ष मात्र कैदको सजाय हुने ठहराएकोले निजलाई शुरू धनुषा जिल्ला अदालतका मिति २०२९।१।९।६ का फैसलाले सर्वस्व सहित जन्म कैद गर्न गरेको सो फैसला बमोजिमको लगत कायम राख्न पर्दैन व्यहोरा जनाई सो शुरू धनुषा जि. अदालतको लगत कट्टा गर्नु भनी धनुषा जिल्ला अदालतलाई लेखी पठाउन का.जि. अ.त.मा लगत दिनु….१

प्र.सितला मण्डल केवट के माथि इन्साफ खण्डमा लेखिए बमोजिम निजलाई १० दश वर्ष कैदको सजाय हुने हुँदा निज प्रहरी हिरासतमा परेको मिति २०२७।२।१० देखि १० दश वर्ष कै सजायको लगत कसी कैद सजाय असूल गर्नु ऐ.ऐ…………. २

शुरू धनुषा जिल्ला अ.का फैसला बमोजिम निज प्र.सितलामण्डल केवटको सर्वस्व रोक्का गर्ने गरी मिति २०३०।१२।३१ मा मुचुल्का भएको देखिएको सो फैसला बमोजिम र्वस्व गर्नु नपर्ने भई उक्त मुचुल्का बमोजिमको रोक्का रहेको सर्वस्वको फुकुवा गरी दिनु ऐ.ऐ……………३

यो फैसला भएको जनाउ अभियुक्त प्र.थुनुवा सितला मण्डल केवटलाई दिनु…………….. ४

 

उक्त रायमा म सहमत छु ।

 

न्या. घनानाथ पन्त

 

इति सम्वत् २०३६ साल श्रावण १८ गते रोज ६ शुभम् ।