निर्णय नं. १२५२ – उत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा, आदेश वा पूर्जी जारी गरिपाउँ
निर्णय नं. १२५२ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको रिट नम्बर ९८५ आदेश भएको...
निर्णय नं. १२५२ ने.का.प. २०३६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
सम्वत् २०३५ सालको रिट नम्बर ९८५
आदेश भएको मिति : २०३६।३।२५।२ मा
निवेदक : जिल्ला सप्तरी गोइटी गा.पं.का परिवर्तित मधुवापुर गा.पं वार्ड नं. ७ बस्ने खुवालाल महत्मान यादव
विरूद्ध
विपक्षी : श्री का.मु.भूमिसुधार अधिकारी जिल्ला भूमिसुधार कार्यालय सप्तरी समेत
विषय : उत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा, आदेश वा पूर्जी जारी गरिपाउँ
(१) कि.नं. १५ को जग्गाको प्रमाणको आधारमा कि.नं. ४० को मोहियानी हकको प्रमाण दिने निर्णय गरेबाट एका जग्गाको प्रमाण अर्को जग्गाको हकमा लगाएबाट प्रमाण सम्बन्धी त्रुटि भएको देखिन्छ ।
(प्रकरण नं. ७)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री ईन्द्रराज पाण्डे
उल्लिखित मुद्दा :
आदेश
न्या. बासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरी विपक्षी कार्यालयको २०३५।७।५ को निर्णय पर्चा बदर गरी माग्न प्रस्तुत रिट निवेदन पर्न आएको रहेछ ।
२. प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य तथा निवेदकको निवेदन जिकिर निम्नबमोजिम रहेछ :
सुवलाल महात्मान यादवका नाउँको गोइटी गा.पं.वार्ड नं. ६ को कि.नं. ४० को ०–१३–५ जग्गा मोही भई कमाई आएकोमा नापीको बखत विरामी परी फिल्डबुकमा दर्ता छुट भएकोले मोही दर्ता गरी मोहियानी हकको प्रमाणपत्र पाउँ भन्ने टिनाई सदा मुसहरले भू.सु.का.सप्तरीमा निवेदन गरेकोमा सुवलाल महात्मान यादवका नाउँमा जारी भई २०३४।५।१९ मा तामेल भएको तामेली म्याद निज सुवालालले गुजारी बसेकोमा निवेदक वादीले उल्लिखित जग्गाको भू.सु.ऐन नियम अन्तर्गत १ नं. २ नं. अनुसूची भरी भराई ४ नं. अनुसूची समेत प्राप्त गरेको र २ नं. अनुसूची समेत भिडेको प्रमाणित भएको देखिएकोले निवेदकले निजका नाउँको नागरिकताको प्रमाणपत्र पेश गरेमा उल्लिखित गा.पं.गोइटी वा.नं. ६ को कि.नं. ४० को ०–१३–५ जग्गाको निवेदकलाई जोताहा स्थायी प्रमाणपूर्जा दिने भन्ने समेत भू.सु.कार्यालय सप्तरीको २०३५।७।७।२ को निर्णय रहेछ ।
३. भूमिसुधार कार्यालयबाट तामेल भएको भनिएको २०३४।५।१९ को म्याद अ.बं.११० नं. को प्रतिकूल गर्दै तामेल गराई प्रतिवाद गर्ने मौकाबाट वञ्चित गराएकोले अ.बं.२०८ नं. अनुसार भू.सु.का.मा निवेदन दिन जाँदा नलिएकोले २०३५।८।२२ मा हुलाकद्वारा निवेदन गरिदिएकोमा समेत कुनै वास्ता नराखी भू.सु.का.बाट निर्णय गरियो । उल्लिखित मेरो जग्गा साविक कि.नं. ९०० मा जग्गा बिगाहा ०–१३–८ र हाल कि.नं. ४० मा ज.वि.०–१३–१३ भएको छ । मैले हालसम्म मालपोत तिरी भोगचलन गरी आएको छु । टिमाई मुसहरलाई कमाउन दिएको छैन । विपक्षीले अनुसूची १ भरेको र २ नं. अनुसूचीको जोताहा निस्सामा समेत कि.नं. १५ को जग्गा भन्ने उल्लेख भएको छ । यस्तो जोताहा निस्सा समेतको आधारमा विपक्षलाई मोही बनाउँदै स्थायी प्रमाणपत्र दिने भनी गरिएको निर्णयबाट भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५ को उपदफा १–२ तथा ऐ.दफा ३४ को उपदफा १ समेतको प्रत्यक्ष कानूनी त्रुटि गर्दै प्राकृतिक न्याय सिद्धान्तको विपरीत गरी २०३५।७।७ मा गरिएको निर्णय उत्प्रेषण वा जुन उपयुक्त हुन्छ जो चाहिने आज्ञा, आदेश वा पूर्जि जारी गरी बदर गरी संवैधानिक तथा कानूनी हकको प्रचलन गराई पाउँ भन्ने समेत व्यहोराको निवेदनको मुख्य निवेदन जिकिर रहेछ ।
४. विपक्षीहरूबाट लि.जवाफ झिकाई पेशगर्नु भन्ने मिति २०३५।९।२६।४ को डि.बे.को आदेश रहेछ ।
५. निवेदकका नाउँमा जारी भई तामेल भएको म्याद अ.बं.११० नं. बमोजिमको रीत पुर्याई तामेल भएको छ । वडा सदस्य समेत साक्षी राखी र म्याद तामेल भई आएको हुँदा त्यस्तो रीतपूर्वक तामेल भई आएको म्यादलाई बेरीतको म्याद भन्न नमिल्ने । निवेदकको तिरान भित्रको जि. स.गोइटी गा.पं.वार्ड नं. ६ कि.नं. ४० को ज.वि.०–१३–५ जग्गा टिमाई मुसहरले फाराम नं. १ भरी २ नं. अनुसूची प्रकाशन भएकोमा निज सहमत भएको र भूमिसम्बन्धी नियमहरू, २०२१ को संशोधनको नियम ६ बमोजिम प्रकाशन भएको अनुसूची नं. २ मा भू.सं.नियमहरूको नियम ७ को म्यादभित्र जग्गाधनीले उजूर दावी लिई सो प्रकाशन बदर गराउन सक्नु पर्ने सो समेत नगरी अकाट्य भएको मोही लगतबाट मोहियानी हकको ३ नं. स्थायी प्रमाणपत्र दिने यस कार्यालयको निर्णय न्यायोचित भएकोले निवेदकको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको भूमिसुधार कार्यालय सप्तरीको लिखितजवाफ ।
६. तारिखमा रहेका निवेदकका वा.हरिनायारणलाई रोहवरमा राखी निवेदक तर्फबाट उपस्थित हुनु भएका विद्वान अधिवक्ता ठाकुरप्रसाद खरेल तथा विपक्षी कार्यालयबाट खटिई उपस्थित हुनु भएका विद्वान सरकारी अधिवक्ता ईन्द्रराज पाण्डेले गर्नुभएको बहस समेत सुनी बुझ्दा निवेदकको मागबमोजिमको आदेश जारी गर्नुपर्ने नपर्ने के हो ? सोको निर्णयदिनु परेको छ।
७. यसमा कि.नं. १५ को जग्गाको ४ नं. जो.अ.निस्सा तथा २ नं. अनुसूचीको प्रमाणको आधारमा कि.नं. ४० को ०–१३–५ जग्गाको स्थायी प्रमाणपूर्जा दिने भूमिसुधार अधिकारीले निर्णय गरेको देखिन्छ । कि.नं. १५ को जग्गाको प्रमाणको आधारमा कि.नं. ४० को जग्गाको मोहियानी हकको प्रमाणपत्र दिने निर्णय गरेबाट एका जग्गाको प्रमाण अर्को जग्गाको हकमा लगाएको प्रमाण सम्बन्धी त्रुटि देखिएको र कि.नं. १५ को जग्गाको दर्ता श्रेस्ता नबुझी निर्णय गरेको समेत मिलेको नदेखिँदा भूमिसुधार कार्यालय सप्तरीको मिति २०३५।७।७ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिदिने ठहर्छ । जो बुझ्नु पर्ने बुझी कानून बमोजिम निर्णय गर्नु भनी विपक्षी कार्यालयको नाउँमा परमादेशको आदेश समेत जारी गरिदिने ठहर्छ । जानकारीको निमित्त यो आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत विपक्षी कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
म सहमत छु ।
न्या. त्रैलोक्यराज अर्याल
इति सम्वत् २०३६ साल आषाढ २५ गते रोज २ शुभम् ।