निर्णय नं. १२५० – खिचोला हर्जना
निर्णय नं. १२५० ने.का.प. २०३६ फुल बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको...
निर्णय नं. १२५० ने.का.प. २०३६
फुल बेञ्च
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३५ सालको दे.फु.नं. २०
फैसला भएको मिति : २०३६।३।२२।६ मा
निवेदक : का.जि. का.न.पं.वार्ड नं. १४ यटखा बस्ने मोतिकाजी शाक्य
विरूद्ध
विपक्षी : ऐ.ऐ. मुलुखादेवल पछाडि बस्ने धनमाया तुलाधर समेत
मुद्दा : खिचोला हर्जना
(१) आफ्नो जग्गाबाट अरूलाई बाटो दिनलाई गरी दिएको लिखत रजिष्ट्रेशन पारित गराई रहन नपर्ने र मुलुकी ऐन घर बनाउनेको महलको ३ नं. अनुसार अघि देखि चली आएको वा दिई आएको निकास कसैले रोक्न थुन्न नहुने ।
(प्रकरण नं. १२)
फैसला
न्या. त्रैलोक्यराज अर्याल : यस अदालतको डिभिजन बेञ्चबाट ०३४।६।२ मा फैसला भएको इन्साफ एकपटक फुल बेञ्चबाट दोहोर्याई हेरी पाउँ भन्ने वादीले श्री ५ महाराजाधिराजका हजूरमा चढाउनु भएको विन्तिपत्रमा फुल बेञ्चबाट दोहर्याई हेरी कानून बमोजिम गरी छिनी दिनु भन्ने मौसुफ सरकारबाट हुकुम प्रमाङ्गी बक्स भई पेश हुन आएको प्रस्तुत मुद्दामा संक्षिप्त विवरणहरू यस प्रकारका रहेछन् ।
२. सानुमाया नकर्मीसँग किसमायाका घरदेखि उत्तर मूल सडक देखि पूर्व गल्ली देखि दक्षिण गोविन्दको घरदेखि पश्चिम यति ४ किल्ला भित्रको २ नाले ६ कवले २ तल्ले पक्की घर र सो घरले चर्चेको लगापात समेत १९९५।१।१४।३ मा जोगमायाले राजीनामा गरी लिई निजले २००७।५।१२।५ मा राजीनामा पास गरी दिएको सो घरको उत्तरपट्टि ६।। फूटको गल्ली बाटो र सो बाटो देखि उत्तर भुलुखा देवल भएकोले मेरो घर मर्मत गर्दा उत्तरपट्टिको गल्ली बाटोतिर छिंडी तल्लामा ५ कवल ईंटको गुमज हाली बनाइराखेको र पूर्व र पश्चिमपट्टिको २ गुमज समेत ७ मध्ये ६ गुमज र भित्र छिंडीमा आउन जान नहुने गरी छेका गारो लगाई राखेको भित्र छिंडीमा काठहरू राखेको २०२५।११।२ गतेको दिन घरमा कोही नभएको मौका पारी विपक्षीहरूले सो छेका गारो भत्काई भित्र छिंडीमा राखेको काठहरू मिल्काई मोल रू.५००। जाने छिंडी खिचोला गरेमा र गारो भत्काई काठहरू नोक्सान गरी दिएमा मोल रू.५००। समेत भराई पाउँ भन्ने समेत वादी । मुर्दा लाने र देवताहरूको खटयात्रा गर्दा समेत सनातन देखि चलिआएको बाटो भएको र वादीले कागज समेत गरी दिएको मुर्दा लाने बाटो भएकोले खिचोला गरे भन्ने वादी दावी झुठ्ठा हो भन्ने समेत प्रतिवादी ।
३. झगडा परेको नक्सा नं. १ को जग्गा वादीकै छिंडी भई प्रतिवादीहरूले खिचोला गरेको ठहर्छ नोक्सानी बिगोतर्फ यो यसले यति लिएको भन्ने निस्सा पेश नभएकोले बिगो भराई पाउँ भन्ने वादी दावी लाग्न सक्दैन भन्ने समेत का.जि. अ.को फैसला ।
४. उक्त इन्साफमा चित्तबुझेन भन्नेसमेत वादीप्रतिवादी दुवैथरको पुनरावेदन । झगडा परेको छिंडी प्र.को जिकिरअनुसारसनातनदेखि मुर्दालैजाने गरेको सार्वजनिकबाटो भन्ने कतैबाट देखिन नआएकोसमेत कारणबाट इन्साफ शुरू जि. अ.को मनासिव छ भन्नेसमेत बा.अं.अदालतको फैसला ।
५. उक्त फैसला कानूनी त्रुटिपूर्ण भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्रतिवादीहरूको म.क्षे.अ.मा परेको निवेदनमा अनुमति दिने आदेश ।
६. विवादको छिंडी उत्तरतर्फ, मूल सडकतर्फ र दक्षिणतर्फ चोक भएतर्फ खुला रहेको नक्साबाट देखिन्छ सो खुलाबाट चोक तर्फबाट मूल सडकमा र मूल सडकबाट चोकतर्फ आवत जावत हुने अवस्था देखिन आउँछ । घर धनी वादी बाहेक अरू सो छिंडीबाट आवत जावत गर्ने भए दुबैतर्फ त्यस्तो खुल्ला रहनु पर्ने अवस्था पर्न आउँदैन । सो खुल्ला रहेको यथावत राख्ने अभिप्रायले २००७।३।१० मा वादीले लिखत गरेको देखिएको र यस्तो लिखतलाई रजिष्ट्रेशनको महलको १ नं. बमोजिम पास गराउनु पर्ने भन्न पनि नमिल्ने हुँदा खिचोला गरेको वादी दावी पुग्न नसक्ने भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३३।३।८ को फैसला ।
७. उक्त फैसला कानूनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको यस अदालतमा परेको निवेदनमा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ (५) खण्ड (ख) को अवस्था विद्यमान नदेखिँदा अनुमति दिन नमिल्ने भन्ने डिभिजन बेञ्चको ०३३।६।१० को आदेश।
८. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ एकपटक सर्वोच्च अदालतबाट जाँच गराई पाउँ भन्ने वादीको श्री ५ महाराजाधिराजका हजूरमा परेको बिन्तिपत्रमा इन्साफ जाँची कानून बमोजिम छिनिदिनु भन्ने हुकुम प्रमाङ्गी ।
९. वादी मोतीकाजीले २००७।३।१० मा गरिदिएको लिखतमा घरमुनिको छिंडीमा साविक बमोजिम बाटो नै राखी बनाउनेछु भनी कागज गरी दिएकोबाट पनि वादीको घरको छिंडीमा साविक देखि नै प्रतिवादीहरू आवत जावत गर्ने सनातनी बाटो देखिनुको साथै स्वयं वादीकै मञ्जूरबाट समेत सो छिंडीको बाटो प्रतिवादीहरूले चलन गरी आएको देखिएको समेत कारणबाट इन्साफ मध्यमाञ्चल क्षे.अ.को मनासिव छ भन्ने समेत डिभिजन बेञ्चको मिति ०३४।६।२ को फैसला ।
१०. शुरू र अञ्चलको एक राय म.क्षे.अ.र स.अ.डिभिजन बेञ्चको एक राय भई राय नमिली अन्यायमा परेको हुँदा डिभिजन बेञ्चबाट भएको इन्साफ एकपटक फुल बेञ्चबाट दोहोर्याई हेरी पाउँ भन्ने वादी मोतिकाजीले श्री ५ महाराजाधिराजका जुनाफमा चढाउनु भएको विन्तिपत्रमा डिभिजन बेञ्चबाट भएको इन्साफ फुल बेञ्चबाट दोहोर्याई हेरी कानून बमोजिम गरी दिनु भन्ने हुकुम प्रमाङ्गी ।
११. तारिखमा रहेको निवेदक वादी मोतिकाजी र विपक्षीहरूको वारेस धर्मवंशी तुलाधरलाई रोहवरमा राखी वादीका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवाली र विपक्षीहरूका तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीको बहस समेत ०३६।३।१५ मा सुनी बुझ्दा यसमा डिभिजन बेञ्चको ०३४।६।२ को इन्साफ मिले नमिलेको के हो ? सोको निर्णय दिनु परेको छ ।
१२. यसमा आज निर्णय सुनाउन तारिख तोकिएकोमा इन्साफतर्फ विचार गर्दा वादी मोतिकाजी शाक्यले २००७।३।१० मा गरी दिएको कागजबाट मुर्दा लैजाने बाटो दिन स्वीकार गरेकै देखिन्छ । त्यस्तो आफ्नो जग्गाबाट अरूलाई बाटो दिनलाई गरिदिएको लिखत रजिष्ट्रेशन पारित गराई रहनु नपर्ने भएको र मुलुकी ऐन घर बनाउनेको महलको ३ नं. अनुसार अघि देखि चलिआएको वा दिई आएको निकास कसैले रोक्न थुन्नु हुँदैन भन्ने उल्लेखत भएको समेत कारणबाट डिभिजन बेञ्चबाट भएको इन्साफ मनासिव छ । इन्साफ जाँचको निमित्त प्राप्त भएको हुँदा कसैलाई केही गर्न परेन नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा हामी सहमत छौं ।
न्या. विश्वनाथ उपाध्याय,
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०३६ साल आषाढ २२ गते रोज ६ शुभम् ।