निर्णय नं. १२४९ – क्षतिपूर्ति दिलाई पाउँ
निर्णय नं. १२४९ ने.का.प. २०३६ फुल बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३५ सालको...
निर्णय नं. १२४९ ने.का.प. २०३६
फुल बेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३५ सालको दे.फु.नं. २४
फैसला भएको मिति : २०३६।३।२२।६ मा
पुनरावेदक : जि. धनुषा जनकपुरधामस्थित जनकपुर चुरोट कारखाना प्रा.लि.का का.मु.अध्यक्ष तथा महाप्रवन्धक फाल्गुणशमशेर ज.ब.रा.
विरूद्ध
विपक्षी : का.जि. बागबजारस्थिति सिद्धिगणेश ट्रेडिङ्ग कम्पनीका साझेदार ऐ.बस्ने मि.सु. नारायणभक्त श्रेष्ठ समेत
मुद्दा : क्षतिपूर्ति दिलाई पाउँ
(१) करार कायम राखी पाउँ भन्ने तर्फको दावा नभई करार समाप्ति गरी दिएको कारणबाट भएको क्षतिपूर्ति पाउँ भन्ने वादी दावा हुँदा त्यस्तो दावी लिई मुद्दा गर्नुपर्ने कारण करार समाप्त भएको मिति २०३६।११।७ लाई नै मान्न सकिन्छ सो भन्दा पहिले कुनै किसिमको क्षति हुन जाने कुरा आउँदैन जहाँ देखि क्षति भएको छ, सोही मिति देखि क्षतिपूर्तिको दावी गर्नुपर्ने कारण परेको हुन आउँछ ।
(प्रकरण नं. ८)
पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल
फैसला
न्या. त्रैलोक्यराज अर्याल : प्रस्तुत मुद्दा डि.बेञ्चबाट ०३५।७।२६ मा निर्णय हुँदा सो बेञ्चका माननीय न्यायाधीशहरूको राय मतैक्य हुन नसकी निर्णयार्थ यस फुल बेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको तथ्य यस प्रकार छ : जनकपुर चुरोट कारखाना प्रा.लि.र हामी वादीहरूको साझाबाट भएको साझेदारी, ०२० अन्तर्गत दर्ता भएको फर्म श्री सिद्धिगणेश ट्रेडिङ्ग कम्पनीको विचारमा ०२४।११।६ गते उक्त कारखानाबाट उत्पादित हुने चुरोटको बागमती अञ्चल भित्रको विक्रेता डिष्ट्रिव्यूटर्ससिपको लागि करार भएको सो करारमा हामी डिष्ट्रीव्यूटर्सहरू तर्फबाट वार्षिक रू.८४,००,०००। को चुरोट बिक्री हुने गर्ने कुराको सेल्स ग्यारेण्टी दिइएको थियो अरू शर्तहरू कबुलियतनामामा उल्लेख भएको सो करारमा मिति निर्धारित होस् प्रत्येक वर्ष ५ प्रतिशतको दर बढाउँदै जाने प्रस्ताव राखेका थियो, ०२५।४।२९ मा कारखानाले स्वीकृति पनि दियो सो सर्त बमोजिम ५ वर्ष २०२९।१०।३० गते सम्मको थियो कारखानाले अनुचित तरिकाबाट ०२६।११।७ देखि करार समाप्त हुने कुराको सूचना ०२६।१०।२ को पत्र जो हामीले ०२६।१०।७ गते बुझेकोबाट हामीलाई क्षतिपूर्ति दिएकोले क्षतिपूर्ति भराई लिन पाउने भई अघिल्लो सालमा लाभ भएको अनुपातमा १११४१६८। उक्त कारखानाबाट क्षतिपूर्तिको रूपमा भराई पाउनु परेकोले जनकपुर चुरोट कारखाना प्रा.लि.बाट दिलाई भराई पाउँ भन्ने समेत ०२७।२।४ को फिराद ।
३. विपक्षीले २०२४।११।६ गतेमा चुरोट बिक्री गर्न एग्रीमेण्ट गरी बागमती अञ्चल अदालतमा डिष्ट्रीव्यूटर्स रूपमा काम गर्दै हुनुहुन्थ्यो एग्रीमेण्टको अवधि निर्धारित नभएकोले ५ वर्षको लागि कायम होस् भन्ने विपक्षी समेत अरू डिष्ट्रिव्यूटर्स समेतहरूले निवेदन गर्दा कारखानाको रीतको विरूद्ध कुनै कार्य हुन आएको कारखानाले महसूस गरे वा श्री ५ को सरकारको नीतिमा कुनै परिवर्तन भएमा बाहेक साधारण नयाँ सम्झौता ५ वर्षलाई कायम राखिने छ भन्ने कारखानाको सञ्चालन सभाले ०२५।३।३ मा निर्णय गरेको विपक्षले काराखानाको हितको निमित्त काम गरेको महसुस गरेको हुँदा उक्त सञ्चालक सभाको निर्णयले ५ वर्ष राख्ने नराख्ने निर्णय अधिकार कारखानाबाट नै भएकोले विपक्षीको माग दावी कानूनसंगत नभई गैह्र कानूनी उजूरी खारेज गरिपाउँ भन्ने समेत ज.चु.का. प्रा.लि.का ज.मे.हरिनारायण उपाध्यायको ०२७।५।१५।१ को प्रतिउत्तर ।
४. करार सम्बन्धी ऐन अनुसार करार समाप्त भएको ३ महीना भित्र उजूर गर्नुपर्ने नगरी फिराद लेखेबाट ३ महीना नघाई मुद्दा दायर भएको देखिँदा अरू विचार गरिरहन नपरी यो उजूरी खारेज हुने ठहर्छ भन्ने समेत धनुषा जिल्ला अदालतको ०२९।१०।२२।१ को फैसला ।
उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादीहरूको पुनरावेदन जिकिर ।
५. मिति २०२६।११।७ देखि हाम्रो करार समाप्त हुने कुराको सूचना उक्त कारखानाको मिति २०२६।१०।२ जो हामीले मिति ०२६।१०।७ का दिन बुझेका थियौं । मूल कबुलियतको दफा १७ लाई आधार मानी त्यसको क्रियाशिलताको दावा गरी त्यस कारखानालाई मिति ०२६।१०।२७ मा अर्को पत्र लेख्यौँ हाम्रो सम्पूर्ण प्रयासहरूको बाबजुद पनि जनकपुर चुरोट कारखाना (प्रा.) लिमिटेडले हाम्रो करार र कबुलियतनामाको कुराहरूको एकतर्फी र अनुचित तरिकाबाट मिति ०२६।११।७ देखि उल्लङ्घन गर्यो र त्यस मिति पछि हामीलाई करार बमोजिमको सिगरेट सप्लाई गर्ने काम गरिएको छैन यो नालिस गर्नुपर्ने कारण भएको मिति २०२६।११।७ भएकोले त्यस मितिबाट करार सम्बन्धी ऐन, २०२३ को दफा १८ को उपदफा (२) को (ग) बमोजिम ३ महीना भित्रकै म्यादमा यो फिरादपत्र प्रस्तुत गरेको भन्ने समेत वादीले फिरादपत्रमा दावी लिएको देखिएको ०२६।११।७ देखि करार समाप्त हुने संरचना विपक्षीले ०२६।१०।७ का दिन बुझिसकेकोले सो पत्र बुझेको मितिमा नै मुद्दा गर्नुपर्ने कारण उपस्थित भइसकेको हुँदा सो मितिले ३ महीना नघाई वादीले नालिस गरेकोले हदम्याद नघाई मुद्दा दायर गरेको हुँदा शुरू जिल्ला अदालतले खारेज गर्ने गरेको फैसला मनासिव छ भन्ने विपक्षीतर्फका विद्वान अधिवक्ताको बहस जिकिर देखिन आयो उपदफा (२) मा तोकिएका बाहेक अन्य करारको हकमा देहायको म्यादभित्र नालेस नदिए सो हदम्याद पछि नालिस लाग्ने छैन भन्ने करार सम्बन्धी ऐन, २०२३ को दफा १८ को उपदफा (२) मा र यस ऐन अन्तर्गतको अन्य कुनै दावीको हकमा मुद्दा गर्नुपर्ने कारण परेको मितिले ३ महीना भित्र भन्ने ऐ.ऐनको दफा १८ को उपदफा (२) को देहाय (ग) मा उल्लेख भएको देखिएको ०२६।११।७ देखि करार समाप्त हुने ०२६।१०।२ को पत्र, जुन वादीले ०२६।१०।७ मा बुझिएको सो करार समाप्त हुने सूचनासम्म दिएको देखिएको, त्यसको प्रतिक्रिया स्वरूप करार समाप्त हुनु नपर्ने भन्ने वादीले विपक्षीलाई पत्र लेखेको पत्रको नक्कल पनि मिसिलमा पेश भएको देखिएको, करारको अवधि भुक्तान नहुँदै ०२६।११।७ देखि करार समाप्त गर्ने अठोट गरी सूचना गरेकोमा सो मिति भन्दा अगावै दुवै पक्ष सहमत भएमा करार समाप्त नहुने स्थितिको सिर्जना पनि हुन सक्ने सम्भावना हुन जान्छ अतः करार समाप्त गर्ने सूचनाको मितिमा मुद्दा गर्नुपर्ने कारण उपस्थित हुन आउँदैन जुन मितिमा करार अनुसारको काम रोकिन्छ करारलाई निष्कृय पारिन्छ, करार समाप्त गरिन्छ सोही मितिमा नै मुद्दा गर्नुपर्ने कारण मान्नु पर्ने हुन आयो । करार गर्ने कुनै पक्षले करार पूरा नगरेमा अर्को पक्षले क्षतिपूर्ति भराई लिन पाउँछ भन्ने करार सम्बन्धी ऐन, २०२३ को दफा १५ को उपदफा १ मा व्यवस्था भएको देखिएको उक्त कानूनी व्यवस्थाले पनि करार पूरा नगरेको दिनदेखि नै क्षतिपूर्तिमा दावी लाग्ने भई उजूर गर्ने अवस्थाको सिर्जना भएको देखिन्छ करार पूरा नगरेको मिति ०२६।११।७ देखिन आएको र प्रस्तुत नालिस मिति ०२७ साल जेष्ठ ४ गतेमा दायर भएको देखिन आयो अतः करार पूरा नगरेको मितिले करार सम्बन्धी ऐन, २०२३ को दफा १८ को उपदफा (२) को देहाय (ग) ले ३ महीना भित्रै वादीले नालेस दायर गरेको देखिनाले हदम्याद नघाई नालिस गरेको भन्ने विपक्षतर्फका विद्वान अधिवक्ताको बहस जिकिरसँग सहमति गर्न मिलेन हदम्याद नाघी नालिस दायर भएको भनी शुरूले खारेज गर्ने गरेको फैसला मिलेको देखिन नआएकोले धुनषा जि. अ.को फैसला बदर हुने र कानून अनुसार तहकिकात किनारा गर्नु होला भनी मिसिल शुरू जि. अ.मा पठाई दिनुपर्ने ठहर्छ र वादी नारायणभक्तले राखेको कोर्टफी १४९१०।६८ फिर्ता दिने भनी धनुषा जि. अ.को ०२९।१०।१ को फैसलाले गर्ने गरेको लगत काटी दिनु भनी धुनषा जि. अ.मा पूर्जी गर्न का.जि. अ.मा लगत दिई दुवै पक्षलाई फैसला सुनाई तारिख तोकी धनुषा जि. अ.मा पठाई दिनु भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको ०३३।१०।५।३ को फैसला प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने अनुमति प्राप्त भई डिभिजन बेञ्चबाट निर्णय हुँदा मिति ०२६।१०।२ को पत्रमा एग्रीमेण्ट समाप्त हुने भएको भनी लेखिएकोबाट एग्रीमेण्टमा नै मिति भुक्तान हुने समय तोकिएको झल्का परेको छ । एग्रिमेण्टको दफा १७ प्रयोग गरेको हो भनी सो दफा १७ मा लेखिए बमोजिम कारखानाले विक्रेतालाई हटाउन चाहेको भन्ने वाक्य परेको हुनुपथ्र्यो र साथसाथै एक महीनाको अग्रीम सूचना दिएको भन्ने पनि लेखिएको हुनुपथ्र्यो जब वादीले क्षति परेको दिन ०२६।११।७ हो त्यसै दिन देखि क्षतिपूर्ति दिलाई पाउँ भनी फिराद गरेको छ भनी क्षति नै नभएको ०२६।१०।२ लाई मुद्दा गर्नुपर्ने कारण परेको भनी मान्न मिलेन क्षति भएको कारणले नै क्षतिपूर्ति दिलाई पाउँ भन्ने दावी गरेको हुँदा क्षति परेको दिन नै मुद्दा चलाउनु पर्ने कारण परेको दिन हुन्छ । उसमा पनि जब वादीले नै क्षतिपूर्ति दिलाउनु मुद्दा चलाएको छ भन्ने क्षति परेको दिन नै कारण परेको दिन हुन आउने हुनाले दावी नगरेको क्षति भएको भनी नभनेको दिनलाई क्षति परेको दिन हो भनी कारण परेको दिन ठहर गर्न मनासिव परेन, अतः मध्यमाञ्चल क्षेत्रीय अदालतले ठहर गरेको ०३३।१०।५।३ को फैसला मनासिव ठहर्छ भन्ने मा.न्या. श्री हेरम्बराजको राय प्रस्तुत केशमा मुद्दा गर्नुपर्ने कारण कुन मितिमा उत्पन्न हुन आएको सो कुरामा नै मुख्य रूपले विचार गर्नुपर्ने हुन आएको छ । करारबाट प्राप्त भएको हक अधिकार सो करार भङ्ग गरी दिएको हुनाले त्यसबाट हुन आएको क्षति भराई पाउँ भनी वादी दावी भएको देखिनाले करार भङ्ग भएको मितिलाई नै मुद्दा गर्नुपर्ने कारण उत्पन्न हुन आएको मान्नु पर्ने, करार भङ्ग नभएसम्म मुद्दा गर्नुपर्ने कारणको उत्पत्ति नै हुन सक्ने देखिन्न । करार भङ्ग गरिदिएको कारणले हुन आउने क्षति करार भङ्गको फल मात्र हो । त्यसको कारण होइन, तसर्थ मुद्दा गर्नुपर्ने कारण क्षति होइन कि करार भङ्ग हो, करार भङ्ग भएको मितिले मुद्दा गर्नुपर्ने कारण उत्पन्न हुन आयो । माथि उल्लेख भएको आधारमा विचार गर्दा करार भङ्ग गरिदिएको हुनाले क्षति भराई पाउँ भनी करारसम्बन्धी ऐन, २०२३ अन्तर्गत दावी गर्ने पक्षले सो ऐनको दफा १८ को उपदफा (२) को खण्ड (ग) मा उल्लेख भए बमोजिम करार भङ्ग भएको मितिले ३ महीना भित्र नालिस गर्नुपर्नेमा सो बमोजिमको म्याद नघाई नालिस गरेको देखिनाले अरू कुरामा विचार गरी रहन नपरी धनुषा जिल्ला अदालतले खारेज गरेको मनासिव ठहर्छ भन्ने मा.न्या. श्री सुरेन्द्रप्रसाद सिंहको राय भई ०३५।७।२६।१ मा निर्णय भएको रहेछ ।
६. पुनरावेदक प्रतिवादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले करार ऐनको दफा १८(ग) मा मुद्दा गर्नुपर्ने कारण परेको मितिबाट ३ महीना भित्र नालिस गर्ने व्यवस्था छ करार भङ्ग गरेको ०२६।१०।५ को सूचना ०२६।१०।७ मा वादीले पाएको मिति नै मुद्दा गर्नुपर्ने कारण परेको मिति हुने हुँदा सो मितिले ३ महीना नाघी परेको फिराद खारेज गर्ने गरेको राय सदर हुनुपर्छ भन्ने समेत र विपक्षी वादी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालले करार कायम गरिपाउँ भन्ने दावा नभई करार तोडेकोबाट क्षति हुन गएको क्षतिपूर्ति पाउँ भन्ने दावा हुँदा त्यसको दावा गर्नुपर्ने कारण परेको मिति जुन मिति देखि करार समाप्त गर्ने गरेको छ सो मितिबाट मुद्दा गर्नुपर्ने कारण परेको हुँदा सो मितिबाट ३ महीना भित्रै परेको फिराद हुँदा खारेज गर्न मिल्ने होइन भन्ने समेत बहस प्रस्तुत गर्नुभएको छ ।
७. यसमा निर्णयतर्फ विचार गर्दा प्रतिवादी जनकपुर चुरोट कारखानाबाट उत्पादित हुने चुराटको बागमती अञ्चल भित्रको विक्रेता डिष्ट्रिव्यूटर्ससिपको लागि भएको करार अनुचित तरिकाबाट ०२६।११।७ गते देखि समाप्त हुने कुराको मिति ०२६।१०।२ को सूचना ०२६।१०।७ का दिन बुझेको सो करार भङ्ग गरी दिएकोले क्षतिपूर्ति दिलाई भराई पाउँ भन्ने मुख्य दावी लिई जनकपुर चुरोट कारखाना उपर फिराद परेको प्रस्तुत मुद्दा देखिएकोले सर्वप्रथम प्रस्तुत मुद्दामा करार सम्बन्धी ऐन, २०२३ को दफा १८ को उपदफा (२) को खण्ड (ग) अनुसार मुद्दा गर्नुपर्ने कारण कुन मितिमा उत्पन्न हुन आयो सो कुरामा नै विचार गर्नुपर्ने हुन आएको छ ।
८. करार सम्बन्धी ऐन, २०२३ को दफा १८ को उपदफा (२) को खण्ड (ग) मा यस ऐन अन्तर्गतको अन्य कुनै दावीको हकमा मुद्दा गर्नुपर्ने कारण परेको मितिले तीन ३ महीना भित्र नालिस नदिए नालिस नलाग्ने व्यवस्था गरेको देखिन्छ । प्रतिवादी जनकपुर चुरोट कारखानाले वादीलाई दिएको ०२६।१०।२ को सूचनामा यस कारखाना र तपाईंंको बीचमा भएको एग्रीमेण्ट ०२६।११।७ देखि समाप्त हुने भएकोले जानकारी गराएकोभन्ने उल्लेख छ । यस सूचनाबाट वादीको र प्रतिवादी चुरोट कारखानाको बीचमा भएको करार ०२६।११।७ गते देखि समाप्ति गरेको भन्ने प्रष्ट छ सो करार समाप्त गरी दिएकोबाट सो करार कायमै राखी पाउँ भन्ने तर्फको दावा नभई करार समाप्ति गरिदिएको कारणबाट भएको क्षतिपूर्ति पाउँ भन्ने वादी दावा हुँदा त्यस्तो दावी लिई मुद्दा गर्नुपर्ने कारण परेको मिति वादीलाई कारण समाप्त भएको मिति ०२६।१०।२ को सूचना बुझाएको मिति कायम हुन आउने हो कि भन्न वादीलाई करार समाप्त गरी दिएकोबाट हुने क्षतिपूर्तिको नालिस गर्नुपर्ने भएको कुरामा करार समाप्त भएको मिति ०२६।११।७ गतेबाट नै क्षति हुन जाने कुरा हुन्छ सो भन्दा अगावै करार कायम भएकै अवस्थामा करार समाप्त गरी दिने सूचना दिए पनि करार समाप्त गरेको मिति ०२६।११।७ भन्दा पहिले कुनै किसिमको क्षति हुन जाने कुरा हुन आउँदैन क्षति नै नभएको अवस्थामा क्षतिपूर्तिको दावी गर्ने स्थिति पनि पर्न आउँदैन जहाँ देखि क्षति भएको छ सोही मिति देखि क्षतिपूर्तिको दावी गर्नुपर्ने कारण परेको हुन आउँछ । यस स्थितिबाट करार समाप्त गरेको ०२६।११।७ को मितिबाट नै क्षतिपूर्तिमा दावी गरी मुद्दा गर्नुपर्ने कारण परेको हुनाले पछिको मिति देखि करार समाप्त हुने गरिएको कुरा जानकारी दिएको अघिको मितिको सूचनाको मितिबाट उक्त क्षतिपूर्तिको विषयमा मुद्दा गर्नुपर्ने कारण परेको मिति भन्न तथा मान्न मिल्ने देखिँदैन तसर्थ करार समाप्त गरेको मिति ०२६।११।७ बाट ३ महीना भित्रै ०२७।२।४।१ मा दायर भएको फिराद हुँदा खारेज गरेको धनुषा जि. अ.को फैसला बदर गरी कानून अनुसार तहकिकात किनारा गर्ने धनुषा जि. अ.मा पठाउने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहराएको डिभिजन बेञ्चका मा.न्या. श्री हेरम्बराजको राय मनासिव ठहर्छ । कानून अनुसार तहकिकात किनारा गर्नु भनी तारिखमा रहेको वादी प्रतिवादी दुवै पक्षलाई धनुषा जि. अ.को तारेख तोकी मिसिल धनुषा जि. अ.मा पठाई रेकर्ड मिसिल नियम बमोजिम बुझाई दिनु ।
म सहमत छु ।
न्या. बब्बरप्रसाद सिंह
माननीय न्यायाधीश श्री बासुदेव शर्माको राय
९. वादी र प्रतिवादी जनकपुर चुरोट कारखानाको बीचमा भएको करार ०२६।११।७ गते देखि समाप्त हुने गरी ०२६।१०।२ मा सूचना दिएको देखिएको छ । सो सूचनाबाट करार समाप्त भएको देखिएकोले क्षतिपूर्तिमा वादीले नालिस गर्नुपर्ने कारण त्यही सूचनाको मितिबाटै गणना गर्नु पर्ने हुनाले सो सूचना दिएको मिति ०२६।१०।२ बाट करार सम्बन्धी ऐन, २०२३ को दफा १८ को उपदफा (२) को खण्ड (ग) अनुसार ३ महीनाको म्याद नाघी दायर भएको यो फिराद खारेज हुने ठहर्छ । म्यादभित्र नालिस परेको ठहराई तहकिकात गर्न धनुषा जि. अ.मा पठाउने गरेको सहयोग माननीय न्यायाधीशहरूको रायसँग मेरो सहमत नभएकोले छुट्टै राय व्यक्त गरेको छु ।
न्यायाधीश
इति सम्वत् २०३६ साल आषाढ २२ गते रोज ६ शुभम् ।