निर्णय नं. १२४८-१ – निखनाई पाउँ
निर्णय नं. १२४८–१ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको दे.पु.नं. १५१ फैसला भएको मिति...
निर्णय नं. १२४८–१ ने.का.प. २०३६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
सम्वत् २०३५ सालको दे.पु.नं. १५१
फैसला भएको मिति : २०३६।२।३१।५ मा
पुनरावेदक : का.जि. बागबजार बस्ने चिराग उडिन
विरूद्ध
विपक्षी : का.जि. वडा नं. १२ ईन्द्रचोक बस्ने पुष्करप्रसाद राजभण्डारी समेत
मुद्दा : निखनाई पाउँ
(१) निखनी पाउँ भनी दावी गरी आउनेले थैली थाहा पाएपछि सो थैली सो रकम धरौट राख्नु पर्ने ।
(प्रकरण नं. ९)
पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
फैसला
न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परी सर्वोच्च अदालत डिभिजन बेञ्चका ०३५।९।१० को आदेशानुसार पुनरावेदनको अनुमति भई पुनरावेदनको लगतमा दर्ता भएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :
२. पूर्व सूर्यजङ्ग थापा समेतको पसल पश्चिम मूल सडक, उत्तर केवल टोल जाने बाटो र शिवजीको मन्दिर, दक्षिण बटु जाने बाटो समेत यी ४ किल्ला भित्रको काठमाडौं ईन्द्रचोकस्थित घर मध्ये पूर्व सूर्यजङ्गको घर पसल साझा भरेङ्ग बाटो, पश्चिम बद्रिराज श्रेष्ठ बसेको पसल उत्तर बाटो दक्षिण उपर्युक्त घरकै गाहरो यति ४ किल्ला भित्रको लम्बाई ६ फूट चौडाई ५ फूटको छेडी पसल ७० वर्ष अघि बाजेका पाला देखि बहालमा बसी वर्षको रू.५५। विपक्षी गजराजजङ्गलाई बहाल बुझाई आएको घर पसल समेत बिक्री गर्ने कुरा हुँदै थियो ०२७।१२।२६ गतेमा विपक्षी प्रतिवादीहरू साहू आसामी भई उल्लिखित घर राजीनामा गरी रजिष्ट्रेशन पारित गरे भन्ने कुरा आश्विन ३० गते सुनी बुझ्दा राजीनामा गरी दिएको कुरा बताए तापनि थैली र राजीनामा पारित कहाँ गरेको भन्ने कुरा पत्ता लाएनन् काठमाडौं भू.प्र.का.मा खोजतलास गर्दा थाहा पत्ता लाग्न सक्ने वास्तविक लेनादेनाको थैली उल्लेख गर्नुको त्यहाँ असम्भव थैली उल्लेख गरी लिनुदिनु गरेको हुनुपर्छ, लिनुदिनु गरेको भई दिए किन गराई म फिरादीले बहालमा उपभोग गरिरहेको भाग सहित पूरै घर निखनाई पाउँ भन्ने समेत चिराग उडिनको ०२८।८।२३ को फिराद ।
३. सो निखनाई पाउँ भनेको घर बिक्री गर्ने भएबाट सो घर पसलमा बहाल तिरी बस्ने यो वादी समेतका सबै व्यक्तिलाई भन्दा यो वादी समेत सबैको एकै मुख मिलाई जम्मा रू.३,६०,०००। मा लिन्छु भन्ने पुष्करप्रसादले ४,२१,००१। मा पाएपछि लिन्छु भन्ने भई पुष्करप्रसाद र बसन्तीदेवीलाई रू.४,२१,००१। मा ०२७।१२।१० मा राजीनामा लिनुदिनु भए गरेको हो निखन्न दिनुपर्ने होइन भन्ने समेत क.क.गजराजजङ्ग, उमादिव्ईश्वरी थापा, बसन्तीदेवी राजभण्डारी र पुष्करप्रसाद राजभण्डारीको प्रतिउत्तरपत्र ।
४. क.क.गजराजजङ्ग र उमादिव्ईश्वरीले फिराएको प्रतिउत्तरको व्यहोरा सदर छ भन्ने समेत टोपकुमारीको र अरू प्रतिवादीहरूले फिराउनु भएको प्रतिउत्तर सदर छ भन्ने समेत गेहेन्द्रजङ्ग थापाको प्रतिउत्तर ।
५. बिक्री भएको कुरा थाहा पाएकोमा वादी सावित भएको र थैली बढी लेखी लिनुदिनु गरेको भए उजूर गरी कायम गराउन नसकेकोबाट मुख मिलेको मान्नु पर्ने प्रतिवादी परेपछि लेनदेन व्यवहारको १६ नं. अनुसार ३५ दिनभित्र धरौट राख्न सकेको नदेखिएको समेतबाट खारेज हुने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको फैसला ।
६. सो फैसलामा चित्त बुझेन भन्ने समेत वादी चिराग उडिनको पनुरावेदन ।
रजिष्ट्रेशनको ३५ नं. बमोजिम रजिष्ट्रेशन गर्ने कार्यालयमा नगराई सोझै अदालतमा नालिस गरेको र थैली थाहा भएपछि धरौट राखेको नदेखिनाले खारेज गरेको सम्म शुरू का.जि. अ.को इन्साफ मनासिव छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको फैसला ।
७. सो फैसलामा सार्वजनिक महत्वको विषयमा कानूनी त्रुटि हँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादी चिराग उडिनको निवेदनमा लेनदेन व्यवहारको १६ नं. को गलत व्याख्या गरी कानूनी त्रुटि गरेको देखिएकोले पुनरावेदनको अनुमति दिएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३५।९।१० को आदेश ।
८. तारेखमा रहेका पुनरावेदक चिराग उडिन र विपक्षी वा.समेत पुष्करप्रसाद राजभण्डारी तथा वा.दुर्गाप्रसाद झा समेत रोहवरमा रही पेश हुन आएकोमा पुनरावेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीको र विपक्षी पुष्करप्रसाद राजभण्डारी समेततर्फका विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले गर्नुभएको बहस समेत सुनी प्रस्तुत मुद्दामा मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ ठीक वेठिक के रहेछ सो कुराको निर्णय दिनु परेको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा खरीद बिक्री भएको राजीनामा जुनसुकै इलाकामा पास भए पनि घर जग्गा भएको ईलाकाको रजिष्ट्रेशनको २९ नं. मा भएको सो घर जग्गा भएको इलाकाको रजिष्ट्रेशन गर्ने अड्डाबाट खरीद बिक्री भएको थैली थाहा पाउने प्रयास वादी पुनरावेदकबाट भए गरेको देखिन आएन साथै प्रस्तुत मुद्दामा प्रतिउत्तर परेपछि खरीद बिक्री भएको राजीनामाको अंक रू.४,२१,००१। भन्ने देखिन आयो । निखनी पाउँ भनी दावी गरी आउने वादीले थैली थाहा पाएपछि सो थैलीको रकम धरौट राख्नु पर्ने सो गरेको पनि देखिन आएन त्यसकारण पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन खारेज गरेको काठमाडौं जिल्ला अदालतको इन्साफ मनासिव छ भनी मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चबाट मिति ०३४।१।१४ मा गरेको फैसला मनासिव छ । पुनरावेदन गरेमा कोर्टफी रहेको हुँदा केही गर्नु परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा सहमत छु ।
न्या. त्रैलोक्यराज अर्याल
इति सम्वत् २०३६ साल जेष्ठ ३१ गते रोज ५ शुभम् ।