निर्णय नं. १२४० – जारी चोरी
निर्णय नं. १२४० ने.का.प. २०३६ फुल बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको...
निर्णय नं. १२४० ने.का.प. २०३६
फुल बेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
सम्वत् २०३५ सालको फौ.फु.नं. ६
फैसला भएको मिति : २०३६।३।१५।६ मा
पुनरावेदक : जि. डडेलधुरा गा.पं.वा.नं. ७ बस्ने हरिदत्त पाण्डे
विरूद्ध
विपक्षी : ऐ.ऐ. बस्ने परमानन्द बोहरा
मुद्दा : जारी चोरी
(१) पछि आएको ऐनमा किटानसाथ अन्यथा व्यवस्था भएकोमाबाहेक मुद्दामा पक्षहरूको हक र दायित्व फिरादपत्र परेको बखत भइरहेको कानून बमोजिम निर्धारित हुने कुरा हो ।
(प्रकरण नं. १४)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री नूतन थपलिया
फैसला
न्या. बासुदेव शर्मा : सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३४।१०।१६ मा भएको फैसला दोहोर्याई पाउँ भनी न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका हजूरमा प्रतिवादी हरिदत्त पाण्डेले चढाउनु भएको निवेदनमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहोर्याई दिनु भन्ने मौसुफ सरकारबाट बकस भएको हुकुम प्रमाङ्गी अनुसार पेश भएको प्रस्तुत मुद्दाको तथ्य एवं विवरणहरू यस प्रकारका छन :
२. मैले २०२० सालमा विवाह गरिल्याएको विवाहिता स्वास्नी आफू म परदेश गएको बेलामा प्र.हरिदत्त पाण्डेसँग करणीमा बिग्रेकी रहिछ २०२९ साल चैत्र ३ गते घरमा आइपुग्दा निजले लगाई राखेको तोला ४ को सुनको मुन्द्रा र गलेबन्द नभएको र पेट बढेको देखिई शङ्का लागी सोधपूछ गर्दा विपक्षी हरिदत्त पाण्डेको गर्भ रहेको र गहनाहरू निज हरिदत्तलाई दिएकोमा झापू सावित भएकीले जारीको २।४ नं. बमोजिम हरिदत्तलाई ५ वर्ष र झापूलाई १।१ वर्ष कैद गरी गहनाको बिगो रू.१४००। निजहरूबाट भराई चोरीको १२ नं. बमोजिम सजाय गरिपाउँ भन्ने समेत वादी ।
३. वादी दावी बमोजिम म वादीको विवाहिता स्वास्नी हैन जयराजसँग मेरो विवाह भई वादीले जयराजलाई रू.१०००। बुझाई जारी गरी ल्याएको हो वादी विदेश भएको बखत हरिदत्त पाण्डेसँग करणी लेनदेन भई गर्भ रहेको हो सुनको गहनाहरू वादी विदेशमा भएको बेलामा खान लाउन नपुगी बिक्री गरी खाए भन्ने समेत प्र.झापूको प्रतिवादी ।
४. झापूलाई मैले करणी गरेको भए घरमै स्वास्नी तुल्याई राख्ने थिएँ मैले वादी समेत उपर कुटपिट गाली बेइज्जति तर्फ कञ्चनपुर जिल्ला अदालतमा नालिस दिएको र सोमा हार्ने भई सजाय हुने हुँदा नभएको जारी चोरी लगाई आफ्नी स्वास्नी झापूलाई आफ्नै घरमा राखी झुठ्ठा उजूर गरेको भन्ने समेत प्र.हरिदत्तको प्रतिवादी ।
५. झापू वादीकै विवाहिता स्वास्नी हो भन्ने समेत वादीका साक्षी जयदेव बोहरा समेतको बकपत्र ।
६. झापू वादीकै विवाहिता स्वास्नी हो । प्रतिवादी हरिदत्तले झापूलाई जारी चोरी गरेको हैन भन्ने समेत लालसिंह विष्ट समेतको बकपत्र ।
प्र. झापूका साक्षीहरूले म्यादभित्र उपस्थिति नभई म्याद गुजारी बसेका ।
७. प्र.झापू वादी परमानन्दको विवाहिता स्वास्नी हैन भन्ने सबूद प्रमाण कतैबाट गुजार्न नआएको आफ्नो घरमा प्र.झापू बाहेक अरू कुनै परिवार नभएको झापू उपर अपवाद लगाई नालिस गर्नु र निज झापूले पनि करणीमा बिग्रेमा सावित हुनुपर्ने अन्य कुनै प्रमाण समेत प्र.हरिदत्तले गुजार्न नसकेको देखिँदा प्र.झापूलाई प्र.हरिदत्त पाण्डेले जारी चोरी गरेको ठहर्छ भन्ने समेत शुरू डडेलधूरा जिल्ला अदालतको फैसला ।
८. उक्त इन्साफमा चित्त बुझेन निज झापूलाई वादीले आफ्नै घरमा राखी आफैंले पेट बोकाई म उपर झुठ्ठो नालिस गरेको भन्ने समेत प्र.हरिदत्त पाण्डेको पुनरावेदन ।
९. वादी लेखाईलाई निजको साक्षीहरूको बकपत्रले पूर्णरूपले समर्थन गरेको, झापू वादीको विवाहिता स्वास्नी हैन भन्ने प्रमाण कतैबाट गुज्रन नआएको, भएको सरजमीनको भनाईबाट पनि वादी दावी प्रष्ट भएको समेत देखिँदा प्र.झापूलाई प्र.हरिदत्तले जारी गरेको ठहर्याई शुरूले गरेको इन्साफ मनासिव छ । प्र.झापूले लगाएको गहना चोरी गरे तर्फ विचार गर्दा वादी विदेश गएको बखत निजको सत्यमा छँदै खर्च नपुगी बेची खाएको हुँ भनी प्र.झापूले प्रतिवादी दिएको र प्र.हरिदत्तले मासी खाएको भन्ने सबूद समेत गुज्रन आएको नदेखिँदा चोरी गरेतर्फ वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
१०. प्र.झापूलाई मैले करणी गरेको छैन । खारेज भइसकेको जारीको २ नं. प्रयोग गरी कैद सजाय गरेको सू.प.क्षे.अ.को फैसलामा कानूनी त्रुटि भएकोले पनुरावेदनको अनुमति पाउँ भन्ने समेत प्र.हरिदत्तको निवेदनमा पुनरावेदनको अनुमति दिने डिभिजन बेञ्च ०३४।३।१४ को आदेश।
११. वादी विदेश भएको बेलामा प्र.हरिदत्तसँग करणीमा बिग्री गर्भ रहेको कुरामा प्र.झापू सावित भई प्रतिवाद गरेको देखिन्छ । निज झापू प्र.हरिदत्त पाण्डेसँग करणीमा बिग्रेकी नभए निजलाई पोल गर्नुपर्ने अवस्था पनि केही नदेखिँदा समेत प्र.झापूलाई प्र.हरिदत्तले जारी गरेकै ठहर्छ अब सजाय तर्फ विचार गर्दा हालको जारीको २ नं. अनुसार जार र जारी गरिएकी स्वास्नी मानिसलाई समेत एक महीना देखि दुई महीना सम्म कैद र एकहजार रूपैयाँ देखि दुईहजार रूपैयाँसम्म जरिवाना हुन्छ भन्ने उल्लेख भएको छ तापनि फिराद दर्ता भएको अवस्थामा प्रचलित जारीको २ नं. मा साधुले विवाह खर्च भराई माग्न नचाही जारलाई कैद गराउन चाहेमा ५ वर्षसम्म कैद गराउन पाउँछ भन्ने उल्लेख भएको हुँदा पछि आएको ऐनमा पहिलेको कुरालाई समेत लागू हुने भनी किटानी व्यवस्था भएकोमा बाहेक सोही अवस्थाको ऐन बमोजिम निर्णय गर्नुपर्ने हुँदा प्र.हरिदत्तलाई प्र.झापूलाई जारी गरेमा कैदवर्ष ५ र पुनरावेदन गरेमा थप कैद महीना ३ हुन्छ । धनमाल तर्फ वादीले झुठ्ठा दावी गरेको ठहर्याई सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव भन्ने समेत डिभिजन बेञ्चको ०२४।१०।१६ को फैसला ।
१२. उक्त फैसला त्रुटिपूर्ण भएको हुँदा दोहोर्याई पाउँ भन्ने प्र.हरिदत्त पाण्डेले न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजमा चढाउनु भएको विन्तिपत्रमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहोर्याई दिनु भन्ने हुकुम प्रमाङ्गी ।
१३. तारिखमा रहेका निवेदक हरिदत्त पाण्डेको वा.कृष्णचन्द्र र विपक्षी परमानन्द बोहरालाई रोहवरमा राखी निवेदक तर्फबाट रहनु भएका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विपक्षी तर्फबाट रहनुभएका अधिवक्ता श्री नूतन थपलियाको बहससमेत सुनीबुझ्दा यसमा डि.बे. को २०३४।१०।१६ मा भएको फैसला मिले नमिलेको के हो ? सो को निर्णय दिनुपरेको छ ।
१४. यसमा इन्साफ तर्फ विचार गर्दा धन माल तर्फ वादी दावी बमोजिम प्रतिवादीले चोरी गरेको नठहर्ने भनी सुदूर पश्चिमाचल क्षेत्रीय अदालतले गरेको फैसलामा वादीले चित्त बुझाई पुनरावेदन नगरी बसेको देखिँदा त्यस तर्फ विचार गरिरहन परेन । वादी दावी बमोजिम प्रतिवादी हरिदत्त पाण्डेले प्र.झापूलाई जारी गरेको हो होइन त्यस तर्फ हेर्दा प्र.झापू वादीको विवाहिता स्वास्नी हो भन्ने कुरा वादी प्रतिवादी दुवैको साक्षीको बकपत्रबाट पुष्टी हुन आएको र वादी विदेशमा गएको बेला प्र.हरिदत्त पाण्डेसँग करणीमा बिग्रिएकी भन्ने प्र.झापूको प्रतिवादी भएको निज हरिदत्त पाण्डेसँग करणी लेनदेन भएको नभए निजलाई पोल्नु पर्ने कुनै अवस्था समेत नदेखिँदा प्र.झापूलाई प्र.हरिदत्त पाण्डेले जारी गरेको ठहर्याई डिभिजन बेञ्चबाट भएको इन्साफ मनासिव देखिन्छ । अब सजाय तर्फ विचार गर्दा वादीले अदालतमा प्रवेश गर्दा जुन ऐनलाई देखाई आफ्नो हक अधिकारको माग गरेको हुन्छ सोही अवस्थाको ऐन बमोजिम निर्णय गर्नुपर्ने हुन्छ भन्दै प्रतिवादी हरिदत्त पाण्डेलाई साविक जारीको महलको २ नं. अन्तर्गत ५ वर्ष कैद गर्ने गरेको जिल्ला अदालतको इन्साफ मनासिव ठहर्याई डिभिजन बेञ्चबाट फैसला भएको देखिन्छ । पछि आएको ऐनमा किटान साथ अन्यथा व्यवस्था भएकोमा बाहेक मुद्दामा पक्षहरूको हक र दायित्व फिरादपत्र परेको बखत कायम भइरहेको कानून बमोजिम निर्धारित हुने कुरा हो तर मुलुकी ऐन छैठौ संशोधन, २०३३ बमोजिम संशोधित जारीको महलको अध्ययन गर्दा उक्त महलमा संशोधन लागू हुनु भन्दा पहिलेको जारी खतमा समेत संशोधित जारीको महलको २ नं. अनुसार सजाय गर्ने व्यवस्था प्रष्टरूपमा नगरेको भए तापनि उक्त संशोधन ऐनको दफा १४(५) अनुसार साविक जारीको महलको कानूनी व्यवस्था अनुसार कसैलाई सजाय हुने गरी फैसला वा आदेश भइरहेकोमा सो सजाय संशोधित महलमा तोकिए भन्दा बढी भए सो बढी भए जति सजाय स्वतः मिनाहा हुने व्यवस्था भएको जारीको संशोधित २ नं. अनुसार जार र जारी गरिएकी स्वास्नी मानिसलाई एक महीना देखि दुई महीना सम्म कैद र एकहजार रूपैयाँ देखि दुईहजार रूपैयाँ सम्म जरिवाना गर्ने व्यवस्था भएको हुनाले पुनरावेदक हरिदत्त पाण्डे र प्र.झापूलाई सो मध्ये बढी सजाय हुन सक्ने स्थिति देखिएन । अब प्रतिवादीहरूलाई के कति सजाय हुनुपर्छ भन्ने तर्फ विचार गर्दा उक्त दफा १४(५) नयाँ सजाय गर्ने व्यवस्थाको कानून नभई भएको सजाय मिनाहा सम्म गर्ने व्यवस्थाको कानून भएकोले साविक कानूनी व्यवस्था अनुसार प्रतिवादीहरूलाई भएको अरू सजाय मिनाहा भई नयाँ कानून अनुसार हुन सक्ने अधिकतम कैदको सजाय कैद महीना दुईमात्र हुने ठहर्छ तपसीलको कलममा तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्र.हरिदत्त पाण्डेले प्र.झापूलाई जारी गरेमा डिभिजन बेञ्चको फैसला समेतले लागेको कैद र जरिवाना गरी वर्ष ५।९ कैद लागेकोमा अब कैद महीना ।२ मात्र हुने लाग्ने हुँदा डिभिजन बेञ्च समेतको लगत कट्टा गरी निज कैदमा नबसेको भए कानून बमोजिम गर्नु भनी कैद महीना ।२ को मात्र लगत डडेलधुरा जि. अ.मा दिन का.जि. अ.त.मा लगत दिनु…………………. १
माथि इन्साफ खण्डमा लेखिए बमोजिम प्र.झापू जैसिनी के कैद महीना ।२ मात्र हुने भएकोले डडेलधुरा जि. अ.का फैसलाले गर्ने गरको कैद वर्ष १।३ को लगत कट्टा गरी निज कैदमा नबसेको भए कानून बमोजिम गर्नु भनी कैद महीना ।२ को मात्र लगत डडेलधुरा जि. अ.मा दिन का.जि. अ.त.मा लगत दिनु………………. २
नियम बमोजिम गरी मिसिल बुझाई दिनु…………………….. ३
उक्त रायमा म सहमत छु ।
न्या. विश्वनाथ उपाध्याय
न्या. त्रैलोक्यराज अर्याल
इति सम्वत् २०३६ साल आषाढ १५ गते रोज ६ शुभम् ।