May 27, 1979
Created by nepalarchives

निर्णय नं. १२३७ – फैसला बदर

निर्णय नं. १२३७ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको दे.पु.नं. १०२ फैसला भएको मिति...

निर्णय नं. १२३७ ने.का.प. २०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् २०३५ सालको दे.पु.नं. १०२

फैसला भएको मिति : २०३६।२।१३।१ मा

पुनरावेदक : का.जि. कमलादी टुकुचा का.न.पं. वडा नं. ३१ बस्ने अष्टमान तण्डुकार

विरूद्ध

विपक्षी : ऐ.ऐ. कमलपोखरी चाटबूर्जा बस्ने देवराजेश्वरी थापा समेत

मुद्दा : फैसला बदर

(१)  मञ्जुरीनामा लिखतलाई आफ्नो हकको श्रोत भनी प्रमाण पेश गरेकोमा सो लिखतलाई सद्देकीर्तेमा सुनाएको तर निष्कर्षमा नपुगी निर्णय गरेकोबाट अदालती बन्दोबस्तको ८२ नम्बरको त्रुटि देखिने ।

(प्रकरण नं. १३)

पुनरावेदक तर्फबाट :  विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे

विपक्षी तर्फबाट :  विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छत्कुली

फैसला

          न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त भई आएको मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : स्वर्गीय भु.पू.परराष्ट्र सेक्रेटरी नरप्रतापशम्शेर थापाबाट मलाई ०१४।१०।१४।२ मा गरिदिनुभएको मञ्जूरीनामा कागज दिई मञ्जूरी लिखत भित्रका केही जग्गा र गोदाम घर धारा, चर्पी, समेत भत्काई बनाउन लागेको सम्बन्धमा विपक्ष देवराजेश्वरी थापा क्षेत्री समेतका नाउँमा निषेधाज्ञा जारी गरिपाउँ भनी चढाएको निवेदन सम्बन्धमा उहाँले पेश गरेको लिखितजवाफको नक्कल ०३२।२।१५।५ मा बा.अं.अ.बाट नक्कल प्राप्त गरी हेर्दा उक्त उजूरी बमोजिम मेरो खर्चबाट बनेको लम्बाई फिट ३९।६ चौडाई फिट १८ को मेरो घर र सो मञ्जूरी भित्रको जग्गा गोदाम, घर चर्पी समेतमा छोरा सुर्जेमान तण्डुकारलाई चन्द्र सूर्य वक्र्स कारखाना राख्न दिई मञ्जूरी लिखत बमोजिम मेरो हकभोग भइरहेकोमा विपक्षहरू परस्पर सम्बन्ध राखी मुद्दा गरी सो घर जग्गाहरूमा बहालमा बसेको र राखेकोमा बहाल नदिएकोले चलन चलाई पाउँ बहाल भराई पाउँ भन्ने विपक्षहरू वादी प्रतिवादी भई मुद्दा गरी विपक्षी सूर्यमानले घर जग्गा छाडिदिनु पर्ने विपक्षी वेदराज्य ईश्वरी थापाले चलन पाउने गरी ०३१।२।२७ मा का.जि. अ.बाट फैसला भएको छ भन्ने वेदराज्ईश्वरीले निषेधाज्ञा मुद्दामा पेश गरेको लिखितजवाफमा लेखिएकोबाट सो फैसला भएको भन्ने कुरा नक्कल प्राप्त भएको दिन ०३२।२।१५ मा थाहा पाएकोले मञ्जूरी लिखतबाट प्राप्त भएको जग्गा र त्यसमा बनेको मेरो घर समेतको हक जाने भएकोले थाहा पाएको मितिले ३५ दिनभित्रै सो फैसला बदर गरी पाउन अ.बं.८६ नं. बमोजिम यो नालिस गर्न आएको छु विपक्षीहरू परस्पर वादी प्रतिवादी भई का.जि. अ.बाट गराएको ०३१।२।२७ को मेरो पूरा हक जाने भएकोले सो फैसला बदर गरिपाउँ भन्ने समेत फिरादपत्र ।

          २.   विपक्षी वादी र सूर्जेमान एकाघर सगोलको छोरा हुन् र सूर्यमान तण्डुकार घरको मुख्य भई व्यवहार गर्ने व्यक्ति हुन् । वादीले प्रस्तुत मुद्दामा स्वर्गीय भु.पू.परराष्ट्र सचिव मेरो छोरा नरप्रतापसमशेरले ०१४ सालमा गरिदिएको मञ्जूरीनामाबाट मेरो हक लाग्ने भन्ने जिकिर लिएको सोही आधारमा रू.१०००। कूत बुझाई पाउँ भनी विपक्षले फिराद दिएको मुद्दा यसै का.जि. अ.मा छ सो मुद्दामा मैले विस्तृत उल्लेख गरी प्रतिउत्तर दिएको हुनाले सो प्रतिउत्तरपत्रलाई पनि यस प्रतिउत्तरपत्रकै प्रमुख अङ्ग मानी पाउन जिकिर गरेको छु निजको एकाघरसँगको जेठा छोराले मुद्दा गरेको कुरा विपक्षलाई उसै बखत देखि थाहा भएको र फैसला भएको कुरा पनि सोही मितिमा थाहा भएको हो । लेनदेन व्यवहारको ८ नं. मा मुख्यले गरेको व्यवहार सदर ठहर्छ भन्ने छ जहाँसम्म थाहा पाउने प्रश्न छ अन्य अवस्था प्रमाणित नभएसम्म विपक्षले उसै मितिमा थाहा पाएको ठहर्छ यो फिराद अ.बं.३९ र १८० नं. का ऐन अनुसार स्वतः खारेज हुनुपर्दछ यसको अतिरिक्त अ.बं.८६ नं. का ऐन अनुसार आफ्नो हकमा जति बदर गराउने कुरा छ । विपक्षी वादी नै ०१४ सालको मञ्जूरनामा अनुसार मेरो एकलौटी हक भन्नु हुन्न भने मुद्दा गरी हालै सूर्यमान र विपक्ष समेतको संयुक्त हक भएको भन्न नसकेको साथै अन्तिम फैसला नभई कसैको हक पनि समाप्त हुन सक्तैन विपक्षहरूको होइन मेरो छोरा नरप्रतापशमशेर थापाले त्यस्तो लिखत गरी दिएको पनि छैन । त्यस्तो हक छोडी दिएको लिखत रजिष्ट्रेशन पारित हुनुपर्ने सो समेत नभएकोले लिखतलाई प्रमाण लिन समेत नमिल्ने हुँदा विपक्षको फिराद खारेज गरिपाउँ भन्ने समेत वेदराज्ईश्वरी थापाको प्रतिवादी ।

          ३.   फिरादपत्रको प्रकरण १ मा उल्लेख भएको लिखत आमा अष्टमायाले प्राप्त गरेको लिखतमा सन्तान दरसन्तानले भोग गर्ने व्यहोरा उल्लेख भएको हुनाले अष्टमायाको जेठो छोरो म सूर्जेमानको पनि हक लाग्ने कुरा लिखत व्यहोराबाट देखिएको छ । उक्त लिखतको घर जग्गामा चन्द्र सूर्य उड वक्र्स कारखाना चलाई राख्न दिए बमोजिम राखी आएकोमा विपक्षमा लेखिएको वेदराज्ईश्वरी थापाले कबुलियत गरी लिई राखेको सो बमोजिम रूपैयाँ दिएन बुझाएन भनी मुद्दा गरी त्यस घर जग्गाबाट मलाई उठाउने गरेको उपर मैले बा.अं.अ.मा पुनरावेदन गरी राखेको छु । नरप्रतापशमशेर थापाबाट आमा अष्टमायालाई दिनुभएको लिखतको कुरा उल्लेख गरी सो लिखत बमोजिम हक नरहने कुरा आमा अष्टमायाले नै लिखत गरी दिएको भए सो लिखत कायम नरहने अवस्था छ । कानून बमोजिम इन्साफ होस् भन्ने समेत सूर्यमानको प्रतिउत्तर ।

          ४.   रजिष्ट्रेशन पास पनि नभएको लिखत कानूनले प्रमाणै नलाग्ने हुँदा जालसाजी तथा कीर्तेमा तहकिकातै हुनु नपर्ने पछि लिखत खडा भई पेश गरेको हो भन्ने समेत व्यहोराको वेदराजेश्रीको वारेश गोपालबहादुरले गरेको बयान ।

          ५.  कीर्ते जालसाजीमा निश्चित दावा नभई अनिश्चित भनाईबाट कारवाही चल्न नसक्ने कानूनको सिद्धान्त हुँदा लिखतको मान्यता कायम गरिपाउँ भन्ने समेत व्यहोरा वादी अष्टमायाको वा.रामचन्द्रले गरेको बयान ।

          ६.   बागमती अञ्चल अदालतबाट वादीलाई निजहरूको अंशियारहरूका बीच सम्पन्न भएको मिति ०२८।२।५।४ मा पास भएको अंशबण्डाको लिखतको प्रतिलिपि पेश गर्न लगाइएकोमा अंशहरूको छोडपत्रको कागज वादी अष्टमाया समेत भई गरी दिएकोमा विवादास्पद फैसला सम्बन्धी चल अचल सम्पत्तिमै अष्टमायाको भागमा परेको भन्ने नदेखिएको, रजिष्ट्रेशनको १ नं. ले वादीको भागमा परेको भन्न नमिल्ने हुँदा अ.बं.८२ नं. ले वादी अष्टमायाको नालिस गर्ने हकै नहुने भएकोले अ.बं.१८० नं. ले खारेज हुने ठहर्छ भन्ने समेत ०३३।४।२४।५ को बागमती अञ्चल अदालतको फैसला ।

          ७.  उक्त इन्साफमा चित्तबुझेन भन्नेसमेत वादीको म.क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

          ८.   यो ऐन प्रारम्भ हुनु भन्दा अगावै कुनै मोहीले जग्गावालाको स्वीकृति लिई पक्की घर बनाएको रहेछ भने सो घरबारीको जग्गा बिक्री गर्न वा अन्य कुनै प्रकारले हक छोडी दिन सक्नेछ भन्ने भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) को प्रतिबन्धात्मक वाक्यांशमा व्यवस्था भएको देखिएकोले वादीले फिरादमा लेखिए अनुसारको वादीको घर अंशियारहरूको बीच यसमा अंशबण्डा लाग्ने देखिन आयो । मिसिल संलग्न रहेका २०२८।५।४ मा रजिष्ट्रेशन पारित भएको अंशबण्डा छोडपत्रको लिखतको नक्कल हेर्दा वादीले दावी लिएको घर वादीले आफ्नो अंशमा लिई राखेको नदेखिएकोले अ.बं.८२ नं. लगाई वादीको नालेस खारेज गर्ने गरेको बागमती अञ्चल अदालतले गरेको फैसला मनासिव छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको मिति ०३४।१२।२१।२ को फैसला ।

          ९.   सो फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा वेदराजेश्वरी थापाले सूर्यमान तण्डुकार उपर बाहाल भराई चलन चलाई पाउँ भनी फिराद गरेकोमा बाहाल भराई चलन चलाई पाउने ठहरी फैसला भएको ०३२।२।१५ मा थाहा पाएकोले म्यादभित्रै फिराद गरेको छु भन्दै उक्त जग्गामा नरप्रतापशमशेर थापाले मलाई मञ्जूरनामा कागज गरिदिए बमोजिम मैले घरहरू बनाई छोरा सूर्यमानलाई कारखाना राख्न दिएकोमा निजैले बाहाल बुझाउनु पर्ने गरी फैसला भएको बदर गरिपाउँ भन्ने दावीमा नरप्रतापशमशेर थापाले अष्टमायालाई मञ्जूरनामा गरेको भनी लिखत पेश गरेकोमा अष्टमायाको भागमा परेको भन्ने नदेखिएको भन्ने बुँदा लगाई फिरादपत्र नै लाग्न नसक्ने भन्ने ठहर गरेको बागमती अञ्चल अदालतको इन्साफ सदर गरी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट फैसला गरेको देखियो ।

          १०.  वादीले नरप्रतापशमशेर थापाको मञ्जूरनामा लिखतबाट वादीको हक भएको भनी ०१४।१०।१४।२ को मञ्जूरनामा लिखतलाई प्रमाणमा पेश गरेकोमा सो लिखत तर्फ कुनै निष्कर्षमा नुपुगी अरू लिखतबाट वादीको नदेखिएको भनी निर्णय गरेको अ.बं.८२ नं. ऐनको प्रतिकूल हुने गरी म.क्षे.अ.बाट भएको निर्णय त्रुटिपूर्ण देखिन्छ ।

          ११.  यस्तो त्रुटि सार्वजनिकमहत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानूनी त्रुटि हुने हुँदा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा ५ को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३५।५।२ को आदेश ।

          १२.  तारिखमा रहेका पुनरावेदक वादी अष्टमाया तण्डुकारको वारेस रामचन्द्र विष्ट र विपक्षी प्रतिवादी वेदराजेश्वरी थापाको वारेस गोपालबहादुर विपक्षी प्रतिवादी सूर्यमान तण्डुकारलाई रोहवरमा राखी वादी पुनरावेदकतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेको र विपक्षी प्रतिवादी वेदराजेश्वरी तर्फका विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छत्कुलीको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ कानूनसंगत छ छैन सो कुराको निर्णय दिनु परेको छ ।

          १३.  यसमा पुनरावेदक वादी अष्टमाया तण्डुकारले नरप्रतापशमशेर थापाको मञ्जूरनामा लिखतबाट हक भएको मिति ०१४।१०।१४।२ को मञ्जूरनामा लिखतलाई आफ्नो हकको स्रोत भनी प्रमाण पेश गरेकोमा सो लिखतलाई सद्देकीर्तेमा सुनाएको तर निष्कर्षमा नपुगी निर्णय गरेकोबाट मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा अदालती बन्दोबस्तको ८२ नम्बरको त्रुटि देखिन्छ । तसर्थ म.क्षेत्रीय अदालतको फैसला बदर गरी दिएको छ । अब वादी पुनरावेदक अष्टमायाले पेश गरेको लिखत सम्बन्धमा समेत कानून बमोजिम गरी गराई निर्णय गर्नु भनी तारिखमा रहेका पक्ष विपक्षहरूलाई मध्यमाञ्चल क्षेत्रीय अदालतमा जानु भनी तारिख तोकी पठाई तपसीलबमोजिम गरी नियम बमोजिम मिसिल बुझाई दिनु ।

 

तपसील

सर्वोच्च अदालतमा वादी पुनरावेदकले राखेको कोर्टफी रू.१।५० भरी पाउँ भनी वादीको दरखास्त पर्न आएमा प्रतिवादीको जायजात देखाई कानूनको म्यादभित्र भराई दिनु भनी का.जि. अ.त.मा लगत दिनु………………… १

 

उक्त रायमा म सहमत छु ।

 

न्या. त्रैलोक्यराज अर्याल

 

इति सम्वत् २०३६ साल जेष्ठ १३ गते रोज १ शुभम् ।