May 9, 1979
Created by nepalarchives

निर्णय नं. १२३६ – अपुताली जग्गा दर्ता

निर्णय नं. १२३६   ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३३ सालको दे.पु.नं. १०७ फैसला भएको मिति...

निर्णय नं. १२३६   ने.का.प. २०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् २०३३ सालको दे.पु.नं. १०७

फैसला भएको मिति : २०३६।१।२६ मा

पुनरावेदक : देउखुरी जिल्ला गङ्गगरी गाउँ पञ्चायत वडा नं. ८ बस्ने धनकुमारी बस्नेत

विरूद्ध

विपक्षी : दाङ्ग जिल्ला फूलबारी गा.पं.वार्ड नं. ३ मजघटुवा बस्ने जीतबहादुर बस्नेत

मुद्दा : अपुताली जग्गा दर्ता

(१) तत्कालिन अपुतालीको ३ नं. मा छोरीज्वाइँले स्याहार सम्भार गरी पालेको रहेछ भने अपुताली अचलमा आधा पाउने र हक पुग्ने हकवालामा लोग्ने स्वास्नी छोरा वा छोरीको छोरा नभएमा सवै अपुतालीको छोरीज्वाइँले खान पाउने मिल्ने भएको, हकवालाले पाउँदैन भन्ने देखिन्छ, लोग्ने स्वास्नी छोरा वा छोरीका छोरा कोही नभएको नदेखिएको भिन्न भएका हकवालाको हकमा उपयुक्त ऐनले पाउने नदेखिएकोले संग बसी स्याहार सम्भार गर्ने छोरी वादी देखिन आएकोले वादी दावीको जग्गामा अपुतालीको ३ नं. ले छोरीको एकलौटी हक पुग्ने देखिन आउने ।

 (प्रकरण नं. १३)

पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ

विपक्षी तर्फबाट :  विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल

फैसला

          न्या. त्रैलोक्यराज अर्याल : सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट मिति ०३३।५।४।६ मा भएको इन्साफमा चित्त बुझेन भनी धनकुमारी बस्नेतले सर्वोच्च अदालतमा चढाएको निवेदनमा पुनरावेदन गर्न अनुमति पाई यस बेञ्च समक्ष पेश हुन आएको छ ।

          २.  मुद्दाको तथ्य यस प्रकार छ : हाम्रा पिता चित्तलाल बस्नेतको दे.मोठुवा जग्गा बिगाहा ९८ को जिम्मेवारी दर्ता भएको निजका छोरा नभई हामी २ बहिनी छोरी मात्र भएको १० सालमा पिता परलोक हुँदा आमाले अर्को लोग्ने राखी बाबुकै घरमा बस्नु भएको एकाघर सगोलका छोरी हामी भई अपुताली जग्गा हामी छोरीको नाउँमा सारिपाउँ भनी ०२१।९।४ मा मालमा दरखास्त परेको जितलाल मेरो भाइ हुँदा छोरीहरूको नाउँमा दर्ता हुन नसक्ने भन्ने जितबहादुरको दरखास्त परेकोमा जग्गा हामी छोरीले पाउने गरी मालबाट फैसला भएको सर्वोच्च अदालतमा पुग्दा हक बेहकमा अदालतमा जानु भनी सुनाई दिनुपर्ने सो नगरी हक बेहक गरेको फैसला बदर ठहर्छ भनी फैसला भएकोले ३५ दिनभित्र अपुताली जग्गा दर्ता गराउन अदालतमा आई माग गरेका छौं, पिताका एकाघर सगोलमा बसी सेवा चाकरी गरेकोले हामीहरूको हक पुग्ने भई हामी २ बहिनीका नाउँमा आधिआधि जग्गा दर्ता गरिपाउँ भन्ने समेतको ०३०।१२।८।४ को धनकुमारी मेघकुमारीको फिराद ।

          ३.  बाबु तिलकरामका छोरा म र विपक्षीका दाजु जितलाल बाबुकै पालादेखि एकाघरमा बसेका बाबु परलोक भएपछि बाबुका आर्जनको गोठुवाको जिमिदारी तिलकरामको नामबाट ९४ सालमा जितलालका नाउँमा बहाली पूर्जी भएको पितापुर्खाका पालाको अचल सम्पत्ति म सगोलको हकवाला भएसम्म विवाह भइसकेकी छोरी वादीले नपाउने हुँदा दावी झुठ्ठा हो भन्ने समेत ०३१।२।३ को जितबहादुरको प्रतिवादी ।

          ४.  वादीहरू विवाह भइसकेको भन्ने भए पनि जितलालका एकाघरमा बसेकी भन्ने हुँदा अपुतालीका ३ नं. ले बाबुसँग एकासगोलमा बसी आएका छोरीहरूले वादी दावीको जग्गा पाउने ठहर्छ भन्ने दा.दे.जि. अ.को ०३१।६।१८।६ को फैसला ।

          ५.  अपुतालीमा मेरो हक छुटाई दा.दे.जि. अ.ले गरेको इन्साफमा चित्त बुझेन भन्ने समेत जितबहादुरको ०३१।९।१८ को पुनरावेदन ।

          ६.  वादीहरूको विवाह भइसकेको भन्ने देखिएको र प्रतिवादी ३ पुस्ता सम्मका हकवाला होइन भन्न सकेको समेत नहुँदा हामी वादी र आधी पुनरावेदक जीतबहादुरका नाउँमा दर्ता हुने ठहर्छ भन्ने ०३२।३।३१ को राप्ती अञ्चल अदालतको फैसला ।

          ७.  हकदार कायम गर्ने कुरा फौज्दारी र अपुताली जग्गा तर्फ देवानी भई यसै मिसिलबाट प्रतिवादी हकदार कायमै गरी जग्गा पाउने गरी राप्ती अञ्चल अदालतले गरेको फैसला कानूनी त्रुटिपूर्ण हुँदा ईन्साफ गरिदिनु भन्ने हुकुमप्रमाङ्गी पाउँ भन्ने धनकुमारीको निवेदन ।

          ८.  राप्ती अञ्चल अदालतबाट फैसला भएको यस मुद्दाको मिसिल झिकी इन्साफ जाँची कानून बमोजिम गरी छिनिदिनु निवेदिकालाई जनाउ दिनु भनी त्यहाँ पठाई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भन्ने ०३२।१०।२१।४ को हुकुम प्रमाङ्गी ।

          ९.  बाबु जीतबहादुरको एकाघर संगको हामी छोरी भएकोले निज बाबुका नाउँको जग्गा हामीले पाउने हुँदा हाम्रा नाउँमा दर्ता गरिपाउँ भन्ने वादी दावी भएको हकमा प्रतिवादी जितबहादुर २००९ साल भन्दा धेरै अगाडि हाम्रा पिता जितलालसँग भिन्न भई बसी आएपछि सो जग्गा हाम्रा बाबुले आर्जेको भन्ने माता पिता र साक्षीबाट बुझिएको भिन्न भइसकेपछि दाङ तुहिमन घटवाको जग्गा बिगाहा ३१८८ रू.१००१ मा ०९।९।४।५ मा बाबु जितलालबाट जितबहादुरले पास गरी लिनु भएको छ भनी निवेदिका वादीले आफ्नो फिरादमा लेखाएको देखियो प्रतिवादी जितबहादुर जितलालको ३ पुस्ता भित्रको हकदार होइनन् भन्ने नभएको र वादीले नै प्रमाणमा लेखाई पेश गरेको ०९।९।४।५ मा पास गरेको राजीनामाबाट ३ पुस्ता भित्रका हकदार प्रतिवादी देखिन आएको र ३ पुस्ता सम्मका हकवाला भए अचलमा आधी ३ पुस्ता सम्मको हकवालाले र आधी विवाह भएको छोरीले पाउने अपुतालीको २।३ नं. मा व्यवस्था भएको हुँदा वादीको विवाह भइसकेको भन्ने कुरा फिराद लेखबाट देखिन आएकोलेसमेत अपुताली जग्गा सबै हामीले पाउँ भन्ने वादी दावी मनासिव देखिएन । जितलालको अपुतालीमा २ नं. का ऐनबमोजिम वादीहरूले र आधी प्रतिवादी जितबहादुरले पाउने ठहराइएको राप्ती अं.अदालतको इन्साफ मनासिव छ भन्ने समेत सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०३३।५।४।६ को फैसला ।

          १०.  उक्त इन्साफमा चित्त बुझेन मुलुकी ऐन अपुतालीको २ तथा ३ नं. को प्रत्यक्ष कानूनी त्रुटि भयो, पुनरावेदनको अनुमति पाउँ भनी धनकुमारी बस्नेतले यस अदालतमा चढाएको निवेदनमा मुलुकी ऐन अपुतालीको साविक महलको ३ नम्बरमा व्यवस्था भए अनुसार निवेदिका बाबु आमाको साथमा रही स्याहार सम्भार गरी बसेको भए ३ पुस्ताका अन्य हकदारले अपुताली नपाउनेमा आधा पाउने गरेकाले सो ऐनको त्रुटि हुन गएको छ हाल प्रचलित अपुतालीको २ नं. ले मर्नेका लोग्ने स्वास्नी, छोरा वा छोराका छोरा भएसम्म छोरीले अपुताली पाउँदैन त्यस्ता कोही नभए छोरीले अपुताली पाउँछ भन्ने व्यवस्था गरेको हुँदा सो नयाँ ऐनले निवेदिकाको मात्र एकलौटी हक सिर्जना गरेको त कंथा छोरीले अंश पाउने विषयमा साविक ऐनले छोरा सरहको आधा पाउने र हाल प्रचलित नयाँ ऐनले पूरा अंश पाउने भएकोमा मध्यमाञ्चल क्षेत्रीय अदालतले नयाँ ऐन अध्यादेशमा आएको प्रयोग गरी पूरा अंश छोरीले पाउने भनी २०३२।११।१२ मा फैसला गरेको प्रतिलिपि निवेदनसाथ पेश भएको हुँदा ऐनको प्रयोगमा मध्यमाञ्चल क्षेत्रीय अदालत र सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको मतैक्य भएको देखिँदैन । २०१० सालमा बाबु मरेको ०१३ सालमा आमा पोइल गई अपुतालीको २५ नम्बरको म्यादमा हक गराई लिन नसकेकोमा हाल अपुताली बाँडफाँड गर्दा सो ऐनको हदम्याद सम्बन्धी त्रुटि हुनाको साथै सार्वजनिक प्रश्न पनि हुन गएको समेत देखिएकोले न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को देहाय खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति दिएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चबाट २०३३।१०।३।१ मा आदेश भएको रहेछ ।

          ११.  सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको २०३३।५।४।६ को निर्णय मिलेको छ वा छैन त्यसको निर्णय दिनुपर्ने हुन आएको छ ।

          १२.  यसमा २०२६।१।२४ गतेको पेशी तारिखमा पेश हुँदा पुनरावेदक तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विपक्षी तर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउने भनी तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ विचार गर्दा जितबहादुरको अपुतालीमा अपुतालीका २ नं. बमोजिम आधी वादीहरूले र आधी प्रतिवादी जितबहादुरले पाउने ठहराएको राप्ती अञ्चल अदालतको इन्साफ मनासिव ठहराई सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालत सिङ्गलबेञ्चबाट ०३३।५।४ मा भएको निर्णय मनासिव बेमनासिव के रहेछ भनी निर्णय गर्नुपर्ने हुन आएको छ ।

          १३.  बाबु मर्दा आमा जीवितै भएको र आमा पोइल गएपछि अपुतालीमा दावी पर्न आएको छ, छोरा नभएको बाबु आमासँग बसी छोरीले हेरबिचार स्याहार सम्भार गरेको भन्ने मिसिलबाट देखिन आउँछ । तत्कालिन अपुतालीको ३ नं. मा छोरीज्वाइँले स्याहार सम्भार गरी पालेको रहेछ भने अपुताली अचलमा आधा पाउने र हक पुग्ने हकवालामा लोग्ने स्वास्नी छोरा वा छोरीको छोरा नभएमा सबै अपुतालीको छोरीज्वाँईले खान पाउने मिल्ने भएको, हकवालाले पाउँदैन भन्ने देखिन्छ, लोग्ने स्वास्नी छोरा वा छोरीका छोरा कोही नभएको नदेखिएको, भिन्न भएका हकवालाको हकमा उपर्युक्त ऐनले पाउने नदेखिएकोले संग बसी स्याहार सम्भार गर्ने छोरी वादी देखिन आएकोले वादी दावीको जग्गामा अपुतालीका ३ नं. ले छोरीको एकलौटी हक पुग्ने देखिन आउँछ आधी मात्र छोरीको हक पुग्ने गरी राप्ती अञ्चल अदालतको सदर गरेको सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको देखिएन अरू तपसील बमोजिम गर्नु ।

 

तपसील

माथी इन्साफ खण्डमा लेखिए बमोजिम अपुतालीको जग्गा वादीको एकलौटी ठहर भई प्रतिवादीले आधा पाउने ठहर गरेको राप्ती अञ्चल अदालतको र सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको लगत मिलेन सो लगत काटी दिनु भनी दा.दे.जि. अ.मा पूर्जी गर्न का.जि. अ.त मा लगत दिनु ……………………१

वादीहरूले फिराद दर्ता गर्दा राखेको कोर्टफी र अन्य दस्तूर समेत जम्मा रू.१७०।४५ र वादीले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रू.१३।५० समेत जम्मा रू.१८३।९५ प्रतिवादीको जायजात देखाई कानूनको म्यादभित्र वादीको दर्खास्त परे वादीलाई भराइदिनु भनी दा.दे.जि. अ.मा पुर्जी गर्न का.जि. अ.त.मा लगत दिनु …………………………१

०३२।३।३१।३ को राप्ती अं.अ.को फैसलालले शुरू जिल्ला अदालतले झुठ्ठा बकेमा देहायका साक्षीहरूलाई गर्ने गरेको जरिवाना नलाग्ने भनी लगतकट्टा गरेको मिलेन सो लगत कायमै राख्न दा.दे.जि. अ.मा पुर्जी गर्न का.जि. अ.त.मा लगत दिनु………….१

गोपेन्द्र सिं ठकुरी के.रू.१, गुरूप्रसाद गौतमको रू.१

नियमानुसार गरी मिसिल दा.दे.जि. अ.मा क्षेत्रीय अदालत मार्फत पठाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. विश्वनाथ उपाध्याय

 

इति सम्वत् २०३६ साल बैशाख २६ गते रोज…शुभम् ।