निर्णय नं. १२३५ – बाली समेत
निर्णय नं. १२३५ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् ०३४ सालको दे.पु.नम्बर १३४ फैसला भएको मिति...
निर्णय नं. १२३५ ने.का.प. २०३६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री बासुदेव शर्मा
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
सम्वत् ०३४ सालको दे.पु.नम्बर १३४
फैसला भएको मिति : २०३५।२।४।६ मा
वादी : ल.पु.जि. न.पं. वडा नं. १६ बस्ने तुलसीमाया रञ्जितकार समेत
विरूद्ध
विपक्षी : ल.पु.जि. न.पं.वार्ड नं. १२ टेंगल टोल बस्ने ईन्द्रमान रञ्जितकार समेत
मुद्दा : बाली समेत
(१) दानदातव्यको ५ नं. बमोजिम २१ वर्षभित्र आफ्नो हक कायम नगराएको हुनाले अपुतालीको ऐन बमोजिम वादी दावीको जग्गा वादीहरूको हक हुने देखिएकोले २ सालको दानपत्र बमोजिमको गुठी कार्य वादीहरूले नै चलाउनु पर्ने गरी वादीले बाली बिगो भरी पाउने ठहर्ने ।
(प्रकरण नं. १३)
वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री कुलराज
फैसला
न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ उपर सर्वोच्च अदालतमा निवेदन दिएकोमा पुनरावेदनको अनुमित प्राप्त भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छन् :
२. २०२९ सालको कूत धान तिर्थमान रञ्जितकारलाई बुझाइसकेकोले दोहोरो बाली तिर्न सक्तिन भनी भनेकोले प्रचलित बजारमा चल्ने भाउ रू.७०। का दरले हुने रू.१७७।६० प्र.सिद्धिलालबाट भराई पाउँ भन्ने समेत वादी ।
३. वादीको जग्गामा मोही भई कमाई आएकोहुँ श्राद्ध गुठीको जग्गा हुनाले ल.पु.टेंगल टोल बस्ने थकाली ईन्द्रमानलाई २०२९ सालको बाली बुझाई भरपाइसमेत लिएको छु भन्नेसमेत सिद्धीलालको प्रतिउत्तर ।
४. म समेत ५ जना गुठियारलाई आलोपालोसँग भोज गर्ने, गुठी चलाउने जग्गा हुनाले हामीले माग गरेको हो । वादी दावीको जग्गा श्राद्ध गुठीको हो भन्ने समेत ईन्द्रमान रञ्जितकारको बयान ।
५. म्यादभित्र दाखिला दर्ता नगराएपछि त्यस्तो लिखतको मान्यता हुँदैन । अपुतालीको ऐन बमोजिम हाम्रो हक हुन आएकोले उक्त जग्गा हाम्रो कायम गरिपाउँ भन्ने समेत वादीको बयान ।
६. हक नपुग्ने गुठी जग्गाको बाली भराई पाउँ भन्ने वादी दावी पुग्न सक्दैन खारेज हुने ठहर्छ भन्ने समेत शुरू ल.पु.जि. अ.को ०३०।१०।१८।५ को फैसला ।
७. उक्त ल.पु.जि. अ.को फैसला उपर इन्साफमा चित्त बुझेन भन्ने समेत वादीको पुनरावेदन ।
८. दानबकसको ५ नं. ले लिखत गरिदिने व्यक्ति मरिसकेपछि उक्त ऐनको म्यादभित्र भोग गरेको सबूद प्रतिवादीहरूबाट पेश गरेको नदेखिँदा नाप जाँच ऐन, ०१६ र संशोधन ऐन, ०२४ को म्याद समेत भुक्तान भइसकेकोले प्रतिवादीहरूको जग्गामा स्वामित्व ठहराई गरेको शुरूको इन्साफ गल्ती र वादी दावी बमोजिम प्र.बाट बालीको बिगो भरी पाउने ठहराई भएको बागमती अञ्चल अदालतको २०३२।१।२६।६ को फैसला ।
९. उक्त बा.अं.अदालतको उक्त फैसला उपर कानूनी त्रुटिमा पुनरावेदन दिने अनुमति पाउँ भन्ने समेत प्र.सिद्धिलाल समेतको निवेदनमा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति दिइएको रहेछ ।
१०. वादी दावीको जग्गा श्राद्ध गुठीको हुँदा हामीले बाली लिएका हौं भन्ने समेत ईन्द्रमानको बयान भएको अपुतालीबाट सो वादी दावीको जग्गा वादीहरूलाई प्राप्त भएको भए तत्काल प्रचलित ऐन अनुसार मानकृष्ण मरेपछि मरेको मितिले ३५ दिनभित्र वादीहरूले दर्ता गराई दानबकसको ५ नं. अनुसार २ वर्ष भित्र तिरो भोगचलन गरेको पनि देखिन आएन । प्र.हरूको दर्ता उपर दर्ता बदर गराई पाउँ भन्ने उजूर परेको पनि नदेखिएको र ०२२ सालमा रैकरमा परिणत भएको दर्तामा गुठी जनाई दर्ता भएको देखिएकोले गुठीको कागज निष्कृय भयो भन्न मिलेन । वादी दावी बमोजिमको बिगो प्र.सिद्धिलालबाट भराउने र जग्गाको स्वामित्व वादीको ठहराई अञ्चल अदालतबाट गरेको फैसला गल्ती र शुरू ल.पु.जि. अ.को फैसलामा लेखिएका बुँदा प्रमाण समेतबाट इन्साफ शुरू ल.पु.जि. अ.को मनासिव ठहर्छ भन्नेसमेत म.क्षेत्रीय अदालतको ०३४।५।१।४ को फैसला ।
११. सो फैसला उपर पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनमा यसमा “विवादास्पद जग्गा पेटबोली बुझिएमा ईन्द्रमान समेतका गुठियारहरूलाई वादीका बाबु मानकृष्णले ०२ सालमा रजिष्ट्रेशन पास गरी लिखत गरी दिएको र मानकृष्ण ०१६ सालमा निधन भएको भन्ने मिसलबाट देखिन्छ । सो जग्गा मर्ने मानकृष्णका नाउँमा दर्ता रही रैकरमा परिणत र तिरो भरो भएको भनी रसिदहरू वादी तर्फबाट पेश हुन आएको छ । सो जग्गा २००२ सालका लिखत बमोजिम हक भएको भए दानबकसका ५ नं. अनुसार भोगचलन गरेको हुनुपर्ने सो बमोजिम भोगचलन तिरो भरोको सबूद निज पेटबोलीबाट बुझिएको ईन्द्रमानबाट पेश हुन नसकेको सो जग्गा निज ईन्द्रमानले ०२९।१०।१६ का निर्णय अनुसार मानकृष्णका नाउँमा नाउँसारी दर्ता गराएकोमा सो दर्ता बदर गरिपाउँ भनी निवेदिकाहरूको उजूर परी राखेको देखिन्छ । मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चले विवादास्पद जग्गाको स्वामित्व निज ईन्द्रमानको कायम हुने गरी गरेको निर्णयमा प्रत्यक्षतः कानूनी त्रुटि हुन गएको देखिन्छ । त्यस्तो त्रुटि सार्वजनिक महत्वको विषय पनि देखिन आएको हुनाले न्यायप्रशासन सुधार ऐन, ०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार प्रस्तुत निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश ।
१२. तारिखमा रहेका वादी तुलसीमाया रञ्जितकारसमेतको वा.रामकृष्ण रञ्जितकार र विपक्षी ईन्द्रमान रञ्जितकारको मु.स.गर्ने तिर्थमान रञ्जितकार र विपक्षी सिद्धिलाल महर्जनको वा.जगत गोविन्दलाई रोहवरमा राखी पुनरावेदक वादी समेत तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवालीको र विपक्षी तिर्थमान रञ्जितकारतर्फका विद्वान अधिवक्ता श्री कुलराजको बहससमेत सुनी निर्णयतर्फ विचार गर्दा म.क्षे.अ.ले गरेको इन्साफ कानूनसंगत छ छैन सो कुराको निर्णय दिनु परेको छ ।
१३. यसमा २००२।९।२३।१ मा भएका दानपत्रबाट ईन्द्रमान रञ्जितकार समेतले गुठी चलाई खान पाउने गरी लिखतपास भएको देखिएकोमा दानपत्र गरिदिने मानकृष्णको ०१६ सालमा देहान्तभएको देखिन्छ । ०१६ सालपछि दानपत्रबमोजिम गुठियारले जग्गा परिणत गराएकोसमेत नदेखिएको र दान दातव्यको ५ नं. बमोजिम २ वर्षभित्र आफ्नो हककायम नगराएको हुनाले अपुतालीका ऐनबमोजिम वादी दावीको जग्गा वादीहरूको हक हुने देखिएकोले ०२ सालको दानपत्रबमोजिमको गुठीकार्य वादी हरूले नै चलाउनु पर्ने गरी वादीले बाली बिगो भरिपाउने ठहर्छ म. क्षे.अ.को ०३४।५।१।४ को फैसला मिलेन । तपसील बमोजिम गरी नियम बमोजिम मिसिल बुझाई दिनु ।
तपसील
माथी इन्साफ खण्डमा लेखिए बमोजिम मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ नमिलेको हुँदा बाली बिगो रू.१९७।६० र वादीहरूले फिराद गर्दा राखेको कोर्टफी रू.११७।३८ र अञ्चल अदालतमा वादीहरूले पुनरावेदन गर्दा राखेको कोर्टफी रू.१७।३२ समेत वादीहरूले भराई पाउँ भनी विपक्षी प्रतिवादीहरूको जालसाज देखाई कानून म्याद ३ वर्ष भित्र पुनरावेदक वादीहरूको दरखास्त पर्न आए बाली बिगोतर्फ अढाई दस्तूर लिई वादीहरूलाई बराबरका दरले भराइदिनु भनी ल.पु.जि. अ.मा लेखी पठाउन का.जि. अ.त.मा लगत दिनु………..१
स.अदालतमा वादीहरूले पुनरावेदन गर्दा राखेको कोर्टफी रू.१७।६१ समेत भरी पाउँ भनी विपक्षी प्रतिवादीहरूको जायजात देखाई कानूनका म्याद ३ वर्ष भित्र पुनरावेदक वादीहरूको दरखास्त पर्न आए वादीहरूलाई बराबरका दरले भराई दिनु भनी का.जि. अ.मा लगत दिनु……..२
म.क्षे.अ.ले वादीलाई भराउने गरेको कोर्टफी रू.१७।१६ समेतको लगत कायम राख्नपरेन व्यहोराजनाई लगत कट्टागर्नु ऐ.ऐ………………३
उक्त रायमा म सहमत छु ।
न्या. त्रैलोक्यराज अर्याल
इति सम्वत् २०३६ साल ज्येष्ठ ४ गते रोज ६ शुभम् ।