निर्णय नं. १२२९ – उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय नं. १२२९ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको रि.नं. १२१४ आदेश भएको मिति...
निर्णय नं. १२२९ ने.का.प. २०३६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३६ सालको रि.नं. १२१४
आदेश भएको मिति : ०३५।१२।१२ मा
निवेदक : जिल्ला रौतहट ब्रम्हापुरी पञ्चायत वार्ड नं. १ मा घर भई हाल का.जि. गैरीधारा बस्ने किशोरीप्रसाद बर्मा
विरूद्ध
विपक्षी : कैलाली भन्सार कार्यालय धनगढीको निमित्त प्रमुख भन्सार अधिकृत श्री राजबहादुर गुरूङ समेत
विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
(१) नोकरीबाट राजीनामा गरी अवकाश पाएपछि निजामती सेवा नियमावली, २०२१ अनुसार पाउँने सुविधाहरू निवेदकले उपभोग गरिसकेको भएपछि निवेदकको हकमा कुनै अघात परेको भन्न सकिने अवस्था नहुने ।
(प्रकरण नं. ११)
आदेश
न्या. बब्बरप्रसाद सिंह : प्रस्तुत रिटनिवेदन नेपालको संविधानको धारा ७१ अन्तर्गत मिति ०३५।१।१९ मा दर्ता भएकोरहेछ ।
२. संक्षिप्त तथ्य यस प्रकार छ : तपाईंले घर व्यवहारको कामले श्री ५ को सरकारको सेवा गर्न असमर्थता प्रकट गर्दै मिति ०३४।१२।४ देखि आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत गर्ने गरी मिति ०३४।१२।४ मा निर्णय भएको व्यहोरा सूचित गरिन्छ भनी श्री ५ को सरकार अर्थ मन्त्रालय भन्सार विभाग कैलाली भन्सार कार्यालयबाट निवेदक अ.ख.श्री किशोरप्रसाद बर्मालाई लेखेको मिति ०३४।१२।४ को पत्र रहेछ ।
३. रिट निवेदन जिकिर यस प्रकार छ : बधवा छोटी भन्सारका रमाना पूर्जि अनुसार कैलाली भन्सार कार्यालयमा हाजिर हुन जाँदा ०३४।१२।४ का दिन उपस्थित भई पूर्जी दर्ता गराई निमित्त प्रमुख भन्सार अधिकृतज्यूले हाजिर नगराई मेरो इच्छा विरूद्ध राजीनामा लेखाई लिनु भयो । निमित्त प्रमुख भन्सार अधिकृतज्यूलाई राजीनामा स्वीकृत गर्ने पदबाट हटाउने अधिकार समेत नभएकोमा राजीनामा स्वीकृत गरी पदबाट हटाएको गैरकानूनी काम कारवाई स्पष्ट छ । निवेदक मुखिया पदमा स्थायी पदाधिकार कायम रही खरीदारमा अस्थायी भई रहेको अख्त्यारवालामा विभागीय प्रमुख रहेको नि.से.नि.२०२१ को नियम २(१)(ख) बाट स्पष्ट छ । विभागीय प्रमुख भन्नाले अनुसूची १(क) मा तोकिएको भन्सार विभागका निर्देशक वा महानिर्देशकलाई जनाउँछ । निमित्त प्रमुख भन्सार अधिकृतज्यूलाई राजीनामा स्वीकृत गर्ने अधिकार कानूनले दिएको नहुँदा अ.बं.३५ नं. ले बदर हुने स्पष्ट छ । निवेदकको हक अधिकार समेतमा गैरकानूनी आघात पुर्याउनु भएकोले उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश पूर्जी जारी गरी ०३४।१२।४ को निर्णय तथा राजीनामामा स्वीकृत सम्बन्धी आदेश सूचना बदर गरी हक प्रचलन गरिपाउँ भन्ने समेत निवेदन जिकिर रहेछ ।
४. विपक्षीहरूसँग लिखितजवाफ मागी आएपछि पेश गर्नु भन्ने समेत सर्वोच्च अ. डिभिजन बेञ्चको ०३५।१।२२ को आदेश ।
५. कानूनले गरिएको कारवाईको सूचना यस कार्यालयले प्राप्त हुनासाथै अभिलेखमा जनाइएको देखिएकोले निजामती किताबखानाको नाउँमा दिनुभएको रिट निवेदन खारेज हुनुपर्ने भन्ने समेत ०३५।३।२९ को निजामती किताबखानाको लिखितजवाफ ।
६. विपक्षीले आफ्नै हस्ताले लेखी दिएको राजीनामा स्वीकृत गरिएको हो राजीनामा स्वीकृत गरेकोलाई सजायको संज्ञा दिन मिल्दैन राजीनामा स्वीकृत गर्ने कुरा न्यायिक वा अर्धन्यायिक निर्णय पनि होइन निमित्त भन्सार प्रमुख अधिकृतले विपक्षीको राजीनामा स्वीकृत गरेको नि.से.नि.को परिच्छेद ८ को दफा ५ र कानून व्याख्या ऐन, २०१० को दफा १९ बमोजिम कानूनी भएको । निमित्तले विपक्षीलाई अस्थायी खरीदारमा प्रमोशन दिई काम लगाई तलब समेत खाएको कानूनी हुने र माग बमोजिम राजीनामा स्वीकृत दिँदा गैरकानूनी भन्न न्यायसंगत नभएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत निमित्त प्रमुख भन्सार अधिकृत कैलाली भन्सार कार्यालयको लिखितजवाफ ।
७. निवेदकतर्फका विद्वान अधिवक्ता श्री कृष्णकुमार बर्माले राजपत्र अनंकित कर्मचारीको सम्बन्धमा अख्तियारवालामा विभागीय प्रमुख रहेको नि.से.नि., २०२१ को परिच्छेद ११ को नियम ११.१६ ले नियुक्ती गर्ने अधिकारीको स्वीकृति बेगर नोकरी छाड्न नहुने व्यवस्था भएकोमा निमित्त प्रमुख भन्सार अधिकृतलाई राजीनामा स्वीकृत गर्ने अधिकारै नभएकोले सो राजीनामा स्वीकृत गरेको अनधिकृत हुँदा बदर हुनुपर्ने भन्ने समेत र विपक्षी तर्फबाट बहस गर्न खटिनु भएका विद्वान सरकारी अधिवक्ता श्री भैरबप्रसाद लम्सालले निवेदकले आफ्नो पदको राजीनामा पेश गरी सकेपछि भएको निर्णयबाट निवेदकको हक हनन् भएको भन्न मिल्दैन रिट निवेदन खारेज हुनुपर्ने भन्नेसमेत बहस गर्नुभयो ।
८. प्रस्तुत विषयमा निवेदकका माग अनुसारको आदेश जारी हुने हो होइन सो कुराको निर्णय दिनु परेको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा सरकारी अधिवक्ताले बेञ्च समक्ष देखाएको मिसिलबाट निवेदक किसोरीप्रसाद बर्माले आफ्नो घर परिस्थितिको कारण देखाई आफ्नो पदबाट ०३४।१२।४ मा राजीनामा दिएकोमा टिप्पणी उठी तहतह हुँदै आखिर निमित्त प्रमुख भन्सार अधिकृतबाट ०३४।१२।४ मा स्वीकृत भएको देखिन आएको छ ।
१०. त्यस प्रकार राजीनामा स्वीकृत भएपछि निवेदकले श्री ५ को सरकारको सेवा गरे बापत नियमानुसार पाउने उपदानको रकम गौर भन्सार कार्यालय मार्फत पाउने गरी आवश्यक कारवाई गरी पाउन अनुरोध गर्दछु भनी ०३४।१२।४ मा निवेदन दिएको र नियमानुसार पाउने संचित घर बिदा तथा विरामी विदाको तलब समेत दशैं पेश्की कटाई बाँकी पाउनु पर्ने रकम यसै कार्यालयका ब.रामबहादुर खडायतलाई दिनु भएमा मलाई मञ्जूर छ भनी निवेदकले मिति ०३४।१२।४ मा इच्छापत्र कागज गरी ब.रामबहादुरलाई दिएको र सो इच्छापत्र दाखिल गरी ०३४ साल चैत्रको दिन ३ को त.भ.र घ.वि.विरामी विदा बापतको तलब भत्ता भुक्तानी निज रामबहादुरले बुझी लिएको सो मिसिल साथ रहेको गोश्वारा भौचर नक्कलबाट देखिन आयो ।
११. यस प्रकार कर्मचारीले नोकरीबाट राजीनामा गरी अवकास भएपछि निजामती सेवा नियमावली, २०२१ अनुसार पाउने सुविधाहरू निवेदकले आफ्नो पद राजीनामा स्वीकृत भएको कुरालाई मानी सो नियमानुसारको सुविधा उपभोग गरिसकेको भएपछि निवेदकको हकमा कुनै आघात परेको भन्न सकिने अवस्था नहुँदा निवेदकका माग अनुसारको आदेश जारी गर्न मिलेन प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । नियम बमोजिम गरी फाइल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. धनेन्द्रबहादुर सिंह
इति सम्वत् २०३५ साल चैत्र १२ गते रोज १ शुभम् ।