निर्णय नं. १२०२ – लिखतबदर
निर्णय नं. १२०२ ने.का.प. २०३५ फुल बेञ्च माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्बत २०३४ सालको...
निर्णय नं. १२०२ ने.का.प. २०३५
फुल बेञ्च
माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्बत २०३४ सालको दे.फु.नं. १६
फैसला भएको मिति : २०३५।१०।१२।६ मा
निवेदक : जि. रुपन्देही वुटौल खस्यौली बस्ने हरिप्रसाद शेरचन
विरुद्ध
विपक्षी : ऐ.ऐ. बस्ने लक्ष्मीप्रसाद शेरचन
मुद्दा : लिखतबदर
(१) लिलाम गर्ने कार्य सम्पन्न भई तामेलिमा राख्ने आदेशसमेत भइसकेपछि अ.बं.१७ नं. अन्तर्गत परेको निवेदनबाट हेरी कारवाही गर्न नमिल्ने ।
(प्रकरण नं. १७)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली
उल्लिखित मुद्दा : निवेदक भू.पू.राज्यमन्त्री नरबहादुर गुरुङ विरुद्ध श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालय भएको फौ.पु.नं. १९ को सरकारी हानीनोक्सानी मुद्दा निर्णय मिति ०२५।३।८।६ मा ।
फैसला
न्या. सुरेन्द्रप्रसाद सिंह : प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्याइपाउँ भनी निवेदक वादी हरिप्रसाद शेरचनले श्री ५ महाराजाधिराजका हजुरमा चढाएको विन्तिपत्रमा यसमा व्यहोरा साँचो भए सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३३।१२।४ मा छिनिएको लिलाम बदर मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी कानूनबमोजिम गरी छिनिदिनु भन्ने बक्स भई आएको हु. प्रमाङ्गीबमोजिम मुद्दा दोहरी निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यसप्रकार छ : कटकबहादुरसँग बुटोल खस्यौली न.पं.को दर्ता नं. १ को घडेरी जग्गा ९२। कि.नं. २५ को १९। जग्गा ०२६।३।१८ मा रु.१३०००। मा राजीनामामा लिई ०२६।३।२० मा पारित गरी भोग गर्दै आएको मेरो जग्गा कटकबहादुरले दिनुपर्ने लेनदेनमा गैरकानूनी साथ लिलाम गरेको हुँदा अ.बं.१७ नं. बमोजिम आवेदन गर्दछु । लक्ष्मीप्रसादले आफ्नो लेनामा कटकबहादुरउपर फिराद गरेकोमा ०२५।११।१६ मा एकतर्फी फैसला भएको सोबमोजिम दर्खास्त परी लिलामको कारवाई चलिरहेको कटकबहादुरको निवेदन परी म्याद वेरीत हुँदा अर्को म्याद दिई कानूनबमोजिम गर्नु भन्ने अञ्चल अदालतको आदेशबमोजिम प्रतिउत्तर परी कारवाई हुँदा ०२६।६।१ मा रु.३३५३।९१ कटकबहादुरबाट लक्ष्मीप्रसादले भरिपाउने फैसला भएउपर परेको पुनरावेदनमा सुरुको सदर भई फैसला भएको लक्ष्मीप्रसादको ०२५।११।१६ को फैसलाअनुसारको विगो भराउने कारवाई स्थगित रहेकोमा अञ्चल अदालतको अन्तिम फैसलाबमोजिम बिगो भराइपाउँ भनी ०२६।१०।१५ मा दर्खास्त दिएको रुपन्देही जि. अ.बाट कटकबहादुर बुझ्दै नबुझी नगरपञ्चायतको सदस्य नराखी जग्गा नरहेको स्थान भैरहवामा बढाबढ गरी डाक बोलेको डाक बोल्ने डिल्लीराजका नाउँमा डाक खतम गरी लिलाम भएको दं.स.३०।३७ नं. विपरित कटकबहादुर र म निवेदकलाई थाहा पत्तै नदिई वेरीतसँग गरेको लिलाम बदर गरिपाउँ भन्नेसमेत हरिप्रसादको निवेदन ।
३. उक्त निवेदनमा यसमा के कसो भएको हो सबै विवरण प्रष्ट खुलाई प्रतिवेदन पठाउनु भन्ने स.अ.सिंगलबेञ्चबाट भएका आदेशानुसार पेश हुन आएको रुपन्देही जि. अ.को प्रतिवेदनमा यसमा दुवै पक्षलाई झिकाई अ.बं.१७ नम्बर बमोजिम गर्नु भन्ने सिंगलबेञ्चबाट ०२७।३।११ मा आदेश भएको रहेछ ।
४. आफ्नु जग्गा अरूले लिलाम गराइलिएमा अ.बं.८६ नं. लेनदेन व्यवहारको २३ नं. ले समेत दिएको बाटो अपनाउनुपर्नेमा नगरी अ.बं.१७ को आधार लिएकोमा लिलामी कारवाईलाई मिसिलमा समावेश नभएको, निवेदकले सो लिलामको कारवाई बदरको माग गरेको देखिँदा यो निवेदनबाट २ थरको बीचमा मञ्जुरी स्वीकार गरिसकेको कारवाई किनारा वेरीतको भयो भन्न मिल्दैन अ.बं.४४ नं. बमोजिम यस निवेदन सम्बन्धबाट कानूनले दिएको बाटो अपनाई सम्बन्धित व्यक्तिउपर कानूनबमोजिम गर्नु भनी सुनाई खारेज गरिदिने ठहर्छ भन्नेसमेत ०३१।६।१० को लुम्बिनी अञ्चल अदालतको फैसला रहेछ ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने हरिप्रसाद शेरचनको पुनरावेदन ।
६. कि.नं. २५ र १ नं. को जग्गा विगाहा १–२–१० डिल्लीराम खरेलबाट रु.१७१५१। मा ०२७।६।२९ मा राजीनामा लिएको मेरो हुँदा मेरो चलनमा छ भन्नेसमेत पथराजको बयान ।
७. अघि भएको एकतर्फि फैसलाबाट विगो रु.४१९९।१ भरिपाउने र प्रतिवादी परेपछि सोही मुद्दामा विगो रु.३३५३।९१ भरिपाउने फैसला भएपछि अघि भएको एकतर्फि फैसला र सोबमोजिमको लगत स्रोत बदर भई पछिको फैसला मान्यता हुन आउने भई अघिको दर्खास्त र तायदाती मुचुल्का स्वतः बदर हुने पछिको ०२६।६।१ को फैसलाबमोजिम म्यादभित्र दर्खास्त परेमा तायदाती गरी कारवाई गर्नुपर्ने हुन आउँछ सो पछिको फैसलाको म्यादभित्र दर्खास्त नपरी पहिलेको बदर भएको दर्खास्त कारवाईलाई नै जगाई लिलाम गरेको कानूनसंगत देखिन आउँदैन । यस स्थितिमा अ.बं.१७ नं. बमोजिम कारवाई रीत वेरीत के छ भनी निर्णय दिनुपर्ने हुन आउँछ । वेरीत भए नभएको निर्णय दिनुपर्ने अनिवार्य हुन आएकोमा अञ्चल अदालतबाट खारेज गर्ने गरेको मिलेको देखिँदैन । पछिको कायमी फैसलाबमोजिम अर्को दरखास्त नपर्दैको बीचमा साहुलाई लेखिदिएको ऐनले पर सार्नुपर्ने जेथा पर नसारी जायजात गरेकोमा सो जेथा लिने साहुले उजूर गर्न नपाउने भन्ने अञ्चल अदालतको युक्तिसंगत देखिँदैन । अञ्चल अदालतबाट खारेज गरेको मनासिव देखिन नआई बदर भइसकेको फैसलाको दर्खास्त तायदातिलाई मान्यता गरी गरेको लिलाम वेरीत देखिन आएकोले सो लिलाम बदर हुने र लिलाममा आएको रुपैयाँ सकार गर्ने डिल्लीराजले फिर्ता पाउने ठहर्छ भन्नेसमेत ०३३।१।२१ को पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
८. क्षेत्रीय अदालतको निर्णयमा अ.बं.१७ नं. को त्रुटि भएको देखिँदा पुनरावेदनको अनुमति दिएको छ भन्ने पुनरावेदनको अनुमति भई डिभिजन बेञ्चबाट निर्णय हुँदा लिलाम गर्ने जग्गामा समेत टाँस भएको २१ दिने सूचनाको म्यादभित्र विपक्षी हरिप्रसादले कटकबहादुरसँग आफूले राजीनामा लिएको जग्गा लिलाम हुने भएको कुरा देखाई लिलाम गर्ने रुपन्देही जिल्ला अदालतमा उजूर गरेको भए त्यस सम्बन्धमा जि. अ.रुपन्देहीले विचार गर्नुपर्ने कुरा थियो तर सो म्यादभित्र हरिप्रसादले उजूर गर्न सकेको देखिँदैन त्यस्तो उजूर परेको नदेखिएबाट सो लिलाम भएको जग्गा हरिप्रसादले राजीनामा गरी लिएको जग्गा भन्ने लिलाम बढाबढ गर्ने रुपन्देही जि. अ.मा सो कुराको प्रश्ननै उठ्न आउने देखिएन । लिलाममा बढाबढ भई डिल्लीराजले सकार गरी लिलामको कार्य सम्पन्न भएपछि लिलाम वेरीतबाट भएको मेरो राजीनामाको हकको जग्गा लिलाम गरेको बदर गरिपाउँ भन्ने प्रस्तुत निवेदनबाट उक्त लिलाम वेरीतबाट भएको भन्न मिलेन लिलाम गरेमा रीतपुर्याएको छैन भन्ने हरिप्रसादको विन्तिपत्रमा लेखिएको कुरा लिलाम गर्दा रीत पुर्याएरै लिलाम भएकोबाट निवेदनपत्र झुठ्ठा देखियो । लिलाम बदर गरिपाउँ भन्ने विपक्षी हरिप्रसादको निवेदन खारेज गर्ने गरेको लुम्बिनी अञ्चल अदालतको निर्णय मनासिव छ । लिलाम वेरीतको भनी बदर गर्ने गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको निर्णय मिलेको देखिएन भन्नेसमेत ०३३।१२।४ मा निर्णय भएको रहेछ ।
९. लिलाममा लिने दिलराजलाई अ.बं.१३९ नं. बमोजिम बुझ्ने भन्नेसमेत ०३४।१०।२१ को फुल बेञ्चको आदेश ।
१०. डाक सकार गरी लिएको हुँ । चलन पुर्जि पाई दर्तासमेत दिलराजकै नाउँमा भई नगरपञ्चायतमा इजाजत लिई घरसमेत बनाई हकभोग गरी आई नापीमा नापनक्सासमेत गराएपछि घरजग्गा सम्पूर्ण पएराजलाई बिक्री गरिसकेको अ.बं.१७ नं. अन्तर्गतको निवेदनबाट उक्त लिलाम बदर नहोस भन्नेसमेत दिलराजको वा.राजेन्द्रप्रसादको बयान ।
११. निवेदक हरिप्रसाद शेरचनको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले पहिले भएको फैसलाबमोजिमको भरिभराउमा दर्खास्त परेकोमा सो फैसला बदर भएपछि अर्को फैसला भएकोमा अघिको दर्खास्तलाई मान्यता दिई लिलाम गरेको अनाधिकार हुन्छ । बदर हुनुपर्छ भन्नेसमेत र अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले दं.स. ४२ नं. को देहाय (१) ले विगो भरिभराउको दर्खास्त परेपछि ३ महिनासम्म बिगो नतिरेमात्र लिलाम गर्न सक्नेमा बिगो तिर्ने म्याद छँदै लिलाम गरेको वेरीत छ । वेरीतबाट लिलाम भयो भन्ने कुराको निवेदनबाट अ.बं.१७ नं. ले हेरी लिलाम बदर गर्नसक्ने हुँदा लिलाम बदर हुनुपर्छ भन्नेसमेत वहस प्रस्तुत गर्नुभएको छ ।
१२. विपक्षी लक्ष्मीप्रसाद शेरचनको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवालीले लिलाम भई लिलाममा सकार गरी लिनेको नाउँमा दाखिल खारेजसमेत भई लिलामका कार्य सम्पन्न भइसकेपछि परेको निवेदनबाट अ.बं.१७ नं. अन्तर्गत कारवाई गर्नसक्ने होइन । त्यसकारण खारेज गरेको डिभिजन बेञ्चको सदर हुनुपर्छ भन्नेसमेत र विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडियाले मुद्दा दोहर्याइपाउँ भनी निवेदकले झुठ्ठा व्यहोरा दर्शाई निवेदन दिएकोमा बक्स भई आएको हुकूम प्रमांगीको सहुलियत नपाउने हुँदा खारेज हुनुपर्छ भन्नेसमेत वहस प्रस्तुत गर्नुभएको छ ।
१३. यसमा निर्णयतर्फ विचार गर्दा लिलाम बदर गरिपाउँ भनी निवेदक हरिप्रसाद शेरचनले दिएको निवेदनमा यसमा दुवै पक्षलाई झिकाई अ.बं.१७ नं. बमोजिम गर्नु भन्ने सर्वोच्च अदालत सिंगलबेञ्चबाट भएको आदेशानुसार अञ्चल अदालतबाट कारवाई भई खारेज गर्ने ठहराई अञ्चल अदालतबाट र लिलाम गरेको बदर गर्ने ठहराई क्षेत्रीय अदालतबाट खारेज गर्ने गरेको अञ्चल अदालतबाट गरेको निर्णय सदर गरी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३३।१२।४ मा निर्णय भएको प्रस्तुत मुद्दा देखियो लिलाम भई सकार गर्नेको नाउँमा दाखिल खारेज भई लिलाम कार्य सम्पन्न भइसकेपछि परेको निवेदनबाट अ.बं.१७ नं. अन्तर्गत कारवाई गर्न सक्ने होइन भन्नेसमेतको विपक्षी लक्ष्मीप्रसादतर्फको विद्वान वरिष्ठ अधिवक्ताले वहस जिकिर लिएकोले सर्वप्रथम प्रस्तुत मुद्दामा निवेदक हरिप्रसादले दिएको निवेदनबाट अ.ब.१७ नं. अन्तर्गत कारवाई गर्न मिल्ने नमिल्ने के हो ? भन्ने प्रश्नमा नै विचार गर्नुपर्ने हुन आयो ।
१४. तत्सम्बन्धमा विचार गर्दा लिलाम भएकैको प्रस्तुत मुद्दा जग्गा सम्बन्धमा मैले रु.१३०००। मा ०२६।३।२०।६ मा रजिष्ट्रेशन गराई लिएको सम्पत्ति कटकबहादुरलाई थाहासमेत नदिई कानूनले दिएको सुविधा ३ महिनासम्म नपर्खी लिलाम गराई दिएकोले मेरो हक जाने नोक्सान हुने कुरामा झुठ्ठा काम गरी विपक्षीलाई फाइदा हुने गरी एकाको सम्पत्तिमा एकाको सम्पत्ति हो भनी झुठ्ठा कागज उठाई कामकारवाही गरेकोले कीर्ते गरेको भन्ने प्रष्ट रुपले देखापर्न आएको छ । दिलराज भन्नेले लिलाम बढाबढ गरी मेरो हकको जग्गा लिएकोमा दिलराजले पनि लक्ष्मीप्रसादसँग मिली मेरो हक मेट्ने गरी मेरो सम्पत्तिलाई कटकबहादुरको भनी लिएकाले कीर्ते कागजको ३ नं. बमोजिम जालसाजी गरे गराएको प्रष्ट छ । दिलराजले पथराजका नाममा राजीनामा लेखाएकोमा रजिष्ट्रेशन पारित गरिदिन दिलराजउपर जि. अ.मा पास गरिपाउँ भन्ने यावत काम भइरहेकोमा पथराजले पनि आफूलाई र अरूलाईसमेत फाइदा प्रमाण हुने काम गरेकोले कीर्ते कागजको १ नं. बमोजिमको अपराध गरेको देखिन आएको छ । विपक्षीहरुलाई सजाय गर्न हक इन्साफ पाई मेरो सम्पत्तिसमेत सुरक्षित गरिपाउँ भन्नेसमेत प्रस्तुत मुद्दामा विपक्षी बनाएको लक्ष्मीप्रसाद शेरचन र पदराज न्यौपाने, दिलराज खरेलसमेतउपर निवेदक हरिप्रसादले जालसाजीमा फिराद गरेको मुद्दामा जालसाजी गरे भन्ने वादी दावी नपुग्ने ठहराई रुपन्देही जि. अ.बाट ०३०।१२।१९ मा भएको फैसलाउपर निज हरिप्रसादको पुनरावेदन परेकोमा तारिख गुजारी लुम्बिनी अञ्चल अदालतबाट ०३२।१।१४ मा डिसमिस भई अन्तिम भएको देखिन्छ र विगो भरिभराउमा लक्ष्मीप्रसादको दर्खास्त परी ०२६।२।२१ गते लिलाम बढाबढ गर्ने तारिख मुकरर गरी टाँस भएको सूचना तायदाती भएको जग्गाको माँझ पर्ने कुसुमको रुखमा १ प्रति ०२६।१।३१।३ मा टाँस भई जग्गा लिलाम भएकोमा दिलराजले सकार गरेको देखिने । यसरी लिलाम हुने निवेदकको दावी जिकिरको जग्गाको माँझ कुसुमको रुखमा लिलाम मुकर गरी टाँस भएको सूचनाको म्यादमा निवेदकले उजूर नगरी चुप लागी बसेको र लिलाम भई भरिभराउको कार्य सम्पन्न भई लगत काटी तामेलीमा राखिदिने ०२६।११।१४।४ मा जिल्ला अदालतबाट आदेश भइसकेको समेत देखियो ।
१५. मुलुकी ऐन अदालती बन्दोबस्तको १७ नं. को कानूनी व्यवस्था हेर्दा पुनरावेदन सुन्ने अड्डाले आफ्ना मातहतका अड्डामा परेका मुद्दाको कामकारवाहीमा म्याद नाघेको वा वेरीत भएको छ भन्ने कुरा झगडियाका निवेदनबाट वा अरू कुनै किसिमसँग थाहा पाएमा आवश्यकताअनुसार सो मुद्दाको मिसिलसमेत झिकी १५ दिनसम्ममा कैफियत तलव गरी बुझ्दा म्याद नघाएको वा वेरीत भएको देखिएमा कानूनबमोजिम गर्नु गर्न लगाउनुपर्छ भन्ने उल्लेख भएको रहेछ ।
१६. निवेदक भू.पु.राज्यमन्त्री नरबहादुर गुरुङ विरुद्ध श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालय भएको ०२४ सालको फौ.फु.नं. १९ को सरकारी हानिनोक्सानी मुद्दामा ०२५।३।८।६ मा फुलेबेञ्चबाट निर्णय हुँदा उक्त अदालती बन्दोबस्तको १७ नं. को व्याख्या भई मातहत अड्डामा दायर भइराखेको मुद्दाहरुमा निवेदन परेकोमा पुनरावेदन सुन्ने अड्डाले गर्नुपर्ने कार्यविधि र अधिकारको सम्बन्धमा अ.बं.१७ नं. मा व्यवस्था गरिएको हो भन्दै मातहत अड्डामा परिराखेको मुद्दामा अ.बं.१७ नं. ले काम कारवाईमा म्याद नाघेको वा वेरीत भएको सम्म हेर्नुपर्ने सीमित अधिकार हो भन्ने सिद्धान्त प्रतिपादित भई निर्णय भएको देखियो ।
१७. प्रस्तुत मुद्दामा फैसलाबमोजिम भरि पाउने विगो कोर्टफी भराइपाउँ भन्ने दर्खास्त परी तायदात गरी लिलाम भई भरिभराउको कार्य सम्पन्न गरी लगत काटी तामेलिमा राखिदिने भन्ने जिल्ला अदालतबाट ०२६।११।१४ मा आदेशसमेत भई लिलामको कार्य सम्पन्न भइसकेको देखियो । त्यसरी लिलाम भई भरिभराउको कार्य सम्पन्न भइसकेपछि ०२७।१।१७।५ मा अ.बं.१७ नं. अनुसार र अवैध तथा वेरीत लिलाम बदर वातिल गराइपाउँ भन्ने निवेदक हरिप्रसादको निवेदन परेको देखिएको । त्यसरी लिलामको कार्य सम्पन्न भई तामेलिमा राख्ने आदेशसमेत भइसकेपछि अ.बं.१७ नं. अन्तर्गत परेको प्रस्तुत निवेदनबाट हेरी कारवाई गर्न उपरोक्त फुल बेञ्चबाट प्रतिपादित सिद्धान्तबाट समेत नमिल्ने देखिएकोले लुम्बिनी अञ्चलअदालतले खारेज गरेको सदर गरेको सम्म ०३३।१२।४।५ को डिभिजन बेञ्चको इन्साफ मनासिव ठहर्छ । मुद्दा दोहर्याएवापत लाग्ने कोर्टफी निवेदक हरिप्रसादबाट दाखिल भएको देखिएकोले अरू केही गर्नु परेन मिसिल नियमबमोजिम बुझाइदिनु ।
हामीहरुको सहमति छ ।
न्या. ईश्वरीराज श्रेष्ठ,
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०३५ साल माघ १२ गते रोज ६ शुभम् ।