निर्णय नं. १२०१ – भ्रष्टाचार
निर्णय नं. १२०१ ने.का.प. २०३५ फुल बेञ्च माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३४ सालको...
निर्णय नं. १२०१ ने.का.प. २०३५
फुल बेञ्च
माननीय न्यायाधीश श्री स.ईश्वरीराज मिश्र
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३४ सालको स.अ.फौ.फु.नं. ७।८
फैसला भएको मिति : २०३५।१०।५।६ मा
निवेदक : जि. नवलपरासी मनरी गा.पं. वडा नं. ५ घर भई हाल डिल्लीबजार काठमाडौं बस्ने कुँवरपाल सिंह समेत
विरुद्ध
विपक्षी : श्री ५ को सरकार प्रशासनव्यवस्था विभाग हरिहरभवनसमेत
मुद्दा : भ्रष्टाचार
(१) शंकाको भरमा मात्र नलाग्ने प्रमाण लगाई कसुरदार ठहराएको निर्णय त्रुटिपूर्ण भई बदर हुने ।
(प्रकरण नं. २७)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय
उल्लिखित मुद्दा : स.अ.डि.बे.बाट पुनरावेदक हिरापासी विरुद्ध श्री ५ को सरकार भएको डाँका मुद्दाको निर्णय मिति ०२१।१२।८ मा
फैसला
न्या. ईश्वरीराज मिश्र : प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको मिति ०३४।८।६।२ को निर्णय पुनरावेदक हिरापासी विरुद्ध श्री ५ को सरकार भएको डाँका मुद्दामा मिति २०२७।१२।८।१ मा भएको निर्णयसँग रुलिङ बाँझिएको हुनाले फुल बेञ्चबाट हेर्ने आदेश पाउँ भनी निवेदकहरुले दिएको निवेदनहरुमा सम्माननीय प्रधान न्यायाधीशज्यूबाट भएको आदेशानुसार फुल बेञ्चको लगत दर्ता भई निर्णयार्थ यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।
२. तथ्य यसप्रकार छ : गोश्वारा हुलाक केन्द्रीय सर्टिङ शाखामा दरवार टोल शाखा हुलाक ललितपुरबाट प्राप्त हुन आएको जापान तथा हङकङ जाने रजिष्ट्ररी थान ८ आठ गोश्वारा हुलाकबाट खोली हेर्दा यसमा सादा कागज र अखबारको टुक्राहरु निस्केको देखियो । हुलाक कर्मचारीहरुसमेत मिली दरवार टोल हुलाक ललितपुरको टाँचा तथा छापसमेत राती नै प्राप्त गरी शङ्का भ्रमक भनी रोकिएको हुलाक वस्तु नै अदलबदल गरी भ्रष्टाचार गरेको शङ्का देखिन आएकोले घटनामा संलग्न हुनसक्ने गोश्वारा हुलाकको सा.अ.श्री वेदबहादुरसमेत बुझी कानूनी कारवाही गरिदिनु हुन भनी हुलाकसेवा विभागबाट ०३०।३।८ को पत्र साथ वि.प.प्र.विभागमा कागजात रजिष्टरीहरु प्राप्त हुन गएको रहेछ ।
३. ०३०।२।२५ मा दरवार टोल हुलाकबाट गोश्वारा हुलाक सर्टिङ्ग शाखामा दाखिल भएको सो ८ आठ थान रजिष्टरी फिर्ता लिन ना.सु.सूर्यमान आएको, दिन नमिल्ने भन्दा रातको १२ बजे सा.अ.वेदबहादुरसमेत मेरो घरमा आई कुरा गरेको भोलिपल्ट जि. पो.मा कुँवरपालको क्वाटरमा बोलावट भई जाँदा रु.५०,०००। लिई रजिष्टरी फिर्ता दिने कुरा भयो । ना.सु.सूर्यमानले बनाई ल्याएको अर्को रजिष्टरी राखी फिर्ता दिइएको हो । मैले रु.१०,०००। पाएको हुँ भन्नेसमेत ना.सु.नरबहादुरको बयान ।
४. हुलाक दाखिल भएको ८ थान रजिष्टरी लिनुपर्यो भनी राधाकृष्ण गोइन्कासमेत आई भनेबाट गोश्वारा हुलाक जाँदा फिर्ता नदिएकोले कुराकानी गर्दा रजिष्टरी बदल्ने कुरा भयो । सोही दिन राती दरवार टोल हुलाकमा गई कार्यालय खोल्न लगाई हुलाक टाँचासमेत घर ल्याई अर्को रजिष्टरी २६ गते तयार गरेको बिहान रु.५०,०००। दिए फिर्ता दिने कुरा शा.अ.बेदबहादुरले भनेबाट निजको घर कुपण्डोलमा गई रुपैयाँ दिने काम गरी फिर्ता लिएको, रजिष्टरी फिर्ता गरेवापत रु.५०००। पाएको छु भन्नेसमेत ना.सु.सूर्यमानको बयान ।
५. उक्त ८ थान रजिष्टरी फिर्ता लिने सम्बन्धमा सूर्यमानसँग रातमा ना.सु.नुरबहादुरको घरसमेत गएको हुँ । मुख्य कुँवरपालसमेतको सल्लाहबाट रु.५०,०००। मेरै घर कुपण्डोलमा गई लिने काम गरी कृत्रिम रजिष्टरी राखी सक्कली रजिष्टरी फिर्ता दिने काम गरेको हो । मैले रु.१३,०००। लिएको छु । रजिष्टरी भित्र के थियो थाहा छैन भन्ने सा.अ.वेदबहादुर खड्काको साविति बयान ।
६. सा.अ.वेदबहादुर ना.सु.नुरबहादुरसमेतको सल्लाहबाट रजिष्टरी फिर्ता दिने काम भएको हो । शा.अ.वेदबहादुरले मेरो भाग भनी रु.२२,०००। मलाई दिएको हो भन्नेसमेत का.मु. जि. पो.मा कुँवरपाल सिंहको साविति बयान ।
७. ना.सु.सूर्यमान श्रेष्ठ राधाकृष्ण गोइन्काको भनाइअनुसार शा.अ.वेदबहादुरको घर गई सक्कल रजिष्टरी लिनेदिने काम भएको हो । सो रजिष्टरी भित्र के थियो मलाई थाहा छैन भन्नेसमेत प्रेमकुमार अग्रवालको बयान ।
८. साहू चोथमल जेटियाले मलाई हङकङ तथा जापान जाने रजिष्टरी थान ८ मैले दरवार टोल हुलाक ललितपुरमा दर्ता गरी आएको हुँ । सो रजिष्टरी फिर्ता गर्नुपर्यो भनी चोथमलले भन्नुभएबाट डिल्लीबजार हुलाक सेवा विभागमा लगी मेरो पिता सूर्यमानसँग भेट गराइदिएँ । यसको भोलिपल्ट रजिष्टरी फिर्ता दिए भन्ने कुरा पिताज्यूबाट सुनेँ । सो रजिष्टरी भित्र के थियो मलाई थाहा छैन भन्ने देवेन्द्रमान श्रेष्ठको बयान ।
९. हङकङ तथा जापान जाने रजिष्टरी थान ८ आठ दर्ता भई हुलाक बन्द गरी गोश्वारा हुलाक सुन्धारामा बुझाई फर्कंदा ना.सु.सूर्यमान आउनु भई मसमेतलाई ट्याक्सीमा राखी दरवारटोल हुलाकमा इञ्चार्जको घरमा गई रजिष्टरी फिर्ता लिने कुरा भयो । श्री श्रेष्ठले डर, त्रास देखाई उक्त हुलाक खोल्न लगाई कार्यालयको टाँचा लगी भोलिपल्ट मलाई दिई पठाएको हो भन्ने ह.रत्नबहादुर अमात्यको बयान ।
१०. ०३०।२।२५ गते ह.रत्नबहादुर मेरो घरमा आई मेरो श्रीमतीसँग दरवारटोलको साँचो लिई गएछन । म राती हा.मु.को घर गएँ । उहाँले ना.सु.सूर्यमान आई डरत्रास देखाई कार्यालय खोल्ने भन्ने कुरा सुनेर म घरमा गई भोलिपल्ट ८।३० बजे रत्नबहादुरले साँचो ल्याइ दिए अरू कुरा थाहा छैन भन्ने ह.अर्जुनप्रसादको बयान ।
११. साँझ अन्दाजी ७ बजे हुलाकी रत्नबहादुर ना.सु.सूर्यमान श्रेष्ठ तथा १ जना केटा मेरो घरमा आई आजको डाक मिलेन एउटा कागज ल्याउ भनी खेश्रा गर्नु भयो र म्याद माग्नुभयो । प्याड घरमा छैन भन्दा अड्डामा जानुपर्यो भने आफूसँग साँचो नभएको बेटायममा जान्न भन्दा डर, त्रास देखाई जान बाध्य गराई कार्यालय खोल्न बाध्य गराए भन्ने हा.मु.हरिभक्त गोविन्द श्रेष्ठको बयान ।
१२. विदेश जाने रजिष्टरी बदली गैरकानूनी काम गरेको छैन । देवेन्द्रबहादुरलाई मैले चिनेको छैन । रजिष्टरी गर्न पठाएको पनि छैन । वेदबहादुर, नुरबहादुर, सूर्यमान र प्रेमकुमारसमेतको बयान झुठ्ठा हो । विदेश जानुभन्दा ५।६ दिन अगाडि मेरो लियरिङ हिसाब मिलाइदिनुहोस र सापटको रुपमा केही रुपैयाँ दिनुहोस भनी म राधाकृष्ण गोइन्काले भनेअनुसार रु.५०,०००। रुपैयाँ दिएको थिएँ । मितिको सम्झना भएन । निज राधाकृष्णले मलाई काममा जान ज्यादै हतार भएको छ । केही रजिष्टरीहरु हुलाक दाखिल गर्न पठाउन मेरो मानिस भेट नभएकोले पछि छाडिजान्छु । मेरो नाउँ गरी कोही आए दिइपठाउनु भनी ४।५ थान जति थियो । रजिष्टरी मेरो टेवलमा छाडी गएपछि १ जना नेपाली केटा आई मागेपछि टेबलमा रहेको रजिष्टरी देखाइदिएको हुँ । केटालाई चिन्दिन । ययसबाहेक अरू रजिष्टरी दिएको छैन भन्नेसमेत चोथमल जेटियाको बयान ।
१३. मकालु प्रा.लि.मा काम गर्छु । जनरल पोष्ट अफिसमा रजिष्टरी पत्रहरु ल्याउने लाने आदि काम गर्छु । दरवार टोल ल.पु.मा कहिले गएको छैन । चौथमलको रजिष्टरीहरु हुलाक दाखिल गर्ने काम धेरैजसो मैले गर्दछु भन्नेसमेत मिठ भन्ने वटुसिं सापकोटाको बयान ।
१४. कस्तुरीको पुट राखिएको हङकङ तथा जापान जाने रजिष्टरी थान ८ श्री दरवार टोल हुलाकमा दाखिल गरी दर्ता गरिआएको सो रजिष्टरी खोलिने भयो भनी डर देखाएकोले लिन ना.सु.सूर्यमानसँग कुरा गर्दा ना.सु.देखि अफिसरसम्म जम्मा रु.५०,०००। चाहिन्छ भन्नुभएबाट जे गर्नुपर्छ गर्नु भन्दा रातारात मकहाँ आई भोलिपल्ट पुल्चोकमा शा.अ.वेदबहादुरको घरमा लगी रु.५०,०००। मबाट लिने काम गरी नक्कली रजिष्टरी राखी सक्कली रजिष्टरी मलाई फिर्ता दिई आएको हो । निजहरुलाई दिएको रुपैयाँ चोथमलबाट लिएको हो भन्नेसमेत राधाकृष्ण गोइन्काको बयान ।
१५. तत्सम्बन्धमा सफाई दिने सबूद प्रमाण भए सबुदप्रमाणसहितको स्पष्टिकरण पेश गर्नु भनी भ्र.नि.ऐन, २०१७ को दफा २० (१) को अधिन नि.से.नि., २०२१ को परिच्छेद १० को नियम ९ अनुसार दिन २ अवधि दिई मिति ०३१।२।४।६ को पत्रद्वारा र मिति ०३१।२।३१ को पत्रद्वारा दुई पटक का.मु.मुख्य हुलाक हाकिम कुँवरपाल सिंह १ शा.अ.वेदबहादुर खड्का १ समेतबाट स्पष्टिकरण माग गरेकोमा निजहरुबाट प्रष्टिकरण पेश भएको रहेछ ।
१६. प्रष्टिकरण सन्तोषजनक मान्न सकिएन । नि.से.नि.०२१ को परिच्छेद १० को नियम १ (६) तथा ५ (५) ७ अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गर्न मनासिव छ भनी श्री ५ को सरकारमा पेश किन नगर्नु ? अरू आधारभूत सबूद प्रमाण भए २ दिनभित्र पेश गर्नु भनी का.मु.मुख्य हुलाक हाकिम कुँवरपाल सिंह १, सा.अ.वेदबहादुर खड्का १ समेतलाई प्रष्टिकरण माग गरिएको विशेष प्रहरी विभागको ०३१।२।३१ को पत्र रहेछ । त्यसमा पनि निजहरुबाट सफाइको प्रष्टिकरण पेश भएको रहेछ ।
१७. शङ्कास्पद भनी रोकिएको हुलाक वस्तु साक्षीसमेतको रोहवरमा खोलिएको भनी गोश्वारा हुलाकको का.मु.मुख्य हुलाक हाकिमले श्री कुँवरपालसिंह र शाखा अधिकृत वेदबहादुर खड्काले मिति ०३०।२।२८ मा कृत्रिम मुचुल्का तयार गरी वनावटी बयान तथा प्रतिवेदन समेत सामेल राखी फाइल खडा गरेको यसरी अनियमित काम गरेवापत ५० हजार घुस रिसवत लिई १३ हजार शाखा अधिकृत वेदबहादुरले २२ हजार का.मु.मुख्य हुलाक हाकिम कुँवरपाल सिंहले बाँडी दिने काम गरियो । इजाजतबेगर यसरी निकासी गर्न खोज्ने बाहिरिया व्यक्तिलाई कानूनी कारवाहीबाट बचाउने प्रयत्नमा लागी हुलाकका कर्मचारीले गैरकानूनी ढङ्गबाट घुस रिसवत लिनुखानु गरी वदनियतसाथ भ्रष्टाचार गरेको प्रष्ट देखिन्छ । यही आधारमा का.मु.मुख्य हुलाक हाकिम कुँवरपाल सिंह र शाखा अधिकृत श्री वेदबहादुर खड्कालाई भ्रष्टाचार निवारण ऐन, २०१७ का दफा २० (२) को अधिन नि.से.नि.१०–१ (६) तथा ६–(५–७) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट वर्खास्त गर्न सिफारिशसहित विशेष प्रहरी विभागले राय ठहर गरेको मिसिल श्री सचिव गृहमन्त्रालय श्री सचिव कानून तथा न्याय मन्त्रालय र श्री सचिव सञ्चार मन्त्रालयसमेतको समितिमा पेश हुँदा निज का.मु.हुलाक हाकिम कुँवरपाल सिंह र शाखा अधिकृत वेदबहादुर खड्कालाई सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी नोकरीबाट वर्खास्त गर्न सजाय दिने सिफारिस समेत भएको छ । नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गर्न परामर्श पठाउने भनी निर्णय भएको व्यहोरा खोली लोकसेवा आयोगबाट ०३२।९।३ को पत्र प्राप्त भएको छ भन्नेसमेत व्यहोराको प्रस्ताव प्रशासन व्यवस्था विभागबाट पेश हुँदा तत्कालिन का.मु.मुख्य हुलाक हाकिम श्री कुवर सिंह र शा.अ.वेदबहादुर खड्कालाई नोकरीबाट वर्खास्त गर्ने विषयको प्रशासन व्यवस्था विभागको प्रस्ताव श्री ५ को सरकारबाट कार्यसम्पादन नियमावलीअनुसार यसमा प्रस्तावमा लेखिएबमोजिम गर्ने भनी ०३२।१०।२३ मा निर्णय भएको रहेको ।
१८. जघन्य अपराध गरेमा सावित भएका र यस विभागले ताडना र यातना दिई अकार्थमा कसैलाई फसाउन पर्ने कारण अवस्था देखिन्न । रु.५० हजारको रकम बदनियत साथ घुस रिसवतको रुपमा लिएखाएको कसुरमा का.मु.हुलाक हकिम कुँवरपाल सिंहलाई र शा.अ.वेदबहादुरलाई श्री ५ को सरकारको निर्णयानुसार नोकरीबाट बर्खास्त गरिसकेको सूचना प्राप्त भएको र यस कसूरसँग सम्बन्धित देखिएका राजपत्र अनंकित कर्मचारीहरुको हकमा पछि छुट्टै विचार गर्ने गरी हाललाई निम्न कर्मचारीहरुलाई उक्त कसूरको मात्राअनुसार भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २० (१) को अधिन निजामती सेवा नियमावली, ०२१ को परिच्छेद १० को नियम १ (६) तथा ६ (५,७) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी ना.सु.नुरबहादुर तथा ना.सु.सूर्यमान श्रेष्ठलाई नोकरीबाट बर्खास्त गर्ने ठहराई ०३२।१२।३०।२ को विशेष प्रहरी विभागबाट पर्चा भएको रहेछ ।
१९. विशेष प्रहरी विभागले सेवाबाट मुक्त गर्ने राय पेश गरेको आधारमा विपक्षी प्रशासन व्यवस्था विभागले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा २० अन्तर्गत निजामती सेवा नियमावलीको नियम १० (१) (६) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी नोकरीबाट वर्खास्त गरेको कानूनोचित र न्यायोचित नहुँदा श्री ५ को सरकारको ०३२।१०।१३ को निर्णय बदर गरी सेवा कायम गरिपाउँ भन्नेसमेत व्यहोराको प्र.वेदबहादुर खड्का र कुँवरपाल सिंहको छुट्टाछुट्टै पुनरावेदन रहेछ ।
२०. यसमा दरवार टोल हुलाकबाट गोश्वारा हुलाक सर्टिङ्ग शाखामा ०३०।२।२५ मा दाखिल भएको रजिष्टरी थान ८ फिर्ती दिन ना.सु.सूर्यमान आई दिन नमिल्ने भन्दा वेदबहादुर र कुँवरपालसँग रु.५०,०००। लिई रजिष्टरी फिर्ता दिने कुरा भई रु.१०,०००। पाएको छ भन्ने ना.सु.नुरबहादुर, सो रजिष्टरी फिर्ता दिई रु.५०,०००। पाएको छ भन्ने नुरबहादुरकै बयान मिलान गरी ना.सु.सूर्यमान समेत सावित भई पुनरावेदक वेदबहादुर तथा कुँवरपालसिंह समेतलाई पोल गरी बयान दिएको साथै उपरोक्त रजिष्टरी फिर्ता दिने र सो रजिष्टरीमा भएका चिजबस्तुलाई फेरफार गरी काम नलाग्ने खेस्रा कागज हाली बन्द गरेको कुरा मुचुल्काबाट देखिएको र निजहरु सावित भई विशेष प्रहरी विभागमा बयानसमेत गरेको देखिन्छ । राष्ट्रसेवक भई अधिकृतको ओहदामा रही त्यस किसिमसँग अनियमित काम गरी भ्रष्टाचार गरेमा स्वयं सावित भएकोमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी वर्खास्त गर्ने गरी श्री ५ को सरकारबाट कानूनबमोजिम गरी भएको निर्णयलाई बदर गरी सेवा कायम गरिपाउँ भन्नेसमेत निजहरुको पुनरावेदन जिकिर पुग्न सक्ने देखिँदैन तसर्थ श्री ५ को सरकारले कानूनबमोजिम निज पुनरावेदक वेदबहादुर खड्का तथा कुँवरपाल सिंहलाई नोकरीबाट वर्खास्त गर्ने गरेको निर्णय मनासिव छ भन्ने मिति २०३४।८।६।२ को डिभिजन बेञ्चको फैसला ।
२१. यसमा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०२४ सालको फौ.पु.नं. ५७० पुनरावेदक हिरापासी विपक्षी श्री ५ को सरकार भएको डाँका मुद्दामा मिति ०२७।१२।८।१ मा अभियुक्तले अन्य व्यक्तिउपरसमेत पोल गरी गरेको साविती बयान अन्य कुनै स्वतन्त्र र विश्वसनीय प्रमाणबाट समर्थित नभएमा निज पोलिएको व्यक्ति विरुद्ध प्रमाण लगाउन न्यायोचित नहुने, मुद्दाको कुनै पक्षले अर्को पक्षलाई आफ्नो हिरासतमा राखी गराएको कागजलाई कुनै अवस्थामा पनि स्वतन्त्र र विश्वसनीय प्रमाण मान्न नसकिने ठहर्याई निर्णय भएको र प्रस्तुत मुद्दामा निवेदक कुँवरपाल र वेदबहादुर खड्कालाई भ्रष्टाचार गरेमा विशेष प्रहरी विभागमा स्वयं साविती भएको भन्ने आधारमा निजहरुलाई सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी बर्खास्त गर्ने गरेको श्री ५ को सरकारको निर्णय मनासिव छ भनी सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति ०३४।८।६।२ मा निर्णय भएको देखिएकोले उपरोक्त पुनरावेदक हिरापासी विपक्षी श्री ५ को सरकार भएको डाँका मुद्दामा प्रतिपादित सिद्धान्तसँग प्रस्तुत मुद्दाको रुलिङ्ग बाझिएको देखियो । तसर्थ छलफल निमित्त अ.बं.२०२ नं. र स.अ.नियमावली, ०२१ बमोजिम विपक्षीलाई झिकाई नियमबमोजिम पेश गर्नुभन्ने मिति २०३५।५।१३।६ को फुल बेञ्चको आदेश ।
२२. यसमा निवेदक कुँवरपाल सिंहतर्फबाट उपस्थित हुनुभएका वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडियाले निवेदकलाई नोकरीबाट बर्खास्त गरिदिएको पत्रमा वस्तुगत रुपमा आरोप उल्लेख हुनुपर्नेमा सो उल्लेख भएको छैन । निवेदकलाई जवरजस्ति साविति गराइएको छ । अन्य स्वतन्त्र प्रमाणबाट निजहरुले कसूर गरेको कुरा समर्थित नभएको हुँदा सेवाबाट हटाउने श्री ५ को सरकारको त्रुटिपूर्ण निर्णय सदर गरेको डिभिजन बेञ्चको निर्णय हिरापासी विरुद्ध श्री ५ को सरकार भएको डाँका मुद्दामा प्रतिपादित सिद्धान्तसँग रुलिङ्ग बाझिएको छ भन्नुभयो ।
२३. निवेदक वेदबहादुरतर्फबाट उपस्थित हुनुभएका अधिवक्ता श्री गणेशराज शर्माले निवेदक रजिष्ट्री चलाउने वा खोल्ने अधिकार र दायित्व भएको व्यक्ति होइन पाटनका हुलाकमा भएको कामको सम्बन्धमा सो ठाउँमा नखटिएका निवेदकको कुनै सम्बन्ध छैन । निवेदकलाई लामो समयसम्म हिरासतमा राखी अनुचित प्रभाव भयको वशमा परी इच्छाविरुद्ध बयान गरेको देखिन्छ । हिरासतमा रही गराइएको बयानलाई कुनै हालतमा पनि स्वतन्त्र प्रमाण मान्न नसकिने हुनाले अन्य स्वतन्त्र र विश्वसनीय प्रमाणको अभावमा निवेदकलाई निजको साविति बयानको आधारमा कसुरदार ठहर्याई सेवाबाट हटाएको श्री ५ को सरकारको निर्णय मनासिव ठहर्याएको डिभिजन बेञ्चको निर्णय त्रुटिपूर्ण छ भन्नुभयो ।
२४. विपक्षी तर्फबाट उपस्थित हुनुभएका सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्यायले हिरापासी विरुद्ध श्री ५ को सरकार भएको डाँका मुद्दाको प्रकृति र विभागीय कारवाई भएको प्रस्तुत मुद्दाको प्रकृति नै फरक भएकोले र समान अवस्थाको विद्यमानताको अभावमा समान रुपमा उक्त सिद्धान्तहरु लागू हुनुपर्ने देखिन्न । प्रमाण ऐनको दफा (२) को व्यवस्थाबाट हिरापासी विरुद्ध श्री ५ को सरकार भएको मुद्दामा प्रतिपादित सिद्धान्त खण्डित भइसकेको छ । राधाकृष्ण गोइन्का, प्रेमकुमार अग्रवाल आदि व्यक्तिहरु सहअभियुक्त नभई उनीहरुको बयान स्वतन्त्र प्रमाणहरु भएकोले सोसमेतको आधारमा श्री ५ को सरकारबाट निवेदकहरुलाई वर्खास्त गर्ने निर्णय गरेको कानूनबमोजिम छ भन्नुभयो ।
२५. यसमा निर्णयतर्फ विचार गर्दा सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०३४।८।६।२ को निर्णयमा हेर्दा दरवार टोल हुलाकबाट गोश्वारा हुलाक सर्टिङ्ग शाखामा ०३०।२।२५ मा दाखिल भएको रजिष्ट्री थान ८ फिर्ता दिन ना.सु.सूर्यमान आई दिन नमिल्ने भन्दा वेदबहादुर र कुँवरपालसँग रु.५०,०००। लिई रजिष्टरी फिर्ता दिने कुरा भई रु.१०,०००। पाएको छु भन्ने ना.सु.नुरबहादुर सो रजिष्टरी फिर्ता नदिई रु.५०००। पाएको छु भन्ने नरबहादुरकै बयान मिलान गरी ना.सु.सूर्यमानसमेत सावित भई पुनरावेदक वेदबहादुर तथा कुँवरपाल सिंहसमेतलाई पोल गरी बयान दिनुको साथै उपरोक्त रजिष्टरी फिर्ता दिने र सो रजिष्टरीमा भएका चिजबस्तुलाई फेरफार गरी काम नलाग्ने खेस्रा कागज हाली बन्द गरेको कुरा मुचुल्काबाट देखिएको र निजहरु सावित भई विशेष प्रहरी विभागमा बयानसमेत गरेको देखिन्छ । राष्ट्रसेवक भई अधिकृतको ओहदामा रही यस किसिमसँग अनियमित काम गरी भ्रष्टाचार गरेमा स्वयं सावित भएको भन्ने आधारमा निवेदकहरुलाई नोकरीबाट बर्खास्त गर्ने गरेको श्री ५ को सरकरको निर्णय मनासिव ठहर्याइएको देखियो । तर, २०२४ सालको फौ.पु.नं. ५७० पुनरावेदक हिरापासी विपक्षी श्री ५ को सरकार भएको डाँका मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट मिति ०२७।१२।८।१ मा भएको निर्णयसमेत उपरमा प्रतिपादित सिद्धान्त प्रतिकूल प्रस्तुत मुद्दामा सावितिको पोल अन्य कुनै स्वतन्त्र र विश्वसनीय प्रमाणबाट समर्थित नहुनुको साथै वि.प्र.विभागले नै आफ्नो हिरासतमा राखी इच्छा विरुद्ध कुटपिट गरी गराएको साविति बयानलाई आधार बनाई निर्णय भएबाट रुलिङ्ग बाझिएको छ भन्ने निवेदन जिकिर देखियो । तसर्थ प्रस्तुत मुद्दामा सर्वप्रथम त निवेदकले उल्लेख गरेझैं पुनरावेदक हिरापासी विरुद्ध श्री ५ को सरकार भएको डाँका मुद्दामा प्रतिपादित सिद्धान्तसँग रुलिङ्ग बाझिएको छ, छैन ? भन्ने नै विचार गर्नुपर्ने भएको छ ।
२६. सम्वत् २०२४ सालको फौ.पु.नं. ५७० पुनरावेदक हिरापासी विरुद्ध श्री ५ को सरकार भएको डाँका मुद्दामास.अ.डि.बे.बाट भएको निर्णय हेर्दा त्यसमा कुनै अभियुक्तले अन्य व्यक्तिउपर समेत पोल गरी गरेको साविति बयान अन्य कुनै स्वतन्त्र र विश्वसनीय प्रमाणबाट समर्थित नभएमा निज पोलिएको व्यक्ति विरुद्ध प्रमाण लगाउन न्यायोचित नहुने र मुद्दाको कुनै पक्षले अर्को पक्षलाई आफ्नो हिरासतमा राखी गराएको कागजलाई कुनै अवस्थामा पनि स्वतन्त्र र विश्वसनीय प्रमाण मान्न नसकिने भन्ने सिद्धान्त प्रतिपादन भएको देखियो ।
२७. प्रस्तुत मुद्दाको सम्बन्धमा मिसिल अध्ययन गरी हेर्दा निवेदक वेदबहादुरलाई तीनपटकसम्म ततिम्वा बयान गराइएको देखिन्छ र पहिले बयान भएको मिति ०३०।३।८ र तेस्रो ततिम्वा बयान भएको मिति ०३१।३।२ बीचको करिव १ वर्षको लामो समयावधि बयानकै सिलसिलामा व्यतित भएको देखिन्छ । निजको सुरु बयान र तेस्रो ततिम्बा बयानमा पनि सावित भएको देखिन्छ । बरु तेस्रो ततिम्वा बयानको सवाल नं. ३१ र ३६ को जवाफमा मेरो इच्छाले नगरेको र यस विभागको इच्छा माफिकको बयान हो । राधाकृष्ण भन्ने मैले उसबखत चिनेको पनि छैन र कुनै रजिष्टरीसमेत कसैलाई फिर्ता दिएको पनि छैन । उसबखतको बयान मेरो स्वेच्छाअनुसार मैले दिएको बयान होइन भन्ने उल्लेख गरेको देखिएको साथै कुटपिट गरी लेखाएको बयान बदर गराउन मुद्दा चलाउन अनुमति माग्दा अनुमति नपाएको र सो अनमुति पाउनको लागि श्री ५ महाराजाधिराजमा निवेदन दिएको देखिन्छ र वि.प्र.वि.को कर्मचारीको मसौदाको फोटो प्रतिबाट पनि राजीखुसीले स्वेच्छाबाट बयान नगरेको स्पष्ट हुन्छ भन्ने पुनरावेदन जिकिर विचारणीय हुन आएको पाइन्छ । यस्तै निवेदक कुँवरपाल सिंहले पनि मिति ०३०।३।१४।५ मा गरेको बयानमा साविति भएको देखिन्न र त्यसपछिको ततिम्वा बयानमा साविति भएको देखिन्छ र सो बयान जबरजस्ती करकापसँग गराएको भनी सो बदर गराउनको लागि अञ्चल अदालतमा मुद्दा चलाउन श्री ५ को सरकारसमक्ष नि.से.ऐनबमोजिम अनुमति माग गरेको र सो नपाएको समेत देखिन्छ । यसरी निवेदकहरुका विरुद्धमा भएको कारवाईको सम्पूर्ण वस्तुस्थिति विचार गर्दा स्वतन्त्र र भयरहित वातावरणमा निजहरुको बयान लिइएको र निजहरुले पनि स्वेच्छापूर्वक बयान गरेको आभास हुँदैन । बरु भय करकापकै विवशतापूर्ण वातावरणमा परी बयान गरेको देखिन्छ र त्यस्तो बयानहरु बदर गराउन मुद्दा चलाउन खोज्दा सो को लागि आवश्यक अनुमति नपाएबाट मुद्दा चलाउन नसकेको देखिन्छ । यस प्रसंगमा निवेदक डी.एफ्.ओ.नारायणभक्त विरुद्ध श्री ५ को सरकार गृहसचिव भएको भ्रष्टाचार मुद्दाको मिति ०२१।१।११।५ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको फैसला उल्लेखनीय हुन आएको छ । उक्त फैसलामा भ्रष्टाचार गर्यो भन्ने आरोपको कारवाईमा जवरजस्तिपनाको आभाससम्म पनि हुनुहुन्न । भ्रष्टाचार गरेको हो भनी सावित गर्ने बुँदा प्रमाणहरु विलकुल शङ्कारहित पक्का हुनुपर्छ भन्ने उल्लेख भएको पाइन्छ । सो विपरित निवेदकहरुलाई लामो समयसम्म हिरासतमा राखी त्रासपूर्ण र भयावह वातावरणमा साविती बयान गराइएको यस स्थितिमा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसलामा आधार लिएको साविति बयान र सहअभियुक्तको पोल अन्य स्वतन्त्र र विश्वसनीय प्रमाणबाट समर्थित भएको नदेखिएको हुनाले साविति र सहअभियुक्तको बयानको आधारमा मात्र पोलिएको व्यक्तिउपर प्रमाण लगाउन न्यायोचित नहुने भन्ने उक्त हिरापासी विरुद्ध श्री ५ को सरकार भएको डाँका मुद्दामा प्रतिपादित सिद्धान्तसँग प्रस्तुत मुद्दामा डिभिजन बेञ्चबाट भएको निर्णयको रुलिङ्ग बाझिन गएको स्पष्ट देखिन आएको छ । यसरी खाली शङ्काको भरमा मात्र नलाग्ने प्रमाण लगाई कसुरदार ठहर्याई श्री ५ को सरकारले निवेदकहरुलाई नोकरीबाट हटाएको त्रुटिपूर्ण निर्णयलाई मनासिव ठहर्याएको सर्वोच्च अदालत डिभिजन बेञ्चका निर्णय मिलेको नदेखिएको हुनाले सो निर्णयसमेत बदर हुने ठहर्छ ।
हामीहरुको सहमति छ ।
न्या. सुरेन्द्रप्रसाद सिंह,
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०३५ साल माघ ५ गते रोज ६ शुभम् ।