निर्णय नं. १२०० – ….
निर्णय नं. १२०० ने.का.प. २०३५ फुल बेञ्च माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३४ सालको...
निर्णय नं. १२०० ने.का.प. २०३५
फुल बेञ्च
माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
सम्वत् २०३४ सालको रि.फु.नं. २६
आदेश भएको मिति : २०३५।९।४।३ मा
निवेदक : का.जि. न.पं.२१ वडा ठमेल बस्ने अष्टमान महर्जन समेत
विरुद्ध
विपक्षी : काठमाडौं नगरपञ्चायत सभा का.जि. धर्मपथ समेत
(१) बाटोको हक बेहकले घरको तला थप्ने कुरामा असर पर्ने नदेखिने ।
(प्र.नं. ६)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर
आदेश
न्या. ईश्वरीराज मिश्र : प्रस्तुत मुद्दा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको मिति ०३३।४।१८।२ को निर्णय दोहर्याई पाउँ भनी निवेदक अष्टमान र साहू महर्जनले दिएको निवेदनमा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) बमोजिम श्री महाराजाधिराजबाट दोहर्याई दिनु भनी हुकूम प्रमांगी बक्स भई आएबमोजिम यसबेञ्च समक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको तथ्य यसप्रकार छ : पूर्व आफ्नै किलास र सो देखि पूर्व हिरामान प्रधानको चर्पी र सार्वजनिक ढल पश्चिम म समेतको साझा चोक, उत्तर अष्टमान महर्जनको घर किलास भएकोमा हाल घर बनाउँदा आफ्नै छुट्टै किलास बनाउने देखिन साहू भाइ महर्जनको घर किलास भएकोमा हाल घर बनाउँदा आफ्नै छुट्टै किलास बनाउने यति चार किल्लाभित्र का.न.पं.२१ वडाअन्तर्गत का.जि. ठमेलको ब्लक न.२१।३३९ को मेरो घरमा तला २ थपी जस्ता छाना राखी नक्शाबमोजिमको घर बनाउन पाउँ भन्ने नक्शावाला वादी चन्द्रमान महर्जनको नक्शा दर्खास्त परेकोमा मेरो बलेनी काटिने आँखी झ्याल र खुला झ्याल बन्द हुने गरी बनाउन नपाओस् भन्ने प्रतिवादी दक्षिणपट्टिका सँधियार साहू महर्जन र बन्ने घरको लागि राजदरवारको स्वीकृति चाहिने मेरो घरमा आउन नक्शावालाको ढोका र छिंडिमा बाटो भएको गुम गरेको दक्षिणतर्फ मेरो खुल्ला झ्याल भएको बन्द हुने र अन्यत्रबाट मलाई घाम र हावा नपाइने र बन्ने घरको छिँडिमा चर्पीको प्रबन्ध गरेको छैन भन्नेसमेत उत्तरपट्टिको सँधियार अष्टमान महर्जनको उजूरी भएकोमा नगरपञ्चायत नक्शा र मुद्दा फाँटबाट बन्ने घर विगत २००६ सालमा पास भएको नक्शाबमोजिम बनी २ तले कायम भईरहेको र बन्ने घर नक्शावालाको होइन भन्ने उजूरी परेको पनि नभई सो घर नक्सावाला वादीकै भएको कुरामा प्रतिवादीहरु पनि सहमत नै हुनुभएको देखिएको र घर बनाउने महलको १ नं. ले वादीले आफ्नो घर उठाई लिँदा बलेनी काट्न दिन्न भनी प्रतिवादीहरुले रोक्न नपाउने देखिएकोले वादीले आफ्नो घरमा तला थपी नक्शाबमोजिम घर बनाउन राजदरवारको स्वीकृति पनि प्राप्त गरिसक्नु भएको देखिएबाट वादीको नक्शा रोक्नुपर्ने मनासिव कारण नदेखिएकोले वादीको नक्शा पास हुने ठहर्छ । प्रतिवादीमध्येका अष्टमानले विगत ०६ सालमा आफ्नो बाटो छ भनी उजूर गरेको नदेखिएकोले तर हाल वादीको छिँडिबाट आफ्नो बाटो छ भने प्रचलित कानूनको म्यादभित्र काठमाडौं जिल्ला अदालतमा फिराद गरी आफ्नो हक कायम गर्न जानुस् भनी सुनाई दिने र वादीकै नक्शामा भएकै घरमा तलामात्र थप्ने हुँदा बाटोको हक बेकहले तला थप्न कुनै असर नपर्ने हुँदा वादीको नक्शा पास गरिदिने भन्नेसमेत फैसला भएकोमा पुनरावदेन पर्दा नगरपञ्चायत नक्शा र मुद्दा फाँटले नक्शा पास हुने भनी गरेको इन्साफ मनासिव ठहर्छ भन्नेसमेत फैसला भएको रहेछ ।
३. उक्त फैसला बदर गरिपाउँ भनी यस रिट निवेदनमा लिएका मुख्य जिकिरहरु यसप्रकार छन : छानाको पानीको निकास खुला झ्याललाई बन्द गर्ने कुरामासमेत कुनै वास्ता गरिएको छैन बाटाको कुरामा हक बेहकमा पठाउन पर्ने र छानाको निकास हावा र उज्यालोको विषयमा नगरपञ्चायतले आफैले व्यवस्था मिलाई मात्र नक्शा पास गरिदिन पर्नेमा नक्शा तथा मुद्दा फाँटले नक्शा पास गरिदिने गरी गरेको निर्णय सदर गरेको प्राकृतिक न्याय र कानूनको विपरित छ । धेरै वर्ष अगाडिदेखि खुला झ्याल राखी बनाएको घरमा सो खुला झ्याल बन्द गरी घर बनाउन पाउँदछ भन्ने कुनै कानूनमा लेखिएको छैन । उज्यालो र हावा लिन पाउनु घरवालाको हक अधिकारको हनन गरी घर बनाउन दिनु प्राकृतिक न्यायको विपरित छ ।
४. उक्त निर्णयबाट निवेदकको भनाईबमोजिम छिँडिबाट आफ्नो बाटो भएको भनेकोमा नक्शामा भएका घरमा तला मात्र थप्ने हुँदा बाटाको हक बेकहले तला थप्ने कुरामा कुनै असर नपर्ने भन्ने निर्णय गरेको देखिन्छ । यसबाट सो नक्शा पास गर्न हक बेहकको निर्णय गराई नहुने अवस्था परेको देखिँदैन र सो साथ हक बेहक हुने किसिमबाट निर्णय गरेको पनि देखिँदैन । अधिकारक्षेत्र भित्र रही निर्णय गरेको देखिएकोले प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ भन्ने मिति ०३३।४।१८।२ को डिभिजन बेञ्चको फैसला ।
५. काठमाडौं नगरपञ्चायत मुद्दा फाँटबाट निवेदकको निकास सन्धीसर्पन बन्द हुने गरी चन्द्रमान महर्जनको घर बनाउने नक्सा पास गर्ने निर्णय गरेको नगरपञ्चायत ऐन, २०१९ को दफा ४९ को उपदफा (१) र मुलुकी ऐन घर बनाउनेको ३ नं. को त्रुटिपूर्ण देखियो । त्यस्तो त्रुटिपूर्ण निर्णय सदर गरेको काठमाडौं नगरपञ्चायत सभाको त्रुटिपूर्ण निर्णय बदर नगरी कायम राखी निवेदन खारेज गर्ने गरेको सर्वोच्च अदालतको निर्णय कानूनी त्रुटिपूर्ण हुन गएको देखिन आएको छ भन्नेसमेत व्यहोराको न्यायिक समितिको पर्चा ।
६. यसमा निवेदक तर्फबाट उपस्थित हुनुभएका वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधरले गर्नुभएको वहससमेत सुनी निर्णयतर्फ विचार गर्दा काठमाडौं नगरपञ्चायत र मुद्दा फाँटले वादीको नक्शा पास हुने टुंग्याई गरेको निर्णय हक बेहक हुने किसिमबाट भएको नदेखिएको भन्ने आएमा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट निवेदन खारेज भएको रहेछ । काठमाडौं नगरपञ्चायतको मुद्दा फाँटले गरेको निर्णयमा बन्ने घर विगत २००६ सालमा पास भएको नक्शाबमोजिम बनी २ तले कायम भइरहेको र घर बनाउने महलको १ नं. ले वादीले आफ्नो घर उठाई लिँदा बलेनी काट्न दिन्न भनी प्रतिवादीहरुले रोक्न नपाउने देखिएकोले र वादीले आफ्नो घर घरमा तला थपी नक्शाबमोजिम घर बनाउन राजदरवारको स्वीकृति पनि प्राप्त गरिसक्नुभएको देखिएकोबाट वादीको नक्सा रोक्न पर्ने मनासिव कारण नदेखिएकोले वादीको नक्शा पास हुने ठहर्छ । प्रतिवादी मध्येको अष्टमानले विगत ०६ सालमा आफ्नो बाटो छ भनी उजूर गरेको नदेखिएको हाल वादीको छिडिबाट आफ्नो बाटो छ भनी उजूर गर्नुभएको हुँदा आफ्नो बाटो छ भने प्रचलित कानूनको म्यादभित्र का.जि. अ.मा.फिराद गरी आफ्नो हक कायम गर्न जानु भनी सुनाई दिने र वादीको नक्शा पास गरिदिने भन्ने उल्लेख भएको देखिन्छ । यसरी साविक घरमा तला मात्र थप्ने गरी नक्शा पास गरिदिने निर्णय गरेको देखिएको हुँदा बाटोको हक बेहकले तला थप्ने कुरामा असर पर्ने देखिँदैन यसरी तला थप्दा घर बनाउनेको ३ नं. प्रतिकूल हुन्छ भन्न पनि नमिल्ने भएकोले कानूनद्वारा अधिकार प्राप्त अधिकारी विपक्षीले गरेको निर्णय त्रुटिपूर्ण नभएकोले रिट निवेदन खारेज गर्ने गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय मनासिव छ । मिसिल नियमबमोजिम बुझाई दिनु ।
हाम्रो सहमती छ ।
न्या. विश्वनाथ उपाध्याय
न्या. त्रैलोक्यराज अर्याल
इति सम्वत् २०३५ साल पौष ४ गते रोज ३ शुभम् ।