December 14, 1978
Created by nepalarchives

निर्णय नं. ११९२ – बाली लुटपिट

निर्णय नं. ११९२     ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३४ सालको दे.फु.नं. १०३ फैसला भएको...

निर्णय नं. ११९२     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री सरदार ईश्वरीराज मिश्र

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३४ सालको दे.फु.नं. १०३

फैसला भएको मिति : २०३५।८।२९।५ मा

निवेदक : जि. सुनसरी महेन्द्रनगर गा.पं. वडा नं. २ बस्ने एकराज अधिकारी समेत

विरुद्ध

विपक्षी : ऐ.जि. भोक्राहा पञ्चायत वडा नं. ९ बस्ने लालजी चौधरी थारु समेत

मुद्दा : बाली लुटपिट

(१)   अ.बं.२७ नं. अनुसार जतिसुकै वादीको जतिसुकै प्रतिवादीउपर पनि एउटै नालिस लाग्न सक्ने ।

(प्रकरण नं. १२)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरी

फैसला

            न्या. सुरेन्द्रप्रसाद सिंह : पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भिर त्रुटि भएकोले पुनरावेदन गर्न अनुमति पाउँ भन्नेसमेत निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्नेसमेत ०३४।४।२१ को सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :

            २.    सुनसरीको साविक भो.गा.पं. वडा नं. ९ को हाल नापी हुँदा महेन्द्रनगर वा.नं. ९ भित्र परेको २७ पलटको हामीहरु समेतका नाउँमा रजिष्ट्रेशन पाससमेत गरी भोगेको जग्गामा धानबाली लगाई राखेको पाकी तयार नभएको काँचो बाली म गणेश बस्नेतले राजीनामा लिएको कि.नं. ५५।५६ को २४ म दुर्गाबहादुरको कि.नं. ३८ मध्येको जग्गा विगाहा १ म एकराजको कि.नं. २१ मध्येको जग्गा विगाहा १ म धनञ्जयको कि.नं. ५३।५४ को ११ म ध्यानप्रसादको कि.नं. ७० को ०१३० म उद्धवबहादुरको कि.नं. २२ मध्येको विगाहा १ समेत ६१७६ जग्गामा विपक्षीहरु र नचिनेको १५०।२०० को हुल जमात भई ०३०।८।१२।१४ का दिन बिहान ७ बजेदेखि भक्तलाल जि. मन्तुसमेतले बचन दिनासाथ कोही काट्ने, कोही बोझा बाँध्ने गरी गोरु, राँगा गाडीमा धान बसारी लुटी लगेको विगो गणेशको ६१५०। दुर्गाबहादुरको ३०००। एकराजको ३०००। धनञ्जयको ३४५०। ध्यानप्रसादको १९५०। उद्धवबहादुरको ३०००। समेत जम्मा रु.२०५५०। विपक्षीहरुबाट दिलाई भराई सजायसमेत गरिपाउँ भन्नेसमेत ०३०।९।२९ को फिराद ।

            ३.    वादी दावीको जग्गा ०१३ सालदेखि हाल आवाद गरी ०१५ सालसम्म भोगेको जग्गा यो वादी गणेशबहादुर समेतका बाबु कोमलबहादुरको र हाम्रो समेत ०१७ सालदेखि जग्गाबाली तथा लुटपिट कुटपिटसमेत विभिन्न मुद्दा परी पैरवीमा वादीका बाबु रहन नसकी फैसला भएको छ । वादीहरुले हाम्रो भनेको जग्गा हाल आवाद र ६६ प्लटभित्रको भन्ने वादी बाहिरको भन्ने हामी भई झगडा हुँदा हाल आवाद ठहरी विषेश अदालतबाट फैसला भएको छ । यो वादीमध्ये दुर्गाबहादुरको पत्नी लक्ष्मीदेवी समेतले मकै बाली लुटपिट मुद्दामा डिसमिस गरेको छ । हक पुगेको कुनै सबूद वा वादीहरुले पेश गर्न नसकेको समेत हुँदा वादी दावीबमोजिम लुटपिट नगरेको हुँदा अलग गरिपाउँ भन्नेसमेत भनतु चौधरी, भगतु गुजाई, दरवारी, नथरु दुखि चौठी, भोलाई, मंगलाल, सत्सदेव राई, शिवनारायण चौधरीसमेत ११ जनाको वारेस आफ्ना हकमा समेत लाल जि. चौधरीको प्रतिउत्तर ।

            ४.    अरु ७ जना प्रतिवादीहरुले सुरु म्यादै गुजारी बसेको ।

            ५.    वादी दावी जग्गा वादीहरुको हकभोग भएको राजीनामा, रसिद प्रमाणसमेत पेश दाखिल भएको वादी दावीको जग्गा ऐलानी हो भन्ने सबूद प्रमाण दाखिल नभएको साथै ऐलानी भनेकोमा २७ नं. प्लटमा परेको नम्बरी दर्ता जग्गा भनी प्र.मध्य लालजीले ०२७।२।१८ मा जीतमानलाई राजीनामा दिएको र २७ नं. प्लटकै जग्गा नम्बरी भई पोत बुझाएको प्र.मध्ये भगत चौधरी, सन्तु चौधरीसमेतको रसिद नक्कल वादीमध्ये एकराजले निवेदनसाथ पेश गरेको समेत प्रमाणबाट वादी दावीबमोजिमको बाली प्रतिवादीहरुले लुटपिट गरी लगेको ठहर्छ भन्नेसमेत सुनसरी जिल्ला अदालतको ०३१।३।३१ को फैसला ।

 

            ६.    सो फैसलामा चित्त बुझेन भन्नेसमेत प्र.लालजी चौधरीको पुनरावेदन ।

            ७.    गणेश बस्नेतसमेत ६ जनाले लालजी चौधरीसमेत १९ जनाउपर चलाएको मुद्दामा प्रत्येक व्यक्तिको भिन्नाभिन्नै कि.नं. को जग्गाको बाली लुटपिट भयो भनी फिराद पर्न आएको प्रस्तुत मुद्दामा अ.बं.७२ नं. अनुसार छुट्टाछुट्टै फिराद गर्नुपर्ने एकै फिराद कारवाही चल्न आएको देखियो । प्रस्तुत फिरादपत्रमा पहिलो वादी गणेश बस्नेतको कि.नं. ५५।५६ को जग्गा बिगाहा २४ बालीतर्फ कारवाही गर्नुपर्नेमा सम्पूर्ण हकमा कारवाही गरेको सुरुको फैसला त्यसतर्फ नमिलेको र वादी दावीको जग्गालाई आफ्नो खेतको जग्गाको आफैले १० कर्म गरी लगाएको बाली मात्र काटेको हो भनी जग्गातर्फ नै विवाद उठाई प्रतिवाद गरेको देखिएकाले जग्गातर्फ निर्णय नगरी बालीतर्फ निर्णय गर्न नमिल्ने हुँदा सुरुको फैसला बदर हुने ठहर्छ । जग्गातर्फ कोर्टफी लिई जग्गातर्फ ठहर गरी प्रस्तुत लुटपिट मुद्दा किनारा गरिदिनु भनी मिसिल सुरु जिल्ला अदालतमा पठाइदिनु भन्नेसमेत पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३३।१०।३ को फैसला ।

            ८.    सो फैसला सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भिर कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्नेसमेत वादी एकराज अधिकारी समेतको निवेदन परेकोमा निवेदक अवधनारायणलाल कायस्थसमेत विपक्षी मनराज साहुतेलीसमेत भएको नौसन्ता सलामी लिन खोजे भन्ने मुद्दामा ०२५।५।२९ मा फुल बेञ्चबाट एउटै विषयको कुरामा असर पुग्न जानेसमेत व्यवस्था दर्साई राखेमा एउटै नालेस दर्ता भई तहतह फैसला हुँदै आइराखेमा मोही मुद्दाबाट वादीहरु सबैको हकमा इन्साफ गरिदिने भन्नेसमेत भई निर्णय भएको र निवेदक अम्बरलाल थारुसमेत विपक्षी ठिटरलाल खाँ थारु समेत भएको ०३० सालको दे.फु.नं. १५२ को जग्गा बाली मुद्दामा ०३१।५।७ मा निर्णय हुँदा एउटै झगडाको कुरामा अ.बं.७२ नं. अनुसार जतिसुकै वादीको जतिसुकै प्रतिवादीउपर एउटै नालिस लाग्न सक्ने भन्नेसमेत सिद्धान्त प्रतिपादित भएको देखिन्छ । प्रस्तुत मुद्दामा सो निर्णयहरुका विरुद्ध पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको निर्णय सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः त्रुटीपूर्ण देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३४।४।२१ को आदेश ।

            ९.    पुनरावेदकतर्फका विद्वान अधिवक्ता श्री प्रकाश वस्ती तथा विपक्षीतर्फका विद्वान अधिवक्ता श्री प्रभुनारायण चौधरीले गर्नुभएको वहससमेत सुनी प्रस्तुतमुद्दामा फैसला मिलेकोछ, छैन । सो को निर्णय दिनुपर्ने हुन आएको छ ।

            १०.    यसमा निर्णयतर्फ हेर्दा एकै समय एकै साथको वादीहरुको जग्गामा एकै किसिमको लुटपिट १९ जवान प्रतिवादीहरु र अरू नचिनेका १५।२० जवानले गरे भन्नेसमेत फिराद लेखाइबाट देखिन आएको छ । त्यसलाई झगडाको विषय एकै सम्झी र जग्गातर्फ पनि वादी दावीको जग्गा वादीहरुको हकभोग भएको राजीनामा रसिद प्रमाण पेश भएको समेत प्रमाणबाट बाली लुटपिट गरी लगेको ठहर्छ भनी सुरु सुनसरी जिल्ला अदालतबाटै फैसला भएको देखिन्छ ।

            ११.    त्यसप्रकार एकदिन एकै समय एकै साथको जग्गामा उही प्रतिवादीहरुले लुटपिट गर्‍यो भन्ने दावी भएकोलाई झगडाको छुट्टाछुट्टै विषय भन्न अ.बं.७२ नं. ले मिल्ने देखिन आएन र जग्गामा समेत सुरु अदालतले ठहर गरिसकेको समेत मिसिलबाट देखिन आएको छ ।

            १२.   पुनरावेदक अवधनारायणलाल कायस्थसमेत विरुद्ध मानराज साहूतेलीसमेत भएको नौसत्ता सलामी लिन खोजे भन्ने मुद्दामा धेरै वादी प्रतिवादी र जग्गा फरक फरक भए पनि प्रतिवादीहरुले एक संगठन गरी सामूहिक रुपले एकैसाथ बटैयामा बखेडा उठाएको त्यसबाट वादीहरु सबैलाई नौसत्ता मनखप सलामी लिन खोजेको भन्ने एउटै विषयको कुरामा असर पुग्न जानेसमेत अवस्था वादीहरुको पहिलेको निवेदन लेखाई समेतले दर्साइराखेको र पहिलेदेखि एउटै उजूरीबाट कारवाही चली ०१५।३।१२ को डिभिजन बेञ्चको फैसलाबमोजिम वादीहरुको प्रस्तुत एउटै नालिस दर्ता भई तल तह फैसला हुँदै आइरहेको समेत हुँदा वादीहरु सबैका हकमा यसै मुद्दाबाट इन्साफ गरिदिन मिल्ने देखिन्छ भन्नेसमेत सर्वोच्च अदालत फुल बेञ्चबाट मिति ०२५।५।२९ मा र निवेदक अम्बरलाल थारुसमेत विरुद्ध ठिटरलाल खाँ थारुसमेत भएको ०३० सालको दे.फु.नं. १५२ को जग्गाबाली मुद्दामा एउटै झगडाको विषयको कुरामा उक्त अ.बं.७२ नं. अनुसार जतिसुकै वादीको जतिसुकै प्रतिवादीउपर पनि एउटै नालिस लाग्न सक्ने नै हुँदा भन्नेसमेत मिति ०३१।५।७।६ मा फुल बेञ्चबाट निर्णय भई सिद्धान्त प्रतिपादित भइराखेको समेत देखिन्छ ।

            १३.   अतः उपरोक्त कारणहरुबाट सुरु सुनसरी जिल्ला अदालतको फैसला बदर गरी जग्गातर्फसमेत निर्णय गर्न सुरुमा पठाउने गरेको पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिँदा सो पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला बदर हुने ठहर्छ । कानूनबमोजिम जे जो निर्णय गर्नुपर्छ त्यसै अदालतबाट निर्णय गरिदिनु भनी सम्बन्धित पक्षहरुलाई तारिख तोकी तपसीलबमोजिम गरिदिनु भनी सम्बन्धित पक्षहरुलाई तारिख तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम पूर्वाञ्चल क्षेत्रीय अदालतमा पठाइदिनु ।

 

तपसील

पूर्वाञ्चल क्षेत्रीय अदालतका ०३३।१०।३ का फैसलाले प्रतिवादी देहायका मानिसहरुले सुरु सुनसरी जिल्ला अदालतबाट देहायबमोजिम गर्ने गरेको जरिवाना नलाग्ने हुँदा असुल भए फिर्ता नभए लगत काटिदिनु भनी सुनसरी जि. अ.मा लेखिपठाउने गरेको फैसला बदर भएको हुँदा पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलाबमोजिम गर्नुपर्दैन । व्यहोरा जनाई लगत कट्टा गरी सुरुको फैसलाबमोजिम लगत कायम गर्नु भनी सुनसरी जि. अ.मा लेखिपठाउन का.जि. अ.मा लगत दिनु………………….१

 जि. सुनसरी भोक्राहा गा.पं. वडा नं. ९ बस्ने भन्ने चौधरी थारु १२८४।३७ ऐ.ऐ.बस्ने भक्तु चौधरी के ऐ.१२८४।३७, ऐ.ऐ बस्ने चौठी चौधरी के ऐ, ऐ.ऐ बस्ने लालजी चौधरी थारु के ऐ.१२८४।३८, ऐ.ऐ बस्ने गुजई के ऐ.१७१।२४, ऐ.ऐे बस्ने दरवारी चौधरी के ऐ.१७१।२४, ऐ.ऐ बस्ने नथरु चौधरी के ऐ.१७१।२४, ऐ.ऐ बस्ने दुःखी चौधरी के ऐ.१७१।२४, ऐ.ऐ बस्ने भोला चौधरी के ऐ.१७१।२४, ऐ.ऐ बस्ने मुङलाल चौधरी के ऐ.१७१।२४, ऐ.ऐ बस्ने सत्यदेवी राई के ऐ.१७१।२४, ऐ.ऐ बस्ने भादगाउँ सिनवारी गा.पं.वार्ड नं.४ बस्ने शिवनारायण चौधरी के १७१।२५, ऐ.ऐ बस्ने शिव नारायणको सगोलको स्वास्नी नाउँ नजानेको थरुनी के १७१।२५, ऐ.ऐ महेन्द्र नगर गा.पं वार्ड नं. ९ बस्ने भन्तुको स्वास्नी नाउँ नजानेको थरुनी के ऐ.१७१।२५, ऐ.ऐ बस्ने ऐ.के कान्छी स्वास्नी नाउँ नजानेकी थारुनी ऐ.रु.१७१।२५, ऐ.ऐ बस्ने दुःखी कै ससुरा नाउँ नजानेको चौधरी के ऐ.ऐ बस्ने चौठीको स्वास्नी नाउ नजानेकी थरुनी के १७१।२५ १७१।२५, ऐ.बस्ने चौठीको आमा नाउ नजानेकी थरुनी के ऐ.१७१।२५

पूर्वाञ्चल क्षेत्रीय अदालतका ०३३।१०।३ का फैसलाले वादी देहायका मानिसहरुलाई सुरु सुनसरी जि. अ.का.फै.ले प्र.मध्य भन्तु, भगतु, चौठी लालजी समेत ४ जनाबाट देहायबमोजिम भराउने गरेको जम्मा रु.बिगो रु.२०५५०। को लगत काटी दिन भनी सुनसरी जि. अ.मा लेखी पठाउने गरेको सो पु.क्षे.अ.फैसलाबमोजिम गर्नु पर्दैन । सो लगत काटी सुरु सुनसरी जि. अ.को लतग कायम राख्नु भनी सु.जि. अ.मा लेखी पठाउन का.जि. अ.मा लगतदिनु…२

वादी जि. सु.घ.न.पं.वार्ड नं. ८ बस्ने गणेशबहादुर बस्नेत के ६१५०।, ऐ.महेन्द्रनगर गा.पं.वार्ड नं. ९ बस्ने दुर्गाबहादुर बस्नेत के ३०००।, ऐ.ऐ बस्ने धनञ्जय भट्टराई के ३४५०।, ऐ.बस्ने ध्यानप्रसाद लिम्बू के १९५०।, उदयबहादुर तामाङ के ३०००। ऐ.बस्ने एकराज अधिकारी के ३०००।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. ईश्वरीराज मिश्र

 

इति सम्वत् २०३५ साल मार्ग २९ गते रोज ५ शुभम् ।