निर्णय नं. ११९० – अंश
निर्णय नं. ११९० ने.का.प. २०३५ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयबहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५...
निर्णय नं. ११९० ने.का.प. २०३५
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयबहादुर खत्री
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
सम्वत् २०३५ सालको देवानी फुल नम्बर २७
फैसला भएको मिति : २०३५।८।२० मा
निवेदक : धर्मकुमारी आचार्यसमेत
विरुद्ध
विपक्षी : गंगादेवी आचार्य
मुद्दा : अंश
(१) हिन्दु समाजमा घरको मुख्यकर्ता पितालाई मानिने…अंशबण्डा हुन बाँकी छ भन्न मिल्ने नदेखिने ।
(प्रकरण नं. १४)
(२) चिठ्ठीबाट सगोलमा रहेभएको भनी ठहर गर्न मिल्ने देखिन नआउने ।
(प्र.नं. १६)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
फैसला
प्र.न्या. नयनबहादुर खत्री : प्रस्तुत मुद्दामा प्रतिवादीहरुको निवेदनमा फुल बेञ्चबाट दोहर्याई कानूनबमोजिम गरी छिनिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भई यस बेञ्चसमक्ष पेश हुन आएको रहेछ ।
२. मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ : जेठाजु भैरवप्रसाद आचार्य र पति भीमप्रसाद आचार्य सहोदर दाजुभाइ हुन । अंशवण्डा नगरी सगोलमा रही बसिआएको अवस्था १९९७ सालमा मेरा पति भीमप्रसादको देहान्त भएको र मेरो गर्भबाट जन्मेकी एक छोरी पनि जीवित नरहेकी म निज जेठाजु भैरवप्रसादसँग सगोलमै बसी व्यवहार गरी आएका थिएँ । अंशबण्डा नहुँदै २०२६ सालमा जेठाजु भैरवप्रसादको पनि देहान्त भयो । यी विपक्षीको सगोलमा बस्न इच्छा नभएकोले म पनि बेग्लै बस्नसम्म लागेकी तर कुनै अंश भाग भने मैले केही नपाएकी इज्जत आमोदअनुसार खान लगाउनसमेत नदिएकोले फिराद गर्न आएको छु । ०२७।८।१ गते कागज गरी मानोसम्म छुट्टि बसेकोले सो मितिसम्मको चलअचल श्रीसम्पत्तिको फाँट विपक्षीबाट तायदाती लिई मैले पाउने अंश दिलाइपाउँ भन्ने फिरादपत्र ।
३. ससुरा बाजे डि.चिन्तामणिका जेठीपट्टिका भैरवप्रसाद, कान्छी पट्टिका वादीका लोग्ने भीमप्रसाद हुन । घरको मुख्य कर्ता ससुरा बाजे डि.चिन्तामणिले १९९०।५।१९।१ मा वादीका लोग्ने भीमप्रसादको समेत सगोलमा रहने गरी हाम्रा पतिपिता भैरवप्रसादलाई अंशबण्डा छुट्याई लिखत गरिदिनु भएकोमा वादीको पति भीमप्रसादलाई १९९७ सालमा परलोक हुनुअगावै घरको मुख्य चिन्तामणिले अंश भाग छुट्याई दिनुभएको हो । अंश मिसाई सगोलमा बसेको भन्ने वादीको सबूद प्रमाण दाखिल नभएको समेत हुँदा सगोल छु भन्ने वादी झुठ्ठा हो । अब वादीको अंश हामीहरुसँग छैन भन्नेसमेत व्यहोराको प्रतिउत्तर पत्र ।
४. २०२७।८।१ को बण्डापत्रको कागज राजकुमारको हस्ताक्षर होइन । कीर्ते बनाई दाखिल गरेका हुन भन्ने प्र.वा.रामबहादुरको र डि.चिन्तामणि आगे भएको १९९०।५।१९।१ का बण्डापत्र सक्कलै देखें सनाखत गरें डि.चिन्तामणिले भैरवप्रसादलाई गरिदिएको बण्डापत्र सद्दे नै हो । तर सो बण्डाअनुसार छुट्टि बेगल बसेको होइन । रामबहादुरको बयानअनुसार पनि कीर्ते होइन सद्दे हो भन्ने वादी वा.पुष्पलालको बयान ।
५. गंगादेवीबाट ०२५।१।३।२ मा रु.२३००६। को राजीनामा लिँदा भैरवप्रसाद साक्षी बसी लिएको हो भन्नेसमेत दौमत सतारको बयान ।
६. प्रतिवादीको लोग्ने बाबु भैरवप्रसाद डि.चिन्तामणिबाट १९९०।५।१९ मा बण्डा छुट्टिई छुट्टा–छुट्टै व्यवहार भएको प्रमाणित हुन आएकोले छुट्टिएको प्रतिवादीहरुबाट अंश दिलाइपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने ०३०।११।१।२ को झापा जिल्ला अदालतको फैसला ।
७. उक्त इन्साफमा चित्त बुझेन भन्ने वादी र कीर्ते कागजलाई सद्दे भनी गरेको सुरुको इन्साफ उल्टाइपाउँ भन्नेसमेत प्रतिवादीको पुनरावेदन ।
८. १९९०।५।१९।१ को बण्डापत्र कागजमा भैरवप्रसादको सहीछाप परेको देखिँदैन । एक पक्षको सही नभएको बण्डापत्रलाई रीतपूर्वकको भन्न मिल्ने देखिँदैन । प्रस्तुत मुद्दामा वादीले कोही जग्गा विपक्षीलाई साक्षी राखी बिक्री गरेको देखिए तापनि ऐनबमोजिम रीतपूर्वक बण्डापत्र भएको र त्यसको आधारमा वादीको माग वादीको भोगमा आएकोसमेत देखिँदैन । १९९०।५।१९।१ को बण्डापत्र भएको भन्ने कुराको मुख्य आधार स्वरुपको लिखतलाई २००३।३।९।१ का सनदले मान्यता दिएको भनी भन्न व्याख्या गर्न प्रस्तुत मुद्दामा नसकिने । त्यसपछिका प्रमाण लगाइएका अंश र जग्गा मुद्दा र बिक्री राजीनामाहरुका आधारले मात्र बण्डा भएको भन्न कानूनअनुरुप देखिएन । वादीले अंश पाई छुट्टै बसी भोग गरेको भन्ने कुराको पक्का प्रमाणको अभावमा पक्ष विपक्षका बीच अंशबण्डा भएको भन्न मिलेन । अंश दिलाइपाउँ भन्ने वादीको दावी पुग्न नसक्ने भन्ने झापा जि. अ.को इन्साफ नमिलेको हुँदा बदर हुन्छ । २०२७।९।१।२ को मानो छुट्टिएको मिति कायम गरी कानूनबमोजिम तायदाती लिई बण्डा गरिदिनु भनी मिसिल सुरु जिल्ला अदालतमा पठाइदिने लिखत सद्दे कीर्तेतर्फ इन्साफ मनासिव ठहर्छ भन्नेसमेत पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३३।५।७।२ को फैसला ।
९. पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलामा कानूनी त्रुटिमा पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने प्रतिवादीहरुको निवेदनमा सर्वोच्च अदालत डिभिजन बेञ्चका ०३३।९।२४।६ का आदेशले पुनरावेदन गर्ने अनुमति प्राप्त भई ०३४।४।३२।३ का डिभिजन बेञ्चबाट निर्णय हुँदा १९९०।५।१९।१ को बण्डापत्रको लिखतमा भैरवप्रसादको सही नपरेकोले त्यसलाई मान्यता दिन मिल्दैन । सो बण्डापत्रको कागज वेरीत भएपछि त्यसलाई मानो छुट्टिएको कायम गर्न पनि मिलेन । तसर्थ फिराद परेको अघिल्ला दिन मानो छुट्टिएको मिति कायम गर्नुपर्ने ठहर्छ । सो कायम गर्नु र तायदाती लिई बण्डा गरिदिनु भनी मिसिल जिल्ला अदालतमा पठाउने गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिव छ भन्नेसमेत निर्णय भएको छ ।
१०. निवेदक प्रतिवादीहरुका तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले वादीले पेश गरेकै २०२७।८।१ को लिखतबाटै वादी अघिदेखि भिन्न भई बसेको भन्ने देखिन्छ । त्यसपछि मानो जोडिएको भन्ने देखिँदैन । प्रतिवादीहरुको पति तथा पिता १९९०।५।१९।१ मा छुट्टिएको बण्डापत्र कागजलाई वादीले मञ्जुर गरेकै छ । त्यसबाट १९९० साल भाद्र १९ गते नै वादी भिन्न भइसकेको प्रष्ट हुन्छ । सो कागज कानूनी मान्यता प्राप्त छ । १९८९।८।२४ मा वादीका पिता विष्णुलाल ढकाललाई प्रतिवादीहरुका पति तथा पिता भैरवप्रसाद आचार्यले लेखेको चिठीबाट वादी अघि नै भिन्न रहेको कुरा देखाउँछ । कुलप्रसाद आचार्यले यिनै वादीसमेत उपर दिएको २००४ सालको जग्गा मुद्दा र वादी कुलप्रसाद आचार्य प्रतिवादी अप्सरासमेत भएको अंश मुद्दाको प्रतिउत्तरमा यी वादी गंगादेवी आचार्यको अंशबण्डा भइसकेको कुरासमेत उक्त प्रतिउत्तरसमेतबाट खुलेको छ । यिनै वादी गंगादेवी अचार्यले डोभना सोरेनलाई गरिदिएको ०२५।१।२६।४ को रु.२३४०६। को राजीनामामा कसैको अंश हक नलाग्ने खास मेरा मात्र हकभोगको भनी र हरीश्चन्द्र शर्मालाई रु.१७९४८ मा ०२५।२।३।५ मा गरिदिएको राजीनामामा मेरोमात्र अंश हक भोगको भनी र पूर्णमान कार्की क्षेत्रीलाई ०२५।१।२५ मा गरिदिएको रु.५५३१ को राजीनामामा खास मेरो मात्र अंशको हकको भनी वादीले राजीनामा लिखत व्यवहार गरेको समेत देखिएबाट वादी अघि नै भिन्न भई बसेको र १९९०।५।१९ को बण्डापत्र घरसारको भए पनि सो कुरालाई सकारात्मक व्यवहार हुँदै आएको अन्य लिखतहरुबाट वादी अघि नै छुट्टि भिन्न भएको प्रष्ट छ । वादी परेको अघिल्लो दिन मानोछुट्टिएको मिति कायम गरेको र वादीले अंश पाउने गरेको डि.बे.को निर्णय मिलेको छैन भन्नेसमेत वहस प्रस्तुत गर्नुभयो ।
११. विपक्षी वादी तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले प्रतिवादीहरुका पिता तथा पति १९९०।५।१९।१ मा नै छुट्टिसकेको भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताको भनाइसँग म सहमत हुन सक्दिनँ किनभने उक्त लिखतमा प्रतिवादीको पिता तथा पति भैरवप्रसादको सहीछाप परेकोसमेत छैन । केवल बाबु चिन्तामणिले छोरा भैरवप्रसादलाई अंश दिएको कुरासम्म उल्लेख छ । सो पनि तत्कालिन रजिष्ट्रेशनको ३ नं. बमोजिम रजिष्ट्रेशन भएको छैन । यस्तो लिखतबाट वादीका पति प्रतिवादीहरुका पिता तथा पति भिन्न बसेको र अंशवण्डा भएको भन्न कानूनसंगत हुँदैन । आफ्नो जो भएको सबै दाजुभाइबाट अंशबण्डा भएको थियो भन्ने कानूनको रीतपूर्वकको लिखत प्रतिवादीहरुतर्फबाट पेश हुन आएको पनि छैन । १९९०।५।१९।१ को घरसारको लिखतको आधारमा वादीले अंश नपाउने भन्न मिल्दैन । सबै अंशियारसँग छुट्टिएको लिखत हुनुपर्छ । केवल बाबु डि.चिन्तामणि आचार्यसँग प्रतिवादीहरु पिता तथा भैरवप्रसाद आचार्य १९९०।५।१९।१ मा छुट्टिएको भन्दैमा वादीका लोग्ने भीमप्रसाद आचार्यसँग पनि छुट्टिएका थिए भन्न सकिँदैन । तसर्थ वादी प्रतिवादीका बीचमा अंशबण्डा भएको पक्का प्रमाणको अभावमा वादी दावीबमोजिम वादीले अंश पाउने हुन भन्नेसमेत आफ्नो प्रस्तुत गर्नु भयो ।
१२. प्रस्तुत मुद्दामा वादी प्रतिवादीतर्फका विद्वान अधिवक्ताहरुको वहससमेत सुनी निर्णयतर्फ विचार गर्दा जेठाजु भैरवप्रसाद आचार्य र पति भीमप्रसाद आचार्य सहोदर दाजुभाइ भएका सगोलमा अंशबण्डा नगरी बस्नुभएको अवस्था १९९७ सालमा पति भीमप्रसाद र २०२६ सालमा जेठाजु भैरवप्रसादको पनि देहावसन भयो । ०२७।८।१ मा जेठाजुका छोरा र मेरो मानासम्म छुट्टिएकोले प्रतिवादीहरुबाट रीतपूर्वकको तायदाती लिई आधी भाग अंश दिलाइपाउँ भन्ने वादीको फिराद दावी १९९० साल भाद्र १९ गते हाम्रा पति तथा पिता भैरवप्रसाद आचार्यलाई हाम्रा ससुरा बाजे डि.चिन्तामणिले अंशबण्डा गरी छुट्याई दिनुभएकोले वादीलाई हामीले अंश दिनुपर्ने होइन भन्नेसमेत प्रतिवादीहरुको प्रतिवादी भएको प्रस्तुत मुद्दामा वादी गंगादेवीले प्रतिवादीहरुबाट अंशवण्डा पाउने ठहराई छिनेको इन्साफ डिभिजन बेञ्चको मनासिव वेमनासिव के रहेछ भनी निर्णय गर्नुपर्ने हुन आएको छ ।
१३. १९९० साल भाद्र १९ गते डि.चिन्तामणि आचार्यले प्रतिवादीहरुको बाबु तथा पति भैरवप्रसाद आचार्यलाई अंशबण्डा छुट्याई दिइसकेकोले वादीलाई प्रतिवादीहरुले अंश दिनुपर्ने होइन भन्नेसमेत प्रतिवादी निवेदकतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेको वहसको खण्डन गर्दै वादीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले उक्त लिखतमा प्रतिवादीहरुका पिता तथा पति भैरवप्रसाद आचार्यको सहीछाप पनि परेको छैन । त्यस्तो कारणीको सहीछाप नभएको लिखतलाई मान्यता दिन मिल्दैन । उसमाथि पनि भैरवप्रसादले उक्त लिखतबाट आफ्ना पिता डि.चिन्तामणि आचार्यसँगमात्र अंशबण्डा लिई भिन्न बसेको देखिन्छ । अंशबण्डा गर्दा सबै अंशियारसँग गर्नुपर्छ । सबै अंशियार दाजुभाइसँग भैरवप्रसादले अंशबण्डा गरी बेगल बसेको हो भन्ने कुरा उक्त बण्डापत्र लिखतबाट देखिएन यस्तो स्थितिमा वादीका पति भीमप्रसाद आचार्य र प्रतिवादीहरुका पति तथा पिता भैरवप्रसाद आचार्यको बीचमा अंशवण्डा भएको देखिँदैन । तसर्थ वादी दावीअनुसार वादीले अंशवण्डा छुटाई पाउने हुन्छ भन्नेसमेत आफ्नो वहस तर्क पेशगर्नुभएको छ ।
१४. मिसिलको तथ्यतर्फ विचार गर्दा १९९० साल भाद्र १९ गते रोज १ मा भएको बण्डापत्र कस्तो रहेछ भनी हेर्नु आवश्यक हुन्छ । उक्त लिखत हेर्दा डि.चिन्तामणि आचार्य आगे भई मेरा बाहुनी २ मा जेठीपट्टिका छोरा भैरवप्रसाद, भीमप्रसाद र कान्छीपट्टिका नाबालक छोरा ह्दयराज, लेखनाथ २ भाइसमेत ४ भाइ छोराहरुसमेत र म आजसम्म एकाघरमा सगोलमा रही बसेको र आजका मितिदेखि छोरा भैरवप्रसाद आचार्य मानु छुट्टि भिन्न बस्ने भएकोले भीमप्रसादसमेत ३ भाई र मसमेतको ४ भाग अंश सगोलै बस्ने भएकोले ४ अंश पर सारी मैले जिम्मा लिई तैंले पाउने ५ भागमा १ भाग तपसीलबमोजिमको अंश भाग छुट्याई दिएँ भनी किनारामा वादीका लोग्ने भीमप्रसाद अंशियार जनिई साक्षी राखी लिखत खडा भएको र उक्त लिखत वादीलाई सुनाउँदा सो लिखत भएको हो भन्ने कुरामा वादीले मञ्जुरसमेत गरिसकेकी, तर उक्त बण्डापत्र भनेको कागजमा भैरवप्रसादको सहीछाप नपरेको र बाबु डि.चिन्तामणि आचार्यसँग मात्र छुट्टिएको देखिन्छ । तर भाइसँग छुट्टिएको कागज हो होइन भन्ने वादीतर्फका विद्वान वरिष्ठ अधिवक्ताको वहस जिकिरको हकमा उक्त लिखत भई डि.चिन्तामणिका २ पत्नीबाट ४ छोरा र आफूसमेत ५ अंशियार देखाई ५ भागको १ भाग अंशवण्डा प्रतिवादीका पिता, पति भैरवप्रसादलाई छुट्याई दिएको देखिने र उक्त लिखतमा वादीका लोग्ने भीमप्रसादसमेत किनारामा अंशियार जनाई साक्षी बसेकोसमेत देखिन्छ । डि.चिन्तामणिले ५ जना अंशियार देखाई ५ भागमध्ये १ भागमध्ये १ भाग अंश प्रतिवादीका पिता पति भैरवप्रसालाई छुट्याई दिइसकेको छ भने अब आएर प्रतिवादीका पिता पति आफ्ना भाइ भाइमा अंशबण्डा गरी छुट्टी बेग्लै बसेका होइनन । भाइभाइमा अंशबण्डा भएको छैन भन्ने तर्क युक्तिसंगत देखिँदैन । हाम्रा हिन्दू समाजमा घरको मुख्य कर्ता पितालाई नै मानिने हुनाले उनकै सम्पत्तिबाट आफ्ना यतिजना अंशियारलाई यति भाग अंश दिनुपर्ने भनी सबै अंशियारको भाग छुट्याई कुनै अंशियारलाई अंशबण्डा गरी दिइन्छ भने त्यस्तो अवस्थामा लेखिएबमोजिम आधी अंश भइसकेको भाइभाइमा पुनः अंशवण्डा हुन बाँकी छ भनी भन्न मिल्ने देखिँदैन । तसर्थ यस जिकिरतर्फ वादीतर्फका विद्वान वरिष्ठ अधिवक्ताको वहस जिकिरसँग सहमत हुन सकिएन ।
१५. उक्त १९९०।५।१९।१ मा भएको बण्डापत्र लिखित तत्कालिन रजिष्ट्रेशनको ३ नं. मा भएका व्यवस्थाअनुसार रजिष्ट्रेशन हुनुपर्नेमा सो भएको देखिँदैन तथापि अन्य कुरातर्फ पनि यहाँ विवेचना गर्नु प्रासंगिक नै हुने हुनाले त्यसतर्फ हेर्दा तत्कालिन मोरङ विराटनगर अमिनबाट २००५।३।३१ मा फैसला भएको वादी कुलप्रसाद आचार्य प्रतिवादी भैरवप्रसाद आचार्यसमेत भएको जग्गा मुद्दामा यिनै वादीले दिएको प्रतिउत्तरमा म गंगामायाको लोग्ने भीमप्रसादले पनि अंश लिई वेग्लै बसेको भन्ने र विराटनगर अमिनबाट २००५।९।१९।१ मा फैसला भएको वादी कुलप्रसाद आचार्य प्रतिवादी भैरवप्रसाद आचार्यसमेतको अंश मुद्दामा भैरवप्रसादको प्रतिउत्तरपत्रमा बाबुसँग म भिन्न हुँदा मैले ५ भागको १ भाग बाबुले दिएका त्यसपछि मेरा भाइ भीमप्रसाद भिन्न भई सोही मुताविक पाउँ भन्नेसमेत उल्लेख गरेकोबाट वादीका पति भीमप्रसाद र प्रतिवादीका पति पिता भैरवप्रसाद आचार्यको उक्त लिखित भएको मिति १९९० साल भाद्र १९ गते रोज १ मा नै अंशबण्डा भएको भन्ने कुराको पुष्टि हुन आउँछ ।
१६. ०२५।१।२६।४ मा यिनै वादी गंगादेवी आचार्यले डोमना सोरेनलाई रु.२३४०६। मा गरिदिएको राजीनामामा अरू कसैको अंश हक नलाग्ने खास मेरो मात्र हक भोगको भन्ने र हरिश्चन्द्र शर्मालाई ०२५।२।३।५ मा गरिदिएको रु.१७९४८। को राजीनामामा मेरोमात्र अंश हक भोगको भन्ने र पूर्णमान कार्कीलाई ०२५।१।२५।३ मा गरिदिएको रु.५५३१। को राजीनामामा खास मेरोमात्र अंश हकभोगको भनी जग्गा बिक्री गरेको राजीनामामा व्यहोरा जनाई प्रतिवादीहरुका पति पिता भैरवप्रसाद आचार्यसमेत साक्षी राखी राजीनामाद्वारा जग्गा बेचबिखन गरेको कुरा मिसिल साथ रहेको लिखत नक्कलबाट देखिन्छ । भैरवप्रसादले वादीको पितालाई लेखेको चिठ्ठीबाट अंशबण्डा नभई सगोलमै भएको व्यहोरा देखिन आउँछ भनी सक्कल चिठ्ठी प्रमाणमा पेश दाखिल हुन आएको छ । तर सो चिठ्ठीको समस्त व्यहोराको तथ्यबाट पनि सगोलमै छौं भन्ने कुरा उल्लेख भएको देखिन्न बाबुको सम्पत्ति पनि नलिएको हुनाले भाइ बुहारीको सम्पत्ति लिने खाने आशा गरेको छैन भन्ने लेखिएको व्यहोराबाट भाइबुहारीको सम्पत्तिमा लालच नराखी आफ्नो गौरव राख्ने भावनायुक्त व्यहोराको चिठ्ठीको व्यहोराबाट अंशवण्डाको सम्बन्धमा सगोल वा बेगल भन्ने कुरा प्रष्ट गरेको देखिन नआउने हुनाले सो चिठ्ठीबाट सगोलमा रहेभएको भनी ठहर गर्न मिल्ने देखिन आउँदैन ।
१७. अंशवण्डामा प्रचलित कानूनको के व्यवस्था छ भनी हेर्दा वर्तमान अंशबण्डाको ३० नं. यसप्रकार छ : अंशबण्डा गर्दा साक्षी राखी कानूनबमोजिम बण्डा छुट्याई बण्डापत्रको कागज खडा गरी लिनेदिनेको र साक्षीको समेत सहीछाप गरी रजिष्ट्रेशन गर्नुपर्नेमा सो गरी राख्नुपर्छ । सोबमोजिम नभएको बण्डा सदर हुँदैन । तर यो ऐन प्रारभ हुँदासम्मा बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरमगरम मिलाई अचल अंशवण्डा गरी छुट्टिई आफ्नो–आफ्नो हिसाब भाग शान्तिबमोजिम लिई पाई दाखिल खारेजसमेत गराइसकेको वा बण्डाबमोजिम आफ्नो–आफ्नो भागको अचल छुट्टाछुट्टै भोग बिक्रीमा व्यवहार गरकोमा व्यवहार प्रमाणबाट बण्डा भइसकेको ठहरेमा पछि बण्डापत्र रजिष्ट्रेशन भएको छैन वा बण्डा घटीबढी, असल–कमसल भयो भन्न पाउँदैन । रजिष्ट्रेशन नभए पनि बण्डा भएको सदर हुन्छ । पाउने अंशभन्दा घटी अंश जिउनी लिएकोमा र अंशको छोडपत्र गरेकोमा भने रजिष्ट्रेशन भएको हुनुपर्छ भन्ने कानून व्यव्स्था रहेभएको पाइयो।
१८. उपर्युक्त वर्तमान अंशवण्डाको ३० नं. ०३४।९।२७।४ देखि प्रारम्भ भएको देखिन्छ । प्रस्तुत मुद्दाको वादी फिराद दावीको ऐन लागू हुनुभन्दा अघि नै परिरहेको हुनाले पछि जारी भई लागू भएको उपर्युक्त ऐन यस मुद्दामा प्रासंगिक हुन्छ, हुँदैन भन्ने कुरा पनि विचारणीय हुन आउँछ । तर उक्त ऐनले नै प्रारम्भ हुनुभन्दा अघिको अवस्थालाई यसो हुन्छ भनी किटानसाथ पूर्वावस्थालाई समेत निर्देशन गरेको देखिन आएकोले ऐन जारी हुनुभन्दा अघिको मुद्दा भए पनि उक्त ऐन प्रासंगिक हुन आएकोले उक्त ऐनबमोजिम अघि भएको व्यवहार प्रमाणबाट अंश भएको नभएको कुरा छुट्याउन प्रस्तुत दफा लाग्ने नै देखिन आयो । वादी गंगादेवी आचार्यले आफ्नो अंश हकको जग्गा डोमना सोरेन, हरीचन्द्र शर्मा र पूर्णमान कार्की क्षेत्रीलाई खास मेरो मात्र अंश हकभोगको जग्गा भनी राजीनामामा लिखत रजिष्ट्रेशन पास गरी बिक्री गर्दा प्रतिवादीका पतिपिता भैरवप्रसाद आचार्यलाई साक्षी राखी बिक्री व्यवहारसमेत गरेबाट यी वादीको अघि नै अर्थात प्रमाणपत्रमा दाखिल हुन आएको १९९०।५।१९ को लिखतअनुसार अंशवण्डा भएको हो भन्ने कुरामा वादीबाट भएका लिखत व्यवहारबाट वादीको अंश भएको छैन भनी भन्न ठहराउन वर्तमान अंशवण्डाको ३० नं. ले नमिल्ने हुँदा वादीले प्रतिवादीहरुबाट अंश पाउँ भन्ने दावी पुग्न नसक्ने ठहराएको सुरु झापा जि. अ.को इन्साफ मनासिव हुँदा डिभिजन बेञ्चबाट भएको निर्णय कानूनसंगत देखिन आएन । तपसीलको कलममा तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिएबमोजिम पूर्वाञ्चल क्षेत्रीय अदालतले गरेको डिभिजन बेञ्चको इन्साफ उल्टो भएकोले देहायको कलममा देहायबमोजिम गर्नु भनी झापा जि. अ.मा लेखिपठाउन का.जि. अ.त.मा लगत दिने…………….१
वादी गंगादेवीकै पूर्वाञ्चल क्षेत्रीय अदालतको ०३३।५।७।२ को फैसलाले प्रतिवादीबाट तायदाती लिई विगो कायम गरी लाग्ने कोर्टफीमा वादीबाट दाखिल भइसकेको कोर्टफी रु.५०। कट्टि गरी नपुग कोर्टफी वादीबाट लिई निजले पाउने अंश छुट्याइदिनु भनी लगत दिने गरेको हालसोबमोजिम गर्नु परेन व्यहोरा जनाई सो लगत कट्टा गरिदिने ।
ऐ र के ०३३।५।७ को पु.क्षे.अ.को फैसला फिराद गर्दा राखेको कोर्टफी रु.२५। पुनरावेदन गर्दा राखेको कोर्टफी रु.२५। समेत रु.५०। र तायदाती दाखिल भएपछि वादीले पाउने बिगोबाट दाखिल हुने कोर्टफीसमेत प्रतिवादीबाट भराइदिने गरेको हाल सोबमोजिम गर्न परेन, व्यहोरा जनाई लगत कट्टा गरिदिने……………………….२
देहायको प्रतिवादीकै क्षेत्रीय अदालतको इन्साफउपर पुनरावेदन गर्ने अनुमति पाई पुरावेन गर्दा राखेको कोर्टफी रु.२५। र डिभिजन बेञ्चको इन्साफ दोहर्याएवापत राखेको कोर्टफी रु.२।५० समेत जम्मा रु.२७।५० हार्ने वादी गंगादेवीबाट भरी पाउने हुँदा भरीपाउँ भनी कोर्टफी ऐन, २०१७ को दफा १५ (११) को म्याद ३ वर्षभित्र दरखास्त परे ऐनको दफा १३ (१) बमोजिम दस्तुर केही नलिई वादीबाट देहायको प्रतिवादी के बराबरका दरले भराइदिने १
धर्मकुमारी आचार्य १ ध्रुर्वकन्या आचार्य १ दिक्षराज आचार्य १ राजकुमार आचार्य १ लोकेन्द्रराज आचार्य १ चेतराज आचार्य १
पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसलाले केही उल्टीमा झापा जि. अ.का तत्कालिन का.मु.जि. न्या. मोहनकुमार श्रेष्ठको रेकर्ड राख्ने गरेकोमा हाल सोबमोजिम गर्नु परेन भनी पु.क्षे.अ.मा सूचना पठाइदिने………………………….३
हामीहरुको सहमती छ ।
न्या. सुरेन्द्रप्रसाद सिंह,
न्या. त्रैलोक्यराज अर्याल
इति सम्वत् २०३५ साल मार्ग २० गते रोज ३ शुभम् ।