November 24, 1978
Created by nepalarchives

निर्णय नं. ११८८ – जग्गा खिचोला

निर्णय नं. ११८८     ने.का.प. २०३५ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत २०३५ सालको...

निर्णय नं. ११८८     ने.का.प. २०३५

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत २०३५ सालको दे.फु.नं. २६

फैसला भएको मिति : २०३५।८।९।६ मा

निवेदक : पाल्पा जिल्ला तानसेन न.पं. वडा नं. ८ बस्ने धनलक्ष्मी राजभण्डारी

विरुद्ध

विपक्षी : ऐ.ऐ. भगवती टोल बस्ने गुणबहादुर श्रेष्ठ

मुद्दा : जग्गा खिचोला

(१)   पेटी भनेको जग्गा राजीनामा भित्रकै देखिएकोले खिचोला गरे भन्ने वादी दावी पुग्न नसक्ने ।

(प्रकरण नं. १२)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे

विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी

फैसला

            न्या. विश्वनाथ उपाध्याय : प्रस्तुत मुद्दा डिभिजन बेञ्चबाट भएको निर्णय दोहर्‍याइपाउँ भनी निवेदक वादी धनलक्ष्मीको निवेदन परी न्यायिक समितिबाट भएको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार मुद्दा दोहर्‍याइदिनु भन्ने श्री ५ महाराजाधिराजबाट बक्स भई आएको हुकूम प्रमांगीबमोजिम मुद्दा दोहरी निर्णयार्थ पेश हुन आएको रहेछ ।

            २.    मुद्दाको विवरण यसप्रकार छ : ससुरासँग बण्डापत्र भई मेरो हक भएको तिरो रु.।१६।२ लागेको भगवती टोलको घरदेखि पश्चिमतर्फ इश्वरीलालको घर थियो । सो घर सुकुमारीसँग इश्वरीलाल र चिरञ्जीवीले राजीनामा लिई बण्डापत्र गरेपछि इश्वरीको बण्डा पनि चिरञ्जीवीलाई राजीनामा गरेको त्यसबाट पनि सो घर गुणबहादुरले गत २०२७।१।२४ मा राजीनामा लिई ०२८।१।१३ गतेदेखि मेरो घरको पिछुवारको पेटी भत्काई खिचोला गरेकोले राजीनामा लिए पनि पूर्व किल्ला, इश्वरीलालको घर भनी लेख्न नसकी खाली इश्वरीलाल भनी लेखेकोले इश्वरीलालको जग्गालाई साँध कायम गरेको गुणबहादुरको दाता चिरञ्जीवीले पनि मेरो २ हात पेटी जग्गा छोडी चलन गरेको हुँदा चिरञ्जीवीसँग राजीनामा लिने विपक्षीले मेरो जग्गामा दावी खिचोला गर्न नपाउने मध्ये रु.२००। पर्ने तिरो रु.।१ लाग्ने पूर्व मेरै घरको गारो पश्चिम अन्यायवालाको जग्गा, दक्षिण मेरै जग्गा, उत्तर गारो ४ किल्लाभित्रको जग्गा खिचोला गर्नुभएकोले खिचोला मेटाइपाउँ भन्नेसमेत धनलक्ष्मी राजभण्डारीको फिरादपत्र ।

            ३.    वादीले नै नगरपञ्चायतमा उजूर गरी कारवाई चलिरहेको नगरपञ्चायतले ०२८।९।२२ मा निर्णय गरेकोमा त्यसउपर पुनरावेदनसमेत नगरी बसेको र शर्तनामाको कागज मौकैमा गरिदिएको भए त्यस कुराको उल्लेख ०२१।२।१७।७ मा तानसेन नगरपञ्चायतमा भएको मिलापत्र एवं ०२७।१।१४।५ मा मैले राजीनामा गरिलिएको कागजमा उल्लेख हुनुपर्ने । सोसमेत नभएको तानसेन नगरपञ्चायतबाट घर बनाउने नक्सा पास गराई माग्दा नाप जाँचसमेत भई मैले घर बनाउने स्वीकृति पाइसकेको समेतबाट वादी दावी झुठ्ठा हो भन्नेसमेत गुणबहादुर श्रेष्ठको प्रतिवादी ।

            ४.    वादीको भनाइबमोजिमको पेटी भएकै र प्रतिवादीले भत्काई खिचोला गरेकै देखिन आएकोले पेटी भत्काई खिचोला गरेको छैन भन्ने प्रतिवादीको जिकिर गल्ती देखिएकोले वादी दावीबमोजिम प्रतिवादीले खिचोला गरेकै ठहर्छ भन्ने समेत पाल्पा जिल्ला अदालतको मिति ०२९।८।२९ को फैसला ।

            ५.    उपरोक्त फैसलामा चित्त बुझेन भन्ने समेतको वादी गुणबहादुर श्रेष्ठको पुनरवेदनपत्र ।

            ६.    जग्गामा हक चिरञ्जीवीकै कायम रहन आएको र सो ठाउँको राजीनामा बमोजिमको ४ किल्ला भित्रको घर जग्गा जे जति हक दायित्व छ सो राजीनामा लिने यो प्रतिवादीको हक स्वामित्व हुन आउने भई जग्गामा हक प्रतिवादीकै देखिन आएकोले मेरो घरको पेटी जग्गामा खिचोला गरे भन्ने वादी दावा पुग्न सक्तैन । वादीको जग्गामा प्रतिवादीले खिचोल गरेको टहराएको पाल्पा जिल्ला अदालतको ईन्साफ मिलेको देखिँदैन । खिचोला गरे भन्ने वादी दावा पुग्न सक्तैन भन्ने समेत लुम्बिनी अं.अ.को मिति २०३०।१।१४।५ को फैसला ।

            ७.    धनलक्ष्मीको र गुणबहादुर श्रेष्ठको जग्गा खिचोला मुद्दामा र सयकडा ५ बाट इन्साफ जाँच गर्ने निस्सा गरिदिएको छ । लगतमा दर्ता गरी पेश गर्नु भन्ने सर्वोच्च अदालत स्टेन्डिङ कमिटीबाट भएको मिति २०३०।९।११ को निर्णय ।

            ८.    यो नक्शा पासबाट उठेको र बार्दलीकै मुनिबाट घर उठाउन लाएको र घर उठाएको देखिन्छ । बार्दली मुनिको जग्गामा घर बनाएको कायम रहेमा बार्दली काट्न पर्ने नै अवस्था पर्न आउँछ । गुणबहादुरले जग्गा खरिद गर्दाका अवस्था घर बनेको बार्दली बनेको थिएन भन्ने कुरामा विवाद छैन । त्यस बेलामा त्यस बेलाका जग्गाधनीले बार्दली बनाउन दिएको देखिन्छ । अब नयाँ जग्गा लिनेले बार्दली काटी घर उठाउने स्थिति आउन दिन सकिन्न मिसिल सामेल रहेका मुचुल्काबाट पेटी भत्काईएको भन्ने नै देखिएकोबाट प्रतिवादीले खिचोला गरेको होईन भन्न सकिएन । तसर्थ ईश्वरीलाललाई पूर्व साँध राखिएको ईश्वरीलालको घर पुर्खौली देखिएकोले सो पुर्खौली घरमा बार्दली बनाई राखिएको चिरञ्जीवीले त्यसप्रकार शर्त गरेको सो शर्तकै अधिनमा गुणबहादुरले खरिद गरेको भन्नु पर्ने सो घर धनलक्ष्मीको हकभोगमा रहेको भन्ने देखिएकोले प्रतिवादीले खिचोला गरेको ठहर्‍याएको इन्साफ सुरु पाल्पा जिल्ला अदालतको मनासिव छ । लु.अं.अ.को गल्ति इन्साफ गरेको ठहर्छ भन्ने समेत प.क्षे.अ.डिभिजन बेञ्चको मिति ०३३।६।५।३ को फैसला ।

            ९.    निर्णयतर्फ विचार गर्दा साविक जग्गावाल चिरञ्चवी हालको जग्गावाला गुणबहादुर भएको सरजमिन मुचुल्कामा पेटि भत्काएको मात्र भनेको छ जग्गा कसको हो भनेको छैन । घर बनिसकेको छ । तसर्थ अञ्चल अदालतले गरेको इन्साफ मुनासिव देखिन्छ । पश्चिमाञ्चल क्षेत्रीय अदालतले शुरु पाल्पा जिल्ला अदालतको इन्साफ सदर गरी गरेको इन्साफ मिलेको देखिएन भन्ने मिति ०३४।४।१७।५ को डिभिजन बेञ्चको फैसला ।

            १०.    पूस्तुत मुद्दा दोहर्‍याई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी साथ संलग्न न्यायिक समितिको पर्चामा नक्सामा उल्लेख भएका नक्साको रुप कैफियतले वादीको हकभोग चलनमा रहेको पेटि थियो भन्ने कुरालाई समर्थित गर्दछ र त्यसतो पेटीलाई घरकै अंग सम्झनु पर्ने पनि हुन्छ यदि सो पेटी भएको जगगा नै प्रत्यर्थीको दाता कै चिरञ्जीवीलालको थियो भने त्यसरी पेटी बनाउन दिन नपर्ने जवरजस्ति पेटि बनाएको भए उजूर परी आफ्नो जग्गा कायम गराउँनु पर्दथ्यो सो कुनै देखिन आउँदैन त्यतिमात्र होइन पेटि भत्काई खिचोला गरे भनी वादीले प्रत्यर्थी उपर फिराद दिएकोमा प्रत्यर्थीले प्रतिउत्तर दिँदा पेटि छँदै थिएन भन्न सकेको पनि पाइदैन यसरी वादीका हक भोग चलनको जग्गामा पेटि थियो र प्रत्यर्थीले भत्काई खिचोल गरेको हो भन्ने कुरा उपयुक्त ठोस प्रमाणहरुबाट प्रष्ट देखिएको छँदै उल्लेखित ठोस सबूद प्रमाणहरुको उपेक्षा गरी सर्वोच्च अदालतले साविक जग्गावाला चिरञ्जीवी हालको जग्गावाला गुणबहादुर भएको सरजमिन मुचुल्कामा पेटि भत्काइएको मात्र भनेको छ जग्गा कसको हो भनेको छैन घर बनिसकेको छ भनी वादी दावी पुग्न नसक्ने ठहराई निर्णय गरेको मुद्दामा भएको प्रमाणको गलत मूल्याङ्कन गरी निर्णय गरेको देखिन आएको छ सर्वोच्च अदालतले आफ्नो अघिको निर्णय जाँच्न आवश्यक देखिएको भन्ने समेत उल्लेख भएको रहेछ ।

            ११.    यसमा निवेदक वादी धनलक्ष्मी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेको र विपक्षी प्रतिवादी गुणबहादुर तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण्प्रसाद भण्डरीको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा ससुरा इश्वरीलालको बण्डपत्रबाट मेरो हक भएको नक्सा नं. ८ को पेटी खिचोला गरे भन्ने मुख्य वादी दावी र चिरञ्चीवीलालबाट राजीनामा लिएको हो वादी दावी झुठ्ठा हो भन्ने समेत प्रतिवादी गुणबहादुर भएको हुँदा सो झगडा परेको न.नं. ८ को पेटी कसको हो भन्ने कुरामा निर्णय दिनु पर्ने देखियो ।

            १२.   झगडा परेको जग्गाको नक्सा हेर्दा न.नं. ८ को पेटी भनेको जग्गादेखि पश्चिमको न.नं. १९ को घर न.नं. २० को बसरा न.नं. २१ बसराको सिधि न.नं. २२ पिछुवार खाली जग्गा प्रतिवादी गुणबहादुरको भन्ने नक्सामा जनिएको देखिन्छ । वादीले नै नगर पञ्चायतमा पेश गरेको १०।१।१७ मा चिरञ्जीवीलालले वादीको ससुरा इश्वरीलाललाई गरिदिएको शर्तनाममा तपाईले वार्दली काटी नदिने भई वार्दली काटी तल्ला बढाएको अब फेरि मैले तपाईको घरसँग जोडी मेरो घरको दक्षिण साइजमा घर बनाएको फेरि पनि यस्तै वार्दली काटिने झ्याल थुनिने हुँदा आइन्दालाई तपाईंको औसरा बाहेक मूल घरमा रेहेको वार्दली काटिने झ्याल थुनिने गरी बनाई नदिने भन्ने शर्त गरेको देखियो सो शर्तबाट झगडा परेको पेटी भनेको जग्गा प्रतिवादीलाई राजीनामा दिने चिरञ्जीवी लालको जग्गा भन्ने देखिन आउने र निज गुणबहादुरलाई चिरञ्जीवीलालले गरिदिएको ०२७।१।२४।५ मा रजिष्ट्रेशन पारित भएको राजीनामा हेर्दा पूर्व वादी धनलक्ष्मीको ससुरा इश्वरीलाल भन्ने हद किल्ला रही लम्बा हात ११ चौडा हात १६ को उत्तर मोहडाको २ तले पश्चिमतर्फ ३ तले ३ नाले ईंटाको गारो झिगटिको छाना भएको वसारा टिनाको छाना भएको घर समेत राजीनामा गरी दिएको देखिने पश्चिमाञ्चल क्षेत्रीय अदालत पाल्पा जि. अ.मार्फत गराएको ०३३।४।३१ को मुचुल्कामा पेटी भनी देखाएको चौडा पूर्व पश्चिम ३ फुट लम्बाई उत्तर दक्षिण २२ फुट ८ इञ्ची छ भन्ने र प्रतिवादीको राजीनामाको क्षेत्रफल वादीले देखाएको पूर्व पश्चिमको नाप ३ फुट छोडी नाप्दा पूर्व पश्चिम १३।। फुट वादीले देखाएको ३ फुट नछोडी पुरै नाप्दा पूर्व पश्चिम १६ फुट ७ इञ्ची उत्तर दक्षिण २२ फुट ८ इञ्ची छ भन्ने उल्लेख भएको र प्रतिवादीको राजीनामा लम्बाई ११ हात भनेको १६ फिट ६ इञ्ची र चौडाइ १६ हात भनेको २४ फिट हुने हुँदा लम्बाई ११ हात भनेको नक्शाको रुपबाट पूर्व पश्चिम लम्बाई सम्झनु पर्ने हुन आएको र पूर्व पश्चिम ११ हात लम्बाइको १६ फिट ६ इञ्चीको राजीनामा लिएको देखिने र उक्त भई आएको मुचुल्काबाट वादीले पेटि भनी देखाएको ३ फिटको समेत पूर्व पश्चिम १६ फुट ७ इञ्ची देखिएकोले सो पेटि भनेको जग्गा वादीको भन्ने देखिन नआई प्रतिवादीको राजीनामा भित्रकै देखिएकोले खिचोला गरे भन्ने वादी दावी पुग्न सक्ने देखिएन तसर्थ वादी दावी पुग्न नसक्ने ठहराएको अञ्चल अदालतको मानसिव ठहराएका डिभिजन बेञ्चको ०३४।४।१७ को इन्साफ मनासिव ठहर्छ मुद्दा दोहराएवापत लाग्ने कोर्टफी निवेदक वादीबाट दाखिल भई सकेकोले अरु केही गर्न परेन मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

म सहमत छु ।

 

प्र.न्या. नयनबहादुर खत्री

मा.न्या. श्री हेरम्बराजको राय

            १३.   यसमा वादी धनलक्ष्मीले दावी गरेको नक्साबाट निजको घरदेखि पश्चिम पट्टिको लम्बाई फुट २२ फुट ८ इञ्ची चौडाई फुट ३ को पेटिको जग्गालाई मेरो भनी गुणबहादुर प्रतिवादी गरी चिरञ्जीवीलालले गरेको सर्तनामा भनेको कागज र राजीनामा प्रमाण निमित्त पेश गरेको देखियो शर्तनामाको कागजमा उक्त झगडाको पेटी जग्गा यसको हकको हो भनी खुलेको नभई चिरञ्जीवीलालले घर बनाउँदा बार्दली नकाट्ने भन्ने कबुल गरेकोबाट त्यो जग्गा चिरञ्जीवीलालको हकको भन्ने देखाउन खोजे पनि घर नबनाउने भनी कबुल गरेकोबाट आफ्नो हकमा राखी छाडेको देखिँदैन राजीनामामा पनि पूर्व इश्वरीलाल भनेको इश्वरीलालको घर हो वा के हो भन्ने नखुलिएको हुँदा अस्पष्ट कुरा देखियो । नाप अङ्कमा नपाई ११ हात चौडाई १६ हात भनी लेखेकोमा नक्सा रुपबाट त्यस्तो हुन नआई चौडाइलाई लमाई हुने गरी व्यवहार गरुँ भने पनि घर जग्गाको भनी नाम लेखिएकोबाट मेरो जग्गा हो भन्न प्रष्ट हुँदैन र उसमा पनि चिरञ्जीवीलालको कागजबाट इन्द्रलाल धनलक्ष्मीको मुद्दामा हक कायम गर्न मिल्दैन । चिरञ्जीवीलालको दाता परदाता यो हो भनी दुवै थरले हक पाएको लिखत प्रमाणलाई देखाउन सकेको छैन । यसरी लिखत प्रमाणबाट हक बेहक छुट्टिन सकेको छैन । नक्सा रुपबाट बाटो झगडा परेको पेटी माथि झ्याल रहेको भई धनलक्ष्मीतर्फबाटै चलन गरेको देखिएकोले भोगअनुसार उक्त पेटीलाई धनलक्ष्मीकै हकको हो रहेछ भनी निश्चय हुन्छ । पाल्पा जिल्ला अदालतबाट फैसला हुनेवित्तिकै पुनरावेदनको तह बाँकी छँदाछँदै झगडा परेको जग्गामा घर बनाएकै भए पनि त्यसको प्रमाण हुँदैन र नगरपञ्चायतमा धनलक्ष्मीले मेरो हकको भनी दरखास्त दिँदादिँदै पनि गुणबहादुरले घर बनाउन पाउने भनी नगरपञ्चायतले गरेको निर्णयबाट धनलक्ष्मीको हक जान सक्दैन । इश्वरीलालकै बुहारी धनलक्ष्मी हो भन्ने मिसिल कागजबाट देखिएकैले ससुराको दर्ता घरमा बुहारी बसी भोग चलन गरी आएकोमा बण्डापत्र पेश गर्न नसकेको भनी अरूसँगको झगडामा धनलक्ष्मीको उजूर गर्ने हक छैन भनी अ.बं.८२ को प्रयोग गर्न मिल्दैन ।

            १४.   झगडा परेको पेटी जग्गा प्रतिवादीले खिचोला गरेको ठहराएको पाल्पा जिल्ला अदालतको इन्साफ सदर गरेको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव छ । सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३४।४।१७ को निर्णय मिलेको देखिएन । अञ्चल अदालतको इन्साफ मनासिव ठहराएको डिभिजन बेञ्चको निर्णय सदर गरेको सहयोगी माननीय न्यायाधीशहरुको रायसँग म सहमत हुन सकिनँ ।

न्यायाधीश

 

 

इति सम्वत् २०३५ साल मार्ग ९ गते रोज ६ शुभम् ।