निर्णय नं. ११८५ – ज्यान
निर्णय नं. ११८५ ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बरराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३३ सालको फौ.फु.नं. १५८ फैसला भएको मिति :...
निर्णय नं. ११८५ ने.का.प. २०३५
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री हेरम्बरराज
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३३ सालको फौ.फु.नं. १५८
फैसला भएको मिति : २०३५।७।१९ मा
निवेदक : भारत जिल्ला दवरिया ठाना रुदल घर भई हाल बर्दिया कारागारमा बन्दी अब्दुर जवार मुसलमान
विरुद्ध
विपक्षी : हे.कं. लालबहादुर समेतको जाहेरीले श्री ५ को सरकार
मुद्दा : ज्यान
(१) मर्ने र अभियुक्तको बीचमा कुनै रिस झगडा नभएको, चुच्चो भएको फलामेडण्डी चलाई ज्यान मारेको छ भने ज्यानसम्बन्धीको १४ नं. प्रयोग हुन नसक्ने ।
(प्रकरण नं. १६)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय
फैसला
न्या. हेरम्बराज : ०२९।११।२६ का दिन राती ८।९ बजेतिर गस्ती गर्दै जाँदा वसन्ता भट्टको अगाडि सडकमा मुस्तफा मनिहारलाई भट्टीको चेकियर मुमताज मुसलमान १ सोही भट्टीको अब्दुल जव्वाल र मुसलमानसमेत २ ले फलामको नोकडा र दुराडीले पेटमा रोपी कर्तव्य गरी निज मुस्तफालाई मारेको, मार्नेमध्ये मुमताजी भागी गएको फेला नपरेको अब्दुर जब्वाल र फलामको डण्डी दाखिल गरेका छौं, कानूनबमोजिम सजाय होस भन्ने हे.कं.लालबहादुरसमेतको २०२९।११।२८ को प्रतिवेदन ।
२. भट्टीको ढोका अगाडि आँगन खाटमा कपडा उठाई हेर्दा मुस्तफा मनिहार भन्ने मोहम्मद मुस्तफाको लास उत्तानो पल्टिएको छाति मुनि अलि दाहिनेपट्टि पेटमा अं.पौने तीन इञ्च लामो १।२ इञ्च चौडाइको तीन अण्डाकार घाउचोट भई त्यसको चारैतिर गोलाकार आगोले पोलेको जस्तो छ । फोका उठेको विडण्ग खुम्चिएको, त्यसबाट वीर्य निस्केको दुवै अण्डकोश सुन्निएको भन्नेसमेत व्यहोराको ०२९।११।२८।१ को लास जाँच मुचुल्का ।
३. ०२९ साल फागुन २६ गते अं.४ बजे राजापुर बस्ने मुस्तफा भन्ने व्यापारी हाम्रा वसन्ताको भट्टी बगलको चिया बेञ्चे मुजवाको पसलमा बसिएको म र मुसताज मुसलमानसँग कुरा गरिररहेको देखे सुनेको थिएँ । म रक्सी बेचिरहेको थिएँ । मुस्तफाले रु.१। को रक्सी मगाएकोले दिई पठाएको थिएँ । निजहरुले रक्सी खाई हिसाब चेक गरी वंसलातर्फ गए । मुस्तफा कता गए देखिनँ । मैले भट्टी जलाइरहेको अवस्था वंसला भट्टीको उत्तरतर्फबाट मुमताजले भट्टीकै उमाशङ्करलाई २।३ पल्ट बोलाएको सुनेँ । बाहिर आई हेर्दा डाँका पर्यो भनेकाले आगो ठोस्न छाडी खोई बदमास भन्दा मुमताज भन्ने मुस्तफालाई मार सालेलाई भनेकोले मर्ने मुस्तफाको पेटमा उक्त फलामको छड रोपिदिएको हुँ । त्यत्तिकैमा पछाडिबाट भट्टीका चेकीयर मुमताज मुसलमान समेतले र उमाशङ्करले पनि मुस्तफाको कमिज च्याती मुखमा हिर्काएका थिए भन्ने अब्दुर जब्बार मुसलमानको प्रहरीमा भएको कागज ।
४. ०२९।११।२६ का दिन चेकियर मुसलमान आउँदैछ भन्ने थाहा पाई रक्सी तयार गर्दै थिएँ । अं.४ बजे दिउँसो मुमताज आई रक्सी चेक गरे । मजुवाको दोकानमा मुमताज र मुस्तफा हाँसी मजाक गरेको सुनेको थिएँ । सोही रात ८।९ बजेतिर उमाशङ्करले डाँका गर्यो दौड भनेको सुनी अब्दुल जवारलाई सोद्धा हिँडिसकेको रहेछ । बाहिर आउँदा वादीको डेरामा झगडा गरेको देखी गई हेर्दा मुस्तफाको लास वादीहरुको डेरा नजिक लडिरहेको देखी सोधपुछ गर्दा मुमताजको अडर मानी अब्दुल जब्बारले मारेको हो भनी वादी र थारुले भनेपछि म भट्टीमा फर्की आएँ । सो लासलाई वादीहरुले भट्टीको आँगनमा राखेको, किन राखेको भन्दा मुमताज र जब्बारले ल्याएको भनेका थिए । मैले मुस्तफालाई पिटे मारेको र मार्नेहरुलाई सहयोग गरेको समेत होइन भन्नेसमेत उमाशङ्करको प्रहरीमा भएको कागज । रक्सीको रुपैयाँ देउ भनी मुमताजले मुस्तफासँग माग्दा विवाद उठी झगडा हुँदा हामीले रोकेपछि मुमताजले मुनिम उमाशङ्करलाई बोलाउँदा अब्दुल जब्बारले फलामको डण्डी लिई आउँदा आगो तापिरहेको मुस्तफालाई देखाई मुमताजले मार् सालेलाई भनेपछि छेक्दाछेक्दै मुस्तफा उठ्नासाथ अब्दुल जब्बारले नोकदार फलामको डण्डीले पेटमा रोपेपछि आएका उमाशंकर र मुमताजले मुखमा थप्पड दिए । मुस्तफा मरेको हुन भन्नेसमेत रामशरण वादी, गंगाराम वादी जुनियरसमेत ३ जनाको प्रहरीमा गरेको एकै मिलानको कागज । ०२९।१२।८ को सरजमिन मुचुल्का ।
५. प्र.अब्दुल जब्बार उमाशङ्कर मुमताजसमेतलाई ज्यानसम्बन्धीको १३ नं. को १ दफाबमोजिम सजाय गरिपाउँ भन्नेसमेत प्रहरी प्रतिवेदन ।
६. प्रहरीमा गरेको बयान सुनें । अरू ठीक हो । झगडा सुनी घटनास्थलमा पुग्दा मुस्तफा लडिरहेको देखी कसले मारेको हो भनी भन्दा भट्टीको मानिसले मारेको भन्दथे । मुमताजको अडर मानी अब्दुल जब्बारले मारेको भनी प्रष्ट भनेको होइन । मुस्तफालाई मैले हातले पिटेको होइन । अब्दुल जब्बार र रामकरण वादीले किन प्रहरीमा यस्तो बयान गरे भन्न सक्दिनँ भन्नेसमेत उमाशङ्करले अदालतमा गरेको बयान ।
७. ०२९।११।२६ गतेको राती भट्टी जलाइरहेको अवस्था मुमताजले ३ पल्ट उमाशङ्कर भनी कराएपछि को हो भन्दा डाँका पर्यो भनेकोले भट्टी जलाइरहेको फलामको डण्डी लिई जाँदा मुमताज उभिरहेका थिए । निजलाई मैले लगेको फलामको डण्डीले मुस्तफाको पेटमा हानी मुमताज भन्दै रहेको देखेँ । त्यसपछि भट्टीमा मुस्तफालाई वादीहरुले उठाई भट्टीमा ल्याए । मैले प्रहरीमा मुस्तफालाई प्रहार गरी मारेको भनेको सत्य होइन । प्रहरीमा कुटपिट गरी वाध्य गराएकोले त्यसो भनेको हुँ भन्नेसमेत प्र.अब्दुलले अदालतमा गरेको बयान ।
८. प्र.अब्दुल जब्बारलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम कैद वर्ष १० हुन्छ । मुमताजको हकमा अ.बं.१९० नं. बमोजिम भारतीय हुँदा मुल्तवी राख्ने प्र.उमाशङ्करले सफाई पाउँछ भन्नेसमेत ०३०।३।१० को सुरु वर्दिया जिल्ला अदालतको जाहेरी फैसला ।
९. बर्दिया जिल्ला अदालतको इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी श्री ५ को सरकारतर्फबाट र प्र.अब्दुल जब्बारको भेरी अं.अ.मा पुनरावेदन परेको ।
१०. डाँका पर्यो भनी कराउँदा आगो ठोस्ने फलामको डण्डी लिई डाँकालाई मुकाविला गर्ने आवेशमा होस नगरी मर्ने मुस्तफाको पेटमा रोपिदिएको कारणबाट मुस्तफाको मृत्यु भएको देखिनाले ज्यानसम्बन्धी १४ नं. ले प्र.अब्दुललाई कैद वर्ष १० गर्ने र उमाशङ्कर कसुरमा इन्कार गरेकोले र निजले कसूर गरेको कुरा सरजमिनबाट देखिन आएकोले निज उमाशङ्करलाई सफाई दिने गरी छिनेको इन्साफ सुरु बर्दिया जिल्ला अदालतको मनासिव छ भन्नेसमेत भेरी अञ्चल अदालतको ०३०।९।१६ को जाहेरी फैसला ।
११. म निर्दोषी व्यक्तिलाई सजाय गर्ने गरी भेरी अं.अ.को इन्साफमा चित्त बुझेन भन्नेसमेत अब्दुल जब्बारको र अब्दुल जब्बारलाई ज्यानसम्बन्धीको १३ (१) बमोजिम सजाय हुनुपर्ने र उमाशङ्करलाई पनि पूर्व प्रहरी प्रतिवेदनअनुसार सजाय हुनुपर्नेमा सफाई पाउने गरेको उक्त अं.अ.को इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी श्री ५ को सरकारको दोस्रा पुनरावेदन ।
१२. अब्दुलले मुस्तफालाई छड रोपेको र त्यसै चोटबाट मुस्तफा मरेको समेत कुरा मौकामा देख्ने रामकरण वादी जुनियर वादी गंगाराम वादीसमेत जना ३ ले चस्मदित आफैले मौकामा देखेको कुरा सरजमिनमा बकिदिएको, मिसिलबाट देखिएकोले मुस्तफाको मृत्युको कारण अब्दुल जब्बारले हानेको चोट हुन गएको छ । अब्दुल जब्बार सजाय भागी होइन भन्न मिल्दैन । तत्काल उठेको रिसबाट हानेको चोटबाट मर्न गएकोमा ज्यानसम्बन्धीको १४ नं. अनुसार कैद वर्ष १० तोकी सुरु बर्दिया जिल्ला अदालतले फैसला गरी छिनेको भेरी अञ्चल अदालतको इन्साफ सदर गरी मनासिव छ भन्नेसमेत सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३३।८।२८।१ को फैसला ।
१३. सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफमा चित्त बुझेन भन्नेसमेत बर्दिया कारागारमा बन्दी अब्दुल जब्बार मुसलमानको पुनरावेदन ।
१४. हे.कं.लालबहादुरको जाहेर प्रतिवेदनमा घटनास्थल ठाउँबाट केही पर डेरा गरी बसेको गंगाराम वादी जुनियरसमेतले देखी हल्ला गरेका रहेछन । हामी पुग्दा झगडा गरी ज्यान मार्नेमध्ये मुमताज नाउँ गरेको मानिस भागी गयो । फेला परेका अब्दुल जब्बारलाई पक्राउ गरी खारखेर गर्दा चेकियर मुमताजले मुस्तफालाई मार भनी बचन दिएबाट नौकदार फलामको डण्डी ल्याई सो डण्डीले मुस्तफालाई १ चोट हान्नासाथ मेरो हातबाट सो फलामको डण्डी मुमताजले मुस्ताफको पेटमा रोपिदिएबाट मुस्तफा तुरुन्त मर्न जँदा मुमताज भागी गयो भन्नेसमेत उल्लेख भएकोले प्रहरीले गराएको कागजमा चस्मदित देख्ने भनेको गङ्गाराम वादीसमेतलाई अदालतमा बयान नगराई त्यसलाई आधार लिई इन्कारी पुनरावेदक प्रतिवादी अब्दुल जब्बारलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजाय गर्ने गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको नदेखिँदा अ.बं.२०२ नं. र सर्वोच्च अदालत नियमावली अनुसार छलफल निमित्त सरकारी अधिवक्ता खटाई पठाउनु भनी महान्यायाधीवक्ताको कार्यालयलाई नोटीस सरहको पेशीसमेतको सूचना दिई पेश गर्नु भन्ने ०३३।७।५।५ को स.अ.डिभिजन बेञ्चको आदेश ।
१५. यसमा सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ ठीक बेठीक के रहेछ त्यस कुराको निर्णय दिनुपरेको छ ।
१६. प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे र श्री ५ को सरकारतर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री केदारनाथ उपाध्यायले गर्नुभएको वहससमेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा मर्ने मुस्तफा मनिहारलाई नोक भएको फलामको डण्डीले पेटमा हानी मारेको भन्ने अभियोग लागेकोमा सरजमिनमा लास जाँच मुचुल्का हुँदा पेटमा घाउ देखिएको भन्ने लेखिएको छ । मर्ने र अभियुक्तको बीचमा कुनै रिस झगडा भएको प्रमाणित हुँदैन । चुच्चो भएको फलामेडण्डी चलाई ज्यान मारेको छ भने ज्यानसम्बन्धीको १४ नम्बरको प्रयोग हुन नसक्ने हुँदा क्षेत्रीय अदालतको इन्साफ ऐनअनुरुप भएन । ज्यानसम्बन्धीको १३ नं. अनुसार नै सजाय तोक्नलाई पनि डाँका आयो भन्ने आवाज सुनी तताइराखेको त्यस्तो डण्डीले प्रहार गरेको एक प्रहारको अत्यासमा रिसइवी केही नखुलाई खुन भएको हुँदा ज्यानसम्बन्धीको १३ नम्बरले तोकेको सजाय चर्को हुने भई थुनिएको मिति ०२९।१२।१०।६ देखि आजसम्म थुनामा परेकोबाट नै सजाय भुक्तान हुने गरी अ.बं.१८८ नं. को ऐन प्रयोग गरेको छ । सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा केही उल्टी हुँदा तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनु ।
तपसील
अभियुक्त उमाशङ्कर चौहानले पुर्पक्ष निमित्त वर्दिया जिल्ला अदालतमा ०२९।१२।१२।१ मा धरौट दाखिल गरेको रु.१०००। एक हजार निज उमाशङ्करलाई ऐनको रीत पुर्याई फिर्ता दिनु भनी वर्दिया जिल्ला अदालतमा लेखिपठाउनु भनी का.जि. अ.त.मा लगत दिनु……………………१
प्रतिवादी भारत जि. दैवरिया थाना रुदलपुर मदनपुर घरमै बखन्ता भट्टी वान भई हाल थुनामा रहेको अब्दुल जब्बार मुसलमानको माथि इन्साफ खण्डमा लेखिएबमोजिम क्षेत्रीय अदालतको इन्साफ केही उल्टी हुँदा सुरु कैद वर्ष १०। को सयकडा ५ ले ६ महिना थप कैद हुन्छ भनी सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट ०३३।८।२८।१ को फैसलाले लाग्ने गरेको कैद १० वर्ष ६ महिनामध्ये भुक्तान भइसकेको कट्टा गरी बाँकी नलाग्ने हुँदा लगत कट्टा गर्नु भनी बर्दिया जिल्ला अदालतमा लेखिपठाउन का.जि. अ.त.मा लगत दिनु………………….२
प्रतिवादी अब्दुल जब्बार मुसलमानकै माथि इन्साफ खण्डमा लेखिएबमोजिम थुनिएको मिति ०२९।१२।१०।६ देखि आजसम्म थुनामा परेकोबाट नै सजाय भुक्तान हुने गरी यो मुद्दाबाहेक अरू मुद्दामा थुनामा नपरेको भए थुनाबाट छाडिदिनु भनी लेखी पठाइदिनु……………………३
उक्त रायमा म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह ।
इति सम्वत् २०३५ साल कार्तिक १९गते रोज…शुभम् ।