November 10, 1978
Created by nepalarchives

निर्णय नं. ११८४ – अंश र सो मुद्दाबाट उठेको नाता कायम गरिपाउँ भन्ने

निर्णय नं. ११८४     ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३४ सालको दे.पु.नं. १६२ फैसला भएको मिति...

निर्णय नं. ११८४     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३४ सालको दे.पु.नं. १६२

फैसला भएको मिति : ०३५।७।२४।६ मा

निवेदक : जङ्गवीर खत्री क्षेत्री मरी मुद्दा सकार गर्ने स्याङ्जा जिल्ला सतौदरी गा.पं. वडा ६ बस्ने दिलबहादुर खत्री क्षेत्री

विरुद्ध

विपक्षी : ऐ.ऐ. हात्तीगण्डा बस्ने लिलावती भन्ने लिला क्षेत्रिनी

मुद्दा : अंश र सो मुद्दाबाट उठेको नाता कायम गरिपाउँ भन्ने

(१)   प्रतिवादीको नजिक हकवाला मिसिलबाट देखिन आउँदा आउँदै वेरीतको तामेली नोटीस म्यादबाट हाजिर हुन आएकालाई मुद्दा सकार गराई निर्णय गरेको गैरकानूनी देखिन आउने ।

            कानूनबमोजिम वादी प्रतिवादीका पेटवोलीबाट देखिएका अंशियारसमेत जो बुझ्नुपर्ने बुझी पारिरहेको जालसाजी मुद्दा किनारा हुन बाँकी भए सो मुद्दासमेत एक साथनिर्णय गर्नुपर्ने ।

(प्रकरण नं. १७)

पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री कमलनारायण दास

फैसला

            न्या. त्रैलोक्यराज अर्याल : प्रस्तुत मुद्दा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चका आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य निम्नप्रकार छ:

            २.    मेरो विवाहिता पतिसमेत परलोक भएकाले गत ०१७ साल मार्ग महिनामा तेस्रो पारी विपक्षीलाई करणी गर्न दिई लोग्ने स्वास्नी भई बसेको विपक्षी पति हुनुहुन्छ । सो करणी वीर्यबाट ०१८ साल भाद्रमा जन्मेको छोरा खडा छ । विपक्षीको ल्याइता अर्की श्रीमतीपट्टि लागी मलाई खान लाउन नदिई ०२९।८।१० गते घरबाट निकालासमेत गरे । अंशवण्डाको १० लोग्ने स्वास्नीका ४ नं. अनुसार खान लगाउन र अंशसमेत नदिएकाले विपक्षीबाट अंशवण्डाका २०।२३ नं. बमोजिम फाँटवारी लिई विपक्षी र निजको अर्की श्रीमती मेरा सौता र निजपट्टिका छोरा २ मेरो छोरो १ समेत ६ अंशियार भएकाले ६ भागको १ भाग अंश दिलाइपाउँ भन्नेसमेत फिराद ।

            ३.    विपक्षीलाई पाल्लातर्फ विवाह गरिदिएको विधवा भई लक्ष्मीपतिसँग पोइल आई छोरा छोरी पाई निज लक्ष्मीपति मरी विधवा भई ०११ साल कार्तिक महिनामा भगिरथ देवकोटा जैशीसँग करणीमा विग्री गर्भ रही जात सौंपुवा भइसकेपछि ०११।४।१५ छोरा जन्मेकोमा न्वारान गराइपाउँ भनी विपक्षीले फिराद गरेकोमा, लिलावती सदाखरसँग करणीमा विग्रेकोले निजले न्वारान गर्नुपर्ने भन्नेसमेत भगिरथको प्रतिवादी परेको सदाखरले बयान गर्दा मेरो करणी होइन भनी बयान भएकोमा सदाखरको करणी गर्भ ठहरी निजले न्वारान गरिदिनुपर्ने ठहराई ०१५।१।६ मा यस अड्डाबाट फैसला भएको छ । त्यसपछि जायजन्म नभई सो न्वारान गर्नुपर्ने ठहराएको छोरा सेते भन्ने हालसम्म जीवित रहेको उमेर १८ वर्षमा प्रवेश गरेको छ । सोभन्दा अघि लक्ष्मीपतिबाट जन्मेको छोरा पद्मपाणि जैसी हाल वर्ष २७ को भई विदेश गइरहेको छ । सोबाहेक विपक्षीको अरू छोरा छोरीहरु जीवित छैन । वादीको लेखअनुसार ०१८ सालमा जन्मेको छोरा खडै छ भने ११ वर्ष पुगी १२ वर्षमा प्रवेश गरेको हुनुपर्छ । सदाखरबाट न्वारान गर्नुपर्ने ठहरेको छोरासमेतलाई उमेर घटाई मेरो छोरा गराउने कुप्रयास गरेको हो । उमेर जाँच होस । विपक्षीलाई श्रीमती तुल्याई छोरासमेत पाई घरमा राखेकोसमेत नहुँदा खान लाउन र अंश दिन नपर्ने उजूरी झुठ्ठा भन्नेसमेत प्रतिउत्तर ।

            ४.    प्रतिवादीसँग दोस्रो परी करणी लिनुदिनु भएको नाता लगाइले मात्र दावी गरेको अंशको प्रस्तुत दावी झुठ्ठा ठहर्छ भन्नेसमेत स्याङ्जा जिल्ला अदालतको ०३०।२।२२।२ को फैसला।

            ५.    सो फैसलामा चित्त बुझेन भन्नेसमेत वादी लिला क्षेत्रीनीको पुनरावेदन परकोमा स्वास्नी कायम गरिपाउँ भन्नेतर्फ ऐनले जो बुझ्नुपर्ने प्रमाणसमेत बुझी यथाशीघ्र किनारा गरी त्यसतर्फ पुनरावेदन परे पुनरावेदन साथ र पुनरावेदन नपरे किनारा गर्न पठाइदिनु भनी तारेख तोकी मिसिल स्याङ्जा जिल्ला अदालतमा पठाइदिनु भन्नेसमेत पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३२।२।२२ को आदेश ।

            ६.    मेरो विवाहिता लोग्ने म ११ वर्षको हुँदा मरेकोले नाम थाहा छैन । दोस्रो लोग्ने लक्ष्मीपति हुन । निज ११ साल वैशाखमा परलोक हुनुभयो । ०११ सालमा सदाखरसँग तेस्रो पारी पोइल गएँ । ०१४ साल असोजदेखि निजलाई छाडी सोही सालदेखि लुकिछिपी चौथो लोग्ने जङ्गवीरसँग करणीमा विग्री ०१७ सालदेखि प्रकाशित रुपमा निजसँग पोइल गई घरमा बस्ने गरेको जङ्गवीर मेरो चौथो लोग्ने हुन । निज ०३० साल फागुनमा परलोक भयो । निजतर्फबाट एउटा छोरा जीवित छ । जङ्गवीर चौथो लोग्ने कायम गरिपाउँ भन्नेसमेत लिला क्षेत्रीनीको बयान।

            ७.    मेरो काका जङ्गवीरसँग प्रकाश रुपमा लोग्नेस्वास्नी भई घर आई बसेको होइनन । लुकी चोरी करणी गर्ने गराउने गरेको भए थाहा छैन । पहिलो तेस्रो लोग्नेबारे थाहा छैन । दोस्रो लोग्ने भनेकी लक्ष्मीपति वादीको लोग्ने हुन । निज १२।१३ वर्ष जति भयो, परलोक भइसक्यो । वादी आजकल लक्ष्मीपतिकै घरमा बसेकी छन । लक्ष्मीपतिको एक छोरा घर घडेरी छाडी चितौनतिर गई बसेका छन । सो घर घडेरी वादीले भोग गरी बसेको छ । काकाकोसँग भागबाट अंश दिनुपर्ने होइन । काका जङ्गवीरकी यि वादी स्वास्नी होइनन भन्नेसमेत प्रतिवादी जङ्गवीरको मु.स.गर्ने दिलबहादुर खत्री क्षेत्रीको बयान ।

            ८.    बुझिएसम्मको प्रमाणबाट वादी लिला क्षेत्रीनी प्र.जङ्गवीरको स्वास्नी नाता कायम हुने ठहर्छ भन्नेसमेत ०३३।१०।३ को स्याङ्जा जिल्ला अदालतको फैसला ।

            ९.    सो फैसलामा चित्त बुझेन भन्नेसमेत प्रतिवादी जङ्गवीर मरी मु.स.गर्ने दिलबहादुर खत्री क्षेत्रीको पुनरावेदन ।

            १०.    वादी लिला क्षेत्रीनीलाई प्र.जङ्गवीरको स्वास्नी नाता कायम हुने ठहराएको स्याङ्जा जिल्ला अदालतको इन्साफ मनासिव छ । वादीले निजको दावीअनुसार ६ भागको १ भाग अंश पाउने ठहर्छ भन्नेसमेत प.क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३४।३।२९ को फैसला ।

            ११.    सो फैसला सार्वजनिक महत्वको विषयमा गम्भिर कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्नेसमेत प्र.जङ्गवीरको मु.स.गर्ने दिलबहादुर खत्रीको निवेदन परेकोमा यसमा वादी लिलावतीले प्र.जङ्गवीर चौथो लोग्ने कायम गरिपाउँ भनी नाता कायमतर्फ बयान गरेको र अंशमा वादी गर्दा ६ भागको १ भाग अंश पाउँ भनी ०२९ सालमा नालेस दर्ता गरेको तत्काल बहाल रहेको अंशवण्डाको ६ नं. ले आधामात्र अंश पाउनेमा पूरै ६ भागको १ भाग अंश दिलाउने गरेको फिराद दर्ता हुँदा बहाल रहेको ऐनको प्रत्यक्ष त्रुटि गरेको देखिँदा पुनरावेदनको अनुमति दिइएको छ भन्नेसमेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३४।१०।२८ को आदेश ।

            १२.   पुनरावेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले वादी लिला जङ्गवीरको स्वास्नी नै होइन वादीले सदाखरबाट न्वारान गरी पाउने ठहरेका छोरा सेतुलाई जङ्गवीरतर्फ छोरा भनी झुठ्ठा उजूर गरेको हो । निज छोरा भनेका सेतु बुझेको पनि छैन । सो नबुझी गरेको निर्णय मिलेको छैन भन्नेसमेत र विपक्षी वादीतर्फका विद्वान वैतनिक अधिवक्ता श्री कमलनारायण दासले जङ्गवीरको श्रीमती वादी हुन निजतर्फबाट जन्मेका छोराको उमेर जाँच भएको छ । सबूद प्रमाणको मूल्याङ्कन गरी गरेको निर्णय मिलेको छ भन्नेसमेत वहस गर्नुभयो । प्रस्तुत मुद्दामा भएको सुरु पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको फैसला मिलेको छछैन सो को निर्णय दिनुपरेको छ ।

            १३.   यसमा निर्णयतर्फ हेर्दा विपक्षी र निजको अर्की श्रीमती मेरो सौता र निजपट्टिका २ छोरा १ समेत ६ अंशियार भएकोले ६ भागको १ भाग अंश पाउँ भनी लोग्ने जङ्गवीरको नाउँमा मात्र प्रस्तुत मुद्दामा फिराद परेको देखिन्छ ।

            १४.   स्वास्नी नै होइन भनी प्रतिवादी परेपछि पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट लोग्ने स्वास्नी हो होइन भनी कारवाही किनारा गरिदिनु पर्नेमा लोग्ने कायम गरी ल्यापछि मात्र अंशतर्फ दावी गर्नुपर्ने भनी वादी दावी झुठ्ठा ठहराएको इन्साफ नमिलेकोले छलफलमा प्रतिवादी जड्डेका नजिकको हकदारको नाममा छलफलको नोटीस म्याद पठाउनु भन्नेसमेत पु.क्षे.अ.बाट भएका आदेशानुसार जारी भएको नोटीस म्यादमा यो नोटीसवाला मानिस जड्डे खत्री क्षेत्रीको नजिक हकदार घरमा फेला नपरेको र निजको एकाघरका जहानले बुझी लिन मञ्जूर नगरेकोले आजका मितिमा जड्डेका नजिक हकदारका घर दैलामा एक प्रति नोटीस म्याद टाँसेको भन्ने व्यहोरा उल्लेख भई स्याङ्जा जिल्ला अदालत मार्फत ०३१।४।१८ मा तामेल भएको देखियो ।

            १५.   त्यस किसिमको नजिक हकदारका नाउँको नोटीस म्याद ऐनबमोजिमको रीत पुर्‍याई तामेल गर्नुपर्ने नजिकको हकवाला भनी कसको घर दैलामा टाँसी तामेल गरेको हो सो नखुल्ने गरी तामेल भएको देखिएकोले सो नोटीस म्याद अ.बं.११० नं. को रीतपूर्वकको तामेल भएको नदेखिएको त्यस्तो वेरीतको तामेली नोटीस म्यादबाट निवेदक दिलबहादुर खत्री हाजिर भई प्रतिवादी जङ्गवीर खत्रीको प्रस्तुत मुद्दा सकार गरे गराएको देखिन्छ ।

            १६.    प्रतिवादी जङ्गवीरको एकाघरको श्रीमती र छोराहरु छँदाछँदै यो भतिजो दिलबहादुर नजिक हकदार भनी मुद्दासमेत सकार गर्न दरखास्त दिएको बदर गरिपाउँ भन्नेसमेत वादी लिला क्षेत्रीनीको दर्खास्त परेकोमा कुन किसिमसँग सकार गरेको छ सो कुरा छुट्टै टिप्पणी पेश गर्नु भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चबाट ०३२।२।२३ मा तोक आदेश भएको देखिएको सो कुरातर्फ केही निर्णय भएको मिसिलबाट देखिन नआएको र दिलबहादुरउपर जालसाजी गरी मुद्दा सकार गरेको भने वादी लिला क्षेत्रीनीको स्याङ्जा जि. अ.मा उजूर परेको भन्ने मिसिलबाट देखिन आएको छ । सो मुद्दा निर्णय भइसकेको छ भन्ने पनि मिसिलबाट देखिन नआएको वादी प्रतिवादीको पेट व्यहोराबाट प्रतिवादी जङ्गवीरको निर्विवाद छोरासमेत भएको देखिन आएको, ति व्यक्तिहरुलाई बुझेको पनि मिसिलबाट नदेखिएको त्यस किसिम बुझ्नुपर्ने व्यक्ति बुझ्दै नबुझी वादी दावा झुठ्ठा ठहराई सुरु जिल्ला अदालतले र अंशियार कायम हुने गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतले त्रुटिपूर्ण निर्णय गरेको देखिन्छ ।

            १७.   अतः उपरोक्त उल्लेख भएबमोजिम मर्ने प्रतिवादी जङ्गवीरको नजिक हकवाला मिसिलबाट देखिन आउँदा आउँदै वेरीतको नोटीस म्यादबाट हाजिर हुन आएका दिलबहादुरलाई मुद्दा सकार गराई निर्णय गरेको समेत गैरकानूनी देखिन आएकोले सुरु स्याङ्जा जिल्ला अदालतबाट वादी दावा झुठ्ठा ठहर्ने भन्ने ०३०।२।२२ को र वादी प्र.जङ्गवीरको स्वास्नी नाता कायम हुने ठहर्छ भन्ने ०३३।१०।३ को फैसला तथा वादी दावीलाई प्र.जङ्गबहादुरको स्वास्नी नाता कायम हुने ठहराएको इन्साफ मनासिव, वादीले ६ भागको १ भाग अंश पाउने ठहर्छ भन्नेसम्म पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३४।३।२९ को फैसलाहरु समेत बदर हुने ठहर्छ । कानूनबमोजिम वादी प्रतिवादीका पेट बोलीबाट देखिएका अंशियारसमेत जो बुझ्नुपर्ने बुझी पारिराखेको जालसाजी मुद्दा किनारा हुन बाँकी भए सो मुद्दासमेत एकसाथ ठहरेबमोजिम निर्णय गर्न भनी निवेदक र विपक्षीलाई तारेख तोकी तपसीलबमोजिमको लगत दिई नियमबमोजिम मिसिल स्याङ्जा जिल्ला अदालतमा पठाइदिनु ।

 

तपसील

प्रतिवादी जङ्गवीरको मुद्दा सकार गर्ने दिलबहादुर खत्री क्षेत्रीको निजलाई सुरु स्याङ्जा जिल्ला अदालतको ०३३।१०।३ को फैसलाले लाग्ने गरेको जरिवाना रु.५०। पचास नलाग्ने हुँदा निजले ०३३।१०।४ मा स्याङ्जा जिल्ला अदालतमा बुझाएको रसिद नक्कलबाट देखिँदा सो रुपैयाँ फिर्ता पाउँ भनी ऐनका म्यादभित्र दरखास्त परे दस्तुर केही नलिई फिर्ता दिनु भनी स्याङ्जा जिल्ला अदालतमा लेखिपठाउन का.जि. अ.त.मा लगत दिनु …………………………..१

वादी लिला भन्ने लिलावती के पश्चिमाञ्चल क्षेत्रीय अदालतका ०३४।९।२९ का फैसलाले प्र.दिलबहादुरबाट भराउने गरेको जम्मा कोर्टफी रु.१४२।४९ हाल भरिभराउ गरिरहन नपर्ने हुँदा व्यहोरा जनाई सो लगत काटिदिनु भनी स्याङ्जा जि. अ.मा लेखी पठाउन ऐ……………….. २

वादी लिला भन्ने लिलावती क्षेत्रीनीलाई पश्चिमाञ्चल क्षेत्रीय अदालतका ०३४।३।२९ को फैसलाले प्र.ले पेश गरेका तायदातीबमोजिम निम्नबमोजिमको ६ भागको १ भाग अंश छुट्याइदिने हाल सोबमोजिम गर्नु नपर्ने हुँदा व्यहोरा जनाई लगत काटिदिनु भनी स्याङ्जा जिल्ला अदालतमा लेखी पठाउन ऐ.ऐ……………. ३

सातौं दरौं का.जि. मु.ईन्द्रप्रसाद गुरुङको वा रणबहादुर गुरुङ जिम्मा रत्नाखरको नाउँको दर्ता राजीनामाबाट हक भएको पूर्व गोविन्द ढकालसमेत पश्चिम कुले खड्ग, दक्षिण तेस्रो कुल उत्तर कुले खड्का यति ४ किल्लाभित्रको तिरो रु.६१।२ लागेको ठाडै विराटे भन्ने खेत मुरी १।६।६ का मोल विगो रु.२०००। को कित्ताको ६ भागको १ भाग १ पूर्व तिले पश्चिम सोभाखर, दक्षिण मनोहरी, उत्तर दण्डपानी यो ४ किल्लाभित्रको बगर भन्ने खेत मुरी ।३।१।२ कित्ताको रु.१५००। को ६ भागको १ भाग १ पूर्व अहालेको तेस्रोबाट पश्चिम दिलबहादुर, दक्षिण धनबहादुरसमेत ४ किल्लाभित्रको रु. ५००। जाने कित्ता ऐ.ऐ.१ पूर्व बाटो, पश्चिम पँधेरो, दक्षिण कृष्णरामको खेत, उत्तर टुटो गुरुको साँध यी ४ किल्लाभित्रको खेत मुरी १९ मो.रु.४००। को ऐ.ऐ.१ पूर्व उत्तर दक्षिण पद्मबहादुर साँध, पश्चिम भवानीको खेत रु.१०००। पर्ने खेत मुरी ८ को ऐ.ऐ.पूर्व उत्तर र पश्चिम भवानीको खेत, दक्षिण जिमिरे खेलो यी ४ किल्लाभित्रको रु.१२००। पर्ने खेत मुरी ।१० को ऐ.ऐ.१ पूर्व पश्चिम लिलाधरको साँध, उत्तर बाँसको रुख, दक्षिण टुटे देवकोटाको साँध यति ४ किल्लाभित्रको रु.५०। को ऐ.ऐ.१ पूर्वपश्चिम लक्ष्मण मगरको साँध, उत्तर महारो पश्चिम जाने खोला यति ४ किल्लाभित्रको रु.५०। पर्ने कित्ता ऐ.ऐ.१ पूर्व पद्मबहादुर, पश्चिम चिहान, उत्तर देवीप्रसाद, दक्षिण मेरै घर सडकबारी भन्ने रु.१०००। पर्ने कित्ता १ को ऐ.ऐ.१

पूर्व दिवाकर, पश्चिम पद्मबहादुर, दक्षिण ठाडो खोल्सो, उत्तर मेरै साँध यी ४ किल्लाभित्रको खोरिया खर मो.रु.१०००। पर्ने ऐ.ऐ.१। पूर्व पद्मबहादुर, पश्चिम गोपाल तिवारी, दक्षिण पद्मध्वज यी ४ किल्लाभित्रको खोरिया पाखो रु.१०००। पर्ने ऐ.ऐ.१ पूर्व अनबहादुर, पश्चिम बहादुर, उत्तर घरवारीसमेत मोल रु.५००।पर्ने १

पूर्व दिलबहादुर, पश्चिम दिलबहादुर, उत्तर दक्षिणको ठाडो दहर यी ४ किल्लाभित्रको बिगो रु.५००। पर्नेको ऐ.ऐ १ पूर्व खोरियाखर जाने दहर, पश्चिम माईको स्थान, दक्षिण धनबहादुर, उत्तर ठाडो दहर यी ४ किल्लाभित्रको रु.२००। जाने विक्रता १ को ऐ.ऐ १

असामी

स्याङ्जा जिल्ला ढुंगेदेउराली बस्ने जेठी कैली भन्नेसँग लिनुपर्ने रु.४००। मा ऐ.ऐ.१

साहु

ऐ.ऐ.बस्ने प.भद्रबहादुर खत्री क्षेत्रीको तमसुकी मोहर रु.४०००। मध्ये ६ भागको १ भाग तिर्नुपर्ने १ ऐ.ऐ.बस्ने शिवबहादुर खत्री ऐ.ऐ.रु.१८००। ऐ.ऐ.१ ऐ.ऐ.दरो गा.पं. वडा नं. ६ सिरुबारी बस्ने तिले च्यामि जैसीको रु.१७००। को ऐ.ऐ १ ऐ ऐ.बस्ने बहादुर गुरुङको रु.२००। ऐ.ऐ १ ऐ ऐ.बस्ने वा जि. जि. मुरणबहादुर गुरुङको रु.५००। को ऐ.ऐ १ ऐ ऐ.काहुले बस्ने बम्बबहादुर रोकाहा क्षेत्रीको रु.१०६१। को ऐ.ऐ १ ऐ ऐ.भेडाबारी बस्ने छवीलाल ढकालको बन्धकी तमसुकी रु.११५०। को ऐ.ऐ १ सतौ.दरौ भेडाबारी बस्ने टीकाराज ढकालको रु.५००। को ऐ.ऐ १ ऐ ऐ.बस्ने तुल्सी कामीका रु.१२००। को ऐ.ऐ १ ऐ ऐ.खोरियाखर्चबस्ने देउबहादुर गोदारको रु.३००। को ऐ.ऐ १

घर कटेरासमेतको

१० हात लम्बाई, ७ हात चौंडाई ढुङ्गाको गारो ढुङ्गाको छानो भएको १ तले घरको मूल्य रु.१५००। पर्ने घरको ६ भागको १ भाग १ १२ हात लम्बाई, ६ हात चौंडाई ढुंगेको छानु धनसार विगो रु.५००। को ऐ.ऐ १ बाख्रा जीउ २ को रु.५० को ऐ.ऐ.१ भैंसी जिउ १ को ४०० को ऐ.ऐ रु.१६० पर्ने तामाको गाग्री स.र बाहारको थान १ को ऐ.ऐ १ मोल रु.६० पर्ने तामाको धार्नी १ को ताउलो थान १ को ऐ.ऐ १ रु.८० पर्ने चरेस थाल सेर २ को थान २ को ऐ.ऐ १ रु.५० पर्ने ऐ.को कटौरा सेर १।१ का थानको ऐ.ऐ २ रु.२००। पर्ने गाई माउ बाच्छा जिउ २ को ऐ.ऐ १ रु.४ पर्ने सिलाभर थाल २ को ऐ.ऐ १ रु.४ को सिलावर कचौरा ४ को ऐ.ऐ १ रु.५ को फलामे ताप्के २ को ऐ.ऐ १ रु.१० को पुरानो कम्वल थान २ को ऐ.ऐ १ चौथो दागको सुनतोला १ को ढुंग्री हावादारी जोर १ को रु.३००। पर्नेको ऐ.ऐ १

वादी लिलावती क्षेत्रीनीले राखेको कोर्टफी को हकमा मुद्दा किनारा हुँदा ठहरेबमोजिम हुने भएकोले हाल केही गरिरहन परेन ………………….४

 

उक्त रायमा म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०३५ साल कार्तिक २४ गते रोज ६ शुभम् ।