August 10, 1978
Created by nepalarchives

निर्णय नं. ११३९ – तालुकी

निर्णय नं. ११३९     ने.का.प. २०३५ डिभिजन बेञ्च माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३४ सालको दे.विविध नं. ८४ फैसला...

निर्णय नं. ११३९     ने.का.प. २०३५

डिभिजन बेञ्च

माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३४ सालको दे.विविध नं. ८४

फैसला भएको मिति : २०३५।४।२६।१ मा

निवेदक : जुम्ला वारविसदरा गा.पं.बस्ने जसवीर थापा मर्दा निजको भतिजा जगे थापा

विरुद्ध

विपक्षी : ऐ.ऐ. बस्ने दुर्गाप्रसाद पण्डित

मुद्दा : तालुकी

(१)   रैति रोजाउन नपर्ने कानूनी व्यवस्था भएकोले रैती रोजाई मर्ने तालुकदारको छोराले तालुकदारी नपाउने ठहराएको मनासिव भन्न नमिल्ने ।

 (प्र.नं. १२)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रती

उल्लिखित मुद्दा :   

फैसला

            न्या. ईश्वरीराज मिश्र : सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३१।९।२८ को फैसलाउपर इन्साफ जाँच गरिपाउँ भनी जगते थापाले श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभागमा चढाएको बिन्तिपत्रमा यो बिन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट २०३१।९।२८ मा छिनिएको तालुकी मुद्दाको मिसिल झिकी इन्साफ जाँची कानूनबमोजिम गरी छिनिदिनु निवेदकलाई जनाउदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम बक्सेको छ भनी क. ४२८२ को बिन्तिपत्रमा हु.प्र.बक्स भई यस बेञ्चसमक्ष पेश हुन आएको छ ।

            २.    मुद्दाको तथ्य यसप्रकार छ : जुम्ला बाह्रबिसे रुरु गाउँको तालुकदारी मुखिया चिल्लाए गाउँका कुलानन्द वेगल गाउँका हुँदा जनताबाट रकम उठाई खाने गरेका ०२९ साल भाद्र १८ गते स्वर्गे भई खाली भएको समयमा आफ्नै गाउँको तालुकदार गर्नु पर्‍यो भनी जनताले मलाई रुचाई दरखास्त देउ भनेबाट सो तालुकदारीमा वहाली पाउँ भन्ने जसवीर थापाको मालमा दरखास्त ।

            ३.    रुरु गाउँका तालुकदार मेरा बाबा कुलानन्द ०२९ साल आश्विन ५ गते स्वर्गे हुनु भएकोले बाबाका नामको तालुकदारीमा मलाई वहाली गरिपाउँ भनी चिल्लाए गाउँ बस्ने दुर्गाप्रसाद पण्डितको दरखास्त ।

            ४.    सो विषयमा माल कार्यालयबाट बुझ्दा जुन मुख्य तालुकदार हुनुपर्ने रुरु गाउँका जनताले साविक तालुकदार कुलानन्द र निजको छोराको दरखास्तवाला आएमा ऐ.तिरो लिने समयमा गौद्रन १ तेल माना १ का दरले रकम उठाई खाने गरी आएका हुँदा निज दुर्गाप्रसादलाई तालुकी मान्न मन्जुरी छैन भनी रुरु गाउँका अकवर थापा समेत १२ जना र तालुकदारमा आफ्नै गाउँका जसवीर थापालाई मान्न मन्जुर छौं । दुर्गाप्रसादलाई मन्जुर छैनौं भन्ने जवान ४७ समेत ५९ जवानको सरजमिन मुचुल्का भएको पनि देखियो सो पछि रुरु गाउँका ५७ जवानले श्री क.अं. अञ्चलाधीशज्यूको टुर मुकाममा गाउँले रोजेको तालुकदार पाए साविक तालुकदारका शोषणबाट मुक्त हुने छौं भन्ने आवेदन दिएकोमा अत्यावश्यक कारवाई गरी दीनु भन्ने माललाई तोक भएको आवेदन पनि मिसिल सामेल रहेको देखियो ।

            ५.    त्यसमा सुरु कारवाई गर्ने माल कार्यालयबाट रैतिले रोजेकोलाई तालुकीदारी नदिएमा रकम तहसिल गर्न समेत बाधा पर्न जाने हुँदा ज. प.९ नं. बमोजिम रैतिले रोजेको जसवीर थापालाई नै तालुकी दिने ठहराई ०३०।२।२६।६ मा फैसला गरी बहाली दिएको फैसला सुरु मालले इन्साफ कानून विरुद्ध हुँदा इन्साफ कानून उल्टाई मैले वहाली पाउँने गरिपाउँ भन्ने दुर्गाप्रसाद पण्डितको पुनरावेदन ।

            ६.    साविक तालुकदार मरी खाली भएको समयमा जनताले रोजी जनताले रोजेको जसवीरले मौका छोपी दरखास्त गरेको दुर्गाप्रसादको दरखास्त पछि पर्न आएको मालबाट सरजमिन हुँदा दरखास्तवालाले सरजमिन बुझ्न कानूनले नपर्ने भन्ने तर्फ मार्ग देखाउन नसकी सरजमिन रोहवरमै रही गरेको बुझिएका सरजमिन गाउँले जम्मैले जसवीरलाई नै रोजेकोमा ज.प.९ नं. बमोजिम जसवीर थापाले तालुकदारी पाउने ठहराई मालले गरेको इन्साफ मनासिव ठहर्‍याएको प्र.जि. अ.का. जुम्लाको फैसला ।

            ७.    प्र.जि. अ.का.जुम्लाको फैसलामा चित्त बुझेन भनी दुर्गाप्रसाद पण्डितको आयकर अदालतमा पुनरावेदन परी न्याय प्रशासन सुधार अध्यादेश २०३० अनुसार यस अदालतमा सरी निर्णयतर्फ विचार गर्दा जुम्ला रुरु गाउँको तालुकदार कुलाचन्द मरी खाली हुन आएको तालुकीमा निजको छोरा दुर्गाप्रसाद र विपक्षीको दरखास्त परेकोमा माल तथा प्र.जि. अ.बाट जसवीर थापालाई रैतिले रोजेको भनी उक्त तालुकदारी दिने ठहराएको जिम्मावाल मरी भागी खाली भएकोमा उसका हकवालालाई दिंदासमेत रैती रोजाउन पर्दैन भन्ने उल्लेख भएको रैती रोजाउन नपर्ने कानूनी व्यवस्था भएकोले रैती रोजाई मर्ने तालुकदार कुलानन्दको छोरा दुर्गाप्रसाद पण्डितले तालुकदारी नपाउने ठहराएको मनासिव भन्न नमिल्ने हुँदा जुम्ला माल तथा प्र.जि. अ.ले गरेको निर्णय मिलेको देखिएन मर्ने तालुकदार कुलाचन्द मरी खाली भएको तालुकदारीमा निजको छोरा दुर्गाप्रसाद पण्डितले पाउने ठहर्छ भन्ने सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३१।२८।१ को फैसला ।

            ८.    उक्त फैसलामा चित्त बुझेन भनी लिएको जिकिर यसप्रकार छ : मुलुकी ऐन जग्गा पजनीको ९ नं. मा दर्तावाला तालुकदार मरेको अवस्थामा हकवालालाई दिंदा रैती रोजाउन पर्दैन भनेको छ । तर विपक्षीको बाबुले तालुकी लिनु भन्दा अघि सो तालुकदारीमा मेरो बाबु मनि बहाल रहेका तालुकदारले रैतिको भलो चिताउनु पर्नेमा निजले रैतिलाई दुःख दिई रहेको उसमा पनि बेगल गाउँको व्यक्ति भएकोले पनि विपक्षीलाई मान्न मञ्जुर छैन रैतिले रोजेकालाई तालुकदारी दिलाई दिनु भनी सु.प.क्ष.अ. को इन्साफ जाँच गरी दिनु भन्ने हु.प्र.पाउँ भन्नेसमेत उल्लेख छ ।

            ९.    यसमा बक्स भई आएको हुकूम प्रमाङ्गी बमोजिम गर्न विविधको लगतमा दर्ता गरी मिसिल झिकाई निवेदकलाई ७ दिनको म्याद दर्ता दिई झिकाई नियमबमोजिम पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३५।२।५।४ को आदेश ।

            १०.    निवेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री गङ्गाप्रसाद उप्रतीले दुर्गाप्रसाद बाबुले तालुकदारी लिनुभन्दा अघि मेरो पक्षको बाबुले सो तालुकदारी चलाई आएको र रैतिले समेत मेरो पक्षलाई रोजेको हुनाले सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मिलेको नहुँदा सो फैसला बदर हुनुपर्छ भन्नेसमेत आफ्नो वहस प्रस्तुत गर्नु भयो ।

            ११.    यसमा सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ ठिक बेठिक के रहेछ त्यस कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

            १२.   प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी विद्वान अधिवक्ताको वहससमेत सुनी पुनरावेदक जगते थापालाई रोहवरमा राखी निर्णयतर्फ विचार गर्दा यसमा जग्गा पजनीको ९ नं. मा दर्तावाला तालुकदारी जिम्मावाल मरी भागी खाली भएकोमा उसका हकवालालाई दिंदासमेत रैती रोजाउन पर्दैन भन्ने उल्लेख भएको रैती रोजाउन नपर्ने कानूनी व्यवस्था भएकोले रैती रोजाई मर्ने तालुकदार कुलाचन्दको छोराको छोरा पुनरावेदक दुर्गाप्रसाद पण्डितले तालुकदारी नपाउने ठहर्‍याएको मनासिव भन्न नमिल्ने हुँदा जुम्ला माल तथा प्र.जि. अ.का.ले गरेको निर्णय मिलेको देखिएन भन्ने तालुकदार कुलाचन्द मरी खाली भएको तालुकदारीमा निजको छोरा दुर्गाप्रसादले पाउने ठहर्छ भनी सुदुर पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट २०३१।९।२८।१ मा भएको फैसला कानूनअनुकुलको देखिँदा मनासिव ठहर्छ । इन्साफ जाँचको निमित्त आएकोले केही गर्न परेन नियमबमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. विश्वनाथ उपाध्याय

 

इति सम्वत् २०३५ साल आषाढ २६ गते रोज २ शुभम् ।