निर्णय नं. १०९७ – उत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय नं. १०९७ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३२ सालको रिट नम्बर ११२९ आदेश...
निर्णय नं. १०९७ ने.का.प. २०३४
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री वासुदेव शर्मा
माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
सम्वत् २०३२ सालको रिट नम्बर ११२९
आदेश भएको मिति : २०३४।९।६।४ मा
निवेदक : तानसेन नगरपञ्चायत वार्ड नं.३ भिमसेन टोल बस्ने देवमान बज्राचार्य
विरुद्ध
विपक्षी : ऐ ऐ बस्ने शोभा शाक्यसमेत
विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ
(१) दावी नै फरक गरी उजूर दिने निवेदकलाई नेपालको संविधानको धारा ७१ अन्तर्गत मद्दत गर्न नमिल्ने ।
(प्रकरण नं. ७)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्य
उल्लेखित मुद्दा :
आदेश
न्या.वासुदेव शर्मा : नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको वा अन्य उपयुक्त आज्ञा आदेश पूर्जी जारी गरी विपक्षी पाल्पा तानसेन नगरपञ्चायत सभाको मिति २०३३।२।१४ को निर्णय बदर गरी पाउँ भनी रिट निवेदन मिति ०३३।५।२९।३ मा दर्ता भएको रहेछ ।
२. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ : मेरो घडेरी जग्गामा फोहर मैला हुन जाने कानून प्रतिकूल भएकोले नक्सा पास बेगर मेरो घर जग्गामा खुल्ला झ्याल हाली घर बनाउन नपाउने गरी रोक्का गरी पाउँ भन्ने समेत निवेदन ०३३।१।८ को पहिला दिएको निवदेनमा मेरो जग्गामा घर बनायो भन्ने दावी नभई सीर्फ मेरो जग्गातर्फ फोहरमैला फ्याक्ने गरी झ्याल राखेको भन्ने मात्र दावी भएको र साथै मिति ०३३।२।४ गतेका दिन सर्जमीन हुँदा शोभा शाक्यले निवेदनमा उल्लेख ४ किल्ला भित्रको जग्गा निजै शोभा शाक्य परिवारले मात्रले अघिदेखि हक भोग चलन गरी आइरहेको घर जग्गा हुने र सो जग्गाको दक्षिणतिर ३ तल्ले पक्की घर बनाई सकेको छैन सो घरसँगै एउटा पर्खाल पनि छ सो पर्खाल पुरानो घर बलेसी भित्रकै पुरानो जग्गा भएकैबाट उठाएका हुन, शोभा शाक्यले देवमान बज्राचार्यको कुनै जग्गा मिचेको हामीहरूले देखेका छैनौं भनी लालबहादुर बोहरा समेत १३ जनाले निस्सा गरी सर्जमिन मुचुल्का भएको रहेछ । घरको नाप नक्सा पास इजाजत दिनु हुने देखिएकोले दक्षिण पश्चिमतर्फको झ्यालको डण्डी जाली राखी देवमान बज्राचार्यको जग्गातर्फ फोहर मैला नजाने तरिकाबाट डण्डी जाली झ्याल राखी नक्सा बमोजिमको दस्तूर लिई घर बनाउन दिने गरी नक्सा पास गरी दिइएको छ भन्ने समेत विपक्षी ता.न.पं.बाट ०३३।२।१४ मा भएको निर्णय रहेछ ।
३. सो घर जग्गा शोभाको नाममा दर्ता पनि छैन दर्तावाला बाबु छँदाछँदै दर्ताको कुरा केही नदेखाई विपक्षी शोभा शाक्यको दरखास्त गर्ने अधिकारै नभएको व्यक्तिको नक्सा दरखास्त लिनु नहुने लिई गैरकानूनीसँग गल्ती कारवाही गरेकोछ, गैरकानूनी निर्णय बदर गरीपाउँ ।
४. सम्बन्धित मिसिल झिकाई पेशगर्नु भन्ने डि.बेञ्चको मिति ०३३।६।२८ को आदेश रहेछ ।
५. तारिखमा रहेका निवेदक देवमान बज्राचार्यको वा.डिल्लीस्वरानन्द बज्राचार्यलाई रोहवरमा राखी निजतर्फका विद्वान अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्यको बहस समेत सुनी उपरोक्त डिभिजन बेञ्चका आदेशानुसार झिकाई आएको सम्बन्धित मिसिल समेत हेरी बुझ्दा प्रस्तुत मुद्दामा निवेदक मागबमोजिमको आदेश जारी हुने नहुने के हो निर्णय दिनु परेको छ ।
६. यसमा निवेदक देवमान बज्राचार्यले मिति २०३३ साल बैशाख ८ गते रोज ३ मा विपक्षी तानसेन नगरपञ्चायतमा उजूर गर्दा मेरो घर जग्गामा खुला झ्याल हाली घर बनाउन नपाउने गरी रोक्का गरी पाउँ “भन्ने समेतका कुराको माग गरेको र निजै निवेदक देवमान बज्राचार्यले पुनः २०३३ साल बैशाख २० गते रोज १ मा सोही तानसेन नगरपञ्चायतमा दिएको निवेदन पत्रमा भने “मेरो हक जग्गालाई विपक्षी शोभा शाक्यले मेरो भनी दरखास्त गरेकोले तेरो मेरो सम्बन्ध हुन आएको हुँदा नगरपञ्चायत ऐनको परिच्छेद ७ को दफा ४९ को उपदफा २ बमोजिम गरी पाउँ” भनी पुष्पलाल उपर पाल्पा जिल्ला अदालतमा मुद्दा दायर भएको कुरा समेत उल्लेख गर्दै नक्सा पास नहोस् भनी जिकिर लिएको कुरा सम्बन्धित मिसिल सम्लग्न निवेदनहरूबाट देखिन्छ ।
७. यसरी यी निवेदक देवमान बज्राचार्यले उपरोक्त उल्लेख भए अनुसार आफ्नो उजूरीमा कुरा नै फरक फरक हेरफेर गरी उजूर गरेको उक्त निवेदनहरूबाटै प्रष्ट देखिन आउँछ । पहिले निज निवेदक देवमानले दिएको उजूरी र पछि पुनः निजैले दिएको निवेदनमा त्यस किसिमसँग दावी नै फरक गरी उजूरी दिने निवेदकलाई नेपालको संविधानको धारा ७१ अन्तर्गत मद्दत गर्न नमिल्ने हुँदा प्रस्तुत रिट निवेदनपत्र खारेज हुने ठर्हछ । नियमबमोजिम गरी फाइल बुझाइदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. सुरेन्द्रप्रसाद सिंह
इति सम्वत् २०३४ साल पौष ६ गते रोज ४ शुभम् ।