निर्णय नं. १०८९ – उत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय नं. १०८९ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०३३ सालको रिट नं.१०९३ आदेश...
निर्णय नं. १०८९ ने.का.प. २०३४
डिभिजन बेञ्च
माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र
माननीय न्यायाधीश श्री झपटसिंह रावल
सम्वत् २०३३ सालको रिट नं.१०९३
आदेश भएको मिति : २०३४।८।१९।१ मा
निवेदक : रुपन्देही जिल्ला भैरहवा नगरपञ्चायत वार्ड नं. ५ बस्ने महमद कुरेश
विरुद्ध
विपक्षी : जिल्ला प्रमुख अधिकारी जिल्ला कार्यालय रुपन्देही समेत
विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ
(१) अनाधिकार कागज स्वतः अमान्य भई सो काजगबाट कुनै हक हनन् नहुने हुँदा त्यस्तो कागज बदर गरी रहन र प्रतिषेधको आदेश जारी गर्न समेत नपर्ने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेती
विपक्षी तर्फबाट : अतिरिक्त स.अ.श्री प्रमोद विजयी र विद्वान व.अ.श्री वासुदेवप्रसाद ढुंगाना
उल्लेखित मुद्दा :
आदेश
न्या. ईश्वरीराज मिश्र : विपक्षी कार्यालयले गराएको ०३३।४।२९ को कागज बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अनुसार प्रस्तुत रिट निवेदन पर्न आएको छ ।
२. मुद्दाको तथ्य र निवेदन जिकिर यसप्रकार छ : भैरहवा न.पं. वार्ड नं. ५ अन्तर्गतको सवा एघार धूर जग्गा र सो जग्गामा बनेको घर समेत विपक्षी गोपी साहु तेलीले छोरा अनिफ बख्तरलाई ०२७।१०।२८ मा रु.१६,०००। बाट घरसारमा राजीनामा गरिदिएको थियो सो राजीनामा म्यादमा रजिष्ट्रेशन पास गरी रुपन्देही जिल्ला अदालतमा नालिस गरी लिखत पास हुने भई ०२९।३।२४ मा लिखत पास समेत भई हक हुन आएको विपक्षहरूबाट उक्त राजीनामा बदर गरिपाउँ भन्ने मुद्दा १ र सो राजीनामा जालसाज हो सजाय गरिपाउँ भन्ने १ समेत २ मुद्दा रुपन्देही जि.अ.मा दायर गराएको रहेछन्, ती दुवै मुद्दामा वादी दावा पुग्न नसक्ने भनी ०३२।१०।१९ मा फैसला भएकोछ । घरजग्गाको मूल्य बढ्दै गएकोले अरू थप मूल्य प्राप्तगर्ने विचारले विपक्षले जिल्ला प्रमुखअधिकारी जि.का.भैरहवामा के व्यहोराबाट निवेदन गरेछन् । गोपीसाहुको उजूरीबमोजिम बुझ्नुपर्ने भई तुरुन्त यसकार्यालयमा उपस्थित हुनु भनी ०३३।४।१४को पत्र प्राप्तभएकोले विपक्षीको कार्यालयमा ०३३।४।२९ गते उपस्थित हुनजाँदा गोपीसाहु तेलीको घर १६,०००। मा लिएको ठिकभएन त्यस्तो घरलाई ६० हजार पर्दछ नपुग रुपैयाँ निजलाई फिर्ता वापस गर भनी मलाई अडरगरेकोले ०२७ सालमा घरजग्गा लिँदा जग्गाको मोल १६,०००। ठिकै दाम थियो, गोपीसाहुको मञ्जुरीबाट नफिसले राजीनामा गरीलिएको हो हाल घरजग्गाको मूल्यबढ्दै गएको देखी मलाई दुःख दिने कुरामात्र हो, एकपटक राजीनामा भई लिनुदिनु भइसकेपछि जतिजति भाउ बढ्दैजान्छ त्यति थप्दै जाने हो भने र राजीनामाको अन्त कहिले नहुने भयो भनीभन्दा बाँकी नपुग रुपैयाँ गोपीलाई मैले दिने र गोपीले मबाट लिने कुराको मिलापत्रजस्तो दुवैजनाको एउटै कागजगराई सही गराएकोले प्र.जि.अ.को हैसियतले गर्न नपाउने अधिकारभन्दा बढी काम कारवाही गरी मलाई गराएको ०३३।४।२९को कागज बदर गरिपाउँ भन्नेसमेत उल्लेख छ ।
३. विपक्षीहरूबाट लिखितजवाफ लिई पेशगर्नु भन्ने डिभिजन बेञ्चको ०३३।६।५।३ को आदेश ।
४. हक बेहक गर्ने कुरालाई लिएर अ.बं.२९ नं.अन्तर्गतको गोपी साहुसँग कानूनबमोजिमको फिराद नालेस लिई उजूर हेरिएको छैन, भैरहवा बजारको घर समेतको जग्गा २०२७ सालमा रु.१६,०००। मा खरीद गर्न नपाइने र जिल्ला भित्र घर जग्गा जमीनबारे अशान्ति हुने आशंका हुन आएमा स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (५) अनुसार निवेदनपत्र लिई अशान्ति नहोस आपसमा मेलमिलाप रहोस् भन्ने हेतुले मिलाउने सिलसिलामा दुवैथरीलाई जोडी मिलाउने हेतुबाट बोलाउने अशान्ति हुन गर्न नपाउने कारवाहीसम्म यस कार्यालयबाट भए गरेको हो प्रस्तुत रिट निवेदन नै खारेज गरी पाउन अनुरोध गरिन्छ भन्ने प्रमुख जिल्ला अधिकारी जिल्ला कार्यालय रुपन्देहीको लिखितजवाफ ।
५. विपक्षीको भन्सारमा मुद्दा छँदा मैले घर देखाई जमानी बसी दिएको थिएँ पछि रुपैयाँको आवश्यक भएकोले रु.८,०००। कर्जा लिई कपाली तमसुक गरिदिएको थिएँ त्यस्तो सडकको घर रु.१६,०००। मा बिक्री हुन सक्दैन, विपक्षीको छोराको नाउँमा कागज गराएको रहेछ सापटी रुपैयाँ तिरुँला भन्दै थिएँ, विपक्षीले अदालतमा फिराद गरी मलाई थाहा नदिई एक तर्फी फैसला गराई पास समेत गराएछन्, मैले दिएको निवेदनमा विपक्षीलाई झिकाएको र बजारमा पञ्च भलाद्मी समेत उपस्थित भई छलफल गर्दा ६०,०००। पर्ने घर १६,०००। मा राजीनामा हुन नसक्ने भन्ने कुरामा विपक्षी पनि सहमति देखाएकोले उक्त मोल कायम गरी निजका छोरालाई उपस्थित गराउने गरी सो इच्छाले कागज गरेको हो, प्रमुख जिल्ला अधिकारीले डर धाक देखाई लेख्न लगाएको होइन, ०३३।४।२९ को कागज प्रमुख जिल्ला अधिकारीले गराएको नभई हामी दुवैले गरेको कागजमा प्रमुख जिल्ला अधिकारीले कुनै निर्णय गरेको नभए पछि कागज बदर गर्न मिल्ने होइन, प्रस्तुत रिटनिवेदन नै खारेज गरियोस भन्नेसमेत गोपी साहु तेलीको लिखितजवाफ ।
६. निवेदक तर्फबाट रहुन भएका विद्वान अधिवक्ता श्री गंगाप्रसाद उप्रेतीले निवेदकले विधिवत २०२७।१०।२८ मा राजीनामा लिखत गरिदिएकोले म्याद भित्र रजिष्ट्रेशन पास गरी नदिएबाट नालेस गरी पास हुने ठहरी पास भएको छ, त्यस बखतको मूल्य अनुसारको मोल तिरी लिएको जग्गा पछि मोल बढ्दै गयो भन्दैमा मोल थप्नु पर्ने कुनै कानून छैन, प्रमुख जिल्ला अधिकारीले आफ्नो अधिकारभन्दा बाहिर गई ०३३।४।२९ मा गराएको कागज गैरकानूनी हुँदा बदर हुनुपर्छ भन्ने समेत आफ्नो बहस प्रस्तुत गर्नु भयो ।
७. विपक्षी प्रमुख जिल्ला अधिकारीको कार्यालयको तर्फबाट खटी आउनु भएको अतिरिक्त सरकारी अधिवक्ता श्री प्रमोद विजयी र गोपी साहु तेलीकोतर्फबाट रहनु भएको वरिष्ठ विद्वान अधिवक्ता श्री वासुदेवप्रसाद ढुंगानाले प्रमुख जिल्ला अधिकारीले कुनै करकापसँग कागज गराएको नभई जिल्लामा शान्ति सुव्यवस्था कायम राख्ने हेतुले दुवैथरलाई बेलाई सम्झाई बुझाई दुवैको सो इच्छाबाट ०३३।४।२९ मा कागज गरेका हुन्, कुनैपनि कार्यालयमा गई कसैले कागज लेखी दिन्छ भने त्यस्तो सो इच्छाले गरेको कागजलाई कार्यालयको निर्णय भन्न मिल्दैन, तसर्थ प्रस्तुत रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत आ–आफ्नो बहस प्रस्तुत गर्नु भयो ।
८. यसमा निवेदकका मागबमोजिमको आदेश जारी गर्नु पर्ने नपर्ने के हो ? सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
९. प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी विद्वान अधिवक्ताहरूको बहससमेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा नाफिस अख्तरले विपक्षी गोपी साहु तेलीसँग १६,०००। घरायसी राजीनामामा लिई मुद्दा परी लिखत अदालतबाट कायम भइसकेकोमा घरको मूल्य बढी भएकोले ६०,०००। पुर्याउन निवेदन थैली थप्नेसमेत व्यहोराको ०३३।४।२९।६ मा निवेदक र गोपी साहु समेतको संयुक्त मञ्जूरनामाको कागज भएको छ र निवेदकको छोरालाई ४५ दिनभित्र लिइआउने भन्ने सोही कागजमा लेखिएको सरकारी अधिवक्ता जिम्माको सम्बन्धित फाइलबाट देखिनआयो, त्यस्तो कागज गराउने स्थानीय प्रशासन ऐनले विपक्ष प्र.जि.अ.लाई अधिकार प्रदानगरेको नदेखिँदा अनाधिकार कागज स्वतः अमान्य भई सो कागजबाट निवेदकको कुनै हक हनन् नहुने हुँदा त्यस्तो कागज बदर गरी रहन र प्रतिषेधको आदेश जारी गर्नसमेत परेन, रिटनिवेदन खारेज हुनेठर्हछ । नियमबमोजिम गरी फाइल बुझाइदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. झपटसिंह रावल
इति सम्वत् २०३४ साल मार्ग १९ गते रोज १ शुभम् ।