निर्णय नं. १०७१ – जग्गा खिचोला लिखत बदर हक सफा
निर्णय नं. १०७१ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३३ सालको देवानी पुनरावेदन नम्बर...
निर्णय नं. १०७१ ने.का.प. २०३४
डिभिजन बेञ्च
माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०३३ सालको देवानी पुनरावेदन नम्बर ११३
फैसलाभएको मिति : २०३४।७।११।५ मा
पुनरावेदक : जि. मोरङ व्यरवना गा.पं. वार्ड नं.६ बस्ने बलबहादुर निरौलासमेत
विरुद्ध
विपक्षी : जि. भोजपुर मुलपानी गा.पं.वा.नं.७ बस्ने कौशिल्या उपाध्यायानीसमेत
मुद्दा : जग्गा खिचोला लिखत बदर हक सफा
(१) मुद्दा परिसकेपछि वादी प्रतिवादीमा उल्लेख नगरेको कुरामा विचार गर्नुपर्ने नदेखिने ।
(प्रकरण नं. १८)
पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री लबदेव भट्ट
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
उल्लेखित मुद्दा : कृष्णराज उपाध्याय विरुद्ध पिताम्बर भुसाल समेतको हकसफा
फैसला
न्या. ईश्वरीराज मिश्र : उपयुक्त मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट ०३२।११।१० मा कानूनी त्रुटीपूर्ण फैसला गरेको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदकहरूको निवेदन मागमा पुनरावेदन गर्न पाउने अनुमति दिनेगरी डिभिजन बेञ्चको ०३३।११।१८।३ को आदेश बमोजिम पुनरावेदनमा दर्ता भई बेञ्च समक्ष पेश हुन आएको छ ।
२. मुद्दाको संक्षिप्त तथ्य तथा यस प्रकार छ : हामीहरूको दर्ता हक भोगको मोरङ विराटनगर न.पं. वार्ड नं.१० को पूर्व सडक पश्चिम मुलचन त्रिलोचनको जग्गा उत्तर विपक्षी मुलकितहरूको जग्गा र दक्षिण श्रवणकुमारीको जग्गा ४ किल्ला भित्रको कठ्ठा ३ जग्गामा होटल घर बनाउन शुरु गर्दा सबैको लागि जग्गा नपुग्ने भई उत्तरतर्फ पुल्कितहरूको जग्गा किन्न दिनुहोस् भनी कुरा गर्दा रु.३०,०००।मूल्यमा दिने कुरा भई तुरुन्त व्यवहार मिलाउन होटेल घर बनाउने कार्यमा धेरै रुपैयाँ खर्च गर्न परी रुपैयाँ नपुग्ने भई ०२९ साल माघ महिनाभरमा रुपैयाँ दिई लिखत गरी दिने सर्तमा २०००।बैना दिई उक्त जग्गा हाम्रै सम्झी सो जग्गामानै ईटा ढुङ्गा बालुवा ल्याउने राख्ने होटल कम्पाउण्ड पर्खाल तोडी त्यतैबाट बाटो गराई होटल घर तयार भएको छ । उल्लेखित अनुसार पुल्कीतको जग्गा पनि होटेल कै जग्गामा सम्मिलित हुने भई होेटलको कम्पाउण्ड पनि घटाई कार्य गर्ने गरी सो (पर्खाल) देखिन उत्तरतर्फ हाम्रो १ फुट जग्गा पनि होटल घर भित्र पारी होटेलको छत सो १ फुट हाम्रो जग्गा सम्मै निकाली बनाएको हो सो जग्गा हरेक प्रकारले हामीले खरीद गरी लिन पर्ने र अवस्था पनि मिलाएका थिएँ त्यस्तैमा यी प्रतिवादीहरू मिलिई रु ३१०००।मा लिनु दिनु गरी ०२९।१।१४ गते लिखत गरी सोही दिन पारित समेत गरेछन् माथि उल्लेख गरिए अनुसार हाम्रा हक भोगको ३ कठ्ठा जग्गा मध्ये विपक्षीहरूले राजीनामामा पारेको होटल घरको कम्पाउण्ड (पर्खाल) देखि उत्तर १२ इन्च हाम्रो जग्गाको साँधमा भएको विपक्षी कौशिलाले राजीनामा लिएको जग्गादेखि दक्षिण होटल घरको जग्गादेखि उत्तर सडकदेखि पश्चिम मूलचन ईश्वरचनको जग्गादेखि पूर्व यति ४ किल्ला भित्रको उत्तर दक्षिण चौडा ४२ इन्च पूर्व पश्चिम लम्बा सिधा वारपारको हाम्रो जग्गा २ पर्खालतर्फको राजीनामा लिखत र त्यसतर्फ दामासाहीले कायम हुने थैली समेत बदर गरी जग्गाको दावी खिचोला मेटाई जग्गा हाम्रो हक कायम गरी विपक्षीहरूका लिखतमा रु.४९०००। को थैली राखेको हुनाले थैलीको अङ्क कायम गरी सो कायम भएको अङ्क थैली हामी सन्धी सर्पनवालाले धरौट दाखिल गरी निखन्न पाउने समेत गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र रहेछ ।
३. दुईजना वादी भई हामी तीन जनालाई प्रतिवादी तुल्याई जग्गा खिचोला गरे भन्ने १, हक सफा गरी पाउँ भन्ने १, लिखत बदर गरी पाउँ भन्ने १ समेत ३ विषयमा कुरामा दावी लिएको हुँदा अदालती बन्दोवस्तको ७२ नं.मा फिरादपत्र लिँदा देवानी फौज्दारीको छुट्टा–छुट्टै लिनुपर्छ भन्ने समेत उल्लेख भएको यस्तो २ जना वादी भई हामी ३ जना उपर ३ विषयको एउटै नालेश लाग्न नसक्ने हुँदा अ.बं. १८० नं.ले खारेज गरी पाउँ मौकैमा अड्डाबाट राजीनामाको नक्कल सारी थैलीको अङ्क थाहा भएको र फिरादमा रुपैयाँ ३१,०००।दिई बढी थैली हाली रु ४९,०००।को राजीनामा गराए भन्ने फिरादको प्रकरण नं.३ मा उल्लेख गरी ऐ प्रकरणमा जालसाजमा उजूर गर्न कानूनले प्रमाण लाग्ने निस्सा सबूदको अभावमा असमर्थता प्रकट गर्दै लेखेको छ । यी सबै कारणबाट वादीको फिराद लाग्न सक्दैन । हामीहरू र हाम्रो दाता पुलकितले रु.४९,०००।मा कौशिलाबाट लिई वी.नं.पं. वार्ड नं.१० को मोटर सडक पश्चिम ईशवरीचन उत्तर कालीका गुप्ता दक्षिण रारा होटलको जग्गा यति ४ किल्ला भित्रको साविक रै.नं.४१७ को उत्तर दक्षिण (मौहान जन्जीर) ३ पूर्व पश्चिम जन्जिर १९ को जग्गा बिगाहा ०–२–१७ जग्गामा वरिपरि इटको पर्खाल कम्पाउण्ड आफ्नो एरिया भित्रपट्टि फुसको छानो भएको कच्ची घर २ उक्त कमाउण्ड समेतको जग्गा ०२९।१।१४ मा राजीनामा रजिष्ट्रेशन पास गरी लिएकोले म कौशिलाको हकभोगमा छ । सो जग्गा लिन सकिएलाकी भनी पुग्न नसक्ने कुरा को झुटो दावी लिई दिएको वादी दावीबाट फुर्सद गरी पाउँ भन्ने समेत प्रतिवादी ।
४. निखनाइपाउँ भन्ने जग्गामानै तेरो मेरो भन्ने दुवै थरीको जिकिर हुनाले लेनदेन व्यवहारको १६ नं.ऐनले मुख नमिलेको कुरामा अन्तिम निर्णयभएको मितिले ३५ दिनभित्र धरौट राख्न पाउने व्यवस्था भएको यस्तो निखनाइपाउँ भन्ने विषयमा वादविवाद उठेको कुरामा अदालत को कार्यक्षेत्र पर्दैन भन्ने प्र.जिकिर मुनासिव नभई खारेज गर्न नमिली इन्साफ गर्नुपर्ने देखियो, पुल्कित साहूले ०१७ सालमा दर्खास्त दिई चारैतर्फ पर्खाल लाउन पाउने गरी नगरपञ्चायतले निकासा दिएको देखिएको समेतबाट मैले पर्खाल लगाएको भन्ने वादी दावी देखिनआएन प्र.ले लगाएको पर्खाल र सोभित्र हाल झगडापरेको जनाएको नक्सा नं.२ को जग्गासमेत वादीको रहेछ । प्रतिवादीले खिचोला गरी वादीलाई हकसफा दिनुपर्ने कुराको ठहर्न नआएकोले पर्खाल भित्रको जग्गा प्रतिवादीकै कायम हुने ठर्हछ लेनदेन व्यवहारको १२ नं.बमोजिम सन्धीसर्पनवालाले निखन्न पाउने हुँदा ऐ.१६ नं.बमोजिम पुनरावेदन दिने म्याद नाघेपछि वा अन्तिम निर्णय भएको ३५ दिन भित्र निखनाई माग्न थैली रु.४९,०००। वादीले धरौट दाखिल गर्नु भनी सुनाइदिने समेत मोरङ जिल्ला अदालतको फैसला ।
५. कानून विरुद्ध वादीले निखनाई पाउने ठहराई मोरङ जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझेन भन्ने समेत कौशिलादेवीको र पर्खाल प्रतिवादी पुल्कितले बनाएको र झगडा जनिएको नं.२ को जग्गामा खिचोला गरेको नठहराई फैसला गरेमा चित्त बुझेन वादी दावी बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको वादीहरूको पुनरावेदन ।
६. वादी लेखिएको दावी अ.बं. ७२ नं. अनुसार एउटै फिरादपत्र लाग्ने नलाग्ने के हो भन्ने तर्फ प्र. कौशिल्याले प्र. दामोदर र प्र. पुल्कितबाट गराई लिएको ०२९।१।१४ को राजीनामालाई बदर गर्न माग गरेकोमा उल्लेख भएको जग्गा मध्येबाट नै केही जग्गा खिचोला र बाँकी जग्गा हक सफा गर्न पाउने माग गरी फिराद दायर भएको देखिन्छ । दुई वादी र तीन प्रतिवादी भएकोमा कुनै एक वादीको कुनै एक कुरामा कुनै एक प्रतिवादी उपर र अर्को वादीको अर्को छुट्टै कुरामा अर्को प्रतिवादी उपर दावी लिएको देखिन नआइ उपरोक्त राजीनामाको जरीयाबाट नै उठेको कुरामा दुवै वादीको कुरामा तीनै प्रतिवादी उपर संयुक्त दावी लिएको देखिन्छ अर्थात जुन कुराको विवाद पर्न आएको छ त्यसमा वादीहरू र प्रतिवादीहरू संयुक्त रुपमा सम्बन्धित हुन आएको देखिएको अ.बं. ७२ नं.ले एउटै फिरादबाट इन्साफ गर्न नमिल्ने भन्ने जिकिर पुग्न सक्दैन ।
७. खिचोला गरे भन्ने वादी दावी हकमा प्र. कौशिलाले दामोदर प्र.पुल्कितबाट ०२९।१।१४ मा पारित गराई लिएको राजीनामाको तपसील खण्डको विवरणमा उक्त जग्गा कच्ची फुसको छाना भएको घर दुई वरिपरि ईटाको पर्खाल भएको आफ्नो भनी जनिएको प्र. पुल्कितले वि.न.पं.का ०१७ सालमा पर्खाल बनाउन ईजाजत पाएको देखिन आएकोले विवादमा परेको पर्खाल पुल्कितको जग्गा भित्र भएको प्रमाण लिई खण्डन गरी आफ्नो कायम गराउन सक्ने लिखत प्रमाण वादीबाट केही गुज्रन नआएकोले खिचोला भनी वादीले दावी गरेको जग्गा निज वादीको नठहराई प्रतिवादीको कायम हुने भनी मो.जि.अ.ले गरेको निर्णय मुनासिव ।
८. निखनाई पाउँ भन्नेतर्फ थैली थाहा भएकोमा थैली धरौट राखी नालेस गर्नुपर्ने थैली अङ्क एकिन हुन नसक्ने भन्ने वादीको जिकिर मुनासिव नहुँदा वादी दावी खारेज हुनेमा इन्साफ गरेको यसतर्फ जिल्ला अदालतले केही आउने छाडी काम गरेको समेत ठर्हछ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजनबाट ०३२।११।१० मा भएको फैसला ।
९. उपरोक्त फैसलामा चित्त बुझेन प्रत्यक्षतः कानूनी त्रुटीपूर्ण फैसला भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने समेत वादीहरूको निवेदन ।
१०. यसमा मेरो केही जग्गा समेत लिनु दिनु गरेकाले त्यतिसम्म र लिखत र थैली बदर गरी बाँकी थैली तिरी निखन्न पाउँ भन्ने समेत वादी दावी भएकोले केही थैली लिखत बदर हुनेमा नहुनु ठहर्नुको साथै निखन्न पाउने ठहर फैसला भएपछि वादीले निखनाई पाउँ भन्नेतर्फको ठहरेको थैली धरौट राख्न पाउने ठहर फैसला भएपछि वादीले निखनाई पाउँ भन्नेतर्फको ठहरेको थैली धरौट राख्न पाउने लेनदेन व्यवहारको १६ नं.को व्यवस्था देखिएकोले सो बमोजिम नगरी वादी दावी खारेज गरेको पूर्वाञ्चलन क्षेत्रीय अदालतको २०३२।११।१० को फैसला उक्त कानूनको प्रत्यक्षतः त्रुटी गरेको देखिएको र प्रस्तुत विषय सार्वजनिक महत्त्वको विषय पनि देखिएकाले पुनरावेदन गर्न पाउने अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको २०३३।११।१८।३ को आदेश ।
११. प्रस्तुत मुद्दामा पुनरावेदकतर्फको विद्वान अधिवक्ता श्री लवदेव भट्टले राजीनामाको तपसील खण्डको विवरणमा वरिपरि ईटाको पर्खाल भएको आफ्नो भनी जनिएको भन्ने कुरामानै हाम्रो पर्खाल जग्गा समेत आफ्नो भनी घुसाई विपक्षीहरूले लिखत गरेको बदर गरी पर्खाल जग्गामा हाम्रो हक कायम गरी पाउँ भन्ने मेरो पक्षको दावी भएकोमा तेरो मेरोको प्रश्न उत्पन्न भई मुख नमिलेको कुरामा प्रमाण पुर्याई इन्साफ दिनुपर्ने कुरामा निर्णय गर्दा राजीनामाकै तपसील खण्डमा लेखिएको कुरालाई नै प्रमाण मानी भएको फैसलाले न्याय परेको छैन, प्र.पुल्कित ०१७ सालमा अनुमिति लिई पर्खाल लगाएको प्रमाणित प्रमाण पेश छैन, सो पर्खाल मेरो पक्षलेनै लगाएको हो फिरादपत्रको प्रकरण १ मा होटलको कम्पाउण्ड तोडी त्यसैबाट बाटो गराई ईटा ढुङ्गा बालुवा ल्याउने गरेको भन्ने लेखिएको सो कुराको खण्डन विपक्षीले गर्नसकेको छैन ।
१२. हक सफातर्फ हाम्रो समेत हक लाग्ने जग्गा पर्खाल लिनु दिनु गरेको हुँदा हाम्रो हक जाने लिनु दिनु गरेको बदर गरी जग्गा खिचोला गरेको मिटाई दामासाहीले हुने थैलीको अंश कायम गरी बिक्री गर्नेको हक जति निखनाई पाउँ भन्ने कुराको रजिष्ट्रेशन अड्डाको क्षेत्राधिकार भित्र पर्न नसक्ने फैसलामा हाम्रो वादी दावी विषयको कुरा एउटै हो भन्ने स्वीकार गरेकै छ भन्ने का.पं. २०३० नि.नं. ६९९ समेतको प्रतिपादित सिद्धान्तले थैली थाहा नभएकोमा लेनदेन व्यवहारको १६ नं. बमोजिम थैली एकिन भएपछि मात्र थैली धरौट राख्नु पर्ने स्पष्ट गराएको समेतबाट हाम्रो हक लाग्ने जतिमा थैली एकिन गरी धरौट लिनु पर्ने समेतको विचार नगरी प्रत्यक्षः कानूनी पूर्ण फैसला भएको हुँदा फिराद दावी बमोजिम हक निखनाई पाउने समेत गरी पाउँ भन्ने समेत आफ्नो बहस प्रस्तुत गर्नु भयो ।
१३. विपक्षी तर्फबाट रहनु भएको वि.अ.सर्वश्री ठाकुरप्रसाद खरेल, श्यामप्रसाद खरेल, श्री यादव प्रसाद खरेलसमेतले लेनदेन व्यवहारको १६ नं.ले थैली थाहा नभएकोमा थैली थाहा पाएपछि थैली धरौट राख्नपाउने व्यवस्था गरेको स्पष्ट छ र प्र.तर्फबाट थैलीको अंक किटान भए पछि वादीलाई थैली थाहापाएको र यस्तो विषयमा थैली धरौट राख्नेतर्फ अदालतको कार्य क्षेत्र भित्र नपरी रजिष्ट्रेशन अड्डाको अधिकारभित्र भएको देखिएकै छ, प्रतिवादीले थैली थाहाभएपछि पनि धरौट राखी कारवाही नगराएको भनी पू.क्षे.अ.को इन्साफ सदरहुनुपर्ने र प्रस्तुत विवादको जग्गासमेत वादीले रारा होटललाई रजिष्ट्रेशन पारित गरी राजीनामा गरी दिइसकेको राजीनामा नक्कलसमेत प्रस्तुत गरेकोछु, त्यसकारण वादीहरूको विवाद जग्गामा हक स्वामित्व नै समाप्त गर्ने र प्रस्तुत विवादको जग्गा समेत वादीले रारा होटललाई रजिष्ट्रेशन पारित गरी राजीनामा गरी दिइसकेको राजीनामा नक्कल समेत प्रस्तुत गरेको छु त्यसकारण वादीहरूको विवाद जग्गामा हक स्वामित्व नै समाप्त भएको समेत हुँदा पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ कायम गरी पाउँ भन्नेसमेत वहस प्रस्तुत गर्नुभयो ।
१४. प्रस्तुत मुद्दामा पुनरावेदकको पुनरावेदन जिकिर औ पक्ष र विपक्षतर्फको विद्वान अधिवक्ताहरूको उपरोक्त वहस समेत सुनी विचार गरी हेर्दा पुनरावेदकहरूको जिकिर अनुसार पूर्वाञ्चल क्षे.अ.को फैसला मिलेको छ छैन भन्ने विषयमा निर्णय दिनुपर्ने देखियो ।
१५. निर्णयतर्फ हेर्दा पुनरावेदकको पुनरावेदन जिकिर तथा विद्वान अधिवक्ता श्री लबदेव भट्टको वहस जिकिर बमोजिम प्र.पुल्कितले वि.नगरपञ्चायतबाट पर्खाल बनाउन स्वीकृती लिएको छैन भन्ने जो जिकिर लिनुभएको छ तर ०१७।२।३१मा पर्खालबनाउन स्वीकृती लिई राखेको देखिएकोले समेत पर्खाल प्र.पुल्कितको हक छैन भन्ने पुनरावेदन जिकिर मुनासिव देखिन नआएकोले त्यसतर्फ शुरुको सदर गरी पू.क्षेत्रीय अदालतले गरेको इन्साफ मुनासिव छ ।
१६. निखन्न पाउँ भन्नेतर्फ निखन्न नपाउने गरेको पुर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ ठिक बेठिक के रहेछ भन्नेतर्फ मुलुकी ऐन लेनदेन तथा व्यवहारको १६ नं.ऐन अध्ययन गरी हेर्दा निखनाई पाउँ भन्नेले थैली धरौट राखी नालेस गर्नुपर्ने र थैलीमा मुख नमिलेमा निश्चित भएपछि ३५ दिन भित्र थैली धरौट राख्नु पर्ने कुरा सो ऐनमा उल्लेख भएको छ ।
१७. पुनरावेदक कृष्णराज उपाध्याय विरुद्ध पिताम्बर भुसाल, युवराज भुसाल समेतको हक सफा मुद्दामा फुल बेञ्चले मिति ०३३।७।२० को निर्णय नं. ९८२ को निर्णयमा लेनदेन व्यवहारको १६नं.ले निखनाई पाउँ भन्नेले थैली धरौट राखी नालेख गर्नुपर्ने र मुख नमिलेमा थैली निश्चित भएपछि ३५ दिन भित्र थैली धरौट राख्न पाउने भन्ने निर्णय गरेको देखियो ।
१८. प्रस्तुत मुद्दामा निखन्न पाउँ भन्ने जग्गामा नै तेरो मेरो भन्ने विवाद उठी जग्गा खिचोला र लिखत बदरतर्फमा समेत उजूर परी खरीद हिस्सा जग्गाको थैली यकिन गरी पाउँ भन्ने फिरादपत्रमा उल्लेख भई प्रतिवादीले जग्गामा वादीहरूको हक नलाग्ने भन्नेसमेत जिकिर लिएकोमा मिसिल प्रमाणबाट विवादास्पद जग्गामा वादीको हक भए नभएको सबूद प्रमाण बुझी निर्णय गर्नुपर्ने हुँदा यस्तो स्थितिमा थैली यकिन भएको भन्ने मिल्ने देखिदैन । तसर्थ पुनरावेदनको म्याद नाघेपछि वा पुनरावेदन परी अन्तिम निर्णय भएपछिको ३५ दिन भित्र निखनाई माग्न थैली रु.४९,०००। वादीले धरौट दाखिल गर्न भनी सुनाइदिने गरेको ईन्साफ मोरङ जिल्ला अदालतको मुनासिव ठर्हछ, निखन्नेतर्फ खारेज हुने भन्ने पूर्वाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन र वादीले रारा होटललाई बिक्री गरी सकेको हुँदा भूस्वामित्व नै समाप्त भएका वादीले निखन्न पाउँ भन्ने प्रश्न नै निरर्थक छ भन्ने विपक्षीतर्फको विद्वान अधिवक्ताहरूको बहसतर्फ यो मुद्दा परिसकेपछि वादी प्रतिवादीमा उल्लेख नगरेको कुरामा विचार गर्नुपर्ने देखिएन, अरू कुरामा तपसीलबमोजिम गर्नु ।
तपसील
पुनरावेदक बलबहादुर निरौला १, झमकबहादुर निरौला १, समेत के पु.क्षे.अ.को ०३२।११।१०।१ को फैसला बमोजिम जफत हुने भनी लेखिएको कोर्टफी रु.१७५०। मध्ये शुरु मोरङ जिल्ला अदालतका फैसला लगत बमोजिम कोर्टफी रु.१७३१।२५ प्रतिवादीहरूबाट भरी पाउने हुँदा क्षेत्रिय अदालतको उपरोक्त फैसला लगत कट्टा गरी शुरु मो.जि.अ.को २०३०।७।२४।६ को फैसला लगत गर्नु भनी मो.जि.अदालतलाई लेखी पठाउन लगत दिने………….१
पु.क्षे.अ.को उपरोक्त फैसला लगतले मो.जि.अ.का जि.न्या.श्री तुङ्गध्वजको ऐन छाडेमा रेकर्डराख्ने गरेको कायम नहुँने हुँदा सो रेकर्ड नराख्नु भनी पू.क्षेत्रीय अदालतलाई लेखी पठाई दिनु नियमबमोजिम मिसिल बुझाइदिनु……..२
उक्त रायमा म सहमत छु ।
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् २०३४ साल कार्तिक ११ गते रोज ५ शुभम् ।