निर्णय नं. १०६९ – जग्गा रसिद दिलाई पाउँ
निर्णय नं. १०६९ ने का.प.२०३४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३४ सालको निवेदन नम्बर. ३०७...
निर्णय नं. १०६९ ने का.प.२०३४
डिभिजन बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०३४ सालको निवेदन नम्बर. ३०७
आदेश भएको मिति : २०३४।८।१।४ मा
निवेदक : रुपन्देही खुदाबगर गा.पं.वार्ड नं.६ नं.बस्ने अब्दुलरहु मुसलमान
विरुद्ध
विपक्षी : ऐ ऐ बस्ने भगेलु चमार समेत
मुद्दा : जग्गा रसिद दिलाई पाउँ
(१) सूचनाबमोजिम हाजिर हुनुपर्ने व्यक्ति सूचना तामेल हुनुभन्दा अघि नै मरिसकेको र सूचना तामेल भएपछि मात्र निजको दैयादारले अड्डामा मुद्दा परी हाजिर हुनुपरेको कुरा थाहा पाउने हुँदा यस्तो अवस्था अ.बं.६२ नं.को दफा (३) बमोजिम मरेको मितिले बाटाका म्याद बाहेक ३५ दिन भित्र हाजिर नभएको भनी मुद्दा सकार गर्न नदिने गर्नु न्यायसंगत नहुने ।
(प्रकरण नं. १२)
आदेश
प्र.न्या. नयनबहादुर खत्री : विषय : मेरो पिताजी विपक्षीको मुद्दामा पुनरावेदनको अनुमति पाउनु भन्दा अघि नै स्वर्गवास भइसकेकोमा पिताजीका नाउँमा विपक्षी तुल्याएको कारणबाट म्यादमा तारीख तोकी यस अदालतबाट जारी गरेको म्याद तामेल भएको मितिले ३५ दिन भित्रै म्यादमा तोकिएको तारीखमै हाजिर भई मुद्दा सकार गर्न पाउँ भनी दिएको निवेदनमा श्री रजिष्ट्रारज्यूले कानूनबमोजिम गर्नु भन्ने आदेश भएकोले मुद्दा सकार गर्न पाइन्न भनी जवाफ दिएकोले पिता स्वर्गवास भएको सम्पत्तिसम्बन्धी मुद्दा हुँदा हकवाला र दैयादारले सकार गर्न नपाउने उता मरिसकेकोलाई विपक्षीले पार्टी बनाई मुद्दा दिने त्यसको असर सम्पत्तिसम्बन्धीहरू भएकोले व्यहोर्नु पर्ने यो प्राकृतिक न्याय सिद्धान्तको विरुद्ध हुँदा सो समेत विचार राखी मुद्दा सकार गर्ने वा विपक्षीको पुनरावेदन खारेज गर्ने जुन उचित हुन्छ कानूनबमोजिम आदेश पाउँ भन्ने ।
म निवेदक दस्तूर वापत रु.५। यसै साथ राखी निम्न लिखत निवेदन गर्दछु ।
२. उपरोक्त मुद्दामा पश्चिमाञ्चल क्षे.अ. पोखराबाट मुद्दा जिताई फैसला भएको थियो सो फैसला भई सकेपछि ०३३।११।१ मा मेरो पिताजी कालगतिले स्वर्गवास हुनु भएको सोपछि मात्र विपक्षीले मरी सकेको मेरा पिताजीलाई विपक्षी बनाई प्रस्तुत मुद्दामा पुनरावेदनको अनुमति प्राप्त गरेको हो ।
३. यस अदालतबाट पिताजीका नाउँमा ०३४।६।२५ मा हाजिर हनु आउनु भनी तोकिएको जारी गरेको नोटीस म्याद ०३४।५।२२ मा तामेल भएको हो ।
४. सो तोकिएको म्यादमा म्याद तामेली भएको ३५ दिन भित्रै भने मर्ने पिताजीको छोरा म भई विवाद उठाइएको सम्पत्तिको म हकवाला र दैयादार समेत भएको हुँदा मुद्दा सकार गर्न पाउँ भनी सबै व्यहोरा खोली ०३४।६।२५ मा निवेदन दिएको थिएँ ।
५. सो निवेदनमा यस अदालतका श्री रजिष्ट्रारज्यूले मुद्दा शाखाको यसमा कानूनबमोजिम गर्नु भनी आदेश दिनु भएकोले फाँटवालाले सकार गराउने भन्ने आदेश नभएको मरेको ३५ दिन भित्रको निवेदन नहुँदा अ.बं.६२ नं. ले सकार गराउन मिल्दैन भनी मलाई मौखिक जवाफ दिई विपक्षीलाई तारेख तोकिएकोले यो निवेदन गर्न आएको छु । प्रस्तुत मुद्दामा मेरो पिताजी स्वर्गवास भएको ३५ दिनभित्र हाजिर हुन आउनालाई सम्मानित अदालतबाट मुद्दामा दर्ता गरी झिकाउने आदेश भएको छैन म्यादै आएको छैन भने ३५ दिन भित्र हाजिर हुने कुरा नै आएन ।
६. अब म्याद तामेल भएको ३५ दिन भित्र र तोकिएको म्यादमा हाजिर हुँदा मरेको मितिबाट ३५ दिन भित्र हाजिर हुनुपर्ने भन्ने तर्क युक्ति संगत छैन ।
७. मरेको मानिसलाई पार्टी बनाई मुद्दा बलाउने विपक्षी, यस अदालतबाट जारी गरेको म्यादमा सो सम्पत्तिको हकवाला र दैयादार म भएकोले सकार गर्न पाउँ भनी निवेदन दिँदा सकार गर्न नपाउने हो भने आफ्नो सम्पत्तिमा अरूले उजूर गर्दा प्रतिवाद गर्न नताउनु सामान्यतः पनि प्राकृतिक न्याय सिद्धान्तको विरुद्ध हुन जान्छ ।
८. झगडियाको कारणबाट अर्थात मरी सकेकोलाई पार्टी बनाउने विपक्षी नीजको कारणबाट मेरो हकमा आघात गर्नु उपयुक्त हुँदैन, त्यसो हुँदा सम्माननीत अदालतबाट मरिसकेको मानिसलाई पार्टी बनाएका कारणबाट विपक्षीको पुनरावेदन नै खारेज हु्नुपर्छ ।
९. झगडीयाको कारणबाट मेरो सम्पत्तिसम्बन्धी नेपालको संविधानले दिएको हकको संरक्षणबाट बञ्चित हुनुपर्ने होइन त्यसो हुँदा म्याद भित्र अर्थात तोकिएको म्याद तोकी जारी भएको म्याद तामेल भएको मितिले ३५ दिन भित्रै हाजिर भएको हुँदा मुद्दा सकार गराई तारेखमा राखी दिनु भन्ने सम्माननीत अदालतबाट जुन उपयुक्त हुन्छ आदेश पाउँ । जो आदेश ।
१०. मैले यस अघि ०३४।६।२५ मा दिएको निवेदनमा भएको आदेश समेत मिसिल सामेल भएकोले सो समेत हेरी पाउँ । यो निवेदनको निकासा हुन दशैं बीचमा विदा पर्न गई विदापछि निवेदनमा निकासा आदेश हुने हो भने म धेरै टाढाबाट आएको खर्च पनि कम लिई आएको हुँदा धेरै दिन बस्ने अवस्था नभएकोले भएको आदेशको जनाउ घरमा पाउँ सो जनाउ पाएको मितिले बाटाको म्याद बाहेक ३ दिन भित्र हािजर भई मुद्दा सकार गर्नेछु ।
११. यसमा लेखिएको व्यहोरा ठिक साँचो छ झुटो ठहरे कानूनबमोजिम सहुँला बुझाउँला भन्ने समेत अब्दुल रहुफ मुसलमानको निवेदनपत्र ।
१२. यसमा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट पुनरावेदनको अनुमति दिने आदेशानुसार सूचना टाँस हुँदा निवेदकको बाबु अमिन परलोक भइसकेको भन्ने व्यहोरा जनाई टाँस मुचुल्का भइआएकोमा उक्त आदेश हुनु अघि नै मरिसकेको भन्ने निवेदनमा उल्लेख गरी सूचना तामेल भएको मितिले ३५ दिन भित्र निजका दैयादार छोरा भनी अब्दुल रहुफ मुसलमानले मुद्दा सकार गर्न आएको देखियो । सूचनाबमोजिम हाजिर हुनपर्ने व्यक्ति सूचना तामेल हुनुभन्दा अघि नै मरिसकेको र सूचना तामेल भएपछि मात्र निजको दैयादारले अड्डामा मुद्दा परी हाजिर हुनुपरेको कुरा थाहा पाउने हुँदा त्यस्तो अवस्थामा अ.बं.६२ नं.को दफा ३ बमोजिम मरेको मितिले बाटाका म्याद बाहेक ३५ दिनभित्र हाजिर नभएको भनी मुद्दा सकार गर्न नदिने गर्नु न्यायसंगत हुँदैन । यथार्थमा यस्तो उक्त ६२ नं.लागू हुनसक्ने स्थिति नै रहँदैन । तसर्थ अदालतबाट हाजिर हुनआउने सूचना तामेल हुनुअघि नै विपक्षी मरिसकेको त्यस्तो स्थितिमा मरेको व्यहोरा जनाई वा नजनाई जुनसुकै व्यहोराले सूचना तामेल भएको वा विपक्षी मरेका कारणले सूचना तामेल हुन नसकेको भन्ने कुरा सूचनामा जनाइएको मितिले बाटाको म्याद बाहेक ३५ दिन भित्र निज मर्नेको दैयादारले मुद्दा सकार गर्न आए सकार गराई दिनुपर्ने देखिन्छ । तसर्थ, निवेदकलाई मुद्दा सकार गराई कानूनबमोजिम गर्नु ।
प्र.न्या. नयनबहादुर खत्री,
न्या. विश्वनाथ उपाध्याय
इति सम्वत् २०३४ साल मार्ग, १ गते रोज ४ शुभम् ।