July 1, 1977
Created by nepalarchives

निर्णय नं. १०६८ – कुटपिट करकापसँग कागज गरेको भन्ने समेत

निर्णय नं. १०६८     ने.का.प. २०३४ फुल बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२८ सालको...

निर्णय नं. १०६८     ने.का.प. २०३४

फुल बेञ्च

माननीय न्यायाधीश श्री वासुदेव शर्मा

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०२८ सालको फौ.पु.नं. ३९

फैसला भएको मिति :       २०३४।३।१७।६ मा

निवेदक : प.४ नं. स्याङ्गजा मालको वहिदार राम गिरी १ समेत

विरुद्ध

वादी : ऐ. खिलुङ्ग लुब्धी बापटारी बस्ने जि.मु. चोलाकान्त उपाध्याय

मुद्दा : कुटपिट करकापसँग कागज गरेको भन्ने समेत

(१)   जुन लिखतलाई करकापबाट गराएको हुँदा बदर गरी पाउँ भनी वादीले दावी लिएको छ, सो लिखत नै बदर गर्ने गरी लिखत बदर मुद्दामामिलापत्र गरिसकेको हुँदा सो लिखत उक्त मिलापत्रबाट अमान्य भई निस्कृय भइसकेको देखिन आएकोले सो लिखत सम्बन्धमा अरू विचार गर्नुपर्ने अवस्था नदेखिने ।

(प्रकरण नं. १७)

वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे

फैसला

            न्या.वासुदेव शर्मा : प्रस्तुत मुद्दामा ०२७।७।६।५ को डिभिजन बेञ्चबाट छिनेकोमा दोहर्‍याई पाउँ भन्ने प्रतिवादीहरूले निवेदन परेकोमा न्यायिक समितिको सिफारिशमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई आई दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ ।

            २.    तथ्य यस प्रकार छ : बाजे गोपालका ५ भाइ छोरा मध्ये जेठा फणिनारायणका सन्तान नभई उहाँकी पत्नी लक्षीमालाई अरू कसैले हेरविचार नगर्दा मेरो संरक्षणमा रही ०१८।१२।२७ मा परलोक भई मैले काजकृया पिण्डदान गरी लक्षीमाको लिखतबाट हक छाडी दिए बाहेक बाँकी अपुताली जग्गा एकलौटी मैले भोग गरेको, भाइ नाताको भाइ अग्नीप्रसाद र निजका गठमेलका मानिस र वडा हाकिम समेतलाई उचाली आफ्नो पक्षमा मिलाएका छन्, यस्तैमा ०२०।२।२ गतेका दिन अन्दाजी १।२ घण्टा दिन बाँकी रहेको टायममा मैले नचिनेका २ जना मानिसलाई वडाहाकिमले तिमीलाई पक्रन पठाएको हिँड भनी व.हा.दौडाहामा आएको पं.४ नं.भिरकोट झारखाम बस्ने जुजुमानको छोरा नन्दकुमारको घरमा पुराएपछि मलाई अश्लिल शब्द प्रयोग गरी गाली गरी पुलिसद्वारा कान निमोठी बेइज्जत गरे, सो रात त्यही थुनी भोलिपल्ट २४ गते दरसिंगेरा थोक बस्ने जितबहादुर, हिमबहादुरको घरमा थुने, दिनको १२।१ बजे व.हा.ले लात्तले हानी बाँसको छडीले कुटपिट समेत गरी पुलिस जिम्मा लगाई रातमा स्याङ्गजा पुर्‍याईयो र थुनामा राखियो, यी कागजहरूमा सहीछाप नगरेसम्म सास्ती शासन दिइरहन्छु भनी ०२०।२।२३ को मितिदेखि ऐ.आषाढ ५ गते सम्म कुटपिट समेत गरी शारीरिक तथा मानसिक दुवै शक्तिहिन पारियो र (क) जि.मु.चोलाकान्त उपाध्याय र मु. अग्नीप्रसाद २ जना आगे भएको ०२०।३।३।२ को कागजमा मिति हाली स्याङ्गजा मालको डोरद्वारा ०२०।३।४।२ मा पास भएको स्कूलको नाममा चन्दा दिनु भनी लेखिएको कागज (ख) साहू चोलाकान्त ऋणी जुठाहारी गुरुङ भएको रजिष्ट्रेशन पास भएको ने.रु.२०००।को कागजमा रुपैयाँ बुझी पाएँ भन्ने दरपिठ (ग) साहू चोलाकान्त ऋणी धनबहादुर भएको ने.रु.३५००।को तमसुक पास गराई पाउँ भन्ने स्याङ्गजा अदालतमा चलेको मुद्दामा उक्त कागजमा रुपैयाँ बुझी पाएँ भन्ने मुद्दा डिसमिस गर्ने भन्ने दरपिठ (घ) साहू चोलाकान्त ऋणी बलबहादुर भएकोले ने.रु.९००।बुझाई पाउँ भनी स्याङ्गजा मालमा धरौटी रहेको दिलाई पाउँ भन्ने मेरो र निज बलबहादुरको संयुक्त भाषाको दरखास्तमा अब लिनु दिनु केही व्यवहार छैन भन्ने लेखी सहिछाप गराएको दर्खास्त (ङ) स्कूलको नाममा चन्दामा राख्ने रजिष्टरी पास गर्न भनी चोलाकान्त र अग्नीप्रसाद समेतको संयुक्त सही परेको स्याङ्गजा मालमा दिएको दरखास्त समेतमा करकापसँग सहीछाप गराई लिई लक्षीमा परलोक भई लक्षीमाको हक मात्र लेखिन नगई मेरो दर्ताको र मेरो दाजु देवीप्रसाद भाइ नेत्रप्रसाद समेतका नाउँमा दर्ता भएको जग्गा पनि चन्दाको नाममा हरण हुन गएको छ । थुनी सास्ती सासना दिई कुटपिट बेइज्जत गरी करकापसँग कागज गराई साह्रै अन्याय गरेकोले कुटपिट गरेमा कुटपिटको ११।१३ नं.बमोजिम र अन्य पानी बन्द गरी जेष्ठ २३ गते देखि आषाढ ४ गते तक दिन १३ सम्म थुनेमा बेरीतसँग थुन्दाको ३ नं. बमोजिम वडाहाकिम केशवराजलाई र करकापसँग कागज गराएमा व.हा.र अरू विपक्षी समेतलाई दं.स. १२ नं. बमोजिम सजाय गरी गाली वेइज्जतीको ५ नं.बमोजिम व.हा.केशवराजलाई सजाय गरी पाउँ भन्ने समेत मिति ०२०।१२।७।६ को जि.मु. चोलाकान्तको फिराद ।

            ३.    लक्षीमाको मात्र एकलौटी स्कूललाई दिएको नभई म खिमकर्ण र अरू हाम्रा दाजु भाइको भागको अंश दर्ताको जग्गा समेत पास गराएछन् आफ्ना हकको समेत पारी कसोरी करकाप गरे होला हामीले करकापसँग कागज गराएको होइन मेरो हक कायम गरी पाउँ भन्ने समेत नन्दलालको वा खिमकर्णको प्रतिउत्तर ।

            ४.    भोगबन्धकी थैली रु.९००।वादीलाई बुझाउन जाँदा बुझी नलिएको मालमा धरौट राखेको थिएँ पछि बुझ्न मञ्जुर गरी फिर्ता खर्च लेखी पाउँ भनी ०२०।३।१ मा दर्खास्त गरी वादीलाई रुपैयाँ बुझाई अड्डामा रहेको सक्कल भोगबन्धकीमा दरपीठ जनाई सहिछाप गराई दिएको हो करकापसँग गराएको होइन भन्ने समेत जि.मु. बलबहादुरको प्रतिवादी ।

            ५.    साविक बुझाउनु पर्ने रु.२०००।मा ब्याज समेत भागी रु.३५००।को छोरा तनबहादुर आगे भएको लिखतमा स साक्षी बसेको तमसुक पास गराई पाउँ भनी फिराद परेकोमा रु.२०००।बुझिलिनु भएको बाँकी १५००।वादीका भाइ खिमकर्णका नाउँमा तमसुक पास गरिदिएको छु वादीले दुवै तमसुक दरपीठ गरिदिनु भएको छ करकापसँग कागज गरे गराएको होइन भन्ने समेत जुठाहारी गुरुङको प्रतिवादी ।

            ६.    वादी श्रेष्ठ २३ गतेदेखि आषाढ २ गते सम्म कहाँ हुनुहुन्थ्यो थाहा छैन, पूर्व पश्चिम राजमार्गको चन्दा बुझाउन गई रसिद लिन बाँकी हुँदा अग्नीप्रसादको डेरामा बसी आषाढ ३ गते विहान वादी र वादीका भाइ खिमकर्ण वादीका साक्षी नन्दलाल हामी बसेका ठाउँमा आई स्कूललाई दिने भनेको कागज पास गरौं भनी कुरा गर्नु भई वादी खेस्रा गर्ने अग्नीप्रसादले साफी गरी ऐ ४ गतेमात्र प्रतिनिधि रुपमा पास गरी दिनु भएको दस्तूर तिरी लिई दिने काम सम्म मबाट भएको करकाप होइन, पास भएको कागजमा अपुताली बाहेकको परेको छैन, करकापबाट भएको होइन भन्ने समेत टोलप्रसादको प्रतिउत्तरपत्र ।

            ७.    स्कूललाई दिएको जम्मै जग्गा अपुतालीबाट मेरो महतारी नै सच्चा हकदार हुनुहुन्छ लक्षीमाको काजकृया मेरो महतारीको आज्ञा अनुसार सम्पन्न भएको कुरा स्कूललाई हक छाडी दिएको कागजबाट प्रष्ट देखिँदै रहेको छ, भाइ टोलप्रसाद र म वसी रहेको अवस्था आषाढ ३ गते वादी र वादीका सगोलका भाइ खिमकर्ण साथै नन्दलाल मेरो डेरामा आई स्कूललाई दिने भनेको कागज पास गरी टोलप्रसाद पनि रहेको छ भनेकोबाट मेरो मञ्जुर भई वादीकै एकाघर सगोलका भाइ खिमकर्णका हस्ताक्षरबाट डोर मगाई वादीले खेस्रा गरी दुई प्रति मैले साफी गरी सो दिन अवेला हुँदा भोलिपल्ट दरखास्त गरी डोर झिकाई खुसीराजीबाटै महतारीको मञ्जुरी बमोजिम भाइले प्रतिनिधिको रुपमा पास गरिदिएको हो करकापबाट भएको गरेको होइन, वडा हाकिमसँग कुनै सम्र्पक छैन भन्ने समेत अग्नीप्रसादको प्रतिवादी ।

            ८.    वादी र प्र. अग्नीप्रसादको मालमा दर्खास्त परी हाकिम तहरिरले मलाई खटाउनु हुँदा डोर खट्टी गई रीतपूर्वक पास भएको हो करकापबाट भएको होइन भन्ने समेत व. रामगिरीको प्रतिवादी ।

            ९.    वादीलाई पक्री थुनि बेइज्जत गरी कुटपिट गरेको करकापसँग कागज गराएको समेत कुनै कुरा होइन भन्ने समेत वडा हाकिम केशवराजको प्रतिउत्तर रिर्पोट ।

            प्रतिवादी मध्येका तनबहादुरले शुरु म्याद गुजारी बसेको ।

            १०.    २०२०।२।२३ गते देखि आषाढ ५ गते सम्म कुटपिट गरेको भन्ने देखिए पनि जेष्ठ २३ गतेका दिनसम्म बाँसको छडीले कुटेको देखिएको त्यसपछि कुटपिट भएको ठहराउन नमिल्ने हुँदा ०२०।३।२३ गते व.हा.केशवराजले वादीका घाखत फाराममा लेखिए अनुसार कुटपिट गरेको ठर्हछ । ०२०।२।३१ गते गण्डकी अञ्चलाधीश पोखरामा वादीको छोरा रामेश्वरको निवेदन गरेको देखिनाले थुनेको होइन भन्ने व.हा. को प्रतिउत्तर रिपोर्ट छ तापनि सो कुराको सबूद गुजार्न नसक्नु भएकोबाट ०२०।२।२३ देखि ऐ.३१ गते तक दिन ९ नौ चोलाकान्छालाई थुनामा राखेको ठहर्ने गाली बेइज्जतीतर्फ दावा नपुग्ने करकापसँग कागज गराएको भन्ने दावातर्फ ०१३।२।१९ मा पास भएको वादी साहू प्रतिवादी जुठाहारी ऋणी भएको लिखत ०२०।३।५।४ मा स्याङ्गजा मालबाट लगत कट्टा भएको र रु.९००।को बलबहादुरको लिखतमा पनि ०२०।३।५।४ मा लगत कट्टा भएको धरौटी स्याङ्गजाबाट खर्च लेखि बुझी लिई दरपिठमा सही गर्ने जि.मु. चोलाकान्त भनी सही गरेको अड्डाखानाको श्रेस्ताकागजलाई वादीको बेमञ्जूरी करकापसँग गराएको भन्न नहुने र सो कार्य भएको माल अड्डाको हाकिम समेत उपर उजूर नभएको समेत वादीले झुटो दावी लिएको देखिने र लक्षीमाको हकको जमिन स्कूललाई छोडपत्र गरी सकेपछि परस्पर हक गराई खाने उद्देश्यले मुद्दा मामिला गर्ने गरेको देखिनाले उक्त लिखतमा लागेको ल्याप्चे र लेखात्मक लिपिबाट शारीरिक मानसिक शक्तिहीन भए परेको अवस्थामा गरेको भन्ने कुरा प्रमाणित हुन नआई स्वेच्छापूर्वक खुसिराजीले गरेको देखिन आउँछ । वादी थुनामा रहेको अवस्थामा नभई डेरामा भएको मालमा दिएको दर्खास्तबाट देखिन आउने भई थानामा भएको भन्ने उचित नपर्ने र वादीलाई प्रतिवादी भू.पू. व.हा.केशवराजलाई समेत प्रभावमा पारी करकापसँग छोडपत्र गरी गराएको ठहर्दैन भन्ने समेत बाग्मती विशेष अदालतको ०२३।९।२६।३ को फैसला ।

            ११.    सो इन्साफमा चित्त बुझेन भन्ने समेत वादी चोलाकान्तको र प्रतिवादी व.हा. केशवराजको पुनरावेदन परेको ।

            १२.   मेरो बाबु चोलाकान्तलाई व.हा. केशवराजले अन्न पानी बन्द गरी ०२० साल जेष्ठ २३ गते देखि थुनामा राखेको छ, छुटाई पाउँ भनी चोलाकान्तको छोरा रामेश्वरले गण्डकी अञ्चलाधीश कार्यालय पोखरामा ०२०।२।३१ मा निवेदन दिएको देखिएको त्यसमा केही कारवाही नभई नगरेकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भनी चोलाकान्तको सट्टा रामेश्वरको ०२०।३।५ गते सर्वोच्च अदालतमा निवेदन परी विपक्षीबाट जवाफ मगाउने समेत आदेश भएकोमा छोडी दिएकोले हाजिर हुन आएको छु भनी चोलाकान्त भन्न आएकोले निवेदन तामेलीमा राख्ने भन्ने ०२०।३।१० मा निवेदन तामेलीमा राखेको देखिन्छ । थुनामा राखेको हैन कि भन्नालाई जिल्लाको वडा हाकिम जस्तो प्रतिष्ठित व्यक्तिका उपर थुनामा राखे भनी मौकैदेखि अञ्चलाधीश कार्यालय र यस अदालतमा उजूर दिई हिडेको देखिएको थुनामा नराखेको भए त्यस किसिम निवेदन दिई हिंड्नु पर्ने मुनासिव कारण नदेखिएको वादीका साक्षीले पनि थुनामा राखेको भनी बकेको देखिन आएको समेतबाट वादीलाई वडा हाकिमले थुनामा राखेको ठर्हछ । ०२० साल जेष्ठ ३१ गते सम्म मात्र थुनामा राखेको विशेष अदालतले ठहराएकोमा बन्दी प्रत्क्षीकरणको लागि दिएको निवेदन समेतबाट आषाढ ५ गते सम्म थुनामा राखेको सबूद पुग्न आएकाले ०२०।२।२३ देखि ०२०।३।५ सम्म थुनामा राखेको ठर्हछ । आफ्नोतर्फबाट खान ल्याएको पनि खान नदिएको भन्ने सबूद वादीले गुजार्न नसेकेकोले अन्न पानी बन्द गरे भन्ने वादीको जिकिर पुग्दैन, पुलिस केशबाट चोट पटक देखिए पनि मौकाको जाँच नभई सदरमा आई गराएको जाँचबाटसम्म देखिएकोले त्यसैलाई अकाट्य प्रमाण मान्न नमिलेकोले कुटपिट गरेको ठहर्दैन । करकापसँग कागज गराए नगराएको के हो भन्नेतर्फ स्याङ्गजा मालबाट ०२०।३।४।३ मा पास भएको वादी चोलाकान्त र प्रतिवादी मु. अग्नीप्रसाद २ जना आगे भई गोपाल नामाङ्कीत स्कूललाई वादी प्रतिवादी अग्नीप्रसाद समेतका जेठा पिताजी फणिनारायणको सन्तान नभई उहाँ परलोक भई उहाँकी श्रीमती लक्षीमाको हक भोगको उक्त लिखतमा उल्लेख भएको जग्गा जेठी महतारी लक्षीमा परलोक भई मेरी माता तिलकुमारीको मात्र अपुतालीका १ नं.बमोजिम एकलौटी हक भएको भन्थे र सोही लिखतमा हामीहरूको हक हुन आएको श्री सम्पत्ति मध्ये ढुङ्गाको गारो फुसको छानो १, तला छापेको पुवानको घर १, भैंसी बाँध्ने भन्सार १, गाई गोठ १, जि.मु. चोलाकान्तको केही पैसा पनि खर्च लागेको र कृया गरे वापत छुट्टै दुःख सास्ती म चोलाकान्तकै हकमा राखी त्यसमा हक लाग्ने भाइ म अरूणले दावी नगर्ने भन्ने समेत बोली परेको भई एउटै चोलाकान्त र अग्नीप्रसाद आगे भएको लिखतमा अपुतालीको एकलौटी कानूनी हक अग्नीप्रसादको नाममा तिलकुमारीको हक देखाई काजकृया गरे वापत केही वादीले खाएमा वादीले नगर्ने भन्ने तिलकुमारी नभएको लिखतमा वादीले खुसीराजीले सहिछाप गर्‍यो होला भन्ने पनि शंका नै देखिने, अग्नीप्रसादले आफू पनि आगे भएको लिखतमा त्यस किसिमसँग लेखिदिने सोही लिखत बदर गरी पाउँ भनी तिलकुमारीले दिएका फिरादमा तिलकुमारीको एकलौटी हक देखाई प्रतिवादी फिराएकाले आफूलाई जताबाट शब्द पर्छ उतै बोल्न सक्ने प्र.अग्नीप्रसादको भनाईलाई विश्वास मान्न मिलेन । ०२०।३।३।२ को दरपिठको लिखतका हकमा पनि भनी चोलाकान्त ऋणी जुठाहारी गुरुङ भएको रु.२०००।भएको ०१३।२।१९ को तमसुक र त्यसपछि सोही तमसुकको रुपैयाँ समेत गाभी रु.३५००। को धनी निजै र ऋणी जुठाहारीको छोरा तनबहादुर भई तमसुक भएकोमा सो तमसुक पास गरी पाउँ भनी चोलाकान्तको नालेस परी रहेकोमा ०१३।२।१९ को तमसुकमा रु.२०००।बुझी भन्ने र ०१८।१०।२९ को रु.३५००। को तमसुक बमोजिमको रुपैयाँ बुझी लियौं भन्ने २० साल आषाढ ३ गतेमा दरपिठ भएको देखियो । त्यसरी अदालतमा मुद्दा दायर भइरहेको बीचबीचै दरपिठ हुनु गर्नुपर्ने प्रत्यक्ष कारण पनि देखिएन । २० साल आषाढ बेगतेको मञ्जूरनामाको कागजका हकमा पनि रु.९००। धरौटी राखी बन्धकी निखनाइ पाउँ भन्ने जि.मु. बलबहादुरले मालमा उजूर गरेकोमा रु.३१००।लिनु पर्ने भनी प्रतिवादी भएपछि दरखास्तवालाले तारेख छाडी ०१९।२।३१।४ मा डिसमिस गराएको १ वर्ष पछि ९००।नै लिने गरी मञ्जुरीनामाको कागज गर्नुपर्ने कारण समेत भएको र वादी समेत गई मालमा दर्खास्त पेश गरेको करकाप होइन भन्ने प्र.हरूको भनाईका हकमा ०२०।२।२३ देखि ऐ.आषाढ ५ गते तक वादीलाई थुनामा राखेकै मितिमा दरखास्तमा व्यहोरा फरक पारी खेस्रा गरे गराएको ठहर्ने भई माल अड्डाबाट डोर खटिई गई कागज भएको देखिए पनि आषाढ ३।४।५ गते भित्रैमा थरी थरीका मानिसहरू भएको विभिन्न विषयको कागजहरूमा वादीको सहीछाप परेको देखिन आएको र माथि उल्लेख गरे बमोजिम २० साल जेष्ठ २३ गते देखि २० साल आषाढ ५ गते सम्म वा वादीलाई थुनामा राखेको देखिएकाले समेत उल्लेख भएका कागजहरूमा वादीले खुशीराजीले सहीछाप गर्‍यो होला भन्ने मुनासिव नभएकाले करकापसँग कागज गराएकै ठहर्नेमा करकाप नठहराएका समेत बाग्मती विशेष अदालतको इन्साफ गल्ती ठर्हछ भन्ने समेत ०२७।७।६।५ को डिभिजन बेञ्चको फैसला ।

            १३.   प्रस्तुत मुद्दा दोहर्‍याउने गरी बक्स भई आएको हुकुम प्रमाङ्गीमा उधृत भएको न्यायिक समितिको सिफारिश व्यहोरामा वादीलाई हराएतर्फ वादीको निवेदन पर्न आएको देखिएकोले कुटपिट बेइज्जत र अन्न पानी वन्द गरे भन्नेतर्फ विचार गर्नु परेन, थुनेको र करकापसँग कागज गराएको हो भन्नेतर्फ विचार गर्दा कुटपिट नठहर्‍याएतर्फ र बेइज्जतीमा केही नबोली प्रतिवादीहरूलाई सजाय नगरेतर्फ तथा अन्न पानी बन्द गरेको नठहराएतर्फ चित्त बुझाउन नहुने वादीले चित्त बुझाई बसेको र थुनछेकतर्फ वादीको छोरा रामेश्वरले गण्डकी अञ्चलाधीश कार्यालयमा निवेदन दिएको त्यसबाट नछुटेबाट वन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भनी निवेदन परी कारवाही हुँदा हुँदै थुनाबाट छोडी दिएकोले हाजीर हुन आएको छु भनी चोलाकान्त नै हाजिर भएकोले निवेदन तामेलीमा राखी दिने सर्वोच्च अदालतले निर्णय गरेको देखिएको कुरा फैसलामा उल्लेख गरेको देखिँदा थुनेको हो होइन भनी अन्यत्रबाट विवेचना र तर्क गरी रहने अवस्था नभएको, सर्वोच्च अदालतले पुनः विवेचना गर्न सक्छ कि भन्नालाई जब बन्दीप्रत्यक्षीकरणको रिट निवेदन तामेलीमा रह्यो त्यो अन्तिम निर्णय मान्न पर्छ र त्यस निर्णयबाट निज चोलाकान्तलाई वन्दी गरेको मान्न मिल्दैन, निवेदन निष्कृय भइरहेको मान्न पर्छ र सो निस्कृयलाई उजूरी बेकायत गरेको मान्न पर्ने हुन आउँछ । नेपालको संविधानको धारा ७२ को कार्यविधि र अधिकार बेगर सर्वोच अदालतले प्रस्तुत केशमा थुनछेक गरेको हो होइन भनी निर्णय बोलेको बैधानिक नदेखिँदा थुनेको मानेको निर्णय मिलेको देखिएन, करकापतर्फ र कुटपिट बेइज्जत नठहराएको सजाय नगरेको थुनछेकमा अन्न पानी बन्द गरेको नठहराएकोमा चित्त बुझेन बसेको र थुनछेकमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन तामेलीमा रहेको कुरामा फेरि पुनः सर्वोच्च अदालतले थुनेको हो होइन भन्ने प्रश्न उठाई विचेचना गरेको अवैधानिक देखिन आएकोले पक्री कुटपिट बेइज्जत गरी अन्न पानी बन्द गरी थुनामा राखी करकापसँग कागज गराए भन्ने वादीको उजूर झुटो सावित देखिन आएको समेत प्रमाण परिवन्दबाट सर्वोच्च अदालतको निर्णय नमिलेको भन्ने समेत उल्लेख भएको ।

            १४.   निवेदक प्र. राम गिरी, अग्नीप्रसाद, टोलप्रसादतर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले वादीले नै करकाप देवानी मुद्दा भनी दायर गरेको छ, वहिदार रामगिरीको हकमा निजामती सेवा ऐन अन्तर्गत आठ महिना भित्र मुद्दा दायर भएको छैन, फौज्दारी मुद्दा नै मान्ने हो भन्ने पनि नोटीस दिएको छैन, कर्मचारी उपर उजूर गर्नालाई स्वीकृत लिई उजूर गर्नुपर्ने अवस्थामा अरू प्रतिवादीका हकमा नालिस गर्ने म्याद रहिरहन सक्दैन । अरूका हकमा म्याद ननाघी नालेस दर्ता भएको छ फिराद परेको अवस्था करकाप गरे भन्ने मुद्दा देवानी अन्न पानी बन्द गरी थुनेको बेइज्जती गरे भन्ने मुद्दा फैज्दारी हुँदा बेग्लाबेग्लै विषयको दावी भएको धेरै मानिस उपरको एउटै उजूर अ.बं.७२ नं.ले लाग्न सक्ने पनि होइन कुटपिट बेइज्जती नठहराएको उपर वादीले चित्त बुझाई बसेका छन् विशेष अदालतले करकाप नठहराएको कायम हुनुपर्छ भन्ने समेत र विपक्षी वादी तर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले सर्वोच्च अदालतको आदेशानुसार फिराद दर्ता भएको छ करकापसँग कागज गराउनको निमित्त नै थुन्ने कुटपिट गर्ने बेइज्जत गर्ने समेत भएकोले वारदात एउटै भएकोले छुट्टाछुट्टै फिराद दिनुपर्ने होइन स्वीकृती लिई मुद्दा दायर गरेको छ म्याद नाघेको भन्ने प्रश्न आउँदैन । लक्षीमाको सम्पत्ति निलकुमारीको हक भएको छ त्यस्तो सम्पत्ति स्कूललाई दिएको भन्ने वादी चोलाकान्तको कागज गराएको कुटपिट गरी करकापबाट गराएको भन्ने प्रष्ट हुँदा डिभिजन बेञ्चको सदर हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।

            १५.   यसमा निर्णयतर्फ विचार गर्दा मलाई थुनी कुटपिट गरी करकापसँग गराएको जि.मु चोलाकान्त पाध्या अग्नीप्रसाद आगे भएको ०२०।३।३ को कागजमा मिति हाली मालको डोरद्वारा ०२०।३।४ मा पास भएको कागज १, साहू चोलाकान्त ऋणी जुठाहारी गुरुङ भएको रु.२०००।को कागजमा रुपैयाँ बुझी पाएँ भन्ने दरपीठ १, साहू चोलाकान्त ऋणी तनबहादुर भएको रु.३५००।को तमसुक पास गराई पाउँ भन्ने मुद्दामा उक्त रुपैयाँ बुझी पाएँ मुद्दा डिसमिस गर्ने भन्ने दरपीठ १, साहू चोलाकान्त ऋणी बलबहादुर भएको रु ९००।बुझाई पाउँ भनी स्याङ्गजा मालमा धरौट रहेको दिलाई पाउँ भन्ने मेरो र बलबहादुरको संयुक्त भाषाको दरखास्तमा अरू लिनु दिनु केही व्यवहार छैन भन्ने लेखी गराएको दरखास्त १, स्कूलको नाममा चन्दामा राख्ने रजिष्टरी पास गर्न भनी चोलाकान्त र अग्नीप्रसादको संयुक्त सही परेको स्याङ्गजा मालमा दिएको दरखास्त १ समेत बदर वातिल गराई कुटपिट गरेमा र अन्न पानी बन्द गरी जेष्ठ २३ गतेदेखि आषाढ ४ गते तक दिन १३ थुनेमा वडाहाकिम केशवराजलाई र करकापसँग कागज गराएमा वडाहाकिम र अरू विपक्षीलाई र बेइज्जततर्फ वडाहाकिम केशवराजलाई सजाय गरी पाउँ भन्ने वादी जि.मु. चोलाकान्तको दावी भएकोमा वडाहाकिमले वादीलाई थुनामा राखेको ठर्हछ कुटपीट गरेको ठहर्दैन स्याङ्गजा मालबाट ०२०।३।४।३ मा पास भएको चोलाकान्त र अग्नीप्रसाद २ जना आगे भई गोपाल नामाङ्कित स्कूललाई दिएको लिखत धनी चोलाकान्त ऋणी जुठाहारि भएको रु.२०००।को १३।२।१९ को तमसुक र त्यसपछि सोही तमसुकको रुपैयाँ समेत गाभी रु.३५००।को धनी निजै ऋणी जुठाहारिको छोरा तनबहादुर भई तमसुक भएकोमा सो तमसुक पास गरी पाउँ भनी नालेस परी रहेकोमा ०१३।२।१९ को तमसुकमा रु.२०००।बुझी भन्ने र रु.३५००।को तमसुकमा तमसुक बमोजिमको रुपैयाँ बुझी लियौं भन्ने दरपिठ भएको र रु.९००।धरौट राखी निखनी पाउँ भन्ने जि.मु. बलबहादुरले उजूर गरेकोमा तारेख छाडी डिसमिस गराएको १ वर्ष पछि ९००।नै लिने गरी मञ्जुरनामाको कागज गर्नुपर्ने कारण नभएको वादी समेत गई मालमा दरखास्त पेश गरेको वादीलाई थुनामा राखेकै मितिमा खेस्रा गरे गराएको ठहर्ने भन्ने उल्लेख भएका कागजहरू करकापसँग गराएको ठर्हछ भन्ने ०२७।७।६।५ मा डिभिजन बेञ्चबाट निर्णय भएको रहेछ ।

            १६.    उक्त निर्णय दोहर्‍याई पाउँ भन्ने व.हा.केशवराज १, जि.मु. बलबहादुर १, अग्नीप्रसाद १, टोलप्रसाद १, राम गरी १ समेतको निवेदनबाट मुद्दा दोहर्‍याई दिने हुकुम प्रमाङ्गी बक्स भई आएकोमा व.हा. केशवराज ०३३।२।१ गते नै मृत्यु भइसकेको भन्ने निजका वा. ईश्वरलालको दरखास्त परेको र जि.मु. बलबहादुरको वा. एकबहादुर के.सी.ले ०३२।२।१४ को तारेख गुजारी सकेकोले निजहरूको हकमा विचार गर्नु नपरी निवेदक प्रतिवादी अग्नीप्रसाद १, टोलप्रसाद १, राम गिरी १ को हकमा उक्त करकापसँग गराएको भनेको ०२०।३।३ मितिको ०२०।३।४ मा रजिष्ट्रेशन पारित भएको गोपाल नामाङ्कित स्कूल सञ्चालक समितिलाई हक सुरक्षित गराई दिएका छौं स्कूल सञ्चालक समितिका बहुमतद्वारा चलन गराई वर्तन गर्न स्कूल सञ्चालन रहेसम्म हामीहरूका सन्तान दरसन्तानहरूको समेत तपसीलका खेत पाखा जग्गाको उब्जनी आयस्तामा लागदाबी नास्ती भन्ने जि.मु.चोलाकान्त अग्नीप्रसाद आगे भई गरिदिएको राजीनामा सरहको छोडपत्र भनेको लिखत करकापसँग गराएको हो होइन के रहेछ भन्नेतर्फ नै निर्णय दिनुपर्ने हुन आएको छ ।

            १७.   तत्सम्बन्धमा विचार गर्दा उक्त लिखतमा उल्लेखित व्यहोराबाट लक्षिमा परलोक भएपछि तिलकुमारीको मात्र अपुतालीका १ नं.बमोजिम एकलौटी हक हुन आएको भन्ने उल्लेख गरी तिलकुमारीको आज्ञानुसार हार्दिक मञ्जूरीले हामी २ भाइको मात्र अपुतालीबाट हक हुन आएको भनी खेत पाखा जग्गाको राजीनामा सरहको छोडपत्रको लिखत गरिदिएको देखिन आएको छ । सो लिखतमा तिलकुमारीको मञ्जूर भएको र साक्षी रहेको देखिँदैन सो लिखतलाई बदर गरी पाउँ भनी यिनै वादी जि.मु.चोलाकान्त प्र.अग्नीप्रसाद र वीरेन्द्र, गोपाल हाइस्कूल सञ्चालक समिति समेत उपर तिलकुमारीले फिराद गरेको लिखत बदर गरी पाउँ भन्ने मुद्दामा डिभिजन बेञ्चबाट बदर भइरहेको लिखत बदर गर्ने गरी वादी र प्रतिवादी जिकिर छाडी ३३।१०।८ मा स्याङ्गजा जिल्ला अदालतमा मिलापत्र भएको प्राप्त प्रमाणको मिसिलबाट देखिएकोले जुन लिखतलाई करकापबाट गराएको हुँदा बदर गरी पाउँ भनी प्रस्तुत मुद्दामा वादीले दावी लिएको छ सो लिखत नै बदर गर्ने गरी जि.मु.चोलाकान्त अग्नीप्रसाद समेतको बीचमा परेको उक्त लिखत बदर मुद्दामा ०३३।१०।८ मा मिलापत्र गरिसकेको हुँदा सो लिखत उक्त मिलापत्रबाटै अमान्य भई निष्कृय भइसकेको देखिन आएकोले सो लिखत सम्बन्धमा अरू विचार गर्नुपर्ने अवस्था देखिएन ।

            १८.   वादी दावीको अरू लिखत करकापसँग गराएको ठहराएको डि.बे.को इन्साफमा प्रतिवादी गुठाहरि गुरुङ, तनबहादुर गुरुङ, नन्दलाल उपाध्याय, खिमकर्ण उपाध्यायले चित्त बुझाई बसेको देखिएकोलसमेत करकापसँग कागज गराएको ठहराएको डि.बे.को ०२७।७।६।५ को इन्साफ मनासिव ठर्हछ तपसीलका कलममा तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

तपसील

निवेदक देहायका प्रतिवादीके माथि इन्साफ खण्डमा लेखिएबमोजिम इन्साफ सदर भएको मुद्दा दोहराएमा अ.बं.२०४ नं. ले डिभिजन बेञ्चको फैसलाले गर्ने गरेको जरिवाना रु.१५।को सयकडा १० ले जनही रु.१।५० एक रुपैयाँ पचास पैसाका दरले जरिवाना हुन्छ, वारिस भई बेरुजु मुद्दा हुँदा कानूनबमोजिम असूल गर्ने भनी स्याङ्गजा जिल्ला अदालतमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिने……………………१

अग्नीप्रसाद उपाध्याय १ स्याङ्गजा मालका ब.राम गिरी १ टोलप्रसाद उपाध्याय १

 

हामीहरूको सहमती छ ।

 

न्या. हेरम्बराज र

न्या. सुरेन्द्रप्रसाद सिंह

 

 

इति सम्ब्त ०३४ साल आषाढ १७ गते रोज ६ शुभम् ।