निर्णय नं. १०६७ – हकसफा
निर्णय नं. १०६७ ने.का.प. २०३४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३३ सालको दे.फु.नं. ११४ आदेशभएको मिति...
निर्णय नं. १०६७ ने.का.प. २०३४
डिभिजन बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री
माननीय न्यायाधीश श्री हेरम्बराज
सम्वत् २०३३ सालको दे.फु.नं. ११४
आदेशभएको मिति : २०३४।५।३०।५ मा
पुनरावेदक : जि.भोजपुर सिकतेल ताती गा.पं.वार्ड नं.८ बस्ने तिलकबहादुर पाण्डे
विरुद्ध
विपक्षी : जि. भोजपुर नाभन्तं गा.पं.वा.नं.८ केराबारी बस्ने जनकबहादुर पाण्डे
मुद्दा : हकसफा
(१) रजिष्ट्रेशनको ३५ नं.अनुसार दर्खास्त गर्दा थैली धरौट राख्नुपर्नेमा थैली थाहा छैन वा थैली थाहा पाउने श्रोत थाहा छैन भने त्यस्तो निखन्न पाउँ भन्नेले रजिष्ट्रेशनको ३५ नं. अनुसार कारवाही गर्नुपर्ने नदेखिने ।
थैली थाहा पाउन सक्ने कोशिस गर्न रजिष्ट्रेशन पारित गरेको वा साहू रहेको रजिष्ट्रेशन पारित गर्ने कार्यालयबाट थाहा हुन नसक्ने वा अरू कारणबाट थाहा नपाएकोमा मात्र निखनाई पाउन थैली धरौट राख्ने श्रोत दर्खास्तवाला सँग भएको भन्न नमिल्ने । कसैले आफूले पाएको अधिकार उपभोग गर्ने कोशिश नगरी अदालतमा प्रवेश गर्छ भने त्यस्तोमा लेनदेन व्यवहारको १६ नं.को सुविधा निखन्न पाउँ भन्नेलाई प्राप्त नहुने ।
(प्रकरण नं. १०)
वादी तर्फबाट : विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हा
उल्लेखित मुद्दा : निवेदक दाइजिबती बेसैनी विपक्षी वादी गोदावरी वतिको दे.फु.नं.१४३ को हक सफा मुद्दा
फैसला
न्या. हेरम्बराज : प्रस्तुत मुद्दामा पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको निर्णय उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने पुनरावेदक वादीको निवेदनबाट अनुमति पाई पुनरावेदनको लगतमा दर्ता पेश हुन आएको रहेछ ।
२. मुद्दाको विवरण यस प्रकार छ : डिल्लीध्वज दर्ता माटो ।७ को खेत कान्छाबाबु बमबहादुरले विपक्षीबाट रु.१००। खाई राजीनामा गरेको कुरा ०२९।६।९ मा थाहा पाएकोले घटी बढीमा पछि दाखिल गर्ने गरी रु.१००।धरौट दाखिल गरेको छु हक सफा गरी पाउँ भन्ने मेरो मालमा दर्खास्त परेकोमा नजिकको हकदार पनि होइन रु.१०,०००। मा राजीनामा लिएको थैली बुझ्न कर लाग्ने होइन निजको हक लाग्ने थियो भने अदालतमा उजूर गर्नुपर्ने भन्ने जनकबहादुरको बयान भएकोमा ०३०।१।२० मा हाजिर भई तारेख थमाउँदा रु.१०,०००।को राजीनामा पेश गरेको छ थैली धरौट दाखिल गर भनी मालले भनेबाट रु.१०,०००।थैली पूरा गरी दाखिल गरेकोमा म्याद भित्र वा म्याद नाघी थैली धरौट दाखिल गरेको के हो ? सो प्रश्न समावेश भएको हुँदा अदालतबाट निर्णय दिनुपर्ने भनी आय र कर अदालतबाट फैसला भएको हुनाले फिराद दिन आएकोछु खास नजिक हकदार हुँदा हकसफा गरी पाउँ भन्ने समेत वादी तिलकबहादुरको फिरादपत्र ।
३. लेनदेन व्यवहारको १६ नं.ले ६ महिना भित्र दायर गर्नुपर्ने हाल अदालतमा दायर गर्दा लेनदेन व्यवहारको १६ नं.को म्याद काटी दायर भएको हुँदा वादी उजूरी खारेज हुने भन्ने समेत जनकबहादुर पाण्डेको प्रतिवादी ।
४. वादीलाई हाजिर हुने तोकिएको ०२९।११।२१ को तारेख भन्दा अगावै ०२९।११।१८ मा प्रतिवादी जनकबहादुरले थैली किटान गरी बयान गरेको थैली धरौट राख्नु भन्ने मालले सुनाई वादीको कागज गराए मात्र वादीलाई थाहा हुने कुरामा ०३०।१।२० मा हाजिर भई तारेख थमाउँदा रु.१०,०००।को राजीनामा पेश गरी बयान गरी बयान गरेको छ, थैली धरौट दाखिल गर भनी मालले भनेको हुँदा उसै दिन रु.१०,०००।थैली धरौटी राखेको र वादी हकदार होइन भन्न नसकेकोले प्रतिवादीबाट हक सफा गर्ने पाउने ठर्हछ भन्ने समेत भोजपुर जिल्ला अदालतको फैसला ।
५. उक्त इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादी जनकबहादुरको पुनरावेदन ।
प्रतिउत्तर परेको ३५ दिन भित्र थैली धरौट राख्न सकेको देखिन नआएकोले वादीले हक सफा गर्न पाउन ठहराएको भोजपुर जि.अ.को इन्साफ गल्ती भई बदर हुने म्याद भित्र थैली धरौट नरखेकोमा निखन्न पाउने अवस्थै नआउने हक सफा गरी पाउँ भन्ने दावी नपुग्ने हुँदा नालिस खारेज हुने ठर्हछ भन्ने समेत सगरमाथा अं.अ.भोजपुर बेञ्चको फैसला ।
६. उक्त अञ्चल अदालतको इन्साफ उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीको निवेदनमा पुनरावेदनको अनुमति भई पूर्वाञ्चल क्षेत्रीय अदालतबाट निर्णय हुँदा वादीको तारेख ०२९।११।२१ को छ प्रतिवादीको बयान कागज सो भन्दा अघि ०२९।११।१८ मा भएको देखिन्छ । त्यस मितिलाई प्रतिवादी परेको मितिले थैली धरौट राख्नु पर्ने म्याद शुरु भएकोमा दुबै पक्षको मुख मिलेको देखिन्छ, सो ०२९।११।१८ को मितिबाट ३५ दिन पुग्ने ०२९।१२।२२ मा उपस्थित नभई ०३०।१।२० मा ३० दिन भित्र तारेख थमाई ०३०।१।२० मा थैली धरौट राखेको देखिन आयो, गुज्रेको तारेख थामिँदैमा थैली धरौट राख्ने हद म्याद पनि थामिएको हो भन्ने अर्थ गर्न मिल्ने देखिएन म्याद तारेख थाम्ने जस्ता कारवाहीका निमित्त भएको व्यवस्थालाई लेनदेन व्यवहारमा किटानीसाथ ३५ दिन भित्र थैली धरौट राख्नु पर्ने दायित्व रहेको वादीलाई तारेख गुजार्दै थाम्दै गरी सो ३५ दिन नघाई पछिमात्र दाखिल गरेको धरौटी सदर हुन्छ भन्ने लेनदेन व्यवहारको १६ नं.मा भएको व्यवस्थाको मर्यादा उल्लंघन हुनजाने देखिएकोले अञ्चल अदालतबाट प्रत्यक्ष कानूनी त्रुटी गरेको भन्ने सम्झन मिल्ने देखिएन, पुनरावेदन अनुमति दिन यस्तोमा नमिल्ने भएकोले इन्साफ जाँच गर्न नमिल्ने हुँदा मुद्दाको लगत कट्टा गरी तामेलीमा राख्ने भन्नेसमेत निर्णय भएको रहेछ ।
७. पुनरावेदक वादी तर्फबाट विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले प्रतिवादी परेपछि गुज्रेको तारेख थामी सोही थैली धरौट दाखिल गरेको म्याद भित्रै दाखिल भएको हुन्छ सो हँदा हक सफा गरी पाउनु पर्छ भन्ने समेत र विपक्षी प्रतिवादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शुशिलकुमार सिन्हाले प्रतिउत्तर परेको मितिले ३५ दिन भित्र थैली धरौट दाखिल गर्नुपर्ने कानूनले बाध्यता गरेको हुँदा तारेख गुजारी थमाएको मितिमा धरौट दाखिल गरेको म्याद नाघी दाखिल भएको छ । प्रस्तुत मुद्दामा सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्ष गम्भीर कानूनी त्रुटी नभएकोले पुनरावेदन खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भएको छ ।
८. यसमा निर्णयतर्फ विचार गर्दा धनी जनकबहादुर ऋणी बमबहादुर भई रु.१०,०००।को राजीनामा ०२९।१।४ गते रजिष्ट्रेशन पारित भएको पेश भएको रहेछ, उक्त मितिमा पारित भएको भनी रु.१००।धरौट राखी तिलकबहादुरले भोजपुर मालमा दर्खास्त गरेकोबाट यो मुद्दा शुरु भएको देखिन्छ । त्यसै मालबाट पारित भएको उक्त लिखत हेर्ने नक्कल सार्न पाउने अधिकार रजिष्ट्रेशनको ३९ नं.ले वादी तिलकबहादुर समेतलाई दिएको छ जब मिति थाहा भएर रजिष्ट्रेशन पारित गर्ने माल अड्डामानै आफू पुगेको छ भने थैली कति रहेछ भनी थाहा पाउने स्रोत आफूले जान्दा जान्दै त्यसको उपेक्षा गरी दर्खास्त गरेको देखियो । आफूले जान्न सक्ने छँदा छँदै पनि त्यसतर्फ कोशिस नगरेको कारणले दर्खास्त वाला शुद्ध दिलले मुद्दामा अग्रसर भएको रहेछ भन्ने देखिँदैन ।
९. यस मुद्दामा तमसुक थाहा पाउने सक्ने अवस्था छँदाछँदै पनि सबूद थैली धरौटी नराखी मुद्दा चलाएकोले रजिष्ट्रेशनको ३५ नं. बमोजिम अड्डामा धरौट राख्नु पर्ने नराखेकाले त्यसलाई धरौट राखेको भन्न मिल्दैन, धरौट नराखी निखनाई पाउँ भनी चलाएको मुद्दामा वादीको दावी पुग्न सक्दैन, निखन्न पाउँदैन भनी तत्कालीन सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चले ठहर गरेको मनासिव छ ।
१० उक्त अदालतको फैसलामा थैली धरौट राख्ने बारेमा चर्चा गरेको भए पनि रजिष्ट्रेशनको ३५ नं.बमोजिम रजिष्ट्रेशन पारित गरेको अड्डा वा साहू रहेको इलाकाको रजिष्ट्रेशन गर्ने अड्डामा धरौट राखी दर्खास्त गर्नुपर्ने कानूनी बाध्यता हो । यसैअनुरुप यस अदालतको फुल बेञ्चबाट बहुमतले ०३०।३।१५।६ मा दे.फु.नं.१४३ निवेदक दाईजिवती बेसैनी विपक्षी वादी गोदावरीवतीको हकसफा मुद्दामा निर्णय गरेको छ, रजिष्ट्रेशनको ३५ नम्बर र लेनदेन व्यवहारको १६ नं.दुवै मिलाई पढी त्यसको तात्पर्य हेर्दा अदालतमा नालेस गर्ने थीति बनिसकेपछि रजिष्ट्रेशन पारित गर्न कार्यालयमा थैली धरौट राखी दर्खास्त गर्ने व्यहोराको रजिष्ट्रेशनको ३५ नं.को ऐन बन्न आइपुगेको हो, रजिष्ट्रेशनको ३५ नं.अनुसार दर्खास्त गर्दा थैली धरौट राख्नुपर्नेमा थैली थाहा छैन वा थैली थाहा पाउने स्रोत थाहा छैन भने त्यस्तो निखन्न पाउँ भन्ने रजिष्ट्रेशनको ३५ नं.अनुसार कारवाही गर्नुपर्ने देखिँदैन । थैली थाहा पाउनसक्ने स्रोत यदि आउनेलाई थाहा छ भने रजिष्ट्रेशनको ३५ नं.अनुकूल रजिष्ट्रेशनको ३९ नं.को अधिकार लिखतको नक्कल लिने हक हो । उपभोग गरी दर्खास्त साथ थैली धरौट राख्नुपर्ने हुनाले लेनदेनव्यवहारको १६ नं.ऐन प्रयोगगर्ने अवस्था नै पर्दैन । थैली थाहा पाउनसक्ने कोशिस गर्न रजिष्ट्रेशन पारित गरेको वा सो हुनको रजिष्ट्रेशन पारित गर्ने कार्यालयबाट थाहा हुन नसकेमा वा अरू कारणबाट थाहा नपाएकोमा मात्र निखनाई पाउन थैली धरौट राख्ने स्रोत दर्खास्तवालासँग भएको भन्न मिल्दैन, यदि कसैले आफूले पाएको अधिकार उपभोग गर्ने कोशिस नगरी अदालतमा प्रवेश गर्छ भने त्यस्तोमा लेनदेन व्यवहारको १६ नं.को सुविधा निखन्न पाउँ भन्नेलाई प्राप्त हुँदैन । पुनरावेदन गरे वापत लाग्ने कोर्टफी पुनरावेदक वादीबाट दाखिल भएको देखिएको, अरू केही गर्नु परेन । मिसिल नियमबमोजिम बुझाइदिनु ।
म सहमत छु ।
प्र.न्या. नयनबहादुर खत्री
इति सम्वत् २०३४ साल भाद्र ३० गते रोज ५ शुभम् ।