September 18, 1977
Created by nepalarchives

निर्णय नं. १०६६ – लेनदेन

निर्णय नं. १०६६     ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३२ सालको देवानी पुनरावेदन नम्बर ५४ आदेशभएको...

निर्णय नं. १०६६     ने.का.प. २०३४

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३२ सालको देवानी पुनरावेदन नम्बर ५४

आदेशभएको मिति : २०३४।६।२।३ मा

पुनरावेदक : भोजपुर जि.भोजपुर गा.पं.वा.नं.९ बस्ने पूर्णप्रसाद उपाध्याय भट्टराई

विरुद्ध

विपक्षी : ऐ.ऐ. वार्ड नं.४ बस्ने विष्णुकुमार श्रेष्ठ

मुद्दा : लेनदेन

(१)   लेनदेन व्यवहारको ५ नं.मा भरपाईमा तमसुक फेला नपरेको कारण खुलाउनु पर्ने व्यवस्था भएको नपाईने ।

 (प्रकरण नं. १५)

पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गङ्गाप्रसाद उप्रेती

विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री झुलेन्द्रप्रसाद छतकुली

उल्लेखित मुद्दा :    

फैसला

            न्या. हेरम्बराज : पूर्वाञ्चल क्षेत्रीय अदालतको डिभिजन बेञ्चबाट प्रतिवादीबाट साँवा ब्याज भराई दिने भन्ने ठहराई छिनेको इन्साफ मुनासिव गरी ऐ ०३३।५।१६ को फैसला भएकोले मलाई मर्का पर्न गएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत प्रतिवादी पूर्णप्रसाद उपाध्यायको निवेदनमा अनुमति दिने मिति ०३२।१०।२५।५ को डिभिजन बेञ्चको आदेश अनुसार यस बेञ्च समक्ष पेश हुन आएको छ ।

            २.    मुद्दाको संक्षिप्त तथ्य र जिकिर यस प्रकार छ : विपक्षी तिलानाथले २०२७।३।२ मा मबाट रु.५०००।लिई पूर्णप्रसादबाट निजले लिनु पर्ने रु.५०००।को ०२७।३।१५ गते कपाली तमसुक सोपुवा दिएको रुपैयाँ नतिरेकोले कानूनबमोजिमको ब्याज र उक्त साँवा समेत २ जना जसबाट पाउँछु उसबाट भराई पाउँ भन्ने समेत फिरादपत्र ।

            ३.    २०२७।३।१५ गते साहु लिलानाथलाई रु.५०००।रुपैयाँ बुझाउँदा तपाईका नाउँको लिखत फेला नपरेकोले भरपाई गरिदिन्छु भनी रुपैयाँ बुझी भरपाई गरिदिएको दोहोरो लिन खानका लागि सोपुवा लिने गरेको मात्र हुन दोहरा तिर्न नपरोस् भन्ने समेत प्र. पूर्णप्रसादको प्रत्युत्तरपत्र ।

            ४.    २०२९।१०। गते हाजिर हुने शुरु म्याद गुजारी प्रत्युत्तर नदिई लिलानाथ बसेको ।

            ५.    वादी दावीको साँवा रु.५०००।र आजसम्मको ब्याज रु.९१०।कोर्टफी समेत वादीले पूर्णप्रसाद प्र. तिलानाथ जना २ बाट बराबरका दरले भरी पाउने ठर्हछ भन्ने समेत भोजपुर जिल्ला अदालतको फैसला ।

            ६.    शुरु जिल्ला अदालतले लिलानाथ समेतबाट भराई दिने गरेको इन्साफमा चित्त बुझेन वादी दावीको साँवा ब्याज पूर्णप्रसादबाटै भराई पाउँ भन्ने समेत वादी विष्णुकुमारको र मैले आफै साहु लिलानाथलाई २०२७।३।१५ मा बुझाई भरपाई समेत पेश गरेकोमा मबाट आधी र लिलानाथ समेतबाट भराउने गरेको शुरु अदालतको इन्साफमा चित्त बुझेन भन्ने समेत प्र. पूर्णप्रसाद समेतको पुनरावेदन सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चमा परेको ।

            ७.    लेनदेन व्यवहारको ५ नं. को रीत पुर्‍याई नभएको उक्त भरपाईलाई सोही नम्बरले सदर गर्न हुँदैन कानूनबाट सदर हुँदैन भनी किटानीसाथ निषेध गरिएको काम कुरा कसैले गर्छ भने त्यस्तो कानून विरुद्धको काम कुरा स्वतः बदर हुन्छ त्यस्तो गैरकानूनी काम कुरालाई बदर गर्न उजूर गरी रहन पर्दैन भन्ने सिद्धान्त छ, त्यसको अतिरिक्त उक्त भरपाईमा आय टिकट टाँसेको वा बुझाएको नदेखिँदा कानुनी मान्यता दिन नमिल्ने हुँदा तिलानाथबाट समेत साँवा ब्याज भराउने गरेको शुरुको फैसला नमिलेको हुँदा बदर गरिएको छ, वादीले दावी बमोजिम साँवा र ब्याज समेत प्र.पूर्णप्रसादबाट भरी पाउने ठर्हछ भन्ने समेत सगरमाथा अञ्चल अदालत भोजपुर बेञ्चको फैसला र सो इन्साफ मुनासिव ठहराई पूर्वाञ्चल क्षेत्रीय अदालतबाट ०३२।५।१६।२ मा फैसला भएको ।

            ८.    प्रमाणलाई आएको वादी पूर्णप्रसाद, प्र.विष्णुकुमार समेत भएको जालसाजी मुद्दामा सौपुवा लिखत जालसाजी नठहर्ने भनी भोजपुर बेञ्चबाट हदमुनि भई छिने उपर अुनमति प्राप्त नभएबाट सौपुवा लिखत जालसाजी नठहरेको हुनाले वादी विष्णुकुमारलाई प्र.तिलानाथले ०२७।३।२ मा सौपुवा दिई सकेको लिखतको रुपैयाँ बुझी भरपाई दिने अधिकार लेनदेन व्यवहारको ५ नं.अवस्थाले तिलानाथलाई नभएको । प्र. पूर्णप्रसादले पेश गरेको भरपाईको व्यहोरामा लिखत मिति र तमसुक व्यहोरा नजनिएको हुनाले भरपाईबाट यसै तमसुक बमोजिमको रुपैयाँ बुझेको भन्ने जानकारी हुन आउने भएबाट सो भरपाईलाई लेनदेन व्यवहारको ५ नं.बमोजिम भएको भनी मान्न नसकिने अवस्था नहुँदा आय टिकट नटाँसेको भन्नेतर्फ सम्म भोजपुर बेञ्चको अनावश्यक उल्लेख भइरहेको भए पनि उपरोक्त लेखिएको कारणबाट कानूनी त्रुटी भई इन्साफ भएको नदेखिई पुनरावेदन जिकिर मुनासिव देखिन नआएको हुनाले सिङ्गलबेञ्चको तर्कमा सहमत हुन सकिएन, वादीले आफ्ना दावा बमोजिम साँवा ब्याज समेत पूर्णप्रसादबाट भराई पाउने ठहराएको इन्साफ मुनासिव क्षेत्रीय अदालतको फैसला उक्त बँुदाबाट मलाई अन्याय तथा ज्यादै मर्का पर्नुका साथै सार्वजनिक महत्त्वको विषयमा प्रत्यक्षतः गम्भीर कानून त्रुटी समेत हुन गएको हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत निवेदनको मुख्य निवेदन जिकिर ।

            ९.    यसमा लेनदेन व्यवहारको ५ नं.अन्तर्गत भरपाई गरी साँवा दिने व्यवस्था गरेकोमा सो बमोजिमको भरपाईलाई मान्यता नदिई क्षे.अ.ले निर्णय गरेको प्रत्यक्ष कानूनी त्रुटी देखिएको छ । यसप्रकारको भरपाईले मान्यता पाउने नपाउने भन्ने कुरा सार्वजनिक विषयको पनि देखिएकोले पुनरावेदन गर्न अनुमति दिइएको छ भन्ने डि.बे.को ०३२।१०।२५।१ को आदेश ।

            १०.    यसमा पू.क्षे.अ.बाट ०३२।५।१६।२मा फैसलाहुँदा सो फैसलामा प्रमाण लगाएको फेरादी पूर्णप्रसाद प्र.विष्णुकुमारसमेत भएको जालसाजी मुद्दाको मिसिल पु.क्षे.अ.मार्फत भोजपुर जि.अ.समेत जहाँछ झिकाई आएपछि नियमबमोजिम पेशगर्नु भन्ने डि.बे.को ०३३।२।१५।५ को आदेश ।

            ११.    यसमा भरपाई गरिदिने प्र. तिलानाथलाई आफूसँग भएको सबूद प्रमाण लिई आउनु भनी ७ दिनको म्याद लिई झिकाई आएपछि नियमबमोजिम पेश गर्नु भन्ने डिभिजन बेञ्चको ०३३।६।२४।१ को आदेश ।

            १२.   पुनरावेदक प्रतिवादी तर्फबाट विद्वान अधिवक्ता गङ्गाप्रसाद उप्रेतीले तिलानाथले रुपैयाँ बुझी पुनरावेदक पूर्णप्रसादलाई गरिदिएको भरपाई लेनदेन व्यवहारको ५ नं. बमोजिम रीत पुगेको हुँदा अञ्चल अदालतको सदर गरी क्षेत्रीय अदालतले गरेको फैसला बदर होस भन्ने समेत आफ्नो बहस प्रस्तुत गर्नु भयो ।

            १३.   विपक्षी वादी तर्फबाट विद्वान अधिवक्ता झुलेन्द्रप्रसाद छतकुलीले लिखत फेला नपरेको कुनै कारणले रुपैयाँ बुझी लिने साहूले असामीलाई भरपाई दिँदा कुनै कारणले लिखित फेला नपरेमा सो व्यहोरा जनाई भन्ने वाक्यांश लेनदेन व्यवहारको महलमा उल्लेख भएकोले भरपाईमा तमसुक फेला नपरेको कारण जनाउनु पर्छ सो नजनाएको र तमसुकको मिति पनि भरपाईमा उल्लेख नभएकोले भरपाई रीतपूर्वकको नभएको र आय टिकट दस्तूर ऐन अनुसार आय टिक पनि टाँसिएको नहुँदा सो भरपाईले कानूनी मान्यता पाउन सक्दैन, अञ्चल अदालतको सदर गरी क्षेत्रीय अदातलले गरेको इन्साफ कानून सम्लग्न हुँदा उक्त फैसला कायम होस् भन्ने समेत आफ्नो बहस प्रस्तुत गर्नु भयो ।

            १४.   यसमा पु.क्षे.अ.को इन्साफ मनासिव वा गल्ती के हो ? त्यसतर्फ विचार गर्नुपर्ने हुन आएको छ ।

            १५.   प्रस्तुत मुद्दामा मिसिल अध्ययन गरी विद्वान अधिवक्ताहरूको बहससमेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा कुनै कारणले लिखत फेला नपरेमा सो व्यहोरा जनाई भन्ने लेनदेन व्यवहारको महलमा उल्लेख भएकोले भरपाईमा तमसुक फेला नपरेको कारण जनाउनु पर्छ सो नजनाएको र तमसुकको मिति पनि भरपाईमा उल्लेख नभएकोले भरपाई रीत नपुगेकोले सदर हुनसक्दैन । त्यसमाथि पनि आय टिकट दस्तूर ऐन, २०१९ बमोजिम आय टिकट नटाँसिएको सो भरपाईले कानूनी मान्यता पाउन सक्दैन भन्ने विपक्षी वादी विष्णुकुमारतर्फका विद्वान अधिवक्ताको बहस जिकिर छ । जहाँसम्म भरपाईमा लिखत फेला नपरेको कारण खुलाउनु पर्ने भन्ने कुरा छ लेनदेन व्यवहारको नम्बर ५ मा भरपाईमा तमसुक फेला नपरेको कारण खुलाउनु पर्ने व्यवस्था भएको पाइदैन । लिखत फेला नपरेमा सो व्यहोरा जनाई भन्ने उल्लेख भएबाट भरपाई फेला नपरेकोमा सो कुरा किटानी साथ उल्लेख हुनुपर्ने सम्म कानूनी व्यवस्था भएको देखिन्छ । भरपाईमा तमसुकको मिति नजनाएको भन्ने भनाईको हकमा तमसुकको थैली मिलेको र भरपाईमा यो भन्दा अघिको कुनै लेना बाँकी छैन भनी उल्लेख भएकोले तमसुकको मिति उल्लेख नहुँदैमा अन्यथा सम्झिन सकिने अवस्था देखिँदैन । सो तमसुक बाहेक अन्य तमसुकको लेना बाँकी थियो सोही लेनाको भरपाई हो भन्ने तिलानाथको भनाई पनि छैन । आयकर टिकट नटाँसिएको भन्ने हकमा भरपाई कानूनी मान्यताको लागि पेश भएपछि दोब्बर दस्तूर लिई त्यसलाई मान्यता दिनसकिने नै हुनाले त्यस दृष्टिकोणबाट पनि भरपाईलाई रीत नपुगेको भन्न मिलेन, अञ्चल अदालतको सदर गरी क्षेत्रीय अदालतले गरेको फैसला बदर हुन्छ । वादी विष्णुकुमारको वादी दावीको रुपैयाँ प्रतिवादी तिलानाथबाट पाउने ठर्हछ । तपसील बमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

तपसील

पूर्वाञ्चल क्षेत्रीय अदालतको मिति २०३२।५।१६।२ को फैसलाले वादी विष्णुकुमारले प्रतिवादी पूर्ण प्रसादबाट भरी पाउने ठहरेको साँवा रु.५०००।को ब्याज रु.२४०।२५ पनि पाउने ठहरेकोमा पु.क्षे.अ.को उक्त फैसला बदर भएकोले उक्त लगत कट्टा गरी दिनु भनी भोजपुर जि.अ.मा लगत दिन का.जि.अ.मा लगत दिनु………………..१

प्रतिवादी पुनरावेदक पूर्णप्रसाद उपाध्याय भट्टराईले यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.३७।७३ कोर्टफी ऐन, २०१७ को दफा १५ ले विष्णुकुमार श्रेष्ठबाट भरी पाउने हुँदा भराई पाउँ भनी ऐनका म्याद ३ वर्ष भित्र पूर्णप्रसादको दर्खास्त पारेमा भराई दिई केही दस्तुर नलिनु भनी सो लगत भोजपुर जि.अ.मा पठाई दिनु का.जि.अ.तमा लगत दिनु…………………..२

वादी विष्णुकुमार श्रेष्ठकै उक्त निर्णय बमोजिम वादी दावीको साँवा ब्याज प्र. तिलानाथबाट भरी पाउने ठहर भएको हुँदा साँवा रु.५०००। को तमसुक मिति ०२७।३।२ गतेले आजसम्म वर्ष ७ महिना ३ को ब्याज रु.३६५५।समेत दुवै कलमको साँवा ब्याज जम्मा रु.८६५५।आठ हजार छ सय पचपन्न रुपैयाँ र शुरु अदालतमा राखेको कोर्टफी र अन्य दस्तुर समेत जम्मा रु.२७१।६७ र सगरमाथा अञ्चल अदालतमा मिति ०२९।१।२६।२ मा दाखिल गरेको कोर्टफी रु.१८।८५ समेत जवाफ २९०।५२ समेत साँवा ब्याज कोर्टफी दस्तुर समेत जम्मा रु ८९४५।५२ आठ हजार नौ सय पैतालीस रुपैयाँ पैसा बाउन प्रतिवादी तिलानाथको जायजेथा दर्साई कोर्टफी ऐन, २०१७ को दफा ११ को म्याद ३ वर्ष भित्र वादीको भराई पाउँ भन्ने दरखास्त परेमा कोर्टफी ऐन, २०१७ को दफा १३ बमोजिम विगो भराएतर्फ सैकडा २।। कोर्टफीतर्फ ऐन ११ ले दस्तुर नलिई भरी भराउ गरी दिनु भनी भोजपुर जिल्ला अदालतलाई लेखि पठाउन लगत दिनु………………३

 

उक्त रायमा म सहमत छु ।

 

न्या. विश्वनाथ उपाध्याय

 

 

इति सम्वत् २०३४ साल आश्विन २ गते रोज ३ शुभम् ।