October 2, 1977
Created by nepalarchives

निर्णय नं. १०६४ – उत्प्रेषणको आदेश जारी गरी पाउँ

निर्णय नं. १०६४     ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३४ सालको रिट.नम्बर. ७६३ आदेश...

निर्णय नं. १०६४     ने.का.प. २०३४

डिभिजन बेञ्च

माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

सम्वत् २०३४ सालको रिट.नम्बर. ७६३

आदेश भएको मिति : २०३४।६।१६।१ मा

निवेदक : का.जि. हाल का.न.पं. वार्ड नं. २४ भोंसिकोटोल बस्ने केदारसिंह ठकुरी

विरुद्ध

विपक्षी : बा. अञ्चलाधीश का. का सहायक अञ्चलाधीश श्री कुलराज पाण्डेसमेत

विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१)   दुइजनाको बीचमा भएको करारसम्बन्धी व्यक्तिगत विवादमा हस्तक्षेप गरी कारवाही चलाउने, बयान लिने, जमानत माग्ने वा मिलापत्र गराउने, अधिकारसहायक अञ्चलाधीशलाई नभएको ।

 (प्रकरण नं. ११)

निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री नुतनबहादुर थपलिया र विद्वान अधिवक्ता श्री नरेन्द्रकुमार प्रधान

विपक्षी तर्फबाट : विद्वान का.मु सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल र विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल

आदेश

            न्या. विश्वनाथ उपाध्याय : विपक्षी कार्यालयको २०३४।३।२८।६मा गराएको कागज बदर गरी पाउँ भनी नेपालको संविधानको धारा १६ र ७१ अन्तर्गत प्रस्तुत रिट निवेदन पर्न आएको छ ।

            २.    मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : विपक्षी दुर्गाबहादुर समेत उपर ठेक्का विषयमा काठमाडौं जिल्ला अदालतमा विपक्षी मध्येका शेखरचन्द्र गुप्ताले ०३३ साल चैत्रदेखि ०३४ चैत्रसम्म हामी दुवै थरीले मञ्जूर गरेकोमा भाइ बुहारी माछा के.जी. १ के.रु.८। ले दैनिक ५० के.जी., रहु प्रति के.जी. रु १० का दरले दैनिक ५० के.जी., गरैया प्रति के.जी. रु ७ ले दैनिक २५ के.जी., नैनी प्रति के.जी. रु ९।५० ले ७५ के.जी. हाकिमलाई बुझाउने हामीहरू दुर्गाबहादुर खत्री र म समेत दुई जनाले बुझी यहाँ बिक्री गर्न शर्त मञ्जूरनामा कागज गरी विपक्षी मध्येका शेखरचन्द्र गुप्तालाई ०३३।१२।१२ मा रु.५,०००। मिति ०३३।१२।२७ मा रु. ,०००। ०३४।२।१७।२ मा १६००।समेत जम्मा रु.११,६००।दिई सकेको छु मैले र विपक्षी दुर्गाबहादुरले रु.१० हजार गरी दुई पटक विपक्षीका शेखरचन्द्रलाई दिई सक्दा पनि माछा वितरण नगरेकोले फेरि शेखरचन्द्रलाई १,६००।दिई विपक्षी दुर्गाबहादुरलाई समेतसँग वीरगञ्ज पठाएको थिएँ, तर दुवै विपक्षी मिली मलाई माछा अभंग मरेको रकम समेत फिर्ता दिएनन् यो कामको सम्बन्धमा ०३३।१२।१५ मा करार ऐन अन्तर्गत रही हाकिमहरूले शर्तनामा कागज गरेका थियौं, केही गरी सो कागज विपरित कार्य गरे हर्जाना समेत बुझाउने छु भनी ठे.शेखरचन्द्रले लेखी दिनु भएको थियो । त्यसै कारण उक्त शर्तनामा भङ्ग गरेकोले शेखरचन्द्र र मेरो साझेदार विपक्षी दुर्गाबहादुर समेत मिली मलाई धोका दिई विपक्षीले दिएको भाउ माछा बिक्री गर्दा मलाई नाफा हुने रु.२०४६५ समेत जम्मा रु.१४,३१५ विपक्षीहरूबाट दिलाई अड्डैबाट भराई पाउँ भन्ने ०३४।४।१२ मा हाम्रो फिराद परेको छ प्रतिलिपि पेश गरेको छु ।

            ३.    यस्तैमा विपक्षी कार्यालयका स.अञ्चलाधीश कुलराज पाण्डेले तपाईसँग केही कुरा बुझ्न परेको भनी ०३४।२।१०, ०३४।२।३२, ०३४।३।२७ मा समेत उपस्थित हुन आउनु भनी पत्र लेखी पठाएको र पटकै पिच्छे हाजिर हुन गएको थिएँ आखिर मलाई तारेखमा राखियो र तपाई उपर विपक्षी मध्येका दुर्गाबहादुर खड्गीको लेनदेन विषयको उजूरी परेको छ भनी सो उजूरी सुनाइयो र त्यसमा अर्को भएको साँचो व्यहोराको प्रतिवाद बयान दिएपछि ०३४।४।२७ मा विपक्षी दुर्गाबहादुर खड्गीलाई उजूरी दावी बमोजिम रु.५०००।अहिले नै तिर्नु बुझाउनु पर्छ भनेको र मैले निजलाई तिर्न बुझाउनु पर्ने बाँकी छैन, मैले नै ठेक्कापट्टा बमोजिम विपक्षी समेतबाट थैली र हर्जाना ब्याज समेत रु.१४०००।मैले नै निजहरूसँग लिनु पर्ने बाँकी छ, यस सम्बन्धमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छु भनी अनुरोध गर्दा वास्तै नगरी ०३४।४।२८ मा मेरो श्रीमती रत्ना सिंहले के भएको भनी अनुरोध गर्दा दुर्गाबहादुरको रुपैंया दाखिल नगरेकोले तिम्रो जाहान केदार ठकुरीलाई थुनामा राखेको छु रुपैयाँ तुरुन्त डि.एस.पी. कार्यालयबाट झिकाई तपाई र शेखरचन्द्र गुप्ताले गरी ५०००। दुर्गाबहादुरलाई तिर्न बुझाउन पर्ने ठर्हछ भनी ०३४।४।२८ मा निर्णय भई ३४००।तिमीले दुर्गाबहादुरलाई यही भाद्र ३ गते बुझाउने गरी मेरो श्रीमतीलाई धन जमानीलाई सही गराई ०३४।५।३ गते रु.३४००।ल्याउँला भनी मिलापत्रको कागज गराएको छ, उक्त मुद्दाको उजूरी लिई कारवाही र निर्णय गर्न न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा ९ ले विपक्षी सहायक अञ्चलाधीशलाई अधिकार छैन जिल्ला अदालतलाई मात्र अधिकार भएकोले अधिकार क्षेत्र नाघी गरेको निर्णय समेत मुलुकी ऐन अ.बं.३५ नं. ले बदर भागी छ, ३४००।बुझाउने भनी मिलापत्र गराएको कागज मुलुकी ऐन अ.बं.१८२ नं.को विपरित छ किनभने मिलापत्र गराउँदा मिलापत्र गर्न चाहेमा दुवै थरीले आफू मिल्ने भएको व्यहोराको दरखास्त लेखी मुद्दा परेको अड्डामा दिनु पर्छ भन्ने उल्लेख भएको र सो बमोजिम नभई अ.बं.१८२ नं.को विपरित हुने गरी गराएको कागज कानूनी त्रुटी भएकोले बदर हुनुपर्छ भन्ने समेत रिट निवेदनपत्रमा उल्लेख छ ।

            ४.    विपक्षीहरूबाट लिखितजवाफ झिकाई पेश गर्नु भन्ने डि.बेञ्चको ०३४।५।५।१ को आदेश ।

            ५.    शेखरचन्द्र र केदार सिं २ जनाले माछा व्यापार गर्न भनी मसँग लिएको रु.५०००।खाने नियत गरेकाले खान नपाउने व्यवस्था गरी पाउँ भनी दुर्गाबहादुर र खड्गीको निवेदन दर्ता हुन आएकोले शान्ति सुरक्षाको दृष्टिकोणबाट निजहरूलाई झिकाई निवेदक समेत राखी सम्झाई बुझाई गर्दा आपसमा मिली माछा लिन जाने सर्तको मिति ०३४।२।२४।६मा यस कार्यालयमा कागज गरी गएको सो सर्तको कागज अनुसार निज केदार सिंह शेखरचन्द्र गुप्ता माछा लिन नगएको व्यहोरा निवेदक दुर्गाबहादुर खड्गीले मौखिक निवेदन गरी निजहरूलाई यस कार्यालयबाट ०३४।३।२ मा उपस्थित हुन पत्र पठाएकोमा सो पत्र बुझी उपस्थित नभएकोले पुनः आषाढ २९ गते उपस्थित हुने मिति ०३४।३।२७ मा पत्र पठाएको शेखरचन्द्र गुप्ता मिति ०३४।४।१८ मा उपस्थित भई माछा लिन जान केदार सिंहले रुपैयाँ नदिएको र दुर्गाबहादुरले दिएको रुपैयाँ ५०००।पनि निजै केदार सिंहले लिई नदिएको व्यहोराको यस कार्यालयमा कागज गरिदिएको निवेदन उल्लेख गरे बमोजिम निवेदक केदार सिंहलाई ०३४।४।२८ मा यस कार्यालय उपस्थित गराई कागज समेत नगराएको र थुनामा पनि नराखेको हुँदा रिट निवेदन नै खारेज हुन अनुरोध गरिन्छ भन्ने अञ्चलाधीशको कार्यालय बाग्मती अञ्चलको लिखितजवाफ ।

            ६.    माछा व्यापार सम्बन्धी काम शुरुमा नै मसँग ५०००।लिई आफ्नो ५०००।समेत मिलाई माछा व्यापार गर्ने भनी रकम लिई कुनै काम नगरी रकम पचाई खाने नियत गरेकाले मेरो अञ्चलाधीशमा निवेदन परी झिकाई पूर्व शर्त बमोजिम माछा लिन जाने भन्दै कागज समेत गरिदिएको थियो । विपक्षको भनाई बमोजिम कुनै निर्णय भएको छैन विपक्षले मेरो ६०००।पचाई खाने नियतले म र शेखरचन्द्रलाई विपक्ष बनाई दिएको निवेदन खारेज हुनुपर्छ अञ्चलाधीशज्यूले निवेदकलाई कुनै कागज गराएको नहुँदा प्रस्तुत रिट निवेदन नै खारेज होस भन्ने समेत दुर्गाबहादुर खड्गीको लिखितजवाफ ।

            ७.    निवेदकहरूबाट रहनु भएको विद्वान अधिवक्ता नुतनबहादुर थपलिया र नरेन्द्रकुमार प्रधानले विपक्षी सहायक अञ्चलाधीशले आफूलाई नभएको अधिकार प्रयोग गरी गराएको कागज अ.बं. ३५ नं.समेतले बदर भागी छ बदर हुनुपर्छ भन्नेसमेत आफ्नो बहस प्रस्तुत गर्नुभयो ।

            ८.    विपक्षी अञ्चलाधीश कार्यालयकातर्फबाट खटी आउनु भएको का.मु सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले माछा व्यापारको सम्बन्धमा शेखरचन्द्र र केदार सिंहले लिएको ५०००।रुपैयाँ पचाई खाने नियत गरे बुझी पाउँ भन्ने समेत दुर्गाबहादुर खड्गीको निवेदन बमोजिम शन्ति सुरक्षाको दृष्टिकोणबाट केदार सिंह थुनामा पनि नराखेकोले प्रस्तुत रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत आफनो बहस प्रस्तुत गर्नु भयो ।

            ९.    अर्का विपक्षी दुर्गाबहादुर खड्गीकातर्फबाट रहनु भएको विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेलले माछा व्यापार सम्बन्धी काममा मेरो पक्षसँग रु.५०००।विपक्षीले ५०००।राखी व्यापार गर्ने भनी रु.५०००।लिई कुनै व्यापार नगरी रकम नै खाने नियत गरेकोले अञ्चलाधीश कार्यालयमा पक्षको निवेदन परी पूर्व सर्त बमोजिम माछा लिन जानेछौं भनी कागज गरिदिएको त्यस देखि बाहेक कुनै कागज गराएको पनि छैन र मेरो पक्षको उक्त ५०००।पचाई खाने नियतले नै यो रिट निवेदन दिएको बुझिएकोले प्रस्तुत रिट निवेदन नै खारेज हुनुपर्छ भन्ने समेत आफ्नो बहस प्रस्तुत गर्नु भयो ।

            १०.    यसमा निवेदकका मागबमोजिमको आदेश जारी गर्नुपर्ने नपर्ने के हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

            ११.    प्रस्तुत मुद्दाको मिसिल अध्ययन गरी विद्वान अधिवक्ताहरूको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा दुई जनाको बीचमा भएको बोल कबोल करारको सिलसिलामा उठेको विवादमा कारवाही चलाउने वा बयान लिने अधिकार प्रत्यर्थी सहायक अञ्चलाधीशलाई कानूनले प्रदान गरेको छैन, निवेदकले रिट निवदेनमा ०३४।४।२८ को गैरकानूनी कागज बदर गराई पाउँ भनी जिकिर लिएकोमा उक्त मिसिलमा कागज भएको नभई ०३४।२।१४।४ मा र ०३४।४।१८ मा कागज भएको भन्ने प्रत्यर्थी सहायक अञ्चलाधीशले आफ्नो लिखितजवाफमा उल्लेख गरेको पाइन्छ । उक्त ०३४।२।१४।६ र ०३४।४।१८ मा भएको कागज गराउने अधिकार प्रत्यर्थी सहायक अञ्चलाधीशलाई नभएकोले सो कागजले कुनै कानूनी मान्यता प्राप्त गर्नसक्दैन । यसरी दुईजनाको बीचमा भएको करारसम्बन्धी व्यक्तिगत विवादमा हस्तक्षेप गरी कारवाही चलाउने, बयान लिने, जमानत माग्ने वा मिलापत्र गराउने अधिकार प्रत्यर्थी सहायक अञ्चलाधीशलाई नभएकोले उक्त काम कुराहरू नगर्नु भनी निजको नाउँमा प्रतिषेधको आदेश जारी गरिएको छ । यो आदेशको प्रतिलिपि विपक्षी कहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम बुझाइदिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. ईश्वरीराज मिश्र

 

 

इति सम्वत् २०३४ साल आश्विन १६ गते रोज १ शुभम् ।