October 4, 1977
Created by nepalarchives

निर्णय नं. १०५९ – जग्गा खिचोला

निर्णय नं. १०५९     ने.का.प. २०३४ फुल बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०३१...

निर्णय नं. १०५९     ने.का.प. २०३४

फुल बेञ्च

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह

सम्वत् २०३१ सालको दे.फु.नं. ९०

निवेदक : का.जि. बानेश्वर भिमसेनगोला गा.पं.वा.नं.९ बस्ने शंकरप्रसाद उपाध्याय

विरुद्ध

प्रतिवादी : ऐ.ऐ. वार्ड नं.१ बस्ने प्रधानपञ्च दुर्गाविक्रम शाह

मुद्दा : जग्गा खिचोला

(१)   गाउँसभाको निर्णयअनुसार काम गरे गराएको समेत हो भन्ने प्रतिवाद भएको समेत देखिएकोले दुर्गाविक्रमले गाउँको प्रधानपञ्च भई गाउँसभा र गाउँपञ्चायतको मुख्य प्रतिनिधिको हैसियतले काम गरेको देखिएकोले यसरी गरेको काम गाउँपञ्चायत ऐनको दफा ७१ बमोजिम विधि पुर्‍याई दायर गरेको प्रस्तुत फिराद कानूनअनुरुपनै भएकोले खारेज गर्ने गरी निर्णय गरेको नमिल्ने ।

(प्रकरण नं. १२)

फैसला

            न्या. सुरेन्द्रप्रसाद सिंहप्रस्तुत मुद्दा न्यायिक समितिको सिफरिशमा नेपालको संविधानको धारा ७१ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई दोहरिएकोबाट यस बेञ्चसमक्ष पेश हुन आएको छ ।

            २.    तथ्य यस प्रकार छ : ल.नं.१४४९ को मेरो घर जग्गादेखि दक्षिणपट्टि सदानन्द गिरी गोपालबाजे शिवकुमारी, अशोककुमारी, लाटाकि आमाको घर जग्गादेखि दक्षिणपट्टि भएको गोरेटो बाटोबाट आवत जावत गरी आएको सो बाटो मेरो घर जग्गाको पूर्व दक्षिण एउटा सानो भाग कुनामा दक्षिणतर्फ एक सानो टुक्रामा छाएको भई सोही छेउबाट आवत जावत भई रहेको मेरो घरको दक्षिणपट्टि जग्गामा कुनै सार्वजनिक बाटो नभएकोमा घर जग्गाको उत्तरपट्टिको मेरो निजी बाटोलाई सार्वजनिक बाटो भनी पहिले दावी गरेका छाडी घर अगाडि दक्षिणपट्टि सार्वजनिक बाटोमा नपुग दाँया बाँया जग्गा उपलब्धी गरी चार फुटे मोटर चल्ने बाटो निर्माण गर्ने भनी मेरो जग्गामा ०२४।१०।६।७ का दिन उत्तर दक्षिण १२ फूट, पूर्व पश्चिम ४५६ फूट, जग्गा मिची बाटो बनाई बाली नष्ट पारी पूर्वतर्फको जम्मा १९० फूटको काँचा इटको पर्खाल समेत भत्काई दिएकोले मोल रु.४८४३।७५ पर्ने ।।। ।। जग्गा खिचोला मेटाई अड्डैबाट चलन पाउँ नोक्सान गरिदिएको पर्खालको रु.७००।साग आदीको रु.२०० समेत जम्मा ९००।रुपैयाँ विगो समेत भराई दिलाई पाउँ भन्ने समेत शङ्करप्रसाद उपाध्यायको ०२५२८२ को फिराद ।

            ३.    वादीको पूर्व दक्षिण कुनातर्फ एक सानो टुक्राले छोएको भनेको गोरेटो बाटो अझैं पनि भएको र सो अद्यापि कायमै भएकोमा वादीका बाबुले सो बाटो बन्द गरी उत्तरपट्टि खोलेका जुन बाटोलाई अहिले निजी भनी दावी गरेका छन् उसबेला जनताले विरोध गरेन त्यो बाटोमा भान्छा घर र चर्पी बनाई बाटो बन्द गरेमा कारवाही भएको अञ्चलाधीशमा छ । गाउँमा जनतालाई बाटो हिड्न कठिन परेको व्यहोरा निवेदन परेको र मूल सडकमा निस्कने बाटो १२ फुटे बनाई तयार गर्ने अञ्चल समितिको प्रथम बैठकको निर्णयको दफा ९ तथा गाउँसभाको ०२४।८।२३ को निर्णयले रा.पं.स.श्री प्रेमबहादुर शाक्यबाट शीलान्यास भए अनुसार वाटो बनाएको हो जवरजस्ती जग्गा मिचि बाटो बनाएको होइन साविक भए रहेको बाटोलाई दुवैतर्फबाट नपुग जग्गा लिई १२ फुटको बाटो निर्णय गरेको हो, त्यसैबाट सम्म पर्खाल भत्काई बाली नोक्सान गरे भन्ने झुटो दावी लिएका हुन सो विगो यस पञ्चायतले व्यहोर्ने पर्ने होइन भन्ने समेत प्र.पं. दुर्गाविक्रमको प्रतिवादी ।

            ४.    वादी दावीको रे.नं.१४५९ को जग्गाको साविक दर्ता उतारमा ४ किल्ला हेर्दा दक्षिणतर्फ रैकर लेखिएको सो जग्गाको दक्षिण साध वालसदानन्द गिरीले जग्गा खरीद गर्दाको ०२४।२।३।५ मा रजिष्ट्रेशन भएको फार्छे तमसुकमा उत्तर रैकर जनिएको र सर्वे विभागबाट प्राप्त नक्सामा वादी दावीको कि.नं.६२ को जग्गा र दक्षिणतर्फको कि.नं.६३, ५९, ६०, २१६, र ६१ को जग्गाका वीच बाटो नदेखेकोले समेत वादी दावीको जग्गाका दक्षिणतर्फ साविक बाटो रहे भएको पाइदैन । अदालतबाट गराईएको नक्सामा वादीको जग्गाको दक्षिणतर्फ बाटो देखिएको र १२ फिटको बाटो बनाएकोमा प्रतिवादीले स्वीकार गर्नु भएकोले वादी दावीको जग्गाको दक्षिणतर्फ साविक बाटो हुँदै नभएको ठाउँमा प्रतिवादीले बाटो बनाएका सिद्ध हुन आउँछ, अर्काको हक भोगको जग्गाधनीको मञ्जुरी बेगर नयाँ बाटो बनाउन गाउँपञ्चायतलाई अधिकार छ भनी प्रतिवादीले सबूत गुजार्न नै सक्नु भएको देखिएन, प्रतिवादीले वादीको दर्ता हक भोगको साविक बाटो नभएको जग्गामा बाटो बनाई खिचोला गरेको ठर्हछ, पर्खाल भत्काएको विगो र तरकारी बालीको विगोमा मनासिव माफिकको विवरण खोली दावी गरेको नदेखिँदा बाली विगो नपाउने समेत ठर्हछ भन्ने ०२७।१।१०।५ का.का.जि.अ.को फैसला ।

            ५.    सो इन्साफमा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन ।

            ६.    पुनरावेदकको विपक्षीको घरको दक्षिणपट्टि साविक देखिनै बाटो थियो भनी २००० सालमा नापी भएको नक्सा भनी देखाएको भए पनि सो बाटो अघिनै बन्द भई हाल ०२४।१०।६।७ को नक्साबाट देखिएको विपक्षीको घरको उत्तरतर्फ बाटो कायमै भएको सो दक्षिणतर्फको बाटो भनेको हालको सर्भेबाट भएको नक्साबाट समेत नदेखिएको र अरू सुरु फैसलामा लेखिएका बूँदा प्रमाण समेतबाट इन्साफ शुरुको मुनासिव छ भन्ने बा.अं.अ.को ०२८।२।१६ को फैसला ।

            ७.    बा.अं.अ ले हदमुनी गरी छिनेको इन्साफ जाँची पाउँ भनी प्रतिवादीको निवेदन परेकोमा इन्साफ जाँची दिने हुकुम प्रमाँङ्गी बक्स भई ०२९।२।३१।३ को डिभिजन बेञ्चमा पेश हुँदा विगोबाट हदमाथिको देखिएकोले पुनरावेदनको म्याद दिन भन्ने आदेश भई पुनरावेदनको म्याद दिएकोमा उक्त वा.अं.अ को इन्साफमा चित्त बुझेन भन्ने समेत प्रतिवादीको पुनरावेदन परेको ।

            ८.    पञ्चायतले अन्याय गर्‍यो भनी प्रधानपञ्च दुर्गाविक्रमको नाउँमा वादीले नालेश दिएको देखिन्छ । गाउँपञ्चायत ऐन, २०१८ को दफा ४ को उपदफा ३ मा पञ्चायत उपर व्यक्ति सरह नालेस दिन सकिनेछ । पञ्चायतले पनि व्यक्ति सरह नालेश गर्नसक्नेछ भन्ने कानूनी व्यवस्था देखियो । सोअनुसार पञ्चायतका उपर व्यक्तिसरह नालेस गरेको देखिँदैन । अ.बं.को, १३९ नं. बमोजिम पञ्चायतलाई प्रतिवादी गराई कारवाही गर्ने हो कि भन्ने विचार गर्नलाई पनि पञ्चायतलाई प्रतिवादी गराउन पर्दा गाउँपञ्चायत ऐन, २०१८ को दफा ७१ बमोजिम पूर्व नोटीस दिई निर्धारीत म्यादमा नालेश गर्न पर्ने कानूनी व्यवस्था भएको हुनाले पञ्चायतका सम्बन्ध सोही ऐनबमोजिम हुनुपर्ने भएकोले अ.बं. १३९ नं. बमोजिम अदालतबाट झिकाई प्रतिवादी कायम गर्न मिलेन प्रतिवादी दुर्गाविक्रम उपर परेको वादीको दायित्व प्रतिवादी नै नगराईएको पञ्चायतउपर बहन गराउन पनि मिलेन । तसर्थ कानूनले व्यक्ति सरह नालेस गर्नुपर्ने पञ्चायतका उपर नालेश नगरेको हुँदा प्र. दुर्गाविक्रम उपरको वादी दावी खारेज हुने ठर्हछ, तहकिकात फैसला गरेको शुरु र अञ्चल अदालतको फैसला मिलेन भन्ने समेत २०३०।२।२३।३ को डिभिजन बेञ्चको फैसला ।

            ९.    उक्त इन्साफ दोहराई दिनु भन्ने बक्स भई आएको हुकुम प्रमांगी साथ रहेको न्यायिक समितिको पर्चा व्यहोरामा गाउँपञ्चायत ऐन, २०१८ को दफा (४) ३ अनुसार निवेदक शंकरप्रसादले भिमसेन गोला गाउँपञ्चायतका प्र.पञ्च दूर्गाविक्रम शाह उपर निजलाई गाउँपञ्चायत ऐन, २०१८ को दफा ७१ बमोजिम सूचना दिई निजको नाममा नालिस गरेको र त्यसको प्रतिवादी भिमसेन गोला गा.पं. को कार्यबाहक प्रधानपञ्च देवबहादुरले दुर्गाविक्रम शाहको वारिसनामा लिई गरेको पनि देखिन आएको छ । गा.पं. को प्र. पं. उपर नालिस दिएकोमा प्रतिवादी भई शुरु जिल्ला अदालत र अञ्चल अदालतबाट समेत अनुमोदन भई निर्णय समेत गरेको भए पछि दुर्गाविक्रमले गाउँको प्रधानपञ्च भई गाउँसभा र गाउँपञ्चायतको मुख्य प्रतिनिधिको हैसियतले गरे गराएको काममा गा.पं. ऐन, २०१८ को दफा ७१ को विधि पुर्‍याई शंङ्करप्रसादले दायर गरेको प्रस्तुत नालेश कानूनअनुरुपकै देखिन आएको छ । यसरी गाउँकै प्रधानपञ्च उपर नालेश गरेकोलाई सो मार्ग गलत छ भनी लान्छना लगाई गाउँपञ्चायत उपर नालेस परेको दुर्गाविक्रम उपरको व्यक्तिगत हो भन्ने सर्वोच्च अदालतको दोषारोपण कानूनअनुरुप छ भन्न उचित देखिन आउँदैन । शंकरप्रसादले गाउँपञ्चायत ऐन, २०१८ को दफा ७१ अन्तर्गत विधि पुर्‍याई नालेश गरेको छ । यस्तो हुँदा हुँदै पनि गाउँपञ्चायत उपर रीतपूर्वकको नालिस नपरेको भनी प्रस्तुत मुद्दा खारेज गर्ने गरेको सर्वोच्च अदालतको निर्णय मिलेको छ भन्न सकिने स्थिति छैन भन्ने समेत उल्लेख भएको ।

            १०.    यसमा गा.पं.का प्रधानपञ्चले गाउँसभा र गाउँपञ्चायतको मुख्य प्रतिनिधिको हैसियतले गरेको कारवाही उपर चलाइएको फिराद कानूनबमोजिम छ भन्न मिल्ने नमिल्ने के हो भन्ने नै मुख्य ठहर्‍याउनु पर्ने भएको छ ।

            ११.    यसमा निर्णयतर्फ विचार गर्दा प्र.पं. दुर्गाविक्रमको नाउँमा नालेस गरेको देखिन्छ । गाउँपञ्चायत ऐन, २०१८ दफा ४ (३) अनुसार पञ्चायत उपर व्यक्ति सरह नालेश गरेको देखिदैन, कानूनले व्यक्ति सरह नालेस गर्नुपर्ने पञ्चायत उपर नालेस नगरेको हुँदा प्र.पं. दुर्गाविक्रम उपरको वादी दावी खारेज हुने ठर्हछ, तहकिकात फैसला गरेको शुरु र अञ्चल अदालतको मिलेन भन्ने समेतको निर्णय डिभिजन बेञ्चबाट भएको रहेछ । गाउँपञ्चायत ऐन, २०१९ को दफा ४ (३) हेरेमा सो संस्थाले व्यक्ति सरह नालेश उजूर गर्ने र निज उपर पनि व्यक्ति सरह नालेस उजूर लाग्न सक्दछ भन्ने दफा ७१ मा यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा विनियम अनुसार वा अरू ऐन नियम वा विनिमयले अधिकार दिएको सम्झी गरेको कामको सम्बन्धमा गाउँसभा गाउँपञ्चायतको सदस्य गाउँसभाको कर्मचारी वा तिनीहरूले कुनै काम लगाएको व्यक्ति उपर देहायमा लेखिएबमोजिम नभए मुद्दा चल्न सक्दैन ।

            (क)   मुद्दा चलाउने कारण र वादी हुनेको र निजको वादी भए त्यसको नाम र ठेगाना खोली लिखित नोटीस गाउँसभा गाउँपञ्चायतका सदस्य गाउँसभाको कर्मचारी वा तिनीहरूले काममा लगाएको व्यक्तिलाई बुझाइएको वा हुलाकद्वारा रजिष्ट्ररी गरी पठाएको एक महिना ननाघी र

            १२.   (ख) मुद्दा चलाउने कारण भएको ८ महिना भित्र मुद्दा दायर नभई भन्ने व्यवस्था गरिएको पाइन्छ । प्रस्तुत मुद्दामा पञ्चायतले अन्याय गर्‍यो भनी प्र.पं. दुर्गाविक्रम शाहको नाउँमा गाउँपञ्चायत ऐन, २०१८ को दफा ७१ अन्तर्गत सूचना समेत दिई प्रधानपञ्च उपर फिराद गरेको र भूतपूर्व प्रधानपञ्चको वारिसनामा लिई कार्यबाहक प्रधानपञ्चले पनि सो विषयमा प्रतिपाद गर्दै आउनु भएको देखिन्छ । उक्त विषयमा मिति ०२४।८।२३ को गाउँसभाको निर्णयानुसार काम गरे गराएको समेत हो भन्ने प्रतिवाद भएको समेत देखिएकोले दुर्गाविक्रम गाउँको प्रधानपञ्च भई गाउँसभा र गाउँपञ्चायतको मुख्य प्रतिनिधिको हैसियतले काम गरेको देखिएकोले यसरी गरिएको काममा गाउँपञ्चायत ऐनको दफा ७१ बमोजिम विधि पुर्‍याई दायर गरेको प्रस्तुत फिराद कानूनअनुरुप नभएकोले डिभिजन बेञ्चले खारेज गर्ने गरी निर्णय गरेको मिलेन । झगडा परेको जग्गा जिल्ला अदालतबाट भएको नक्सा मुचुल्कामा उल्लेखित ४ किल्लामा पूर्व गोपाल बाजेको जग्गा, पश्चिम सडक उत्तर साहेबज्यू निलेन्द्रविक्रम शाहको जग्गा, दक्षिण साँधको सदानन्द गिरीले वद्रीनाथबाट जग्गा खरीद गरेको ०१४।२।३ को फार्छेमा उत्तर रैकर भन्ने जनिएको वादीको नाउँमा दर्ता भएको साविक दर्ता रै.नं.१४५९ को दर्ता उतारबाट दक्षिणतर्फ रैकर भन्ने देखिन आएकोले र सर्भे विभागबाट प्राप्त नक्सामा वादी दावीको कि.नं.६२ को जग्गा र दक्षिणतर्फको कि.नं.६३, ५९, ६०, २१६, ६१ का जग्गामा बीच बाटो नदेखिएकोले समेत वादी दावीको जग्गामा दक्षिणतर्फ साविक बाटो रहे भएको पाइदैन । अदालतबाट गराइएको नक्सामा वादी जग्गाको दक्षिणतर्फ बाटो देखिएको र १२ फिटको बाटो बनाएकोमा प्रतिवादीले स्वीकार गर्नुभएको देखिएकोले अर्काको हकभोगका जग्गामा धनीको मञ्जुरी नलिई बिना अधिकार बाटो बनाई खिचोला गरेको ठहराई शुरु जिल्ला अदालत र अञ्चल अदालतले गरेको निर्णय कानूनबमोजिम नै देखिन्छ । अरू तपसीलको कुरामा तपसील बमोजिम गरी मिसिल नियमबमोजिम बुझाइदिनु ।

 

तपसील

सर्वोच्च अदालत डिभिजन बेञ्चका ०३०।२।१३।३ फैसलाले शुरु का.जि.अ.को ०२७।१।१०।५ को फैसला बमोजिमको लगत कट्टा गर्ने गरेको बाहेक अरू डिभिजन बेञ्चका फैसला बमोजिमको लगत कायम राख्नु पर्दैन व्यहोरा जनाई कट्टा गरी अरू देहायको कलममा देहाय बमोजिम लगत कस्न का.जि.अ.तहसिल फाँटमा लगत दिने……………१

वादी शंकरप्रसाद के वादी दावीको पूर्व गोपाल बाजेको जग्गा पश्चिम मूल सडक उत्तर साहेवज्यू निलेन्द्रविक्रम शाहको जग्गा दक्षिण सदानन्द गिरी र गोपाल बाजेको जग्गा यति ४ किल्ला भित्रको ल.नं.१४५९ को ५ रोपनि ४ आना जग्गा मध्ये दक्षिणपट्टिको उत्तर दक्षिण १२ फूट पूर्व पश्चिम ४५६ फूट जग्गाको मोल विगो ४८४३।७५ पर्ने ।।। ३।। जग्गाको चलन अड्डैबाट पाउने ठहरेकोले चलन चलाई पाउँ भनी दे.स.४३ नं.का म्याद २ वर्ष भित्र वादीको दरखास्त परे उक्त विगोको सयकडा २।। दस्तुर वादीलाई कानूनबमोजिम चलन चलाई दिने कलम एक १

वादी शंकरप्रसाद कै ऐनबाट रहेको शुरु कोर्टफी रु २२३।७५ अरू दस्तुर १।५० यस अदालतमा ०३१।८।२५।३ मा रहेको कोर्टफी ऐन कोर्टफी रु २१।३२ समेत जम्मा रु २४६।६३ भराई पाउँ भनी कोर्टफी ऐन, २०१७ को दफा १५ को म्याद ३ वर्ष भित्र प्रतिवादीको जायजात देखाई वादीको दरखास्त परे दस्तुर केही नलिई प्रतिवादीबाट वादीलाई भराई दिने एक कलम १

 

हामीहरूको सहमति छ ।

 

न्या. धनेन्द्रबहादुर सिंह,

न्या. विश्वनाथ उपाध्याय

 

 

इति सम्वत् २०३४ साल आश्विन १८ गते रोज ३ शुभम् ।