निर्णय नं. १०४८ – उत्प्रेषणको ओदश जारी गरी पाउँ
निर्णय नं. १०४८ ने.का.प. २०३४ डिभिजन बेञ्च माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३० सालको रिट नम्बर ११८१...
निर्णय नं. १०४८ ने.का.प. २०३४
डिभिजन बेञ्च
माननीय न्यायाधीश सरदार श्री ईश्वरीराज मिश्र
माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
सम्वत् २०३० सालको रिट नम्बर ११८१
आदेश भएको मिति : २०३४।३।२९ मा
निवेदक : का.प.जि. देउभूमि गा.पं. वार्ड नं.२ आँपघारी बस्ने गोपाल दनुवार
विरुद्ध
विपक्षी : का.प.जि. होकसे गा.पं.वार्ड नं.७ बस्ने रामेश्वर खड्का क्षेत्रीसमेत
विषय : उत्प्रेषणको ओदश जारी गरी पाउँ
(१) म्यादभित्रै धरौटी राखेकोलाई गैरकानूनी तरिकाले मिति अंक सच्याई त्यसका आधारमा म्यादभित्र धरौट नराखेकेको भनी गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ।
(प्रकरण नं. १२)
विपक्षी तर्फबाट : विद्वान का.मु. सरकारी अधिवक्ता प्रेमबहादुर विष्ट
आदेश
न्या.विश्वनाथ उपाध्याय : विपक्षी भूमिसुधार अधिकारीको मिति २०३०।११।२२ को फैसला सार्न जाँदा सार्न नदिएको र उक्त निर्णयले संवैधानिक हक हनन् भएकोले उक्त निर्णय बदर गरी पाउँ भनी नेपालको संविधानको धारा ७१ अनुसार यो रिट निवेदन पर्न आएको छ ।
२. मुद्दाको तथ्य यस प्रकार छ : मिति २०३०।११।२२ मा कूत भराई मोही निष्काशन हुने ठर्हछ भनी भूमिसुधार कार्यालय काभ्रेपलाञ्चोकको का.मु. भूमिसुधार अधिकारीबाट निर्णय भएको रहेछ ।
३. उपयुक्त तथ्य बदर गरी पाउँ भनी प्रस्तुत रिट निवेदनमा लिइएका मुख्य जिकिर यस प्रकार छ : विपक्षी रामेश्वर खड्कालाई अधिया कूत बुझाई म मोहीया भई कमाई आएको मेरो मोहियानी हक भोगको जग्गा पूर्व हर्षबहादुरको साँध, पश्चिम ठूलो गाउँले, उत्तरबहादुर दक्षिण दुहिमानको साँध यति ४ किल्ला भित्रको विजमाना ।।५ खुट्टेदार बारीमा विपक्ष समेतले २०२८ सालको मकै छर्ने अवस्थामा २०२८।१।२१ गतेका दिन मोही बेदखली गरेकोमा भूमिसुधार कार्यालयामा मेरो उजूर परी कारवाही हुँदा मोही बेदखली गरेको ठहरी का.प.जि.भू.सु.बाट २०२८।५।३ गते फैसला भएको । सो उपर विपक्षको सम्मानीय श्री सर्वोच्च अदालतबाट २०२९।१।११ गते खारेजी फैसला भएको, भाइ सन्तबहादुर विदेशतर्फ गएको हुनाले निजको समेत मोहियानी हकको समेत २०३० सालको अधिया कूत जम्मा मकै मुरी ४ विपक्षी रामेश्वर र होमबहादुरलाई वराबर र बुझाउन लैजाँदा बुझी नलिएकोले भाइ सन्तबहादुरको र मेरो समेत गरी भू.सं. ऐन, २०२१ को दफा ३६ को उपदफा (८) बमोजिम २०३०।१०।२१ मा का.प.जि.देउ भूमि बालुवा गा.पं.मा जम्मा रू. ३२०। धरौट राखी गा.पं.बाट धरौट राखेको रसिद समेत लिएको छ । विपक्षी रामेश्वरले यो २०३० सालको कूत मकै मुरी २ दुई दिलाई मोहीबाट समेत निष्काशन गरी पाउँ भनी विपक्षी का.मु. भूमिसुधार अधिकारी समक्ष उजूरी दिएपछि म्यादमा उपस्थित भई विपक्षीले दावी गरेको कूत म गोपालपट्टिको मकै मुरी २ दुई र भाइ सन्तबहादुरपट्टिको मकै मुरी २ समेत जम्मा ४ मुरी सम्बन्धित देउ भूमि बालुवा गाउँपञ्चायतमा धरौट राखेको छु भनी गा.पं.बाट दिएको धरौटी रसिद समेत पेश गरी बयान गरेपछि पनि धरौट रहेको गा.पं.समेत नबुझी कानूनी आधारहिन कूत भराई मोहीबाट निष्काशन गरी २०३०।११।२२ मा गर्नु भएको फैसला भू.सं. ऐन, २०२१ को दफा ३६ को उपदफा (२) र अ.वं.३५ नं.बमोजिम बदरहुने स्पष्ट भएकोले निर्णय बदर गरिपाउँ भन्नेसमेत उल्लेख छ ।
४. विपक्षीहरूबाट लिखितजवाफ लिई पेशगर्नु भन्नेसमेत २०३१।१।१०।३ को डि.बे.को आदेश ।
५. विपक्ष गोपाल दनुवारले दिएको उजूर निवेदनमा नै मिति २०३०।११।२१ मा गा.पं.मा धरौट राखेकोछु भन्ने जिकिरदेखिएको तर भू.संं.ऐन, २०२१को दफा ३६को उपदफा (२) बमोजिम पहाडतिर धरौट राख्ने म्याद माघमसान्तसम्म मात्र भन्ने उल्लेखभएको प्रष्ट देखिएबाट निवेदकले जग्गावाला उपर देखाउनपर्ने दायित्व कर्तव्य देखाएको नदेखिएकोले अधिकारप्राप्त अधिकारीले कानूनबमोजिम नै भू.सं.ऐन,२०२१ को दफा २९ (१)बमोजिमगरेको निर्णय कानूनी त्रुटी भएगरेको छैन र कानूनसंगत नै निर्णय गरेको हुँदा रिटनिवेदन खारेज होस् भन्नेसमेत विपक्षी भू.सु.कार्यालय काभ्रेपलाञ्चोकको मिति २०३१।२।७ को लिखितजवाफ ।
६. माघ मसान्तसम्म धरौट राखेको भएमात्र धरौटीको मान्यता दिने र जग्गाधनीले बाली भराई पाउँ भन्ने उजूर गर्ने समयमा फाल्गुनमा आई धरौट राखेकोले धरौटीलाई मान्यता दिन नमिल्ने भएबाट २०३० सालको अधिया बाली मकै कुतवाली भराई लिन पाउने र मोहीको जग्गाधनी प्रति हुनुपर्ने दायित्व पूरा नगरेकोले विपक्षी गोपालबहादुर दनुवारलाई मोहियानी जग्गाबाट समेत निष्कासन हुने ठहराई का.प.जि.भू.सु. का समेतबाट निर्णय आदेश गरिएको र विपक्षको उपरोक्त कानून बाहिरको मनकल्पित उजूरी रिट निवेदन खारेज होस् भन्ने समेत विपक्षी रामेश्वर खड्काको लिखितजवाफ ।
७. गोपाल दनुवार सन्तविर दनुवारले २०३० सालको बालीको रु.३६०। धरौटी दाखिल गरेको स्याहाश्रेस्ता सक्कलै बाली धरौट राखेको गा.पं.का.बाट झिकाई श्रेस्ता आएपछि वा मुनासिव माफिकको जवाफ आएपछि पेश गर्नु भन्ने मिति २०३१।७।२५।१ र २०३३।३।७।१ को डि. बे. को आदेश ।
८. भू.प्र.प्र.पं. बाट आज सम्म पञ्चायती स्याहाश्रेस्ता कुनै कुरा बुझी लिएको छैन, निज भू.पु.प्र. पं.हाल यहाँ नभएकोले उहाँ आएपछि श्रेस्ता बुझ्ने काम हुनेभएकोले सोही कुरा जानकारी दिएको छु भन्ने बाुलवा गा.पं.कार्यालयको मिति २०३४।१।६।२ को पत्र प्राप्त हुनआएको व्यहोरा साथ उपरोक्त मुद्दामा भएको आदेशानुसारको स्याहा श्रेस्ता प्राप्त गर्नेतर्फ अझै अरू कारवाही गर्ने वा यत्तिकैबाट निर्णय हुनसमेत भन्ने व्यहोरा पेश मुद्दा पेशीको निमित्त कजलिष्टमा चढाई पेशगर्नु भन्ने मिति २०३४।३।८।४ को डिभिजन बेञ्चको आदेश ।
९. मिति २०३४।३।२९।४मा मुद्दा पेशीमा चढी पेश हुँदा भू.सु.का.काभ्रेपलाञ्चोकको तर्फबाट विद्वान का.मु.स.अधिवक्ता श्री प्रेमबहादुर विष्टले यामसमयमा बाली धरौट राख्ने म्याद माघमसान्त सम्ममा धरौट राखिएको निवेदकको निवेदनबाट नदेखिँदा भू.सु. का.ले गरेको निर्णय कानूनसंगत हुँदा रिटनिवेदन खारेज हुनुपर्छ भन्नेसमेत आफ्नो बहसप्रस्तुत गर्नुभयो ।
१०. यसमा निवेदकको मागबमोजिमको आदेश जारी गर्नुपर्ने नपर्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
११. प्रस्तुतमुद्दाको मिसिल अध्ययन गरी निवेदक र विपक्षी दुवैतर्फको वा.को रोहवरमा वि. अधिवक्ताको वहससमेत सुनी निर्णयतर्फ विचारगर्दा भू.सु.का.काभ्रेपलाञ्चोकबाट पेश हुन आएको मिसिल अध्ययन गरीहेर्दा उक्त मिसिल सम्लग्न कागजको पञ्जिका नं.४को सक्कल बयान कागजमा निवेदक गोपाल दनुवारलाई भू.सु.का.काभे्र.ले मिति २०३०।११।२१मा गराएको बयानको सवाल ३ (ज)को एघारौंहरफमा बालुवा गा.पं.का.ले गोपालबहादुरलाई धरौटी रकम बुझी लिई गरिदिएको पं.ब.नं.६को भराईको प्रतिलिपिको तेश्रोहरफमा र मिति २०३०साल फाल्गुन २२गते रोज ३मा जि.भू.सु.कार्यालय काभ्रेपलाञ्चोकको का.मु.भू.सु. अधिकारी जयनारायण मण्डलले गरेको उक्त सम्बन्धको पं.नं.८।१ को फैसलाको सक्कल पानाको दोश्रो प्रकरणको सातौं हरफमा पनि धरौट राखेको मिति सच्चाएको देखिन्छ ।
१२. निवेदकको वा.गोपालकृष्ण श्रेष्ठले २०३४।३।२९।४ मा यस अदालतमा निवेदनसाथ प्रस्तुत गरेको का.प.जि.देउभूमि बालुवा गा.पं.मा जम्मा रु.३२०। धरौट राखी लिएको सक्कल रसिद पेश गरेकोमा मिति २०३०।१०।२५ गते लेखिएको र त्यसमा भू.सु.का.को छापसमेत देखिनाले जि.भू.सु.कार्यालयमा अधिकृत तथा कर्मचारीहरूले गलत तरिकाले गैरकानूनी काम गरी उपयुक्त लिखतहरूमा मिति अङ्क सच्याई “माघ मसान्तसम्ममा धरौटी राखेको भएमात्र धरौटीको मान्यता दिन मिल्ने फाल्गुणमा आएर जग्गाधनीले बाली भराइपाउँ भनी उजूर गर्ने समयमा आइराखेको धरौटी काननूले मान्यता दिन नमिल्ने भएबाट ०३० साल को अधिया कूत मकै मुरी (२) विपक्षी गोपालबहादुर दनुवारबाट पक्ष रामेश्वर खड्काले भरी पाउने र मोहीको जग्गाधनी प्रति हुनुपर्ने दायित्व पुरा नगरेकोले विपक्ष गोपालबहादुर दनुवार भू.सं.ऐन,२०२१ को दफा २९ (१) बमोजिम उक्त मोहियानी जग्गाबाट निष्कासन हुने ठहर्छ” भनी निर्णय गरेको प्रष्ट हुन्छ । तसर्थ, निवेदकले म्याद भित्रै धरौटी राखेकोलाई गैरकानूनी तरिकाले मिति अङ्क सच्याई त्यसका आधारमा म्यादभित्र धरौटी नराखेको भनी २०३० साल फाल्गुण २२ गते गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुनेठर्हछ । यसरी न्यायिक कार्य गर्ने अधिकृत वा कर्मचारीहरूबाट गैरकानूनी र अवान्छनीयरुपमा मिति सच्चाएको देखिएकोले दोषी पत्तालगाई निजहरूलाईसमेत कानूनबमोजिम आवश्यक कार्यवाही गर्न यो निर्णयको १प्रति नक्कल विपक्षी भू.सु.कार्यालय र सम्बन्धित कार्यालयमा पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई नियमबमोजिम गरी मिसिल बुझाइदिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. ईश्वरीराज मिश्र
इति सम्वत् २०३४ साल आषाढ २९ गते रोज शुभम् ।